अन्य

उल्लासपूर्ण उम्मेदवारी (फोटो फिचर)

काँग्रेसका नेपालगन्ज मेयर प्रत्यासी डा.सुरेशकुमार कनोडिया उम्मेदवारी दर्ता गराउने क्रममा। तस्विरः कलेन्द्र

काठमाडौं—असार १४ गते हुने दोस्रो चरण निर्वाचनको लागि प्रदेश नं. १, ५ र ७ का ३५  जिल्लामा उल्लासपूर्ण रुपमा उम्मेदवारी दर्ता भइरहेको छ। दलका स्थानीय नेताहरु झाँकीसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइरहेका छन्।

नेपालगञ्जस्थित नागरिकन्युजकर्मी कलेन्द्र सेजुवालका अनुसार कांग्रेस, एमाले, माओवादी र राप्रपाका उम्मेदवार गाजाबाजासहितको जुलुस लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका थिए। जनमोर्चा नेपाल, संघीय समाजवादी फोरम, नयाँशक्ति नेपाललगायत दल पनि बिहान ११ बजेअघि मनोनयन दर्ता गरिसकेका छन्।

नेपालगन्जको मेयरमा काँग्रेसबाट डा. सुरेशकुमार कनोडिया, एमालेबाट समसुद्धिन सिद्धिकी, माओवादीबाट आचार्य र राप्रपाबाट डा. धवलशमशे राणाले उम्मेदवारी दर्ता गरेका छन्।

विराटनगरस्थित नागरिकन्युजकर्मी अजित तिवारीका अनुसार विराटनगर महानगरपालिकासहित प्रदेश नं. १ मा उत्साहजनकरुपमा उम्मेदवारी दर्ता भइरहेको छ।

प्रचण्ड गर्मीका बाबजुद झाँकीसहित वीरेन्द्र सभागृह पुगेका दलका प्रतिनिधिले विराटनगर महानगरपालिकाका लागि उम्मेदवारी दर्ता गराइरहेका छन्।

विराटनगर महानगरपालिकामा संघीय समाजवादी फोरम र माओवादी केन्द्रको गठबन्धनले सबैभन्दा पहिला उम्मेदवार दर्ता गराएको छ। गठबन्धनबाट मेयरमा फोरमका उमेश यादब र माओवादी केन्द्रका नमीता न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।

जिउँदो गाई ट्रकमा राखेर उम्मेदवारी

राप्रपाले पनि तामझामसहित दर्ता गराएको छ। जिउँदै गाईलाई ट्रकमा हालेर उम्मेदवारी दर्ता गराउन पुगेका थिए। राप्रपाले विराटनगर मेयरमा प्रल्हाद साहलाई उम्मेदवार बनाएको भने उपमेयरमा शान्ति श्रेष्ठ उम्मेदवार छिन्।

काँग्रेसका मेयर प्रत्यासी भीम पराजुली र उपमेयरकी उम्मेदवार इन्दिरा कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। विराटनगरमा एमाले र फोरम लोकतान्त्रिकबीच चुनाबी तालमेल भएको छ। मेयरमा एमालेका विनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमको सूचि चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

विराटनगरका केही वडामा काँग्रेस र एमालेका असन्तुष्टहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। विराटनगरमा जम्मा १९ वडा छन्।

मोरङका सबै १७ वटा स्थानीय तहमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता जारी छ।

नेपालगन्ज, विराटनगर र इलामबाट हाम्रा सहकर्मीहरु क्रमशः अजित तिवारी, कलेन्द्र सेजुवाल र भीम चापाईंले पठाएका तस्विरहरु: