सारी, घुम्टी, चोली दुलही परिहनमा पर्छन् । आजभोलि धेरै दुलहीले लेहंगाचोली लगाउने गरेका छन् । बनारसी सिल्क फेब्रिकमा लेहंगा पनि बजारमा आउन थालेका छन् । रातो, रानी, गुलाबी, कलेजी, हरियोलगायत थुप्रै रङका लेहंगा बिहे र रिसेप्सन पार्टीमा लगाइन्छन् ।
हिजोआज दुलाहा र दुलहीले कम्बिनेसन गरी पहिरन लगाउने गरेका छन् । दुलाहाले शेरवानी लगाउँदा दुलही लेहंगा लगाउँछिन् । दुलाहाले ढाकाको दौरासुरुवाल लगाउँदा दुलही सारीमा सजिने गर्छिन् । दुलाहाले कोटप्यान्ट लगाएका छन् भने नेट र प्रिन्टेड लेहंगा दुलहीले लगाउने गर्छिन् ।
दुलहीले कम्मरमा बेल्ट र शिरमा क्राउन लगाउने फेसन अहिले निकै रुचाइएको काठमाडौँ, न्युरोडस्थित इगल आइज फेसन हाउसकी फेसन डिजाइनर राधा ढकाल बताउँछिन् । उनी भन्छिन्, ‘जस्तो दुलहीको ड्रेस छ, त्यस्तै खाले बेल्ट फिक्स गरेर लगाउनेहरू धेरै छन् । पहिला बाह्र हाते पटुकी घुमाई–घुमाई बान्ने चलन थियो । अहिले फिक्स गरेर बेल्ट बाँध्ने र त्यसैलाई म्याच गर्ने क्राउन लगाइन्छ ।’
पहिला शाही परिवारका दुलहीले मात्र भेल्भेट फेब्रिकको क्राउन र बेल्ट प्रयोग गर्ने भए पनि अहिले सबै दुलहीले क्राउन र बेल्ट लगाउन थालेको डिजाइनर ढकालको भनाइ छ ।
अहिले गोल्डेन अफ ह्वाइट, वेबी पिंक, सुन्तला, हरियो र रातो रङमा भेल्भेटका डिजाइन चोलीको फेसन रहेको फेसन डिजाइनर सन्तोषी श्रेष्ठ बताउँछिन् । उनका अनुसार आजभोलि निकै हेभी वर्क गरेका सलमा सजिल दुलही रुचाउँछन् । भन्छिन्, ‘कम्मरमा बेल्ट, शिरमा क्राउन, हरियो रङको छड्के तिलहरी आजभोलि दुलहीले खूब लगाउँछन् ।’
शरीरअनुसार ब्लाउज
–शारीरिक बनावट दुब्लो भएका दुलहीले बोट नेक (रानी हार डिजाइन) जसमा हेभी वर्क गरिएको हुन्छ त्यस्ता खाले डिजाइनका ब्लाउज लगाउनु ठीक हुन्छ ।
–उचाइ कम भएकाहरूलाई ‘भी’ सेपमा वर्क गरेको ब्लाउज राम्रो देखिन्छ । यसले होचालाई अलि अग्लो देखिन मद्दत गर्छ । मोटो ज्यान हुनेलाई पनि ‘भी’ सेपमा वर्क गरेका ब्लाउज फिट हुन्छ ।
–अग्लो हुनेले फ्लोरल प्रिन्ट ड्रेस छान्नु राम्रो हो ।
प्रकाशित: ४ असार २०७४ ०७:०९ आइतबार