भक्तपुर- नेपाली राजनीतिमा अझै केही नेता छन्, जो विभिन्न राजनीतिक उतारचढावमा देखिएका कुनै लोभ–प्रभोलनमा परेनन्। उनीहरू सिद्धान्तबाट विचलित भएनन्। समस्या झेले तर हार मानेनन्। प्रहार खेपे तर कोहीसँग झुकेनन्। त्यसैले उनीहरूको शिर जनतासामु सधैं उँचो छ। तिनैमध्येका हुन्, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे।
३३ वर्ष लामो वैवाहिक जीवनमा निकै कठिनाई पनि आए, शोभाले कहिल्यै हिम्मत हारिनन्। दुई सन्तानकी आमा उनी घर चलाउँछिन्, नारायणमान पार्टी।
भक्तपुरमा 'नारायणमानदाइ'को नामले परिचित र मुलुकमा देशभक्त नेताका रूपमा परिचित उनलाई राजनीतिमा निरन्तर लाग्न थुप्रैले सघाए– आफन्त, साथीभाइ, समाज र पार्टी कार्यकर्ता। सबैलाई उनी उत्तिकै सम्मान गर्छन्। यिनैमध्येकी एक हुन्, उनकी धर्मपत्नी शोभा प्रधान। नारायणमानदाइको गर्विलो उचाइको सहयोगी बन्दै आएकी छन्, शोभा।
नारायणमान दाइको जीवनमा पद र अवसर नआएको होइन– मन्त्री बन्ने, उपप्रधानमन्त्री बन्ने। एकपटक त प्रधानमन्त्री बन्नेसम्मको अफर आयो तर बिजुक्छे परिवारले पद र अवसरभन्दा र राजनीतिक निष्ठा र समाजको हितलाई सर्वोपरी ठान्यो।
'मलाई मन्त्राणी (मन्त्रीपत्नी) बन्ने रहर कहिल्यै लागेन,' बिजुक्छे पत्नी शोभाले भनिन्, 'म शिक्षिकामै खुसी छु।' रामेछाप ठोसेस्थित प्रधान परिवारकी शोभा ०४० मा बिजुक्छेसँग वैवाहिक सम्बन्धमा गाँसिएकी हुन्। विवाहअगावै शिक्षिकाको रूपमा कार्यरत शोभा अहिलेसम्म यही पेसामा छन्।
३३ वर्ष लामो वैवाहिक जीवनमा निकै कठिनाई पनि आए, उनले कहिल्यै हिम्मत हारिनन्। दुई सन्तानकी आमा उनी घर चलाउँछिन्, नारायणमान पार्टी।
'उनले घर हेर्दा मैले समाजबारे सोच्ने मौका पाएँ,' नारायणमान भन्छन्, 'मेरो जीवनमा उनको सहयोग निकै छ।'
उनी घरमा आउँदा सम्पत्ति भनेकै किताब थियो। 'दराजमा किताब, खाटमा किताब, ‰यालमा किताब,' उनले भनिन्, 'खाटमुनि नियालेको त्यहाँ पनि किताब नै थियो।' हाम्रो सम्पत्ति भनेकै किताबै रह्यो। ०४५ मा भएको ह्योजु काण्डमा जनताको तर्फबाट पोखिएको आक्रोशलाई लिएर पति जेलमा परेपछि शोभा निकै चिन्तित भइन्। पञ्चायती सरकारले पति र उनको पार्टीलाई समूल नष्ट गर्ने उद्देश्य बोकेको उनले बुझिन्। उनी झनै आत्तिइन। विवाहको केही वर्षमै आएको यो समस्या झेल्न उनलाई निकै कठिन भयो। जेलमा रहेका बिजुक्छेले यो पीडा महसुस गरे। त्यसपछि उनले जेलबाटै शोभालाई चिठी पठाउन थाले।
सेन्सरको कडाइका कारण सुरुसुरुमा सन्चो–बिसन्चो सोधिएको चिठी आउने गरेको शोभाले सुनाइन्। त्यही सन्चो–बिसन्चोभित्र पतिले आफूलाई नेपालको, भारतको र युरोपका कला–संस्कृतिदेखि राजनीतिक उतारचढावसम्म सबै सम्झाएको उनले बताइन्। 'कहिले कविता लेख्नुहुन्थ्यो, कहिले साना नानीहरू र बूढी आमाको सन्चो–बिसन्चो सोध्नुहुन्थ्यो,' उनले भनिन्।
पतिका चिठीबाटै आफूले बिस्तारै भक्तपुरका कला–संस्कृतिबारे ज्ञान पाएको उनले सुनाइन्। 'यसैबाट विभिन्न देशका कलाकार र उनका योगदानबारे बुझ्ने मौका पाएँ,' उनले भनिन्, 'अक्षरमा मैले उहाँको ज्ञान र माया दुवै पाएँ।
त्यही चिठीले जीवनप्रति निकै आशा जगाएको उनले बताइन्। यसलाई उनले जतन गरेर राखिन्। उनले तिनै चिठीको संगालो 'जेलका चिठी' किताब पनि निकालेकी छन्। 'यो मेरो मात्र हैन, ममार्फत नारीलाई दिएको शिक्षा हो,' उनी भन्छिन्, 'त्यसैले यसलाई प्रकाशन गरेकी हुँ।'
बिजुक्छेसँगको संगतले उनीमा चेतना नबढ्ने कुरै भएन। त्यसैले उनी पछिल्लो समय महिला हक र उत्थानमा खटिन्छिन्। उनीहरूको समस्या बुझ्छिन्। त्यसका लागि के गर्ने भनेर सोच्छिन्। 'शिक्षा र सीपको अभावमा समाजका महिला पछाडि परेका हुन्, 'उनी भन्छिन्, 'दया–मायाभन्दा पनि उनीहरूलाई ज्ञान दिनु जरुरी छ।'
परबाट हेर्दा थुप्रैलाई यो परिवार निकै सम्भ्रान्त र सुखभोगी होलाजस्तो लाग्ला तर यो परिवारसँग नजिक हुनेहरु उनीहरूको सरलपनबाट प्रभावित हुन्छन्। भक्तपुर कमलविनायकनजिकै बिजुक्छे परिवारको घर छ। यो परिवारमा शोभा अहोरात्र खट्छिन्। उनी बिहानै उठ्छिन्। घरधन्दा गर्छिन्। चिया पकाउँछिन्, खाना बनाउँछिन्। सबैलाई खुवाउँछिन्। अनि नजिकैको वागेश्वरी उच्च माविमा पुग्छिन्। दिनभर नानीहरूलाई पढाउँछिन्। साँझ घर फर्कन्छिन्। फेरि घरधन्दामा लाग्छिन्। 'घरमा नोकरचाकर होलान् भन्ने धेरैलाई लाग्ने गरेको छ,' किस्तीमा चिया ल्याउँदै गरेकी शोभाले भनिन्, 'घरको काम गर्न मलाई रमाइलो लाग्छ।'
प्रकाशित: २८ फाल्गुन २०७३ ०५:१८ शनिबार