कुमारी लामा
प्रिय सहर,
छाडेको एक साता भइसकेछ तिमीलाई। तिमी, अर्थात् प्यारो काठमाडौँ। तर, छाडिने चिज कहाँ रैछौ र तिमी! मसँगै त छौ, मनमा। तिम्रो झझल्कोसँगै आँखा अघिल्तिर उभिएको छ फरक परिवेश। एउटै भूगोलभित्रको बिलकुल फरक संसार। फरक अवस्था, परिस्थिति र बाध्यताहरूसँग घिस्रँदै गरेको समय। पूर्वी लमजुङ गाउँ ढोडेनी १ सराञ्चोकको आदिम पखेरासँग मन मिसाउँदैछु यतिखेर। बेँसीसहरबाट धेरै टाढा त हैन, मात्र ४ घन्टे हिँडाइमा छिचोलिने ठाउँ, तर सहरपना भन्दा कति हो कति युग परको संसार। विश्वास गर्छौ? त्यसैले त भनेको कति धेरै फरक पर्दोरहेछ केही इन्च दूरीको जीवन पनि! जस्तो नि मानिस उस्तै देखिए पनि फेरि कहाँ उस्तै छौँ र! हाम्रा मानसिकता, कति हो कति भिन्न!
यस्तै केही भिन्नता गम्दैछु प्रिय सहर यो यायावरीमा। थाहा छ? भेटेका प्रत्येक व्यक्तिभित्र कथा छ। सुखभन्दा पीडाका कथा बढी छन्। किन होला हामी यतिबिघ्न पीडा बाँच्न अभिशप्त?
तिमी सुन्छौ नि उनीहरूका कुरा?
सबैले मलाई गुन्टे सार्कीकी जहान भन्छन्। ऊ मरेको त ४ वर्ष भैसक्यो। तर, अझै उसैको नाम जोडेर बोलाउँछन्। किन होला? मेरो नि नाम छ त। माइतीमा हुँदा त मलाई सबैले सुकमाया भन्थे। तर, त्यो त धेरैअघि केटाकेटी बेलाको कुरा भो। अहिले त आफै ६० वर्ष टेकिसकेँ। अब जल्ले जे भनेर बोलाए नि केही छैन।
•
गुन्टे सार्कीकी जहान।
सबैले मलाई गुन्टे सार्कीकी जहान भन्छन्। ऊ मरेको त ४ वर्ष भैसक्यो। तर, अझै उसैको नाम जोडेर बोलाउँछन्। किन होला?
मेरो नि नाम छ त। माइतीमा हुँदा त मलाई सबैले सुकमाया भन्थे। तर, त्यो त धेरैअघि केटाकेटी बेलाको कुरा भो। अहिले त आफै ६० वर्ष टेकिसकेँ। अब जल्ले जे भनेर बोलाए नि केही छैन।
गुन्टे त बेलामै गैगयो। हुन त ऊ हँुदा नि के सुखथ्यो र! दुई डोको मकै फल्ने एक चोक्टा बारी न हो उसको सम्पत्ति। जीवनभर बनी गरेकै भरमा खाइयो। उबेला बल थियो। दिनै खेताला लाग्न पनि सकिन्थ्यो। अब त बूढेसकाल लाग्यो। काम गर्न नि सक्दिनँ। त्यसमा पनि यो ढाड दुख्ने व्यथाले गर्नु गरेको छ। एउटा छोरा त्यो पनि हुरिबतासजस्तो छ। कहिलेकाहीँ रात छिप्पेपछि मिलिक्क घर पस्छ। नत्र धेरैजसो फाँटतिरै। गाडी चलाउँछु भन्छ। बेस्सरी रक्सी धोक्छ। बिहे गर भनेको नि मान्दैन। त्यसको भर भन्नु चामलसम्म ल्याइदिन्छ। त्यत्ति हो दुःख गरी पाएको छोराको पौरख। दुई छोरी आआफ्नै घरमा। चाडबाडमा आउँछन्। उनीहरूको नि उस्तै हो जीवन। आइमाईको जीवन खुकुरीको धारमा!
अचेल एउटा कुरो खुब खेलीबस्छ मनमा। अस्ति ढाड दुखेर थलिएको बेला क्रिस्तानीहरूले प्रार्थना गरिदिएपछि अलि सन्चो भयो। यतिको हिँडडुल गर्न सक्ने भएँ। उनीहरूले यो धर्ममा लाग तिम्रो रोग निको हुन्छ भनेका छन्। छोराको रक्सी खाने बानी पनि छुटाइदिन्छौँ भन्थे। दुःख–बिराम पर्दा, गाह्रो–अप्ठेरो पर्दा सहयोग नि गर्छु भनेका छन्। केही साथीभाइ त अस्ति नै देखि लागी पनि सके। अब यो एक्लो जीवनमा त्यतै पो लाग्नु पर्ला जस्तो छ। छोरा नि सुध्रने, आफ्नो ज्यान पनि ठीक हुने।(भा हुन्न मानिराको धर्म छाड्न)
आ, यो मानिराको देउताले चाहिँ के दिएको छ र जीवनमा?
सानुमाया पुरी।
फाँटमा एकतमासले सुसाउँदैछ दोर्दी। यो सुसाइ मलाई पटक्कै मन पर्दैन। खिसी गरेजस्तो लाग्छ मेरो दुःखको। दिनभरि त्यही खोलाको ढुंगा त बोक्नुपर्छ मैले। साथीहरू स्कुल उक्लिँदा म खोलातिर झर्नुपर्छ।
यो वर्षबाट सोह्र वर्ष लागँे। गको साल त म पनि स्कुल जान्थेँ। पाँच कक्षा पढ्दै थिएँ। घरमा ७० वर्ष टेकिसककेका रोगी बा छन्। सम्पत्तिको नाममा अलिकति खेतबारी छ। एउटा दाइ छुट्टिएर गए। दिदीहरूको बिहे भैसकेको छ। आमा लाटी छन्। खुब माया लाग्छ उनको। मेरा बाका तीन वटी स्वास्नी थिए रे। मेरी आमा चैँ कान्छी। खै कता गए ती अरु दुइटी आमा? अहिले त हामीमात्रै छौँ परिवारमा। बोली नभए नि मेरी आमाले हामीलाई जन्माइन् हुर्काइन्। कति धेरै काम गर्छिन्। चिटिक्क परेका गुन्द्री बुन्छिन्। एकछिन् हात खाली बस्दिनन्।
उनको मनमा पनि कति धेरै कुरा होलान्? तर, उनी बोल्न सक्दिनन्।
२०७३ साल लाग्दै गोर्खातिरका एउटा लठेब्रोसँग मेरो बिहे गरिदिए बाले। बिहे गर्दिनँ भनेको उनले सुनेनन्। उनको नि बाध्यता थियो कि! आमालाई त मेरो बिहेको कुरो नि था' थिएन। बल्ल केटाहरू आएपछि था'पाइन्। टीकाटालो गरी पठाइदिए। तर, सोचेजस्तो कहाँ रछ र जीवन? जति काम गर्दा नि नदेख्ने सासु–ससुरा। खाली गाली गर्ने। म बिमार भएर थलिँदा नि कसैले वास्ता गरेनन्। ओखति नि गरिदिएनन्। लोग्ने त नाममात्रको। बोल्दा नि नबोल्ने। अर्कोपट्टि फर्केर सुत्ने सधैँ। कस्तो मन कँुडियो। गाउँकै एउटी दिदीसँग अलिकति पैसा सापटी मागेर भागी आएँ आफ्नै घर। जहाँ गए नि काम गरी खानु त रैछ मेरो कर्म। अब यहीँ काम गर्छु– खान्छु। अचेल त बाले पनि केही भनेका छैनन्। आमा त खुसी छिन्।
मेरो एउटा भाइ छ। केशव। त्यसको अति धेर माया लाग्छ। खुब चलाख छ। सातमा पढ्ने भैसक्यो। पढ्न, मादल बजाउन, गीत गाउन, अर्काको नक्कल गर्न सबै जान्नेछ। सरहरूले नि धेरै माया गर्नुहुन्छ। भाइका लागि डे्रस, कापी, किताब किनिदिनुपर्छ मैले। आमा–बासँग पैसा छैन। त्यसैले पनि मैले ढुंगा बोक्ने काम गर्छु। खान त पुग्छ गारो गरी खेतीबाट, तर पैसा आउने बाटो छैन। मैले पढ्न नपाए नि भाइलाई पढाउने मन छ।
दोर्दीको पानीसँगै मेरो दुःख नि बगिगए हुन्थ्यो नि। अर्काको नाम लाग्यो। गाउँमा नि कतिले कुरा काट्छन्। पढाइ नि छुट्यो। अब आफू पढ्नु कि भाइलाई पढाउनु भाको छ। यो दोर्दीमा कति धेरै बिजुली निकाल्ने प्रोजेक्ट सुरु भएको छ भन्छन्। मजस्तोलाई स्कुल पढ्न पठाउने प्रोजेक्टचाहिँ कहिले सुरु हुन्छ होला?
नउघ्रेको आकाश
लमजुङ र बोध हिमालको कोक्याउने स्याँठ। खपिनसक्नुको छ चिसो। पानी छोइसक्नु छैन। आकाश नि किन यति धुम्म भैबसेको होला? मेरो मनजस्तै। जुन दिन ऊ गयो, त्यही दिनबाट तुवाँलोले ढाकेको छ मन। सपनाजस्तै लाग्छ सबैथोक।
बिहानै उठेर भैँसी दुन्छु। रक्सीको बान बसाउँछु। घर सफा गर्छु। चिया पकाउँछु। छोरी र बूढालाई दिन्छु। अनि पानी र दुई टुक्रा फूल चढाउँछु मेरो देउतालाई। मेरो कान्छो छोरो, अब देउता भएको छ। ज्वरोले नै लगिगो। मन भक्कानिहाल्छ सम्झँदा। यही साल दसैँमा। सबैको घरमा दसैँ थियो, तर हाम्रो घरमा रुवाबासी। कस्तो ज्ञानी केटो थियो। पढाइमा सधैँ फस्ट। जिल्लाको केके प्रतियोगितमा पनि जितेर आउथ्यो सधैँ। त्यसले जितेर ल्याको कापी–किताब अझै छ मटानमा। त्यही भएर मलाई मटानमा उक्लिनै मन लाग्दैन। आठ कक्षामा पढ्दै गरेको लाठे छोरो गयो। समयमा अस्पताल पुर्याउन पाको भए बाँच्थ्यो होला कि?
किन हाम्रो छेउछाउ अस्पताल नि नखुलेको होला? बेँसीसहर पुग्नै धेर बेर लाग्छ। आपत्बिपत् पर्दा त सास अडिनै नपाउने!
समयमा अस्पताल पुर्याउन नसके पनि अचेल म समयमै पानी राखिदिन्छु। मैले बिहानैपिच्छे राखिदिएको पानी पाउँछ कि पाउँदैन होला त्यसले?
जीवन सम्भि्कँदा सपनैजस्तो लाग्छ। म गुरुङनी। तर, कसरी त्यो स्वास्नी छाडी बसेको बोगटीले मलाई पछिपछि लाग्ने बनायो? खाली उसलाई नै हेरुँ–देखुँ हुने! मोहनी लाको भन्छन्। मात्रै १६ वर्षकी थिएँ त्यसबेला। दुई नानी पाइन्जेल त कहिल्यै ज्यानलाई सन्चो भएन। सधैँ छोपेजस्तो मात्रै हुन्थ्यो। आधा जीवन त मेरो बिमारमै बित्यो। गोरखातिरको एउटा माताले बल्ल छ्याङ्ङ पारिदिइन्। अचेलचाहिँ विपना हो कि जस्तो लाग्छ जीवन। तर, फेरि यो महादुःख! मनको दोख साह्रै गाह्रो। खानलाउन गारो छैन। म चिया बेच्छु। आफैले पारेको रक्सी पनि बेच्छु। बूढा घरनजिककै सरकारी स्कुलको पिउन छन्। यो सराञ्चोक गाउँमा सुख छ मलाई अरुले देख्दा, तर मेरो मनको पीडा कल्ले देख्ने र?
नाम शान्ति भए पनि मनमा सधैँ अशान्ति छ। त्यसै विरक्त भइबस्छु। मर्न मन लाग्छ। बूढाले रक्सी खाएर राति छेउमा घुसि्रन आउँदा त नरककै जुनी लाग्छ । ३४ वर्षमात्र लाग्दैछु, तर रूपरंगले ४४ को जस्तो देखिन थालिसकेँ। शरीर कहिल्यै पोटिलो हुन सकेन। सधैँको खबटे ज्यान र उमेर नहँुदै चाउरिएको गाला।
मेरो बूढोलाई नि कस्तो लाग्दो हो मेरो ज्यान? ऐनामा आफैलाई हेर्न धक लाग्न थालेको छ अचेल। बाहिरी रूप पनि मन खुसी भए न फक्रिने रैछ!
दुखियालाई सधैँ दुःखैदुःख। मेरा बा बेपत्ता भएका रे। त्यसपछि आमाले पनि डाली सारिन्(अर्कैसँग गइन्)। मलाई बजुले हुर्काइन्। साह्रै कडा थिइन् बजु। तर, रोइबस्थिन् मेरा बाको कुरा गरेर। म खुब सम्झाइटोपल्थेँ– नरोउ बजु भन्दै। तर, ऐेले थाहा पाउँदैछु छोराछोरीको माया कस्तो हँुदो रैछ भनेर। जबदेखि सानो बाबु गयो मेरो खुसी पनि ऊसँगै गयो।
गाउँभरिका भुरा मेरै आँगन भएर हल्लीखल्ली गर्दै स्कुल जान्छन्। मेरो मन चिसो हुन्छ। मेरो छोरो पनि त यिनीहरूजस्तै हाँस्दै–खेल्दै स्कुल जान्थ्यो। अब त मात्र सम्झना बाँकी छ। रोक्न खोज्दा नि नथामिने यो मनको व्यथालाई म के गरुँ?
•
अब थन्कयाउनेछु उपन्यासहरूलाई सेल्फको सेपिलो कुनातिर। यतिखेर फिक्का भएका छन् उपन्यासका पात्रहरूका असजिला भोगाइ। एउटा लेखकको कल्पनाभन्दा धेरै नै रापिलो हँुदोरै'छ भोग्नेहरूका व्यथा। अकिकति राप सरेको छ मेरो मनमा पनि। काठमाडौँ, कहीँकतै खोज्यौ आफैलाई ती पीडाहरूमा?
थोरै सही, मन त तिम्रो पनि तातिनैपर्ने! कि लाग्थ्यो तिमीलाई सिंहदरवार अघिल्तिरको चिल्लो सडकजस्तै सिनित्तै छ कुनाकन्दराका जीवनमार्गहरू पनि? लाग्थ्यो भने कम्तीमा यस्तो डरलाग्दो भ्रमबाट मुक्त भइदेऊ।
प्यारो काठमाडौँ,
लम्जुङको यो भिरालो ढोडेनी, नौथर, नाक ठोक्किने उकालो काटेर पुगिने थलपुङ या मोकोन्दे सबैतिर बाँचेकै छन् जीवन। पातलो बस्ती भए पनि मानिस त छन् नि अझै। उनीहरूलाई पनि चाहिन्छ सडक, अस्पताल, स्कुल– हैन र?
सुकमायाजस्ता गरिबलाई अर्को धर्ममा जान बाटो खनिदिने हो कि औषधि उपचारमा साथ दिने हो सिंहदरवाले? भन त के झमेल, ठमेल र लेकसाइड(पोखरा) ले पोतेको सुनौले जलपले मात्रै नेपालको भीरपखेरको पीडालाई ढाकिराख्न सक्छ?
कस्तो सुन्दर हुन्छ हगि कल्पना? तर, उत्तिनै कुरूप बिझाउँछ यथार्थ। प्रिय सहर म त केही दिनमा नै तिमीसँगै सप्ठेरा–अप्ठेरा साट्न आइपुगिहाल्छु, तर मैले भेटेका यी पात्रहरू त यतै रहनेछन्। उस्तै समयमा। उस्तै अवस्थामा। त्यसैले अब उनीहरूलाई थुम्थुमाउन भए पनि म केही मीठा सपना भट्याएर बिदा हुन्छु ल :
(सानुमायाहरूलाई पढाउने प्रोजेक्ट चाँडै खुल्नेछ। शान्ति गुरुङहरूको घर अघिल्तिरै अस्पताल खुल्नेछ। सबैले निःशुल्क उपचार पाउने छन्। सुकमायाहरूलाई सरकारले हेर्नेछ...! )
प्रकाशित: १५ माघ २०७३ ०५:२० शनिबार