अन्य

तीनपुस्ते सम्बन्ध

सूर्यबहादुर थापा-
गिरिजाबाबुको दाजुभाइको अंशबण्डा नै मेरो बुबाले गरिदिनुभएको।

  एउटा आमाबाट मातृका र अर्कीबाट बिपी, गिरिजा, केशव, तारायणी हुनुहुन्थ्यो। दुई गुणका पाँचै भाइले मेरो बुवाले लगाइदिएको अंशबण्डा सहर्ष स्विकारेका थिए। मातृकाबाबुले धेरै पछिसम्म भेटैपिच्छे त्यो कुरा दोहोर्‍याउनुहुन्थ्यो
...

गिरिजाबाबुकी श्रीमती सुषमा स्टोभ विष्फोटमा पर्नुभो। रगत प्लेसान्टा चाहिएछ। विराटनगरमा पाइएन। काठमाडौं सैनिक अस्पतालबाट मागे। हेलिकप्टरबाट पठाए। औषधीको पोको र रगत विराटनगर त पुग्यो तर बचाउन सकिएन
...
सरकारी कार्यालयमा पर्ने विभिन्न कामका लागि गिरिजाबाबु सिफारिस गरिरहनुहुन्थ्यो। उहाँहरूको नातेदार र परिवारका सदस्यको उद्योगधन्दा, बन्दव्यापारको काम सल्टाइदिन मैले हरसम्भव मद्दत गरेको छु। तर बिपीले कहिल्यै सिफारिस गर्नुभएन
...
कांग्रेस सुधारिएको पञ्चायतभित्र प्रवेश गर्नुपर्छ भन्नेमा गिरिजाबाबुसँग धेरै छलफल भयो। उहाँ सकारात्मक हुनुहुन्थ्यो। गणेशमान, किसुनजीहरूले नमानेकाले हाम्रो प्रयास सफल भएन
...
मैले गिरिजाबाबुलाई भनेपछि कहिल्यै ‘हुन्न' ‘गर्दिनँ' भन्ने जवाफ पाइनँ। उहाँ मैले सिफारिस गरोस् भन्ने चाहनुहुन्थ्यो। ठूलै समस्यामा बाहेक म सितिमिति सिफारिस गर्दैनथेँ


कोइराला परिवारसँग हाम्रो सम्बन्ध तीन पुस्तादेखिको हो। मूल घर धनकुटा भएपनि राणाकालदेखि नै धरानमा पनि हाम्रो बसोबास थियो। विराटनगरमा खेतीपाती। हाम्रो परिवार खातापिता थियो। कोइरालाहरू विराटनगरमा कहलिएका। केही नाता नभए पनि दुई परिवार इष्टमित्र जस्तै थियो र छ।


मेरा बाजे र कृष्णप्रसाद कोइरालाबीच असाध्यै प्रेम थियो। भेटघाट नभएपनि बाउबाजेको मुखबाट सुनेकै भरमा कोइरालाहरू हितैसी हुन् भन्ने थाहा भैसकेको थियो।
मेरो पढाइलेखाइ काठमाडौं र भारतमा भयो। केही वर्ष काठमाडौंमा पढेँ। एसएलसीपछि राणाकालमै कलेज पढ्न भारतको इलहाबाद गएँ। त्यहाँ रामबहादुर रावल, ऋषिकेश शाहसँग भेटघाट भयो। शाह पढाइमा हामीभन्दा सिनियर थिए। उहाँसँगकै संगतले राजनीतिमा रुचि जाग्यो।


पढाइ सकेर नेपाल फर्किंदा प्रजातन्त्र आइसकेको थियो। शाह, डिल्लीरमण रेग्मीहरूको पार्टीमा म आबद्ध भएँ। त्यहीबीच मातृका र बिपीबाबुसँग प्रत्यक्ष चिनजान गर्ने मौका मिल्यो। त्यतिबेलासम्म पनि गिरिजाबाबुसँग आमनेसामने भएको थिएन।


गिरिजाबाबुको राजनीति विराटनगरकै सेरोफेरोमा थियो। उहाँ ‘लो प्रोफाइल'मै भएकाले दोहोरो चिनजान भएपनि सम्झना नभएको हुन सक्छ। मातृका, बिपीका भाइ पनि राजनीतिमा सक्रिय छन् भन्ने कण्ठस्थ थियो। सशरीर भेट हुने संयोग परेको थिएन।


बिपी, सुवर्ण शमशेर, सूर्यप्रसादलगायत राष्ट्रिय नेताले मलाई कांग्रेस ‘ज्वाइन' गर्न कर गर्नुभयो। उहाँहरूको आग्रहअनुसार कांग्रेस प्रवेश गरे। २०१२ सालमा वीरगन्ज अधिवेशन भयो। गिरिजाबाबुलाई देखेँ। सबैले बिपीको भाइ भन्थे। सामान्य परिचय भयो होला। खासै कुरा भएको सम्झना छैन।


कांग्रेसको नीति मन परेन। पार्टीमा धेरै दिन अडिन सकिनँ। स्वतन्त्र राजनीति गर्न थालेँ। धनकुटा गएर सल्लाहकारको निर्वाचन लडेँ।


२०१५ सालमा म माथिल्लो सदनम मनोनीत भएँ। बिपी निर्वाचित प्रधानमन्त्री हुनुभयो। बिपीसँग आत्मीय सम्बन्ध रह्यो। संसदमा उत्पन्न गतिरोध हटाउने सिलसिलामा धेरैपटक औपचारिक बैठकमा पनि बसियो।


त्यतिञ्जेल पनि गिरिजाबाबु विराटनगरमै हुनुहुन्थ्यो। कांग्रेसको जिल्ला सभापति। संगठन गर्न तल्लीन। पार्टीको काममा साइकल चढेर झापा, मोरङ, सुनसरी घुम्छन् भन्ने हल्ला पूर्वमा थियो।

राजाले २०१७ पुस गते कोइराला परिवारका धेरै जना पक्राउ गरियो। गिरिजाबाबु पनि जेल परे।


पञ्चायतमा तुलसी गिरीपछि म प्रधानमन्त्री भएँ। आमरण अनसन गरेर गिरिजाबाबु छुटे। २०२४ सालमा गिरिजाबाबुसँग पहिले भेट भयो। उहाँ बिपीलाई जसरी पनि छुटाउनुपर्‍यो भन्ने अभियानमा हुनुहुन्थ्यो। म प्रधानमन्त्री र गिरिजाबाबु दाजुलाई जेलमुक्त गर्न हिँडेको भाइ। मसँग धेरै पटक अन्तरंग छलफल गर्नुभयो।
आफूभन्दा बिपीबारे धेरै चिन्तित। इमानदार भाइ र बफादार कांग्रेस।
कांग्रेसका ‘टप लिडर'हरू जेलमा थिए। बाहिर रहेका गिरिजाबाबु राष्ट्रिय रूपमै सक्रिय हुनुभयो।
बिपी छुटाउन उहाँले राजा महेन्द्रलाई पनि भेट्नुभयो। भेटघाटको चाँजो मिलाइदिन मेरो पनि सहयोग छ। पुस्तौनी सम्बन्धको विश्वासले नै गिरिजाबाबुले मन फुकाएर मसँग सहयोग मागेजस्तो लाग्छ।


बाउबाजेको पालादेखि सम्बन्ध भएकाले राजनीतिक भेटघाट पनि पारिवारिकझैं भयो। मेरा दाइहरूसँग पनि कोइराला परिवारका सबै सदस्यको हिमचिम थियो।
दुई परिवारको घनिष्ठताबारे गिरिजाबाबु पनि मजत्तिकै जानकार रहेको पहिलो भेटघाटबाट नै प्रष्ट थियो। विराटनगरको खेतीपाती र मौजामा बाली भित्र्याउन जाँदा मेरा दाजुहरू कोइराला निवास पुगेकै हुन्थे।


विराटनगरमा थापा निवास रहेको जग्गाजमिन हामीले गिरिजाबाबुहरूकै किनेका हौं। कोइराला परिवारको जमिनदारी किनेपछि सम्बन्ध झनै गाढा भयो। हामीहरूबीच विश्वास र भरोसा अपार थियो। यहाँसम्म कि गिरिजाबाबुहरूको दाजुभाइको अंशबण्डा नै मेरो बुबाले गरिदिनुभएको हो। एउटा आमाबाट मातृका र अर्कीबाट बिपी, गिरिजा, केशव, तारिणी हुनुहुन्थ्यो। दुई गुणका पाँचै दाजुभाइले मेरो बुबाले लगाइदिएको अंशबण्डा सहर्ष स्विकारेका थिए। मातृकाबाबुले धेरै पछिसम्म भेटैपिच्छे त्यो कुरा दोहोर्‍याउनुहुन्थ्यो।


प्रधानमन्त्रीका रूपमा पञ्चायत जोगाउनु मेरो कर्तव्य नै हो। व्यवस्थाविरोधी आन्दोलनको नेतृत्व कांग्रेसले गरेको थियो। कांग्रेस कोइरालाहरूले हाँकिरहेका थिए। सैद्धान्तिक रूपमा विपरीत राजनीतिक विचारधारा अँगालेका थियौं। तर त्यसको छाया सम्बन्धमा कहिल्यै परेन।


२०२४/२५ सालतिर हुनुपर्छ। म प्रधानमन्त्री थिएँ। गिरिजाबाबुकी श्रीमती सुषमा कोइराला विराटनगरको स्कुलमा पढाउनुहुन्थ्यो। सुषमा गम्भीर दुर्घटनामा परेको खबर आयो। विद्यार्थीलाई प्राक्टिकल गराउँदा स्टोभ पड्किएर पूरै शरीर जलेछ। पोलेको बिरामी। निकै सिरियस हुनुहुन्छ भन्ने थाहा पाएँ।


विराटनगरमै उपचार भइरहेको थियो। ब्लड प्लेसेन्टाको खाँचो परेछ। अरू औषधी पनि चाहिएछ। इष्टमित्रका सम्बन्ध र मानवताको नाताले म गम्भीर भएँ। राजधानीका कुनै पनि अस्पतालमा त्यस्तो रगत पाइएन।
मैले निकै खोजी गरेँ। सैनिक अस्पतालमा पाइन्छ भन्ने पत्ता लाग्यो। वीरेन्द्रबहादुर बस्नेत भन्ने जर्नेल अस्पतालका प्रमुख थिए। आफैले सम्पर्क गरे। विराटनगरबाट मेरा बहिनीहरूले बिरामीको अवस्था चिन्ताजनक छ भनेर तारन्तार लगाइरहेका छन्।
रगत त पाइयो, कसरी पुर्‍याउने भन्ने प्रश्न आयो। कुरेर फ्लाइटबाट पठाउँदा ढिलो हुने भयो। हेलिकप्टरबाट पठाएँ। औषधीको पोको र रगत विराटनगर त पुग्यो तर सुषमालाई बचाउन सकिएन।


संघर्षको नेतृत्व गरिरहेका कोइराला परिवारलाई राज्यले त्यत्रो सहयोग गर्न ठूलो आँट चाहिन्थ्यो। परेको बेहोर्छु भनी मैले त्यो साहस गरँे। पारिवारिक र समाजिक सम्बन्धलाई राजनीतिबाट अलग राखेर हेर्न फराकिलो छाती चाहिन्छ। संकीर्णहरूकै बाहुल्य थियो।


हेलिकप्टर पठायो भनेर राजालाई उक्साउने काम भयो। मेरा विरोधीहरूले गतिलै मसला पाएजस्तो गरे। मैले राजालाई ‘कन्भिन्स' गरँे।


दरबारलाई मनाउन सजिलो थिएन भन्ने उदाहरण विश्वबन्धु थापा नै छन्। विश्वबन्धु कोइरालाका भाइजस्तै थिए। दसैंमा बिपीको घर गएको बहानामा उनीविरुद्ध पञ्चहरूले राजालाई उचाले। यही निहुँमा गाउँ फर्क राष्ट्रिय अभियानको अध्यक्षबाट थापा पदच्युत नै हुनुपर्‍यो।


पञ्चायतभरि मैले गिरिजाबाबु र कोइराला परिवारलाई सक्दो सहयोग गरेँ, प्रधानमन्त्री हुँदा र नहुँदा पनि। सरकारी कार्यालयमा पर्ने विभिन्न कामका लागि गिरिजाबाबु सिफारिस गरिरहनुहुन्थ्यो। उहाँहरूको नातेदार र परिवारका सदस्यको उद्योगधन्दा, बन्दव्यापारको काम सल्टाइदिन मैले हरसम्भव मद्दत गरेको छु।


बिपीले कहिल्यै सिफारिस गर्नुभएन। सायद उहाँले भन्नुपर्ने भएपनि गिरिजाबाबुमार्फत मसम्म कुरा आइपुग्थ्यो।


नाम लिनु संकीर्णता हुन्छ। अहिले कांग्रेसका ठूलै नेता रहेका कोइराला परिवारका नातेदारहरूले मबाट गतिलो काम लिएका छन्।


पञ्चायतकालभरि उद्योग, आयात, निर्यात, वैदेशिक व्यापारमा सरकारी नियन्त्रण थियो। जुट, स्टेनलेस स्टिल, आयात अनुमति कोटाका लागि गिरिजाबाबुले मलाई धेरै सिफारिस गर्नुभएको छ। गिरिजाबाबु संगठनमा असाध्यै भिजेको मानिस कार्यकर्ताको सरकारी कामका लागि पनि उहाँलाई धेरै नै दबाब हुन्थ्यो होला। यस्ता कामले पनि कार्यकर्ता रिझाएर कांग्रेस संगठन मजबुत बनाउन उहाँलाई मद्दत पुगेको हुनुपर्छ।


पञ्चायतमा म उदार धारको नेतृत्व गर्थें। २०३७ मा भएको जनमत संग्रहपछि मेरा विरोधीले कोइरालाहरूलाई पोसेको चर्को आलोचना गरे। प्रधानमन्त्रीले नै विरोधीलाई सहयोग गरिरहेको छ भनी राजाकहाँ चुक्ली लगाउनेहरू धेरै थिए। पूर्वको मानिस, पुस्तौनी सम्बन्ध र इष्टमित्र जस्तो आत्मियताले गर्दा सहयोग गरेको हुँ भनी मैले राजालाई धेरैपटक स्पष्टीकरण दिनुपरेको छ।


बिपी, गिरिजाबाबुसँगको सम्बन्धका विषयमा महेन्द्र र वीरेन्द्र दुवै राजाको शासनकालमा धेरैपटक प्रष्टीकरण दिएको छु।
जनमतसंग्रहपछि संविधान संशोधन भयो। पञ्चायतले निकै उदार नीति लियो। बालिग मताधिकार, प्रत्यक्ष निर्वाचन, बहुमतको सरकारजस्ता प्रजातान्त्रिक अभ्यास सुरु भयो।
त्यसपछिको निर्वाचनमा कम्युनिस्टहरूले पञ्चायतभित्रै पसेर संघर्ष गर्ने भन्ने नीति लिए। कांग्रेसको लाइन निर्वाचनमा सरिक नहुने, बाहिरै बसेर संघर्ष गरेर जाने भन्ने थियो।


कांग्रेस सुधारिएको पञ्चायतभित्र प्रवेश गर्नुपर्छ भन्नेमा गिरिजाबाबुसँग धेरै छलफल भयो। उहाँ सकारात्मक हुनुहुन्थ्यो। गणेशमान, किसुनजीहरूले नमानेकाले हाम्रो प्रयास सफल भएन।


पञ्चायती संविधानमा जुनसुकै निर्वाचनमा भाग लिन वर्गीय (युवक, प्रौढ, महिला, भूपू सैनिक, मजदुर, किसान) संगठनको सदस्य हुनुपर्थ्यो। यही प्रावधान हटाइदिए निर्वाचनमा जान सकिन्छ भन्ने गिरिजाबाबुको मान्यता थियो।


मैले दरबार र पञ्चायतका अन्य शक्ति केन्द्रमा उहाँको कुरा पुर्‍याइदिएको छु। दरबार पनि कांग्रेस निर्वाचनमा आओस् भन्ठान्थ्यो। गिरिजाबाबुहरू पनि इच्छुक हुनुहुन्थ्यो। मैले पटक-पटक संविधानले लगाइदिएको बन्देज हटाइदिन कोसिस गरेँ। तर सकिनँ।


जनमत संग्रहपछि कांग्रेसका धेरै ठूला नेता पञ्चायत प्रवेश गरे। धेरै लामो अवधि मूल प्रवाहबाट बाहिर रहे कुनै पनि राजनीतिक शक्ति असान्दर्भिक हुँदै जान्छ भन्ने धारणा थियो, गिरिजाबाबुको।


कांग्रेसलाई पञ्चायतभित्र अटाउन सक्ने वातावरण बनाउन मैले धेरै मिहेनत गरँे। पञ्चायत र राजाविरुद्ध काम गर्‍यो भनेर ‘हार्ड लाइनर' पञ्चहरूले मेरो उछित्तो काढे।
२०४६ को आन्दोलन सफल भयो। हाम्रो आसन ठ्याक्कै बदलियो। पञ्चायती व्यवस्था ढल्यो। गिरिजाबाबु शक्तिको केन्द्रमा आइपुग्नुभयो। हामी सत्ताबाट सडकमा पुग्यौं। अब गुन लगाउने हैसियतमा उहाँ हुनुहुन्थ्यो। उहाँले पैंचो तिर्नुभयो।


हाम्रो समाज यही हो। इष्टमित्र वा कार्यकर्ता सरकारी कामका लागि म कहाँ आउने नै भए। मैले गिरिजाबाबुलाई भनेपछि कहिल्यै पनि ‘हुन्न', ‘गर्दिनँ' भन्ने जवाफ पाइनँ। उहाँ मैले सिफारिस गरोस् भन्ने चाहनुहुन्थ्यो। ठूलै समस्यामा बाहेक म सितिमिति सिफारिस गर्दैनथेँ।


मेरा दाजुभाइले पनि उहाँसँग भेट गर्थे। इष्टमित्र वा असल हितैषीको हाम्रो तीन पुस्तादेखिको सम्बन्धलाई गिरिजाबाबुले अझ गाढा बनाउनुभयो।


कार्यकर्ताका लागि ज्यान दिने उहाँको बानी दुःखसुख दुवै कालखण्डमा उस्तै रह्यो। कांग्रेस भनेपछि मरिमेट्ने स्वभावले पार्टीमा पकड बलियो भयो।


पार्टी सभापति, प्रधानमन्त्री, मुलुकको नेताका रूपमा गिरिजाबाबुको धेरै आलोचना भएको छ। कुनै पनि व्यक्तिको खराब/असल पक्ष उत्तिकै हुन्छ। आफ्नो, विचार, लक्ष्य, उद्देश्यमा स्थापित भयो भएन भन्ने कसीमा उसको मूल्यांकन हुन्छ। अन्य झिनामसिना विवेचनामा म लाग्दिनँ।


इतिहासको कालखण्डमा चालेको कदम पनि मूल्यांकनको आधार हुनुपर्छ। गिरिजाबाबुले चार, पाँच, सात गदर्ैै दलहरूको मोर्चा बनाएर संसदको पुनर्स्थापना गराउनुभयो। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सकेकैले सफल हुनुभयो।


राजनीति र व्यक्तिगत जीवनमा पनि गिरिजाबाबु मुटु दह्रो भएको मानिस। रोगले गालेर शिथिल भएको बेला पनि उनको आत्मविश्वासमा रत्तिभर कमी आएन। साधारण र अनुकूल अवस्थामा सबै मनिस आफूलाई दृढ देखाउन सक्छन्। गिरिजाबाबु त्यस्तो ‘टेस्ट केस' हो जो राजनीतिक र व्यक्तिगत जीवनको दुवै भूमिकामा लेस पनि कमजोर भएन।


बिरामीले गालेको बेला पनि उहाँलाई कुनै फिक्री थिएन। मृत्युको पाँच दिनअघि भेट्न पुगँे। स्वास्थ्यबारे फिटिक्कै कुरा गर्न चाहनुभएन। अघिपछिझैं राजनीतिकै कुरा भयो। गिरिजाबाबु रोग, जीवन, परिवारप्रति साँच्चिकै बेमतलबी (रिएल्ली इनडिफरेन्ट) हुनुहुन्थ्यो।


(किरण भण्डारीले गरेको कुराकानीमा आधारित)

प्रकाशित: १९ चैत्र २०६६ ००:१९ बिहीबार