अन्य

क्यामरा प्रयोगले सुधार्दै ट्राफिक अनुशासन

काठमाडौं-त्रिपुरेश्वर चोकमा थापाथलीबाट एउटा ल्यान्डक्रुजर गाडी हुइँकिएर आयो। सहजै देखिन्थ्यो जाममा गाडीले आफ्नो लेन छोडेर अगाडि आएको। सडकको अवस्था नियाल्न आफैं फिल्डमा रहेका डिआइजी प्रकाश अर्याल आफैं अघि सरे । टाढा बसेर डिएसपी सविन प्रधानले सबै दृश्य हाते क्यामरामा कैद गर्दै थिए।

सवारीचालक आफूलाई किन रोकेको र हतार भएको भन्दै ट्राफिक प्रहरीका अधिकारीसँग कड्किए । उनले आफूले लेन मिच्दै नमिचेको दाबी गरे । सम्झाउने र बुझाउने केही सीप नचलेपछि ट्राइपडमा अड्याएको क्यामरा लिएर डिएसपी प्रधान नजिक आए ।

‘हामीले सबै घटना क्यामरामा कैद गरेको सुनाएपछि उहाँको हाउभाउमा एकाएक परिवर्तन देखियो, अनि उहाँ श्वासै श्वासमा कुरा गर्न थाल्नुभयो,’ डिआइजी अर्यालले सुनाए, ‘अलिकति मात्रै लेन मिचेको हो भन्दै गल्ती स्वीकार गर्नुभयो, हामीले चिट दियौं ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत चैत १२ बाट प्रयोगमा ल्याएको गोप्रो र बडी वर्न क्यामरामा उपत्यकाका सडकमा भएका ६ हजार कसुर कैद भएका छन् । महाशाखाका अनुसार गोप्रो र बडी वर्न क्यामराको निगरानीले गरेको कारबाहीमा असार मसान्तसम्ममा मात्र पाँच हजार नौ सय १२ जना परिसकेका छन् । महाशाखाले प्रयोगमा ल्याएका २४ थान गोप्रो र ६ थान बडी वर्न क्यामरामा हालसम्म सडकमा सवारीचालकलाई भएका ६ हजार कारबाही कैद भएका हुन् । शरीरमा लगाएर सञ्चालन गर्न मिल्ने गोप्रो क्यामरा र मोबाइल जस्तै हुने बडी वर्न प्रयोगले सवारीचालक, पैदल यात्रु र ट्राफिक प्रहरीसमेतलाई जिम्मेवार बनाएको डिआइजी अर्यालको अनुभव छ । 

महाशाखाले पहिचान गरेका काठमाडौं उपत्यकाका १३ स्थानमा नियमित गोप्रो र बडी वर्न क्यामरा सञ्चालन भइरहेको छ । काठमाडौंमा सबैभन्दा बढी जाम हुने र विवाद भइरहने स्थानमा छातीमा क्यामरा राख्दै ट्राफिक प्रहरी ड्युटीमा खटिएका छन् ।

‘हामीले सवारी चाप, लेन अनुशासन र युटर्न हुने स्थानमा हाल क्यामरा प्रयोगमा ल्याएका छौं, अहिले कारबाहीमा पर्नुभएका कसैको कुनै गुनासो सुनिँदैन,’ महाशाखाको प्रविधि हेरिरहेका डिएसपी प्रधानले नागरिकसँग भने । उनका अनुसार सुरुआतमा क्यामराको अनुगमनमा खटिएका ट्राफिक प्रहरी र चालकबीच विवाद भए पनि हाल त्यो समस्या छैन । उनले थपे, ‘अहिले आफूले गरेको गल्तीको र आफूले गर्ने व्यवहारको तेस्रो साक्षी रहेको अनुभव चालक र प्रहरी दुवैलाई भएको छ ।’

महाशाखाले क्यामरामा कैद गरेका दृश्यमध्ये केही दिन अघिमात्र पुतलीसडकको अर्को घटना । नम्बर प्लेट नै नभएको स्कुटरमा युवायुवती आउँदै थिए । ट्राफिक प्रहरीले रोके । स्कुटर बाटोछेउ उभ्याएर युवा मोबाइलमा कसैसँग कुरा गर्न थाले । युवती छेउमै थिइन् । ड्युटीमा रहेका ट्राफिक प्रहरीले छातीमा टाँसिएको क्यामरा अन गरिसकेका थिए । युवाले अलि टाढाबाट कसैलाई भन्दै थिए, ‘हेर्नुहोस् न, यहाँ ट्राफिक प्रहरीले पैसा खान खोजेजस्तो छ, म अलिकति दिएर मिलाएर आउँछु ।’

‘उनले अलि परैबाट कुराकानी गरे पनि क्यामराले आवाजसहित कैद गरिरहेको थियो,’ प्रधानले सडक अनुभव सुनाउँदै भने, ‘हामीले नजिक बोलाएर उहाँलाई हामीले पैसा मागेको खोइ भनेर सोध्यौं ।’

प्रधानका अनुसार अन नै रहेको क्यामरामा ती युवाले सुरुआतमा देशका उच्चतहका नेतादेखि प्रधानमन्त्रीसम्मले पैसा खाने भन्दै आमबुझाइ प्रस्ट्याएका थिए । ट्राफिक प्रहरीले युवाका सबै गतिविधि र आवाज कैद भएको सुनाए । त्यसपछि ती युवा केही सहज हुँदै अनुनयविनय गर्न थाले ।

‘आम बुझाइको व्यवहारमा हामीले परिवर्तन ल्याउने सहायकका रुपमा प्रविधिलाई लिएका हांै, अहिलेसम्मको अनुभव सकारात्मक छ,’ डिआइजी अर्यालले भने । उनका अनुसार महाशाखाले सडकमा सधैं सवारी चालक र पैदल यात्रुमात्र दोषी हुन्छन् भन्ने मान्यतामा प्रविधिले परिवर्तन ल्याएको छ । ‘क्यामराले चालकका मात्रै होइन आफैंसँग टाँसिएर रहेको ट्राफिकका कमीकमजोरी पनि कैद गरिरहेको छ, गल्ती गर्नेलाई हामीले कारबाही गरेका छौं,’ उनले भने ।

यसरी भयो सुरुआत

महानगरीय ट्राफिक प्रहरी प्रमुखका रुपमा गत फागुन ६ बाट महाशाखामा आएका डिआइजी प्रकाश अर्यालले सुरुआतका केही सप्ताह सडकमा चालक र ड्युटीमा खटिएका ट्राफिकबीचको आरोप प्रत्यारोप सुने। सामान्यभन्दा सामान्य घटनामा पनि चालकले ट्राफिक र ट्राफिकले चालकको गल्ती औंल्याउँदै गुनासो अर्यालले सुनिरहेका थिए ।

‘विकसित देशको ट्राफिक व्यवस्थापनमा मात्र होइन, प्रहरी कारबाही र मुठभेडसम्म क्यामराको प्रयोगले हामीलाई प्रभावित गरेको थियो, प्रयोगमा ल्याउन पहिला परीक्षण गर्नु थियो, आफ्ना व्यक्तिगत तीनवटा क्यामराबाट सुरुआत ग¥यौं,’ अर्यालले पुराना दिनको सम्झे । 

महाशाखाका तीनजना प्रहरी अधिकारीले आफ्ना व्यक्तिगत क्यामराबाट सुरु गरेको अनुगमन प्रभावकारी देखियो । महाशाखाले प्रारम्भिक प्रतिवेदनसहित ट्राफिक निर्देशनालयमार्फत् गोप्रो क्यामरा प्रयोगका लागि सुरु गरेको पहल सकारात्मक रुपमा अघि बढेको थियो । परिणाम चैत १२ बाट काठमाडौं उपत्यकाका सडकमा छातीमा सानो क्यामरा बोकेर ट्राफिक प्रहरी ड्युटीमा निस्केका थिए ।

६८ हजार महाशाखाको कारबाहीमा

महाशाखाले गोप्रो क्यामरापछि चैत २८ बाट सञ्चालनमा ल्याएको बुलेट मोटरसाइकलको अनुगमनमा  असार मसान्तसम्ममा १० हजार ३६ चालक कारबाहीमा परेका छन् । लेन मिचेर नागबेली शैलीमा द्रुत गतिमा सवारी चलाउनेविरुद्ध सञ्चालनमा आएको बुलेट मोटरसाइकल अनुगमनले यस्ता चालकउपर कारबाही गरेको हो ।

महाशाखाका अनुसार गत आर्थिक वर्षमा जम्मा ६८ हजार तीन सय ८४ जना सवारीचालन र सवारीसाधनलाई कारबाही भएको छ । महाशाखाले १७ हजार ६ सय ६ जनालाई फुटपाथमा सवारीसाधन रोक्ने र चलाउनेलाई कारबाही गरेको छ । आरक्षण गरिएको सिट सदुपयोग नगर्ने दुई सय ५, रुट परमिट नभई र रुट परमिटभन्दा अन्यत्र सवारी साधन चलाउने एक सय सात, कालो धुवाँ निकाल्ने एघार सय सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् । यस्तै, कालो सिसा भएका ६ सय ८२ सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले कालो सिसा निकाल्नुका साथै जरिवाना गरेको हो । यस्तै, छतमा यात्रु बोकेर गुडेका चार हजार एक सय ३२ सवारीसाधन कारबाहीमा परेका छन् । प्रेसर हर्न प्रयोग गर्ने एक हजार सात सय ६५ सवारीसाधनबाट त्यस्ता हर्न निकालिएको महाशाखाले जनाएको छ ।

महाशाखाबाट खटिएका सादा पोसाकका प्रहरीले एक हजार दुई सय ९४ सवारीसाधनलाई कारबाही गरेको छ। यसरी कारबाहीमा पर्नेमा धेरै ट्याक्सी छन् । यात्रुले भनेको स्थानमा जान आनाकानी गर्ने, आफूखुसी भाडा तोक्ने र यात्रु ठग्ने गरेको गुनासो बढेपछि महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरी खटाउँदै आएको छ। यसबाहेक सिसिटिभी अनुगमन र साइकल गस्तीमा खटिएका ट्राफिक प्रहरीले १८ हजार आठ सयभन्दा बढी सवारीसाधन र चालकलाई कारबाही गरेको हो।

 

 

प्रकाशित: ८ भाद्र २०७३ ०१:५८ बुधबार

क्यामरा प्रयोगले सुधार्दै ट्राफिक अनुशासन