अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य ओमप्रकाश मिश्रको संयुक्त इजलासले बुधबार भट्टराईले विभिन्न भन्सार कार्यालयमा रहँदा गैरकानुनी रूपमा १ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको ठहर गरी एक वर्ष कैद र बिगोबराबर जरिवाना गरेको हो।
इजलासले बिगोबमोजिम भट्टराईको नाममा रहेको ६१ लाख ९६ हजार रुपैयाँबराबरको विराटनगरको ३ कित्ता जग्गा र काठमाडौं-९ स्थित घरघडेरी जफत गर्न आदेश दिएको छ। साथै इजलासले भट्टराईले लुकाएको सम्पत्ति खोजी बाँकी १ करोड २७ लाख ८० हजार रुपैयाँ बराबरको सम्पत्ति जफत गर्नसमेत आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानतलासी गरेपछि भट्टराई, पत्नी लता र नातेदारका नाममा खरिद गरेको करोडौं रुपैयाँबराबरको बचतपत्र र शेयर बिक्री गरी सम्पत्ति लुकाएको ठहर विशेष अदालतको छ।
अख्तियारले भट्टराईको नाममा रहेको २ करोड ६४ लाख रहेकोमध्ये १८ लाखको मात्र स्रोत खुलेकाले गैरकानुनी रूपमा २ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको उल्लेख गर्दै २०६० असारमा उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
विशेष अदालतले उनको सम्पत्तिको छानबिन गर्दा २ करोड ४५ लाख रुपैयाँ बराबरको रहेको भेटेको, जसमध्ये ५५ लाख ९७ हजारको मात्र स्रोत खुलेको र बाँकी १ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचारबाट आर्जित सम्पत्ति भएको ठहर गरेको थियो।
अख्तियारले छापामा मार्दा उनको नाममा १ करो ८२ लाख रुपैयाँबराबर बचतपत्र थियो। पत्नी लता र छोराछोरीका नाममा ६३ लाख रुपैयाँको बचतपत्र थियो। अख्तियारकै छानबिनका क्रममा भट्टराईले सबै बचतपत्र बिक्री गरी सम्पत्ति लुकाउन सफल भएका थिए।
भट्टराई कर कार्यालय हेटौंडा, विराटनगर भन्सार प्रमुख, तातोपानी भन्सार प्रमुख, त्रिभुवन विमानस्थल भन्सार प्रमुख र पछिल्लो समय भन्सार विभागका निर्देशक थिए।
प्रकाशित: ११ फाल्गुन २०६६ २२:२९ मंगलबार