विचार

नवप्रवर्तनमा युवा मस्तिष्क

अनुभवी व्यक्तिलाई नेतृत्व दिँदा राम्रो हुन्छ भन्ने धेरैको सोच छ। वरिष्ठ चिकित्सकले परीक्षण गरे छिटो सन्चो हुन्थ्यो, ज्येष्ठ अधिवक्तालाई मुद्दा सुम्पन पाए अदालतले पक्षमा आदेश गर्थ्यो, अनुभवी वैज्ञानिकले काम गरे खँदिलो आविष्कार हुन्थ्यो मात्र होइन, बरु खारिएका राजनीतिज्ञले देश हाँके मुलुक राम्रो हुन्थ्यो भन्ने सोच नवीन होइन। अनुभवले व्यक्तिलाई परिपक्व पार्ने भएकाले पाकाले गरेको काममा मानिसको भरोसा छ। तर, कदाचित आफूले देख्दै नदेखेको रोगको सामना गर्नुपरे पाका डाक्टरले के गर्लान्? अहिलेसम्म नदेखिएका प्रकृतिका मुद्दा आएमा वरिष्ठ अधिवक्ताको उपाधिले मद्दत मिल्ला र? विगतमा नआएको समस्या समाधान गर्न राजनीतिक अनुभवबाट के फाइदा होला? विज्ञानदेखि सामाजिक विज्ञानसम्मका नवीन जटिलता हल गर्न अनुभवी दिमाग र ‘फ्रेस’ मस्तिष्कमध्ये कसले नवीन समाधान देला भन्ने विषयमा भएको एक बृहत् अध्ययनको चिरफार यो आलेखको उद्देश्य रह्यो।

संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ सिकागोको ज्ञान प्रयोगशाला (नलेज ल्याब) मा कार्यरत समाजशास्त्रका प्राध्यापक जेम्स एभेन्सलगायतका अनुसन्धानकर्ताहरूले यसै महिना नवप्रवर्तनको ढाँचा चिरफार गरी जर्नल ‘साइन्स’मा एक रिसर्च आर्टिकल प्रकाशित गरे। उक्त लेखमा राजनीति शास्त्र, अर्थशास्त्र, समाजशास्त्रलगायतका सामाजिक विज्ञान (सोसल साइन्स) र फिजिक्स, केमेस्ट्री, बायोलोजीजस्ता विशुद्ध विज्ञान (प्योर साइन्स) को क्षेत्रमा सन् १९६० देखि २०२० बिच एक करोड २५ लाख अन्वेषणकर्ताले प्रकाशित गरेका अनुसन्धानात्मक आलेखलाई विश्लेषण गरिएको छ। राष्ट्र, समाज र विश्वलाई नवीन उचाइमा पुर्‍याउन अग्रजको उमेर र अनुभवमध्ये केले अधिक भूमिका खेल्छ भन्ने विषयको तथ्यगत विश्लेषण गरिएको उक्त आलेख समाज निर्माणका लागि उपयोगी सिद्ध हुने नीतिगत आलेख (पोलिसी आर्टिकल) भएकाले सन्दर्भ सामग्रीका रूपमा प्रस्तुत गरियो।

अमेरिकामा प्राध्यापकलाई अनिवार्य अवकाशबाट उन्मुक्ति दिएपछि विश्वविद्यालयमा पाका उमेरका प्राध्यापकको वर्चस्व बढ्यो र युवा वैज्ञानिकका लागि अवसर साँघुरियो। त्यसैबेला चीनमा युवा अनुसन्धानकर्ताको बाहुल्य बढ्दै जाँदा नवीन आविष्कारमा चीनले अमेरिकालाई उछिन्ने अवस्था बन्यो।

कुनै पनि समाजले अग्रता हासिल गर्न नवीन मार्गको खाँचो पर्छ। पहिलेकै बाटोलाई सामान्य परिमार्जन गरेर युगान्तकारी परिवर्तन सम्भव हुँदैन, बरु नवप्रवर्तित सोचको खाँचो हुन्छ। देश अनि सभ्यताले ठुलो फड्को मार्न सामान्य सुधार प्रयाप्त हुँदैन, बरु नवीन सोचको खाँचो हुन्छ।

व्यक्तिले हासिल गरेको अनुभव र अध्ययनलाई नयाँ सोचको उद्गम मानिँदै आएकोमा प्राध्यापक एभेन्सको भर्खर बाहिरिएको अनुसन्धानले उक्त मान्यतालाई गलत मात्र सिद्ध गरेको छैन, उमेरको बढोत्तरीसँगै व्यक्तिको नयाँ ढंगले सोच्ने तरिकामा खिया लाग्ने देखियो। २५–३० वर्षको हाराहारीमा मस्तिष्क सबैभन्दा बढी सिर्जनशील देखिन्छ। लाखौं अनुसन्धानात्मक लेखहरूको विश्लेषण गरी निकालिएको निष्कर्षले उत्कृष्टता हासिलको उमेर पुगेपछिका प्रत्येक जन्मदिनमा मानिसको सिर्जनात्मक क्षमता १० प्रतिशतले घट्ने देखायो। सफलताको शिखरमा पुगेको १० वर्षपछि व्यक्तिले कुनै पनि नयाँ विचार दिन सक्दैन भन्ने उक्त लेखको सारांश हो। एक फरक अध्ययनले तीन दशकपछि मानवीय मस्तिष्कको आकृति घट्ने भएकाले दिमागको ‘इनोभेटिभ’ क्षमता उमेरको बढोत्तरीसँगै शिथिल हुन्छ भन्यो। समान ज्ञान भएको छोरा र बुबा पुस्तामध्ये नवीन विचारको स्रोत युवा हुन्छ भन्ने हो।

विश्वयुद्धको समाप्तिपछि अनुसन्धानमा अग्रणी रहँदै आएको संयुक्त राज्य अमेरिकाले पछिल्लो समय नवीन आविष्कारमा आफ्नो प्रभाव गुमाउँदै गएको तथ्यांक प्रस्तुत भयो, सन् २०२३ को पूर्वार्धमा जर्नल ‘नेचर’मा। अर्कोतिर दूरगामी प्रभाव पार्ने खालका आलेखहरूमा चिनियाँ अनुसन्धानकर्ताको हिस्सा बढ्दै गएको देखायो। यसरी उत्खननमा अमेरिका ओरालो लाग्दै गर्दा विश्वको दोस्रो धनी देश चीन भने नवीन आविष्कारको उद्गम बन्दै छ।

अन्वेषणका अध्ययन र अनुसन्धानका तौरतरिका समान हुँदाहुँदै पनि अमेरिकी आविष्कारमा किन कमी आयो त? त्यस्तो हुनुमा अमेरिकाले तीन दशकअघि ल्याएको निवृत्त नीतिले भूमिका खेलेको देखिन्छ। एउटा निश्चित उमेर पुगेपछि अन्य कर्मचारीसरह अनिवार्य अवकाशमा जानैपर्ने बाध्यताबाट सन् १९९३ मा प्राध्यापकहरूलाई उन्मुक्ति दिइयो। प्राध्यापकहरू चाहुन्जेल जागिरे हुन सक्ने भए। उक्त परिवर्तनपछि पाका उमेरहरूले पद ओगट्ने पद्धति देखियो भने युवा वैज्ञानिकहरूका लागि विश्वविद्यालयको ढोका साँघुरो बन्यो। वरिष्ठ नागरिकहरूको क्लबमा रूपान्तरित भयो शिक्षण निकाय। उमेरको बढोत्तरीसँगै ‘इनोभेटिभ आइडिया’मा कमी आउने भएपछि अमेरिकी युनिभर्सिटीमा नवीन आविष्कारको आयतन घट्यो। अर्कातिर प्राध्यापकले ६० वर्षपछि अनिवार्य अवकाशमा जानैपर्ने चिनियाँ महाविद्यालयमा युवाको संख्या बढ्यो। पर्याप्त बजेट अनि ऊर्जावान् दिमागको बाहुल्य भएपछि चीनले नवीन आविष्कारमा अमेरिकालाई उछिन्ने अवस्थामा पुग्यो। आखिरमा युवाहरूले नवीन अन्वेषणको खाका ल्याउने भएकाले चिनियाँ विश्वविद्यालयहरू पछिल्लो समय नवप्रवर्द्धनको केन्द्र बने।

उक्त तथ्यांकको आगमनपछि अमेरिकामा अभूतपूर्व शैलीका आविष्कार घट्नुमा मुख्य दोष पाकाले विश्वविद्यालयको पद ओगट्नु मानिन थाल्यो। आजन्म पद ओगट्ने संस्कारमा परिवर्तन खोजिँदै छ। विश्वविद्यालयमा अनिवार्य अवकाशको व्यवस्था फर्काउनुपर्ने आवाज गुन्जिन थाल्यो।

त्यसो त अनुभवी प्राध्यापकको महत्व नभएको होइन। अनुसन्धानको निरन्तरताका लागि पाका प्राध्यापकको प्रयोगशालाले अब्बल गर्न सक्ने भए पनि नवप्रवर्तनीय कामका लागि भने युवा दिमागले बढी योगदान दिन सक्ने बताउँछन् युनिभर्सिटी अफ मिनेसोटाका प्राध्यापक रसेल फड्क। उमेर ढल्किएपछि ‘चमत्कारी आविष्कार’ गर्नै नसक्ने भन्ने हुँदैन तर सम्भाव्य भने निकै घट्ने बताउँछन् फड्क। वृद्धावस्थामा विज्ञानको नोबेल पुरस्कार पाएका अधिकांश वैज्ञानिकहरूले दुई बिसा नकट्दै गरेका अभूतपूर्व कामका लागि सम्मान पाएको आँकडाले नै देखाएकाले ‘ग्राउन्डब्रेकिङ रिसर्च’को उद्गम युवा मस्तिष्क हो भन्ने मान्नुपर्ने हुन्छ। पाका उमेरका व्यक्तिले विज्ञान तथा सामाजिक क्षेत्रलगायतका कुनै पनि क्षेत्रमा परिवर्तनकारी विचार प्रतिपादन गर्ने देखिँदैन।

आइन्स्टाइन, जेम्स वाट्सन, कार्ल माक्र्सदेखि ली क्वान युसम्मका उदाहरणले परिवर्तनकारी विचार र ऐतिहासिक आविष्कार प्रायः युवावस्थामै जन्मिने देखाउँछन्। राजनीति, विज्ञान र समाज रूपान्तरणका निर्णायक मोडमा युवा मस्तिष्कको भूमिका अत्यन्त महत्वपूर्ण देखिएको छ।

संसारकै सम्मानित वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ‘थ्योरी अफ रिलेटिभिटी’ प्रतिपादन गर्दा उनी केवल २६ वर्षका थिए भने डिएनएका पिताको उपाधिसमेत पाएका जेम्स वाट्सनले आनुवंशिक पदार्थको ढाँचा यकिन गर्दा उनको उमेर केवल २४ वसन्त पार गरेका थिए। त्यस्तै संसार नै हल्लाउने ‘द कम्युनिस्ट म्यानिफेस्टो’ लेख्दा कार्ल मार्क्स र फ्रेडरिक एन्जेल्स दुवैको उमेर ३० वर्ष पनि थिएन भन्ने बिर्सनुहुँदैन। त्यस्तै मानिसलाई चन्द्र सतहमा उतार्ने असामान्य सोच भएका जोन एफ केनेडी संयुक्त राज्य अमेरिकाकै इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपति भएका थिए।

नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला, मदन भण्डारीलगायतका नेताहरूले तत्कालीन समाजलाई घचघच्याए। समाजवादी चिन्तनको खाका कोर्दाका कोइराला तथा बहुदलीय जनवादको मार्गचित्रमार्फत जनतालाई गोलबन्द गर्दा मदन भण्डारीको उमेर कति थियो? त्यस्तै चमत्कारी राजाको संज्ञा पाएका महेन्द्रले देश विकासको ढाँचा लेख्दा कति वर्षका थिए? आधुनिक सिंगापुरका निर्माणकर्ता ली क्वान युले ३६ वर्षको उमेरमा सत्ताको बागडोर सम्हालेका यथार्थ बिर्सनुहुँदैन। राजनीति, विज्ञान, अर्थशास्त्रलगायतका जुनसुकै विद्यामा समेत अभूतपूर्व सिद्धान्तको प्रतिपादनमा युवाको ठुलो योगदान देखिन्छ।

पछिल्लो घटनाक्रमले राजनीतिक दलहरूको शाख रसातलमै पुग्यो। नेतृत्व परिवर्तन अपरिहार्य बन्यो। आसन्न संसदीय मतदानअघिको विशेष अधिवेशनले शेरबहादुर देउवालाई अपदस्थ गर्‍यो, गगन थापा कांग्रेसको सभापति बने। सभापतिलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरी चुनाव लडेको कांग्रेसले आफ्नो नाक जोगाउन पनि सकेन भने पार्टीको नेतृत्वकर्ता नै पराजित भए। थापाको नेतृत्वमा कांग्रेस उत्कर्षमा पुग्ला भन्ने आशा गर्ने कांग्रेसी जमात नभएको होइन। यद्यपि ५० वर्ष पुगेका नेतृत्वले नेपाली कांग्रेसलाई नवीन मार्गमा हिँडाउने कल्पनालाई बौद्धिक आँकडाले समर्थन गर्दैन। त्यसमाथि कोषाध्यक्ष नियुक्तिले गगन धेरैमा सुधारिएको शेरबहादुरभन्दा पृथक् हुन सक्दैनन् भन्ने देखियो। गगनको नेतृत्वमा कांग्रेसमा केही परिवर्तन भए पनि कायापलटको कल्पनालाई युनिभर्सिटी अफ सिकागोको नलेज ल्याबको अनुसन्धानले समर्थन गर्दैन। त्यस्तै एमालेमा केपी ओली अनि माओवादीका प्रचण्डलाई हटाएर नेतृत्व हत्याउन तम्तयार ६ दशक कटेका नेताले नेतृत्व लिँदा नेपाली कम्युनिस्ट आन्दोलनले पुनः ऊर्जा पाउँदैन भनी ठोकुवा गर्न सकिन्छ।

गत संसदीय निर्वाचनले नेपालकै इतिहासमै युवा वर्चस्वसहितको प्रतिनिधिसभा गठन भयो। अहिले संसारकै कान्छा सरकार प्रमुख बालेन्द्र शाह बने। ३६ वर्षका प्रधानमन्त्री अनि युवाको वर्चस्व रहेको सरकारलाई ऊर्जावान् मान्न सकिन्छ। वर्तमान सरकारले भविष्यमा के कस्तो काम गर्ला, त्यो हेर्न बाँकी नै छ। तर पनि प्राध्यापक जेम्स एभेन्सको भाषामा भन्ने हो भने ‘इनोभेटिभ’ विचार दिन सक्ने क्षमता भएको सरकार नेपालले पाएको छ भन्नैपर्ने हुन्छ।

प्रकाशित: १२ जेष्ठ २०८३ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %