विचार

विश्व वातावरण दिवस: पर्यावरणीय सीमारेखा सुरक्षा

‘ह्यासट्याग नाउ फर क्लाइमेट’ भन्ने अभियानका रूपमा यो वर्षको वातावरण दिवस–२०२६ राष्ट्रसंघले अजरबैजानबाट मनाउँदै छ। यसको आशय ‘अब जलवायु कार्यसम्पादन गरौं’ भन्ने हो। अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले गत वर्ष दिएको परामर्शदायी फैसलाअनुरूप राष्ट्रसंघले हालै पृथ्वीको तापमान १.५ डिग्री मुनि स्थिरीकरण गर्ने लक्ष्यअनुरूपका जलवायु न्यूनीकरण कार्यहरू सबै देशहरूको दायित्वभित्र परेको प्रस्ताव पनि अनुमोदन गर्‍यो। अब देशहरूले आआफ्नो कार्बन उत्सर्जन घटाउने कानुन बनाउनेछन् भन्ने आशा गर्न सकिन्छ।

सन् १९७२ बाट मनाउने गरिएको वातावरण दिवसमा पहिले–पहिले वायु प्रदूषण, जल प्रदूषण, रासायनिक विषाक्तताजस्ता क्रियाकलाप नगर्न समग्र मानव जातिलाई आह्वान गरिन्थ्यो भने अचेल पृथ्वीको तापमान वृद्धि रोकथाम गर्न र जलवायु जागरुकता बढाउन भनिएको छ। यसैले यस वर्षको नारामा ‘हाम्रो जलवायु भविष्य’ भनेर जोड दिइएको हो।

यही सिलसिलामा प्रशान्त क्षेत्रका टापु मुलुकहरूले भानुआटुमा गत अप्रिलमा ‘फोसिल फ्युल फ्री प्यासिफिक’ भन्दै विशाल नागरिक सम्मेलन गरे। यस्तै गरी दक्षिण अमेरिकाको कोलम्बियामा पनि ‘ट्रान्जिसन अवे फ्रम फोसिल फ्युल’ नामक बृहत् अन्तर्राष्ट्रिय जनभेला भयो। भर्खरै भारतमा कश्मीर जलवायु भेला र नेपालको हिमाली क्षेत्र सोलुखुम्बुमा पनि गोक्यो जलवायु सम्मेलन गरियो। युवा सहभागिता बढी भएको गोक्यो भेलाले बढ्दो तापमानबाट तीव्र रूपमा भइरहेको हिमालय पग्लिने अवस्थाबारे संसारलाई जानकारी गरायो र नेपाललाई जलवायु न्याय आवश्यक रहेको पैरवी गर्‍यो।

यस्ता नागरिक जमघटले विकसित देशहरूलाई जीवाश्म ऊर्जा जलनबाट टाढिँदै डिकार्बोनाइजेसनमा जान र तत्काल पेट्रो–इकोनोमी अन्त्य गरी पीडित मुलुकलाई जलवायु न्याय दिन आह्वान गरेका छन्। धनी देशहरूबाट भइरहेको खनिज ऊर्जा जलनले ६८ प्रतिशत कार्बन डाइअक्साइडको वैश्विक अंश उत्सर्जन गर्छ, जो पृथ्वीको तापमान बढाउन सबैभन्दा बढी जिम्मेवार छ।

अहिले आमनागरिक पृथ्वी बचाउन पेरिस सहमतिपत्र–२०१५ को लक्ष्यअनुरूप तापमान वृद्धिलाई १.५ डिग्रीमाथि जानबाट रोक्ने जलवायु कार्यसम्पादन क्रियाकलापलाई तीव्रता दिँदै प्लानेटरी बाउन्ड्रीहरू जोगाउनैपर्छ भन्ने ठान्छन्।

यसैले तापमान बढाउने यस्ता हरितगृह ग्यासहरू (खासमा कार्बन) को उत्सर्जन तत्कालै बन्द गर्नुपर्छ भन्दै पृथ्वीको पर्यावरणीय स्वास्थ्यको खबरदारी गर्ने जागरण अभियान पनि विश्वभर फैलिँदै गएको छ। ‘सुपर एल निनो’ आउनु, समुद्र सतह बढ्नु, हिमालय पग्लिनु, जंगलमा डढेलो लाग्नु, लामो खडेरीले कृषि उत्पादन घट्नु, जैविकता मासिनु, जलसंकट बढ्दै जानु र नदीनालाहरू सुक्नुजस्ता कुप्रभावले मानव सभ्यताको अस्तित्व नै संकटको डिलमा पुगेको देखिँदा पृथ्वीको पारिस्थितिकीय प्रणालीमा उच्च खलबलाहट उत्पन्न भएको छ भन्ने तथ्यहरू बाहिर आउँदै छन्। वैज्ञानिकहरूले पृथ्वीको प्राकृतिक स्वास्थ्य परीक्षण पनि गरिरहेका छन्।

यही सन्दर्भमा पोस्टडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च, जर्मनीका प्रा. डा. जोहन रकस्ट्रोमलगायत पर्यावरण वैज्ञानिकहरूले पृथ्वीका पारिस्थितिकीय स्रोतहरूको परिमाण, यी स्रोतहरूको सञ्चिति र वृद्धिदर, हालको उपभोग अवस्था, भारवहन क्षमता र यिनको प्लानेटरी बाउन्ड्रीसहित विद्यमान जलवायु तथ्यको जानकारी दिने गरी ‘प्लानेटरी हेल्थ चेक (स्टेट अफ प्लानेट) प्रतिवेदन–२०२५’ प्रकाशन गर्दै मानिसहरूले यस्ता पर्यावरणीय स्रोतहरूको खलबलाहट (अतिदोहन) गरेकै कारण पृथ्वीमा चरम पर्यावरणीय संकट सिर्जित भई मानव सभ्यता विनाशको युगतिर धकेलिएकाले यो प्लानेटरी सीमारेखाप्रति सचेत रहन र तत्काल पर्यावरणीय उपचारका कार्यहरू गर्न चेतावनी पनि दिएका छन्।

प्लानेटरी बाउन्ड्रीको सम्मान

पृथ्वीमा जीवन प्रणाली सुरक्षित गर्ने र जैविक उद्विकास बढाउने प्राकृतिक संरचना र पद्धतिको अन्तरसम्बन्धित प्रणालीगत ढाँचा रहेको हुन्छ, यसलाई ‘अर्थ सिस्टम’ भन्ने पनि गरिन्छ। यसै प्रणालीले हावा, पानी, माटो, रसायन, खाद्यतत्त्व, वनस्पतिजस्ता आधारभूत जीवनदायिनी तत्त्वहरू एकत्वमा राख्दै जैविक उद्विकास र जैविक समृद्धि सम्भव बनाउँछन्।

त्यही ढाँचागत परिधिलाई नै ग्रहीय परिधिरेखा र पर्यावरणीय परिक्षेत्र (प्लानेटरी बाउन्ड्री) भन्ने गरिन्छ। खासगरी उद्विकास समयतालिकाको दश हजार वर्षयता जब मानिसहरू कृषि पेसा र आवास बस्तीसहित सभ्यताको संगठित विकास प्रक्रियामा सामेल भए, तब मानिसले पृथ्वीका साधनस्रोतमा दरार र क्षतविक्षत पार्दै आएको देखिए पनि विगत दुई सय वर्षयताको मेसिन, प्रविधि र औद्योगिकीकृत क्रियाकलापका कारण मानिसले धेरै वस्तु दोहन र उच्च उपभोग गर्दा यी प्राकृतिक सीमारेखा अझै तीव्र रूपमा भत्काएको अवस्था हो।

प्रकृति विनाशको यसखाले असन्तुलित क्रियाकलापले नै हाम्रो सभ्यता तथा जीवनपद्धति दीर्घकालीन रूपमा सुरक्षित बन्न सक्दैन भन्ने चिन्ता देखिएको हो। अब समग्र मानिसको अस्तित्व नै संकटतिर मोडिन्छ कि भन्ने भय पैदा भएको यही कारणले हो।

यसैले मानव समाजले प्राकृतिक स्रोतसाधनको सञ्चिति, उत्पादन क्षमता र पर्यावरणीय परिधिभित्र रही जीवन सञ्चालन गर्नुपर्छ, बल्ल अन्तरपुस्ता समृद्धिको जीवनयापन सम्भव छ भनी वैज्ञानिकहरू भन्छन्। उल्लेखित वैज्ञानिकहरूको समूहले नै पहिलोपटक स्टकहोम रेजिलिएन्स सेन्टरमार्फत सन् २००९ मा प्लानेटरी बाउन्ड्रीहरूको पहिचान, यिनको महत्त्व र विद्यमान उल्लंघनको अवस्थाबारे मानवजातिलाई सचेत पार्दै पृथ्वीमा मूलतः नौवटा सुरक्षाकवचले यस्तो संवेदनशील ‘लाइफ सपोर्ट सिस्टम’ बनाएको छ, जो कसैले पनि उल्लंघन गर्न हुँदैन भन्ने अवधारणा पेश गरेका थिए।

समग्र क्लाइमेट सिस्टम, बायोस्फियर इन्टिग्रिटी, भूमि उपयोग परिवर्तन, स्वच्छ पानी दोहन, बायोकेमिकल फ्लो परिवर्तन, नोभेल इन्टिटी प्रवेश, समुद्रको अम्लीकरण, स्ट्राटोस्फियरमा ओजोन डिप्लिसन र एरोसोल लोडिङ गरी वैज्ञानिकहरूले नौवटा ग्रहीय सीमारेखा अर्थात् प्लानेटरी बाउन्ड्री निर्धारण गरेका छन्। वैज्ञानिकहरूले यिनै ग्रहीय सीमारेखाका आधारमा सन् २००९ देखि नै यिनको अवस्थाबारे जाँच गर्दै आएका थिए। यसैको निरन्तरतामा हाल सन् २०२५ मा पनि पृथ्वीको स्वास्थ्य अवस्था के कस्तो छ भनी मापन गर्दा अहिले भने अलि बढी संकट देखिएको छ।

यतिबेला विज्ञहरूले हाम्रो जीवनदायिनी प्रणाली बचाइरहने मुख्य तीन आधारहरूमा यसको सम्भाव्य विचलन र फरकपना नापेका छन्। जसमा दश हजार वर्षयताको लामो समय अवधिमा ‘अर्थ सिस्टम स्टाबिलिटी’मा गम्भीर रूपमा फरक परे–नपरेको अवस्था, प्रकृतिको सहनशील–उत्थानशील क्षमता घटबढको अवस्था र यसले प्रदान गर्ने जीवन–सुरक्षा कार्यसम्पादनमा उल्लेख्य असर परेको–नपरेकोबारे जाँचबुझ गरेका थिए। यसरी नापजाँच गर्दा उक्त नौवटा बाउन्ड्री परिसूचकभित्र १३ वटा नियन्त्रित चरहरू लिई यसमा मानवीय क्रियाकलापले तोकिएको थ्रेसहोल्ड कटाए–नकटाएको अवस्थाको गुणात्मक र परिमाणात्मक गणना तथा प्रभावको लेखाजोखा भएको थियो।

यसरी यी परिसूचक मापन गर्दा सुरक्षित क्षेत्र, बढ्दो जोखिम क्षेत्र र उच्च खतराजन्य क्षेत्रमा राखी अध्ययनको वर्गीकरण गरिएको थियो। यो अध्ययनले नौवटा सीमारेखामध्ये दुईवटा सुरक्षित क्षेत्र (ओजोन तह विनाश र एरोसोल लोडिङ), चरावटा बढ्दो जोखिम क्षेत्र र तीनवटा उच्च खतराक्षेत्रमा परेको देखाएको छ।

यसरी भएको पृथ्वीको स्वास्थ्य परीक्षणमा सन् २०२५ मा नौवटामध्ये ओजोन तह र एरोसोल लोडबाहेक अन्य सातवटा परिसूचकले प्राकृतिक सीमारेखा नाघेको देखिएको छ, जुन मानवजाति र समग्र जीवन प्रणालीको स्थायित्वका लागि डरलाग्दो अवस्था हो।

यसरी प्लानेटरी सीमारेखा उल्लंघन हुँदा कतिपय परिसूचकहरूले ‘टिपिङ पोइन्ट’ पार गरेका कारण यी पुनस्र्थापना, पुनर्भरण र उत्थानशील नहुने गरी नोक्सानी भएका पनि छन्। जसमा सबैभन्दा डरलाग्दो र खतराजन्य क्षेत्रमा जलवायु परिवर्तन र बायोडाइभर्सिटी इन्टिग्रिटीमा परेको असर देखिन्छ। जलवायु थ्रेसहोल्डमा हेर्दा थप के देखिन्छ भने पृथ्वीमा वनस्पति र जीवजन्तुका लागि कार्बन डाइअक्साइडको सेफ जोन ३५० पिपिएम हो तर तोकिएको यो सीमारेखा नाघेर हाल ४२५ पिपिएम स्तरमा गएकाले नै आज तापमान वृद्धि अचाक्ली तीव्र भएको छ। यस्तो हुनाको कारण नै कोइला, पेट्रोल, डिजेलजस्ता जीवाश्म खनिज ऊर्जा बढी जलन भएकाले हो।

यसरी नै जैविक विविधता नोक्सानीको दर पनि तोकिएको सीमाभन्दा धेरै तल खस्केको छ। यो डरलाग्दो अवस्था हो। वैज्ञानिकहरूका अनुसार अहिले पृथ्वी ‘छैटौं सामूहिक प्रजाति विनाश’को चरणतर्फ उन्मुख छ। पृथ्वीको इतिहासमा यसअघि पाँच पटक ठुलो स्तरमा जीवजन्तु तथा वनस्पतिका प्रजातिहरू लोप भएका थिए।

प्रस्तुत सन्दर्भमा मानवजातिले दिगो र अन्तरपुस्ता सुरक्षित जीवनयापन गर्ने हो भने अब यी नौवटा ग्रहीय सीमारेखा (पर्या–परिधीरेखा) को सम्मान गर्दै यसैभित्र थाम्न सक्ने उत्पादन–उपभोगको अर्थ–प्रणाली बनाउनेतिर लाग्नुपर्छ। पृथ्वीका स्रोतहरू र पारिस्थितिकीय प्रणालीको अतिदोहन गर्ने हो भने अब मानव सभ्यता विलोपन हुन धेरै समय लाग्दैन। कतै हामी पृथ्वी विनाशको सँघारमा जाँदै त छैनौं? यसतर्फ सचेत बन्दै अर्थशास्त्री केट रावर्थले सुझाव दिएझैं पृथ्वी र मानव सभ्यताको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न हामीले ‘डोनटभित्र बाँच्ने’ अभ्यास गर्नुपर्छ अर्थात् पृथ्वीका पर्यावरणीय सीमाहरू ननाघी सबै मानिसका आधारभूत आवश्यकता पूरा हुने सुरक्षित र न्यायपूर्ण विकासको बाटो रोज्नुपर्छ।

त्यसैले अहिलेको आवश्यकता राज्य र नागरिक तहबाट पर्यावरणीय दोहन रोक्ने हो, पर्यावरणमैत्री नीति लागु गर्ने हो। आज वातावरण दिवसका दिन पृथ्वीको रक्षाका लागि यहाँका प्राकृतिक उत्पादन सीमा, वातावरणीय परिधिसँगै प्लानेटरी बाउन्ड्रीको पनि सम्मान गरौं र वातावरण संरक्षणप्रति दृढ संकल्पित बनौं।

प्रकाशित: २२ जेष्ठ २०८३ १०:४४ शुक्रबार