विचार

कांग्रेस भविष्य बन्ने कि इतिहास?

पार्टीको आगामी महाधिवेशनको मिति तोक्नेलगायतका विभिन्न अजेन्डामा छलफल गर्न बसिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कुनै पनि निष्कर्षमा पुग्न नसकेको महिनादिन नाघिसक्यो। समितिमा संस्थापन पक्ष भनिने पार्टी सभापति पक्षधरहरूको बहुमत फागुनको संसदीय चुनावपछि वैशाखमा मात्र महाधिवेशन गर्ने अडानमा छ। संस्थापनइतर पक्षको भने विधानबमोजिम मार्गभित्रै सम्पन्न गरिसक्नुपर्छ, महाधिवेशन गर्न अब ढिला गर्नुहुन्न भन्ने अडान छ। उनीहरूले ढिलोमा पुसको तेस्रो हप्तामा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। संस्थापन पक्ष यो कुरा मान्न कुनै हालतमा तयार छैन। यसमा उनीहरूले दुइ–तीन वटा कारण दिएका छन्। जस्तै, वैशाखअगाडि महाधिवेशन गर्न तयारी पुग्दैन, त्यसैले यो सम्भवै छैन। संसदीय चुनावका लागि सञ्चय गर्नुपर्ने ऊर्जा र संसाधन महाधिवेशनमा लगाउनुपर्दा चुनाव परिणाम राम्रो हुने छैन र मुख्य कुरा, महाधिवेशनमा हुने पार्टीको विभिन्न तहका आन्तरिक चुनावमा हुने प्रतिस्पर्धाको तिक्तता केही समय रहन्छ, त्यसले संसदीय चुनावमा अन्तर्घात हुने डर हुन्छ । त्यसैले चुनावअगाडि महाधिवेशन गर्नै हुन्न।

अर्कातिर, जेनजी आन्दोलनपछिको देशको अबको अत्यन्त चुनौतीपूर्ण नयाँ परिस्थितिमा आन्दोलनकारी युवा वर्गलगायत आम जनमानस माझ अलोकप्रिय रहेको अहिलेकै नेतृत्वमा चुनावमा जानुहुँदैन भन्ने संस्थापनइतर पक्षको भनाइ छ। जुन कुरा सत्य हो। किनकि आफ्नो अलोकप्रियताको आत्मबोध गरेरै पार्टी सभापति स्वयंले असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाई आफूअब सक्रिय राजनीतिमा नआउने सन्देश दिएका थिए। उनको त्यो कार्यलाई सामयिक र सह्रानीय कदम भन्दै सबैले स्वागतपनि गरेका थिए। उनको त्यो कदमले देउवा दम्पतीविरुद्ध उर्लेको जनाक्रोशलाई मत्थर पार्न सहयोग पुर्‍याएको पनि थियो तर अहिले जनताको स्मृति छोटो हुन्छ भनेर होला, पार्टीको संस्थापन पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू उपचार गर्न सिंगापुर गएका सभापति शेरबहादुर देउवा फर्किएपछि उनलाई फेरि सक्रिय बनाउने योजना गरिरहेका छन्। सभापतिलाई पुनः सक्रिय तुल्याएर पहिलेझैं पार्टीमा आफू हाबी हुने चाहना उनीहरूको छ। त्यही प्रयोजनका लागि केसको बैठकलाई लम्ब्याएर महाधिवेशन पर धकेल्ने काम उनीहरूबाट भइरहेछ। केसको बैठकलाई जति घर्काउँदै लान सक्यो, त्यति पुसमा महाधिवेशन गर्न तयारी पुग्दैन भन्ने माहोल आम पार्टी पंक्तिमाझ पनि बन्दै जान्छ भन्ने उनीहरूलाई थाहा छ।

नियमित नभए विशेष महाधिवेशन अनिवार्य

यता समयमै महाधिवेशन गर्न नसके चुनावअगाडि नै विशेष महाधिवेशन भए पनि बोलाउनुपर्ने अडानमा इतर पक्ष छ। जुन महाधिवेशनले पार्टीको नीति र नेतृत्व फेर्ने छ। यसरी एउटाले पुसको मितिको र अर्काले वैशाखको मितिको छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका केसमा दर्ता गराएका छन्। विशेष महाधिवेशन बोलाउन ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्नेमा इतर पक्षको प्रस्तावमा ५४ प्रतिशतको हस्ताक्षर छ। अर्थात् पार्टी पंक्तिको प्रचण्ड बहुमत चुनावअगाडि नै महाधिवेशन गर्ने प्रस्तावका पक्षमा छन्।

बदलिएको समय र परिस्थितिमा पुरानो नेतृत्व वर्गलाई बिदा गरेर पार्टी नयाँ नेतृत्व र नीति लिएर मात्र चुनावमा जानुपर्छ भन्ने मान्यतामा बहुमत पार्टी सदस्य दृढ छन्। जुन नेतृत्व भनेको अघिल्लो महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा वा गुरुराज घिमिरे, प्रदीप पौडेलजस्ता होनहार युवा पंक्तिबाट आउने निश्चितप्रायः छ र यही कुरा जनाधार र मताधार खासै नभए पनि पार्टी सभापतिको वरिपरि रहेर वर्षाैंदेखि पार्टीसत्ता र राज्यसत्तामा हालीमुहाली गरिररहेको शक्तिशाली ‘कोटरी’ कुनै हालतमा नहोस् भन्ने चाहन्छ किनभने त्यसबाट उनीहरूको पदीय/व्यक्तिगत स्वार्थ, गगन–विश्वहरूभन्दा आफूहरू वरिष्ठ भन्ने अहं र राजनीतिक महत्त्वाकांक्षामा चोट पुग्नेछ।

हो, समयमै नियमित महाधिवेशन गर्न समय कम छ तर त्यसका लागि तयारी नपुग्ने भन्ने कुरा सत्य कम र बहाना धेरै हो। किनकि पार्टीले डिजिटल उपायहरूको प्रयोगसमेत गर्दै छिटो काम गरेमा र नेतृत्ववर्गको इच्छाशक्ति भएमा अझै पनि पुसमा नियमित महाधिवेशन सम्पन्न गराउन सकिन्छ। रह्यो कुरा विशेष महाधिवेशनको, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको त्यो मागलाई पूरा हुनै दिन्न भन्नु विधान विपरीत, गैरराजनीतिक र अनैतिक हो। केन्द्रीय समितिको बहुमतका आधारमा त्यो प्रस्तावलाई लत्याउनु भनेको महाधिवेशनभन्दा केन्द्रीय समिति ठुलो भन्नु हो। र यसले पार्टीलाई विभाजनतिर लैजान्छ भन्नु त झन् ती ५४ प्रतिशत पार्टी पंक्तिको पार्टीप्रतिको निष्ठाको अपमान नै हो।

अन्तर्य– चुनावको डाडुपन्यु कसको हातमा हुने

वास्तवमा केसका संस्थापन पक्षीय सदस्य, त्यसमा पनि ‘सात भाइ’ भनिने शक्तिशाली समूहलाई गगन–विश्वजस्ता युवा नेता पार्टीको नेतृत्वमा आए भने आफूले अहिले देउवा दम्पतीको नजिक भएर जुन अवसर र लाभ पाइरहिएको छ, त्यो गुम्ला भन्ने डर छ। आसन्न चुनावमा उम्मेदवार छान्ने (टिकट वितरण गर्ने) र समानुपातिक तर्फको नाम तय गर्नेजस्ता सत्ता र शक्तिको उपभोगमा आफ्नो वर्चस्व नरहला भन्ने चिन्ता छ। चुनावअगाडि महाधिवेशन नगर्ने अरू तर्क त बहाना मात्र हुन् तर गगन–विश्वहरूपार्टी नेतृत्वमा आउने बलियो सम्भावना त जहिले महाधिवेशन भए पनि उत्तिकै छ। किनकि त्यो ५४ प्रतिशत त अब घट्दैन, बरू बढ्दै जाला।

पुरानो नेतृत्व वर्गको त्यस्तो डर र चिन्ताको समाधान भनेको अब एउटै छ। त्यो हो, संस्थापन र इतर दुवै पक्षका शीर्षस्थ नेताहरू अनि हाल मध्यमार्गमा देखिएका नेता शेखर कोइरालासमेत बसी आपसमा भद्र सहमति गर्ने। जसमा संस्थापन पक्षका महत्त्वपूर्ण हस्तीहरूको पनि पार्टीमा यथोचित व्यवस्थापनको सुनिश्चितता गरिएको हुनेछ। नयाँ नेतृत्वले पार्टीलाई एक बनाइराख्न त्यो गर्नु पनि पर्छ।

होइन र चुनावअगाडि महाधिवेशन गर्न कुनै हालतमा नसकिने स्थिति आएछ नै भने पनि अब चाहिँ संस्थापनले आफ्नो एकलौटी चलाएर होइन, गगन–विश्व, शेखर कोइरालालगायतका सबैको सहभागिता र सहमतिका आधारमा मात्र समानुपातिक र टिकट वितरणको नाम टुंगो लाउनुपर्छ। आआफ्नो मनमानी नगरी टिकट वितरणमा तल्लो कमिटीदेखि आएको नाममा पनि सबभन्दा बलियो उम्मेदवारको नाम छान्नुपर्छ। समानुपातिकतर्फ त्यस शब्दको परिभाषा र संविधानको मर्मको सम्मान हुनेगरी मान्छे छान्नुपर्छ, थैलीवाद, नातावाद, परिवारवाद र कृपावादका आधारमा वा चुनाव हार्नेहरूको ‘डम्पिङ साइट’ बनाउने गरी सूची बनाउनुहुँदैन। कांग्रेसले यस्ता कुरामा धेरै गल्ती गरिसकेको छ रधेरै आलोचित भएको पनि छ तर चेतेको छैन। आज ती हन्डरहरूबाट पाठ सिक्ने अन्तिम अवसर भ्रष्टाचारको विरोधमा जनसागर उरालेका जेनजी आन्दोलनले दिलाएको छ।

नयाँ नेतृत्वमा गगन–विश्वहरू नै किन?

किनकि एक त देशको एक नम्बर र ऐतिहासिक पार्टी कांग्रेसको हालत नराम्रोसँग खस्कँदै आउनुमा अरू थुप्रै कारणका अलावा नेतृत्व गतिलो नहुनु नै प्रमुख कारण हो। त्यसैले कांग्रेसलाई अब २००७, २०१६वा २०४७–४८ सालको गौरवमय अवस्थामा पुर्‍याउने गरी उकास्न र समयसापेक्ष बनाउन पहिलो आवश्यकता भनेको गतिलो र सक्षम नेतृत्वको हो।

 गतिलो र सक्षम नेतृत्वको कसीमा गगन–विश्वहरूभन्दा खरो उत्रन सक्ने, उनीहरूभन्दा आश लाग्दा अरू भए अरू नै आउँछन् तर त्यस्तो परिदृश्य टाढा टाढासम्म कतै देखिँदैन। वास्तवमा विश्वकै इतिहासले के भन्छ भने सक्षम नेतृत्व पाउन वा निर्माण गर्न अत्यन्त कठिन हुन्छ। धेरै मेहनत, प्रयास र भाग्यसमेतको संयोगले मात्र त्यो हासिल हुन सक्छ। कांग्रेसमा गगन–विश्वहरू त्यस्तो नेतृत्वका सम्भावना भएका नेताका रूपमा ‘इमर्ज’ भएका छन्। भोलि बिग्रिए, भ्रष्ट, स्वार्थी र अक्षम भए भने देश कांग्रेस र नेपाली जनता सबैको दुर्भाग्य हुन्छ। आजका मितिमा भने कांग्रेसको पुनरुत्थान गर्न सक्ने हिसाबले होस् कि देश हाँक्न सक्ने हिसाबले होस्, त्यस्तो नेतृत्व अरूदेखिएको छैन।

हरेक कोणबाट उनीहरू कांग्रेसको संस्थापन पक्षका वर्तमान नेतृत्व मण्डलीभन्दा भिन्न र श्रेष्ठ देखिन्छन्। जस्तै कि, पहिलो कुरा त उनीहरू कसैको ओत लागेरवा बिरासतको ताज पहिरेर होइन, आफ्नोे बलबुतामा यहाँसम्म आइपुगेका हुन्। कार्यकर्ताले सबैभन्दा धेरै मन पराएर महामन्त्रीमा जिताएका नेता त हुन् नै। खासगरी गगन त पार्टी वृत्तभन्दा बाहिरका आम जनता र युवाका माझ पनि लोकप्रिय र आशा गरिएका नेता हुन्। अहिलेको जेनजी पुस्ताको चाहना र आक्रोश बुझेका र त्यसलाई आत्मसात गरी उनीहरूलाई सँगै लिएर चल्नसक्ने नेता हुन् उनीहरू। समयको हाँक र चुनौती बुझेका, देश, काल परिस्थितिर समाज बुझेका, भूराजनीतिदेखि अर्थराजनीतिसम्म बुझेका, राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनका लक्ष्य, मार्ग चुनौती र जोखिम बुझेका गतिशील र ऊर्जावान्नेता हुन्। दुवै कुशल वक्ता र कुशल संगठनकर्ता पनि हुन्। यस्तोमा अब पनि समयले बिदा गरेका पुरानै नेतृत्वको फोटोयुक्त पोस्टर लिएर चुनावमा जाने कि पुस्तान्तरणपछिको नेतृत्वमा चुनावमा जाने? कांग्रेसजनले निर्णय गर्नुपर्‍यो। अझै पनि नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेर पार्टीको रूपान्तरण नगर्ने हो भने कांग्रेस अब भविष्यको देश हाँक्ने पार्टी होइन, इतिहासको पार्टी बन्नेछ।

प्रकाशित: १ मंसिर २०८२ ०९:१७ सोमबार