विचार

के एआईले जागिर खाइदिन्छ ?

काकरभिट्टादेखि क्यालिफोर्नियासम्म एउटै प्रश्न छ-के आर्टिफिशल इन्टेलिजेन्स (एआई), अर्थात् कृत्रिम बुद्धिमत्ताले जागिर खाइदिन्छ ? यसको स्पष्ट जवाफ हो-खाइदिन्छ; तर एआईले होइन, एआई जान्ने मानिसले नजान्नेको जागिर खाइदिन्छन्। नेपालका लागि असली खतरा एआई होइन-असली खतरा एआईको युगमा पनि पुरानो सीपमै अडिइरहनु हो। जसले एआईलाई अस्त्र बनाउँछ, उसका लागि यो युग अवसरको हो। जसले आँखा चिम्लेर बस्छ, उसका लागि यो युग विस्थापनको समय बन्न सक्छ।

प्रश्न 'के एआईले जागिर खान्छ ?' भन्ने होइन। प्रश्न हो-'के म एआईसँगै अगाडि बढ्न तयार छु ?' एउटा उदाहरण हेरौँ : एउटा सफ्टवेयर कम्पनीमा काम गर्ने एक व्यक्ति गत वर्षसम्म कन्टेन्ट राइटरका रूपमा कार्यरत थिए। दिनभरि ब्लग पोस्ट, प्रोडक्ट डेस्क्रिप्सन र मार्केटिङ कपी लेख्ने उनको काम अचानक आधा भयो-कम्पनीले च्याटजीपीटी, जेमिनाइ, क्लाउडजस्ता जेनेरेटिभ एआई टुल प्रयोग गर्न थालेपछि उनको कामसँगै कमाइ पनि घट्यो। पहिले पाँच जना राइटरको काम अहिले एआई जानेका दुई जनालाई पनि पुगेन।

यो एक जना व्यक्तिको मात्र कथा होइन, यो एउटा युगको सुरुआत हो-अर्थात् एआईको युग। एआईका कारण काममा धेरै सजिलो भएको छ। घण्टौँ लाग्ने काम मिनेटमै सकिने भएको छ। पाँच जनाले गर्ने काम एक जनाले सक्न थालेको छ। जटिल समस्या सहजै समाधान गर्न सकिने भएको छ। जीवन झन् सहज बनाउन एआई एउटा युगान्तकारी प्रविधिका रूपमा उदाएको छ।

संसारभरि के भइरहेको छ ?

विश्व आर्थिक मञ्चको अनुमानअनुसार सन् २०३० सम्ममा नौ करोड २० लाख जागिर विस्थापित हुनेछन्। मञ्चको सन् २०२५ को 'फ्युचर अफ जब्स रिपोर्ट' अनुसार विश्वभरि ४१ प्रतिशत रोजगारदाताले अर्को पाँच वर्षमा एआई स्वचालनका कारण जनशक्ति घटाउने योजना बनाइसकेका छन्। उनीहरू पाँच वर्ष कुर्ने छैनन्, किनकि परिवर्तन अहिले नै हुन थालेको देखिन्छ।

सन् २०२५ को पहिलो छ महिनामा मात्रै ७७ हजार नौ सय ९९ प्रविधिसम्बन्धी जागिर गुमेका थिए। गोल्डम्यान स्याक्सका अनुसार एआईले विश्वभरि ३० करोड जागिर प्रभावित गर्न सक्छ, जुन विश्वको कुल रोजगारीको ९.१ प्रतिशत हो।

कस्ता जागिर सबैभन्दा बढी जोखिममा छन् ?

पेन्सिल्भानिया विश्वविद्यालय/ओपनएआईका अनुसन्धानकर्ताका अनुसार वार्षिक ८० हजार डलरसम्म कमाउने उच्च शिक्षित 'ह्वाइट कलर' जागिर स्वचालनको सबैभन्दा बढी जोखिममा छन्। एआईको बढ्दो प्रयोगले दोहोरिरहने र नियममा आधारित जागिर जोखिममा पार्नेछन्। डाटा इन्ट्री, कल सेन्टर, ग्राहक सेवा, कन्टेन्ट राइटिङ, अनुवाद, उद्योगमा दोहोरिरहने कार्य, ग्राफिक डिजाइन, सफ्टवेयर प्रोग्रामिङ र लेखा क्षेत्रका जागिर जोखिममा पर्नेछन्।

एक अध्ययनका अनुसार बैंकिङ क्षेत्रमा ५४ प्रतिशत जागिरमा एआई स्वचालनको उच्च सम्भावना छ। कानुनी क्षेत्रमा पारालिगलहरूले सन् २०२६ सम्ममा ८० प्रतिशत जोखिम सामना गर्नुपर्ने अनुमान छ। स्वास्थ्य क्षेत्रमा मेडिकल ट्रान्सक्रिप्सन स्वचालित भइसकेको छ। ब्लुमबर्गको अनुसन्धानले देखाउँछ कि एआईले बजार अनुसन्धान विश्लेषकका ५३ प्रतिशत र बिक्री प्रतिनिधिका ६७ प्रतिशत कार्यहरू प्रतिस्थापन गर्न सक्छ। सेल्सफोर्सका प्रमुख कार्यकारी अधिकृत मार्क बेनिओफका अनुसार एआईले अहिले कम्पनीको आधा काम सम्हाल्न थालेको छ। यस कारण उनले चार हजारभन्दा बढी ग्राहक सेवा कर्मचारी घटाएका छन्। आईबीएम कम्पनीले सयौँ मानव संसाधन भूमिकाहरू एआई च्याटबोटमार्फत प्रतिस्थापन गरेको छ।

सन् २०२५ को सुरुदेखि नै एआई–प्रभावित क्षेत्रमा काम गर्ने २० देखि ३० वर्षका युवाहरूमा बेरोजगारी झन्डै तीन प्रतिशत बिन्दुले बढेको छ। एआईले पाँच वर्षभित्र आधा प्रवेशस्तरका बौद्धिक मानिने 'ह्वाइट कलर' जागिर हटाउन सक्ने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले कठोर भविष्यवाणी गरिसकेका छन्।

एआईले जागिर बढाउँछ ?

निष्पक्ष विश्लेषणका लागि यो पक्ष पनि हेर्नु जरुरी छ। विशेषज्ञहरूका अनुसार एआईका कारण जागिर गुम्नेभन्दा सिर्जना हुने सङ्ख्या बढी हुनेछ। विश्व आर्थिक मञ्चको अनुमानअनुसार सन् २०३० सम्ममा नौ करोड २० लाख जागिर विस्थापित हुनेछन्, तर एआईकै कारण १७ करोड नयाँ जागिर सिर्जना हुनेछन्। विश्वमा सात करोड ८० लाख जागिरको शुद्ध वृद्धि हुन सक्छ। अर्थात् एआईको बजार प्रभाव समग्रमा सकारात्मक हुन सक्छ। एआई इन्जिनियर भूमिकामा १४० प्रतिशतभन्दा बढी माग वृद्धि भइरहेको छ।

औद्योगिक क्रान्तिले मिलमा काम गर्नेहरूलाई विस्थापित गर्‍यो, तर त्यसले थप उद्योग र थप रोजगारी पनि सिर्जना गर्‍यो। सन् १९७० को दशकमा कम्प्युटर क्रान्तिले धेरै रोजगारी विस्थापन गर्दा त्योभन्दा बढी रोजगारी बढेको हामीले देखेकै हो। ३० वर्षको अन्तरमा कम्प्युटर दैनिक जीवनको हिस्सा बन्यो। सन् २०२७ सम्ममा भारतमा मात्र २३ लाख एआईसम्बन्धी नयाँ जागिर खुल्ने प्रक्षेपण गरिएको छ। त्यसैले एआई क्रान्तिले पनि रोजगार विस्थापनभन्दा वृद्धि गर्ने सम्भावना छ।

एक अध्ययनका अनुसार एआई सीप भएका पेशेवरहरूले उही भूमिकामा सीप नभएका साथीहरूको तुलनामा ५६ प्रतिशतसम्म बढी तलब पाउँछन्। यो तथ्याङ्कले एआईसँग लड्नुभन्दा एआई सिक्नु लाभदायक छ भन्ने स्पष्ट सन्देश दिन्छ। नेपाली फ्रिल्यान्सरहरूका लागि एउटा अभूतपूर्व अवसर खुलेको छ। सही उपकरणहरूसहित विराटनगरका एक डेभलपर वा पोखराका एक डिजिटल मार्केटरले अमेरिका वा युरोपमा उच्च पारिश्रमिकका लागि प्रतिस्पर्धा गर्न र विदेशी मुद्रा नेपाल भित्र्याउन सक्छन्।

नेपालको अवस्था के छ ?

नेपाललाई यो प्रश्नले फरक तरिकाले छुन्छ। हाम्रो अर्थतन्त्र कृषि, पर्यटन र रेमिट्यान्समा आधारित भएकाले प्रत्यक्ष खतरा तत्काल महसुस नहुन सक्छ, तर अप्रत्यक्ष असर गहिरो हुनेछ। नेपालका ६० प्रतिशतभन्दा बढी श्रमिक कृषि वा म्यानुअल काममा छन्, जसले एआई–प्रेरित जोखिम तत्कालका लागि सीमित राख्छ। तर बलियो डिजिटल सीप र क्षमताबिना नेपाल उच्च मूल्यको वैश्विक अर्थतन्त्रमा पछाडि पर्न सक्छ।

नेपालमा पूर्णकालीन नियमित जागिर तीव्र रूपमा घटेका छन् भने आउटसोर्सिङ र करार काम उल्लेखनीय रूपमा बढेका छन्। नेपालको बीपीओ (बिजनेस प्रोसेस आउटसोर्सिङ) क्षेत्र विशेष रूपमा संवेदनशील छ। नेपालको अर्थतन्त्र सेवा क्षेत्र, बीओपी र प्रशासनिक भूमिकामा धेरै निर्भर छ-यी नै क्षेत्र स्वचालनका लागि सबैभन्दा उपयुक्त छन्।

नेपालमा सरकारले सन् २०२४-२०३४ लाई सूचना प्रविधिको दशक घोषणा गरेको छ। यसमा १५ लाख नयाँ प्राविधिक जागिर र दशकभित्र ३० खर्ब नेपाली रुपैयाँको आईटी सेवा निर्यात गर्ने लक्ष्य राखिएको छ। यो महत्वाकांक्षी लक्ष्य हो, तर यसका लागि एआईलाई चुनौतीका रूपमा होइन, अवसरका रूपमा बुझ्नुपर्छ।

सरकारले के गरिरहेको छ ?

नेपाल सरकारले राष्ट्रिय एआई नीति २०८२ आधिकारिक रूपमा अनुमोदन गरिसकेको छ। यो ढिलै भए पनि देशको डिजिटल रूपान्तरण यात्रामा महत्वपूर्ण उपलब्धि हो। यस नीतिले स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक प्रशासन क्षेत्रमा एआईको रणनीतिक एकीकरणको परिकल्पना गरेको छ। सरकारले पाँच वर्षभित्र एआई क्षेत्रमा कम्तीमा पाँच हजार जनशक्ति तयार गर्ने लक्ष्य राखेको छ।

यस नीतिले अन्तर्राष्ट्रिय आधारभूत सिद्धान्त र प्रचलनसँग अनुकूल हुने गरी एआईको अनुसन्धान, विकास र प्रयोगलाई दिशानिर्देश गर्न नेपालमा एआई नियमन परिषद् स्थापना गर्ने रणनीति लिएको छ।

एआईलाई आर्थिक तथा सामाजिक क्षेत्रमा अधिकतम उपयोग गर्ने प्रतिबद्धतासहित उक्त नीतिमा विश्वव्यापी सूचकाङ्क 'एआई रेडिनेस इन्डेक्स'मा नेपालको स्थान शीर्ष ५० भित्र पुर्याउने लक्ष्य उल्लेख गरिएको छ। नीतिले एआईका कारण सम्भावित जागिर गुम्ने अवस्थालाई व्यवस्थापन गर्न र यसका सामाजिक तथा आर्थिक परिणामलाई सम्बोधन गर्न संयन्त्र स्थापना गर्ने कुरा पनि समेटेको छ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले एआईले नेपालको विकासलाई अवसर र चुनौती दुवै दिने बताएको छ। एआईलाई मानव-केन्द्रित बनाउँदै क्षमतालाई प्रतिस्थापन गर्नेभन्दा बढाउने दिशामा विकास गर्नु आवश्यक छ भन्नेमा जोड दिइएको छ।

समग्रमा, एआईले जागिर खाने होइन-बरु पहिलेभन्दा बढी जागिर उत्पादन गर्ने सम्भावना देखिन्छ। यसले दोहोरिने, यान्त्रिक कामहरू हटाउँछ, तर मानवीय रचनाशीलता, सहानुभूति र जटिल निर्णय-क्षमतालाई प्रतिस्थापन गर्न सक्दैन। रासस

प्रकाशित: ३ वैशाख २०८३ १२:४२ बिहीबार