पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका नेता तथा जिम्मेवार व्यक्तिहरूसँग नेपालको विकास र भविष्यबारे गम्भीर संवाद गर्ने अवसर मिल्यो। मैले उनीहरूसँग एउटै प्रश्न राखेँ - के नेपाल अब विकासको गतिलाई तीव्र बनाएर साँच्चिकै परिवर्तन गर्न सक्छ? के हामीले विकासलाई अझ आक्रामक, परिणाममुखी र तीव्र बनाउन सक्दैनौं?
धेरैको जवाफ लगभग एउटै थियो - ‘नेपालको अवस्था धेरै वर्षदेखि यस्तै छ। विकास बिस्तारै हुँदै जान्छ। विकास निरन्तर गर्नुपर्छ तर एकैपटक ठुलो परिवर्तन सम्भव हुँदैन।’
विकास निरन्तर प्रक्रिया हो तर यही उत्तरभित्र एउटा गम्भीर प्रश्न लुकेको छ– दशकौंदेखि हामी ‘विकास बिस्तारै हुँदै छ’ भनिरह्यौं, अब पनि नेपाली नागरिकले वास्तविक परिवर्तन महसुस गर्न कति युग कुर्नुपर्ने? कति पुस्ताले पर्खनुपर्ने ? कति युवाले रोजगारीका लागि बिदेसिनुपर्ने? कति किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएर निराश हुनुपर्ने? कति महिलाले उद्यम गर्ने सपना पुँजी, सिप र बजारको अभावमा रोक्नुपर्ने? कति साना व्यवसायीले ऋण, ब्याज, सरकारी झन्झट र बजारको अनिश्चिततासँग संघर्ष गरिरहनुपर्ने?
हामीले नेपालमा केही पनि भएको छैन भन्न खोजेका होइनौं। सडक बनेका छन्, सञ्चार र प्रविधिको पहुँच विस्तार भएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार भएका छन् तर विकासको प्रश्न यतिमै सकिँदैन। प्रश्न विकास भयो कि भएन भन्ने मात्र होइन, विकासको गति, पहुँच र प्रभाव पर्याप्त छ कि छैन भन्ने हो। विकासको गति यति सुस्त छ कि एउटा पुस्ताले अवसर खोज्दै बिदेसिनुपर्छ र अर्को पुस्ताले पनि त्यही बाटो पछ्याउनुपर्ने अवस्था आउँछ भने हाम्रो विकासको मोडलमाथि पुनर्विचार गर्नैपर्छ। नेपाललाई अब केवल निरन्तर विकासको नारा पर्याप्त छैन। नेपाललाई तीव्र, समावेशी र परिणाममुखी विकास चाहिएको छ।
विकासको केन्द्रमा को ?
नेपालको विकासबारे बहस गर्दा हामी प्रायः सहरका शिक्षित, पहुँच भएका र केही पुँजी भएका व्यवसायीलाई केन्द्रमा राख्छौं। तर नेपालको वास्तविक अर्थतन्त्र त्यसभन्दा धेरै ठुलो छ। गाउँमा सानो पसल चलाउने महिला, घरमै उत्पादन गर्ने उद्यमी, कृषि व्यवसाय गर्ने किसान, स्थानीय उत्पादन बेच्ने युवा, हस्तकला गर्ने परिवार, सानो होटल वा सेवा व्यवसाय सञ्चालन गर्ने व्यक्ति यी सबै नेपाली अर्थतन्त्रका वास्तविक आधार हुन्।
उनीहरूसँग पर्याप्त पुँजी, आधुनिक सिप तथा बजारसम्म सहज पहुँच छैन। प्रविधिको पहुँच कमजोर छ। सहज ऋण र सरकारी सेवामा पहुँच पनि छैन। त्यसैले उनीहरू पछाडि परेका हुन्। उनीहरू असक्षम भएर पछाडि परेका होइनन्, उनीहरूलाई सक्षम बनाउने प्रणाली कमजोर भएर पछाडि परेका हुन्। त्यसैले विकास नीति केवल पहिले नै सक्षम मानिसलाई अझ सक्षम बनाउनेमा सीमित हुनु हुँदैन। जससँग पैसा छैन, सिप छैन, शिक्षा छैन र पहुँच छैन, उसलाई कसरी सक्षम बनाउने? यही प्रश्न नेपालको विकास नीतिको केन्द्रमा हुनुपर्छ।
नेपालको भविष्य विश्वविद्यालयबाट निस्किएका युवाले मात्र बनाउने होइनन्। विश्वविद्यालय पढ्न नपाएका युवाले पनि बनाउनेछन्। औपचारिक शिक्षा पूरा गर्न नसकेकी महिलाले पनि बनाउनेछिन्। पुस्तौंदेखि खेती गरिरहेको किसानले पनि बनाउनेछ। सानो व्यवसाय गरेर परिवार मात्र होइन, अरूलाई समेत रोजगारी दिइरहेको उद्यमीले पनि बनाउनेछ।
त्यसैले विकासको अवसर सबै तहमा पुग्नुपर्छ। नयाँ पुस्ता आयो, नयाँ परिणाम कहिले आउँछ? आज युवा पुस्ता राजनीतिमा आउनु सकारात्मक संकेत हो। नयाँ पुस्तासँग ऊर्जा छ, नयाँ सोच छ र पुरानो राजनीतिक संस्कारलाई प्रश्न गर्ने साहस छ तर नयाँ पुस्ता राजनीतिमा आउनु मात्र पर्याप्त छैन। मैले राजनीतिक नेतृत्वसँग अर्को प्रश्न पनि गरेको छु - ‘तपाईंहरू सरकारमा पुग्नुभयो भने नेपालको जटिल आर्थिक र सामाजिक समस्या कसरी समाधान गर्नुहुन्छ?’
कहिलेकाहीं जवाफ आउँछ - ‘हामी सिक्दै छौं।’ सिक्नु नराम्रो होइन। संसारमा कुनै पनि नेता पूर्ण हुँदैनन् तर सरकार चलाउनु भनेको केवल सिकिरहने ठाउँ होइन। संसद् पनि त्यस्तै हो। त्यहाँ सरकार निर्णय गर्ने र परिणाम दिने संस्था हो। सरकारलाई अझ धेरै जवाफदेही बनाउने ठाउँ हो संसद्।
नेपालको बेरोजगारी, गरिबी, कमजोर शिक्षा, सिपको अभाव, कृषि संकट, पुँजीको अभाव, उद्योगको कमजोरी र सरकारी झन्झट आजका मात्र समस्या होइनन्। यी विषयमा दशकौंदेखि बहस भइरहेको छ। त्यसैले अब जनताले ‘हामी सिक्दै छौं’ मात्र सुन्न चाहँदैनन्। जनताको प्रश्न सरल छ - ‘अब परिणाम कहिले आउँछ?’
राजनीतिक परिवर्तनको अर्थ के ?
हामीले पटक–पटक राजनीतिक परिवर्तन गर्यौं, व्यवस्था परिवर्तन गर्यौं, सरकार परिवर्तन गर्यौं, दल र नेतृत्व परिवर्तन गर्यौं। पटक पटक आन्दोलन गर्यौं। एउटा सामान्य नेपाली नागरिक आज पनि खाना, शिक्षा, स्वास्थ्य, रोजगारी र सिपका लागि संघर्ष गरिरहेको छ भने हामीले आफैंलाई गम्भीर प्रश्न गर्नुपर्छ– परिवर्तनको केन्द्रमा आखिर राजनीति थियो कि जनता ? राजनीतिक परिवर्तनको अन्तिम उद्देश्य नागरिकको जीवन परिवर्तन हुनु हो। सरकार परिवर्तन आफैंमा उपलब्धि होइन। नागरिकको जीवनमा देखिने परिवर्तन मात्र वास्तविक उपलब्धि हो। यही मापदण्डमा हेर्दा हाम्रो राजनीतिक यात्रामाथि अझ कठोर प्रश्न गर्नुपर्ने ठाउँ छ।
‘नेपाल यस्तै हो, नेपालमा यो सम्भव छैन, विकास बिस्तारै हुन्छ, हामीले धेरै वर्षदेखि यही गर्दै आएका छौं,’ यी वाक्य सामान्य लाग्न सक्छन् तर यिनै वाक्यले असम्भवलाई स्वाभाविक र असफलतालाई नियति बनाइदिन्छन्। देश परिवर्तन गर्नुअघि मानसिकता परिवर्तन गर्नुपर्छ।
समस्या मात्र होइन, अथाह सम्भावना पनि छ
संसारका धेरै देशले छोटो समयमा शिक्षा, उद्योग, प्रविधि, पूर्वाधार र रोजगारीमा ठुलो छलाङ मारेका छन्। नेपालले पनि त्यसबाट सिक्न सक्छ। हामीसँग कृषि, पर्यटन, जलस्रोत, डिजिटल अर्थतन्त्रको सम्भावना छ। यहाँ स्थानीय उत्पादन छ, हस्तकला छ, सेवा क्षेत्र छ र सबैभन्दा ठुलो कुरा युवा जनशक्ति छ।
हामीसँग समस्या मात्र छैन, असाधारण सम्भावना पनि छ। समस्या सम्भावना नहुनु होइन, सम्भावनालाई परिणाममा बदल्ने नीति, लगानी, सिप, नेतृत्व र कार्यान्वयनको गति कमजोर हुनु हो। त्यसैले अब विकासको गति बदल्नुपर्छ।
साना उद्यमीलाई दान होइन, अवसर, सहुलियतपूर्ण ऋण, सरल सरकारी प्रक्रिया, व्यावसायिक सिप, डिजिटल पहुँच, बजारको सुनिश्चितता चाहिन्छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति चाहिन्छ। एउटा शिक्षित र पुँजी भएको उद्यमीलाई मात्र माथि उठाएर देश समृद्ध हुँदैन। पुँजी र शिक्षाको दुवै अभावमा संघर्ष गरिरहेको उद्यमीलाई माथि उठाउने प्रणाली पनि चाहिन्छ। त्यसले रोजगारी सिर्जना गर्छ। गाउँको अर्थतन्त्र बलियो बनाउँछ। युवालाई देशमै अवसर दिन्छ र अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँछ।
अब सरकारको हिसाब माग्नुपर्छ
अब नेपाली जनताले सरकारसँग केवल घोषणा होइन, परिणामको हिसाब माग्ने बेला आएको छ। सरकार कस्तो बन्यो ? कसको बन्यो? होइन, प्रश्न सरकारले नागरिकका लागि के गर्यो ? कति रोजगारी सिर्जना भयो? कति नयाँ उद्यमी जन्मिए ? कति महिला आर्थिक रूपमा आत्मनिर्भर भए? कति किसानको आय बढ्यो ? कति युवाले देशमै अवसर पाए? कति सरकारी प्रक्रिया सरल भए ? कति साना व्यवसायीले सहज ऋण पाए ? कति स्थानीय उत्पादन बजारमा पुगे ? सरकारको सफलता वा असफलता यिनै प्रश्नबाट मापन हुनुपर्छ।
बजेट कति छुट्याइयो भन्नेभन्दा त्यसले कति जीवन बदल्यो भन्ने महत्त्वपूर्ण हो। योजना कति घोषणा भए भन्नेभन्दा कति कार्यान्वयन भए भन्ने महत्त्वपूर्ण हो। सरकार कति दिन टिक्यो भन्नेभन्दा त्यस अवधिमा नागरिकले के पाए भन्ने महत्त्वपूर्ण हो। राज्यको सफलता कागजमा होइन, नागरिकको जीवनमा देखिनुपर्छ। नेपाल किन बनेनबाट नेपाल कसरी बनाउनेतर्फ हाम्रो ध्यान जानुपर्छ।
म निरास हुन चाहन्नँ किनकि नेपालसँग सम्भावना छ। यद्यपि सम्भावना आफैं विकास होइन। त्यसका लागि दृष्टिकोण चाहिन्छ, स्पष्ट दिशा चाहिन्छ, सही नीति चाहिन्छ, लगानी चाहिन्छ, सिप चाहिन्छ, इमानदार नेतृत्व चाहिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा काम गर्ने इच्छाशक्ति चाहिन्छ। अब प्रश्न बदलिनुपर्छ। नेपाललाई हामी कसरी बनाउने ? राजनीतिक परिवर्तनको वास्तविक अर्थ यही हो। लोकतन्त्रको वास्तविक परीक्षा पनि यही हो।
नेतृत्वका अनुहार बदलिइरहन सक्छन् तर अब परिवर्तनको मापन कुर्सीमा होइन, जनताको जीवनमा हुनुपर्छ। यही नै आजको सबैभन्दा ठुलो आवश्यकता हो। राजनीतिक परिवर्तनबाट आर्थिक र सामाजिक परिवर्तनतर्फको निर्णायक यात्रा अब चाहिएको छ किनकि नेपालको भविष्य कुनै दलको घोषणापत्रमा होइन, नेपाली नागरिकको जीवनमा लेखिनुपर्छ। सरकार नागरिकको जीवनमा भेटिनुपर्छ। यो लक्ष्य प्राप्तिका लागि विकासको गति सुस्त भएर सम्भव छैन।
- ज्ञवाली सामाजिक तथा आर्थिक अभियन्ता, उद्यमशीलता प्रवर्धक तथा लेखक हुन्। उनले नेपाली समाज, युवा, महिला उद्यमशीलता, रोजगारी, अर्थतन्त्र तथा सामाजिक रूपान्तरणका विषयमा निरन्तर लेख्दै र आवाज उठाउँदै आएकी छन्।
प्रकाशित: ४ भाद्र २०८३ ०७:५४ बिहीबार