विचार

मतदाताको विवेक परीक्षा

नेपालमा दलहरूको स्वार्थी क्रियाकलापले नेता र कर्मचारीलाई भ्रष्ट बनाउने र मुुलुकमा थप राजनीतिक बेथिति र अराजकता निम्त्याउने काम हुँदै आयो। परिणामतः जेनजी आन्दोलनको आवश्यकता पर्‍यो। राष्ट्रिय हितभन्दा दलगत स्वार्थले अभिप्रेरित हुँदा आमजनताका जीवन र जीविकाका सवालहरू सधैं ओझेलमा पर्दै आए। आमजनताको नैसर्गिक अधिकार कुण्ठित बन्दै आए। गठबन्धनका नाउँमा दलहरूले राजनीतिक मूल्य, मान्यता र सिद्धान्तको पनि सधैं मानमर्दन गर्दै आए। जसको फलस्वरूप आमजनतामा चरम निराशा उत्पन्न भयो र विरोध र विद्रोहको भावना जागृत भयो।

जेनजी आन्दोलन चरम भ्रष्टाचार, कुशासन र अविकासले उत्पन्न गराएको निराशा, आक्रोश र विद्रोहको परिणाम थियो। तर जेनजी आन्दोलनपछि गलहत्याइएका नेताहरू फेरि दलीय राजनीतिमा सक्रिय हुन थालेका छन्। तिनले विगतमा आफ्नै अक्षमता र अकर्मण्यताका कारण लोकतन्त्र धरापमा परेको यथार्थ भुलेका छन्। अब पनि दल र दलका नेताहरूको आचरण र कार्यशैली सुध्रिएन र नेताहरू सच्चिएनन् भने दलहरूकै कारण लोकतन्त्र समाप्त हुने सम्भावना बढेको छ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको छ। तर तिनै गलहत्याइएका दलका नेताहरू यो विषम परिस्थितिमा निर्वाचन हुनै नसक्ने र यो सरकारले निर्वाचन गर्नै नसक्ने ठोकुवा गरिरहेका छन्।

जनताले आफू र आफ्नो दललाई बहिस्कार गर्ने र निर्वाचनमा पराजय भोग्नुपर्ने डरले नेताहरू चुनावसँग डराइरहेका छन्। चुनावी प्रतिस्पर्धामा आउनै डराइरहेका छन्। तथापि आफ्नो जित हुने र आफ्नै दलले सरकार बनाउने जिकिर गर्न भने छोडेका छैनन्। हारबाट बच्न दलीय गठबन्धनको प्रयास गरिरहेका छन्। यद्यपि जनता सार्वभौमसत्तासम्पन्न छन्। जनताको निर्णय नै अन्तिम निर्णय हुनेछ।

युवापुस्ताले युवाकै नेतृत्व खोजिरहेको छ। पुराना भ्रष्ट र असक्षम नेताहरूलाई विस्थापित गरेर युवा नेतृत्व स्थापित गर्नु नै जेनजी आन्दोलनको अभीष्ट थियो भने यही अभीष्टले युवालाई राजनीतिमा आउन आह्वान पनि गरिँदै छ।

वास्तवमा युवा राजनीतिमा आउनु आवश्यक छ। ऊर्जा, सिर्जनशीलता, नवीन सोच, नवीन विचार र नवीन योजनासहित राजनीतिमा आउने युवाले नै सही नेतृत्व गर्न सक्छ र देशलाई सही दिशा दिन सक्छ।

हिजोका दिनमा युवालाई राजनीतिमा आउने वातावरण नै नबनाएर भ्रष्ट र असक्षम नेताहरूले राजनीतिलाई आफ्नो जागिर बनाउन खोजेका थिए। त्यो परम्परा तोड्न युवा जागृत भएको अवस्थामा अझै पनि पुराना दल र पुराना नेताहरू खुट्टा कमाउँदै भए पनि चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।

अबचाहिँ साँच्चै मतदाताले आफ्नो विवेकको प्रयोग गर्ने बेला भएको छ। सक्षम नयाँ पुस्तालाई नेतृत्व सम्हाल्ने अवसर दिने कि पुराना भ्रष्ट र असक्षम नेताहरूलाई नै दोहोर्‍याउने भन्ने कुरामा अबका मतदाताले विवेकसम्मत निर्णय गर्नु आवश्यक देखिएको छ।

युवापुस्ताले नारामा होइन, ठोस परिणाममा विश्वास गर्छन्। त्यसैले अब नेताहरूले हिजोजस्तै नारामात्रै दिने होइन, ठोस परिणाम दिने कार्ययोजना अघि सार्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्ने आधारशिला तयार गरेर युवा मतदातालाई विश्वस्त पार्नुपर्छ। जसले युवा मतदातालाई विश्वस्त पार्नसक्छ, अब उसैको जित हुनेछ निर्वाचनमा। नारा दिएर आफ्नो अभिभारा पूरा नगर्ने नेतालाई अब युवापुस्ताका मतदाताले अस्वीकार गर्नेछन्। निर्वाचनमा उम्मेदवार बन्न तत्पर दलका नेताहरूले यति कुरा मनन गर्नु आवश्यक छ।

जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई जीवन्त राख्न र संविधानको रक्षा गर्न निर्वाचित जनप्रतिनिधिबाट बनेको सरकारको आवश्यकता छ। निर्वाचनभन्दा बाहिरको बाटोबाट बन्ने सरकार स्वेच्छाचारी र निरङ्कुश बन्ने सम्भावना हुन्छ भन्ने मान्यता छ। त्यसैले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनलाई कुनै हालतमा बिथोलिन दिनु हुँदैन।

निर्वाचनबाट आएका जनप्रतिनिधिहरूबाट बन्ने सरकारले मात्रै राजनीतिक स्थिरता कायम राख्नसक्ने र देशलाई समृद्धिको मार्गमा डोर्‍याउन सक्ने हुँदा निर्वाचन अपरिहार्य छ तर निर्वाचनमा मतदाताले विवेकको प्रयोग गर्नु जरुरी छ। पुरानै परिपाटीलाई दोहोरिन नदिन पनि अब मतदाताले आफ्नो विवेकको प्रयोग गर्दै सही उम्मेदवारलाई चयन गर्नु जरुरी छ।

देशमा भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवर्धन गर्न र लोकतन्त्रलाई थप जनपक्षीय बनाउन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्नका लागि शासन पद्धतिमै परिवर्तन हुनु आवश्यक छ।

जेनजी आन्दोलनले पनि यही परिवर्तनको आवश्यकतालाई औंल्याएको छ। यस्तो परिवर्तन अबको निर्वाचनले गर्नेछ। जेनजी आन्दोलनले मतदाताको मनस्थिति नै परिवर्तन गरिदिएको छ।

 अब पुरानो पुस्तालाई संरक्षक र अभिभावकको भूमिकामा सीमित राख्दै नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी सुम्पनुपर्छ, जसले आफ्नो नवीन सोच, नवीन विचार र नवीन कार्यकुशलताका माध्यमबाट देशलाई समृद्धिको मार्गमा डोर्‍याउन सक्छ भन्ने धारणा मतदाताको मनमा विकसित भएको छ।

अब राजनीतिमा शक्ति हस्तान्तरण र पुस्तान्तरण हुनुपर्छ भन्ने भाष्यको पनि निर्माण भएको छ। यो भाष्यले समयको मागलाई सम्बोधन गरेको छ।

हरेक दृष्टिकोणले असफल भइसकेका र जेनजी आन्दोलनबाट गलहत्याइएका नेताहरूमा पनि सत्ता र शक्तिमा रहिरहने लालसा अझै पनि देखिएको छ। यो लालसाभित्र लोकतन्त्रको नाम जप्दै लुटतन्त्र मच्चाइरहन पाइन्छ भन्ने अभीप्सा लुकेको छ। सत्ता र शक्ति नै अहिलेका धेरै नेताहरूको अभीष्ट बनेको छ। यही सत्ता र शक्तिका लागि उनीहरू निरन्तर राजनीतिमा अडिरहन लालायित छन्। यसका लागि विगतमा उनीहरू सम्भव–असम्भव सबै प्रकारका सपना र आश्वासन बाँड्न उद्यत थिए र अझै पनि त्यस्ता सपना र आश्वासन बाँड्न तत्पर छन्। यद्यपि सधैं उही नेता, उही विचार र उस्तै कार्यशैलीबाट विरक्त जनताले अबचाहिँ परिवर्तन चाहेका छन्। परिवर्तनको चाहनाले डोर्‍याइएका जनता नयाँ अनुहारको खोजीमा छन् र योग्य उम्मेदवारको खोजीमा छन्। जसबाट यो देशको अनुहार फेरिने आशा जनताले गरेका छन्।

नेतृत्वका लागि जनताका प्रतिनिधि चुन्ने औपचारिक प्रणाली हो निर्वाचन। नेतृत्वबाटै नीतिनिर्माण र कार्यान्वयन हुने हुँदा मुलुकको विकासका लागि निर्वाचन अपरिहार्य प्रक्रिया पनि हो। निर्वाचनबाट मात्रै देशमा परिवर्तन सम्भव हुन्छ भन्ने आममान्यता पनि छ। नेताहरूले यही निर्वाचनबाटै समाज र देश परिवर्तनको आश्वासन बाँड्छन् र जनताले पनि यही निर्वाचनबाटै समाज परिवर्तनको सपना देख्छन्। त्यही सपना पूरा हुने आशामा आफ्नो अमूल्य भोट हाल्छन्।

क्रान्तिको इतिहासले होइन विकास र निकासले मात्रै देश समृद्ध हुन्छ भन्ने यथार्थ अब जनताले पनि बुझ्न थालिसकेका छन्। त्यसैले जनता देशलाई निकास दिने र विकासको सपना साकार पार्ने नेताको खोजीमा छन्। अहिलेको परिवर्तित सन्दर्भमा त्यो खोजी केही हदसम्म यही संसदीय निर्वाचनबाट पूरा हुने अपेक्षा छ। त्यसैले जनता आफ्नो अमूल्य भोटमार्फत निर्वाचनमा योग्यलाई छान्न र अयोग्यलाई फाल्न आतुर छन्।

विगतमा आफूलाई किन भोट हाल्ने भनेर जनतालाई चित्त बुझ्दो जवाफसमेत दिन नसक्ने नेतालाई भोट हाल्न जनता अभिशप्त थिए। देशमा सीमा मिचिएको, सीमाका जनता थिचिएको, मिचिएको भूभाग फिर्ता लिने र देश भूराजनीतिको शिकार भइरहेको र जनता गरिबी, अभाव र उत्पीडनको सिकार भइरहेको विषयमा कुनै अजेन्डा नै नबनाई केवल चुनावी घोषणापत्रमा सीमित नाराको आडमा सत्तास्वार्थको वकालत गरिरहेका नेताहरूलाई भोट हाल्न अब जनता अभिशप्त बन्नु हुँदैन।

मंसिर २४ गते सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताका प्रमुख बुँदाहरूमध्ये ‘स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता’ पनि रहेको छ। यो सम्झौताले निर्वाचनलाई पनि सुनिश्चित गरेको छ। त्यसैले यतिखेर देश निर्वाचनको सँघारमा छ। आममतदाता पनि मानसिकरूपमै मतदानका लागि तयार भइरहेका छन्।

अब घरदैलो अभियानको नाउँमा नेता र नेताका अरौटे–भरौटे–धुपौरे कार्यकर्ता हात जोड्दै मुस्कुराउँदै भोट माग्न आउने छन्। यसरी निर्लज्जतापूर्वक हात जोड्दै मुस्कुराउँदै भोट माग्न आउने उम्मेदवारलाई प्रश्न सोधौं। प्रश्न सोध्ने अधिकार छ जनतालाई। अबचाहिँ साँच्चै नै जनताले आफूलाई जिम्मेवार र विवेकवान मतदाताको रूपमा प्रस्तुत गर्ने बेला भएको छ। किनभने यो निर्वाचन जनताको प्रतिनिधि चुन्ने अवसर मात्रै होइन मतदाताको विवेकको परीक्षाको समय पनि हो।  

प्रकाशित: २ माघ २०८२ ०७:४६ शुक्रबार