विचार

प्रतिशोधको अस्वीकार्य राजनीति

‘रिभान्चिज्म’ भन्ने शब्द फ्रान्सेली मूलको हो। यसले विगतका राजनीतिक वा सैन्य पराजयबाट भएको नोक्सानी, विशेषगरी भूभाग गुमाएका घटनाको प्रतिशोधस्वरूप फेरि फिर्ता गर्ने राजनीतिक सिद्धान्तलाई जनाउँछ।

यो अवधारणा १८७० को दशकमा फ्रान्स–प्रसिया युद्धपछि फ्रान्समा जन्मिएको हो, जसलाई राष्ट्रवादी भावनाले बल दिएको थियो। यस किसिमको दर्शन सामान्यतया देशभक्ति र प्रतिशोधी सोचबाट सञ्चालित हुन्छ, जसलाई प्रायः आर्थिक र भूराजनीतिक कारणहरूले थप बल प्रदान गर्छ। आज नेपालमा अन्तरिम सरकारले प्रतिशोधी राजनीतितर्फ देश नधकेलियोस् भन्ने चुनौती सामना गरिरहेको छ। फ्रान्स–प्रसिया युद्धको परिवेश अहिले नेपालमा नभए पनि प्रतिशोधको आक्रमण भने नभएको भन्न सकिन्न।

अहिले दसैं, तिहार, छठ लगायतका पर्व आएका बेला धेरै नेपालीको मन भने हर्षोल्लासले भरिएको छैन। यी चाड सुरु हुँदा देशमा परिस्थिति यस्तो आएको छ, अब नेपालीहरूले बुद्धका उपदेश सम्झनु आवश्यक छ– अशान्ति भइरहे पनि शान्त, सन्तुलित र धैर्यशील बन्नु। नेपालमा दसैंको नवरात्रभरि नवदुर्गाको पूजाअर्चना विशेष गरी हिन्दु समुदायका मानिसले गर्ने गर्छन्। तर नेपालमा झन्डै सबै समुदायका मानिसले यीपर्व मिलेर मनाउने गर्छन्। नवरात्रिको पहिलो दिन घटस्थापनामा जौको बिउ रोपिन्छ। यसैलाई नवरात्रिभरि पूजा गरी दशमीका दिन जमरा बनाएर टीकासहित कान्छा पुस्ताको शिरमा राखिन्छ। यो आशीर्वाद दीर्घायु र समृद्धिको प्रतीक हो । तर यस वर्ष यो संस्कार शोक र अनिश्चिततासँगै हुनेछ।

७३ घरपरिवार यस वर्ष आफ्ना प्रियजनको मृत्युमा शोक मनाउनेछन्। ती सबै ८ सेप्टेम्बरमा सुरु भएको  जेनजी विद्रोहका सहिद हुन्, जसले भ्रष्टाचारी भनिएको सरकारलाई ढाल्यो तर सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी पनि ल्यायो। यो आन्दोलनलाई भविष्यमा भ्रष्टाचारमुक्त नेपालतर्फको महत्त्वपूर्ण कदमका रूपमा देखिए पनि यसले गहिरो घाउ छोडेको छ। धेरै नेपालीका लागि यस वर्षको चाड खुसीभन्दा बढी शोकले भरिएको हुनेछ। प्रत्येक टीकामा १९ बालबालिकासहित आन्दोलनका क्रममा ज्यान गुमाएका सबैको सम्झना हुनेछ।

अब नेपालीहरूको मनमा प्रश्नै प्रश्न छन्। आगामी फागुन २१ मा तोकिएको निर्वाचन कसरी हुने हो? कुन दलले उम्मेदवार उभ्याउने हुन्? नयाँ दलको उदय हुन्छ कि? पुराना दलले नयाँ नेतृत्व चयन गर्छन् कि गर्दैनन्? गरे कसलाई गर्छन्?

तोडफोड र हिंसाको छाया

जेनजी आन्दोलन सुरु भएपछि भिडले मुख्यधारका नेताका घर र पार्टी कार्यालय आक्रमण गर्‍यो। जेनजी प्रदर्शनकारीहरूले भने यी समूह आफूहरूसँग सम्बन्धित नभएको दाबी गरेका छन्। शान्तिपूर्ण प्रदर्शन र हिंसात्मक तोडफोडबिचको रेखा छिट्टै धमिलो बन्यो र धेरैको सोच भने यस्तो हुनुको कारण घुसपेट भएकाले हो भन्ने छ।

कति नेतामाथि भ्रष्टाचारमा डुबेका र पार्टीभित्र तथा मुलुकमा दशकौं सत्ता कब्जा गर्ने आरोप लाग्यो। केहीको विचारमा प्रतिस्पर्धी दल वा बाह्य शक्तिले आन्दोलनलाई अवसर बनाई सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतजस्ता राष्ट्रिय प्रतीकहरूमा आगजनी गराए। निजी निगमहरूमा आक्रमण हुनु पनि कतिपय अज्ञात स्वार्थको संलग्नता भएको संकेत हो।

सौभाग्यवश डिजिटल प्रविधिले घटनाक्रमलाई प्रत्यक्ष क्यामेरामा कैद गरेको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियो र विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी फुटेजले अपराधी पहिचान गर्न सरकारले सहयोग पाउनेछ।

नेतृत्वको संकट

केही समय सेनाको सुरक्षा घेराभित्र बसेका नेताहरू बिस्तारै बाहिर निस्कन थालेका छन्। तर उनीहरूको अभिव्यक्ति मुख्यतः आफ्नो सम्पत्तिमा र दलका भवनमा भएको तोडफोडबारे मात्र केन्द्रित छ। युवापुस्तासँग माफी माग्ने वा भ्रष्टाचारको अवस्थाबारे आत्मालोचना गर्ने चाहना देखिँदैन। नत यी पुराना दलले पुरानो नेतृत्व परिवर्तन गरी युवा पुस्तालाई अगाडि ल्याउने लक्षण देखिएका छन्।

आगामी निर्वाचन नजिकिँदै गर्दा पनि अधिकांश दलले अझै सक्षम नेतृत्व टोली घोषणा गरेका छैनन् । बरु उनीहरू पुरानै पदानुक्रममा अडिएका छन् र जनतामा निराशा जगाउने उही पुरानो बोली दोहोराइरहेका छन्।

२०४६ सालपछि नेपालले ठुलो राजनीतिक यात्रा तय गरेको छ। प्रजातन्त्रको पुनःस्थापनाले निरंकुश राजतन्त्रको अन्त्य गर्‍यो। पछि माओवादी द्वन्द्व र सम्झौतापछि गणतन्त्रको उदय भयो । यो ऐतिहासिक उपलब्धि हो तर यसबिच लोकतन्त्र भ्रष्टाचारले पटक–पटक कलंकित रह्यो।

राजनीतिक नेतृत्व, प्रशासनिक निकाय र निजी क्षेत्रबिचको सञ्जालले राज्यका स्रोत कब्जा गर्‍यो। यसले जनताको जीवन झन् कठिन बनायो– बढ्दो असमानता, सीमित रोजगारी, कमजोर शिक्षा र असुरक्षित आजीविका।

त्यसैले जेनजी आन्दोलन जन्मियो। यो पुस्ताले सडक र डिजिटल दुवै माध्यम प्रयोग गरेर आफ्नो आवाज उठायो। उनीहरूको माग सरल थियो– जवाफदेही, पारदर्शिता र भविष्यमा भ्रष्ट नेताले नियन्त्रण नगर्ने नेपाल। दुर्भाग्यवश उनीहरूको शान्तिपूर्ण प्रदर्शनलाई स्वार्थी समूहले बिगारिदिए।

प्रतिशोधी राजनीति

आज नेपालको राजनीतिले प्रतिशोधतर्फ झुकिरहेको संकेत देखिन्छ। नेताहरू जनताका माग सम्बोधन गर्नुभन्दा पुराना हिसाब चुकाउनेतर्फ बढी लागेका छन्। गठबन्धन सरकारहरू निरन्तर बन्ने र भंग हुने क्रम चलिरहेको छ तर नीतिनिर्माण वा सुशासनका लागि होइन, नेताहरूको अहंकार र स्वार्थ पूरा गर्न।

यसले राष्ट्रको विकास रोक्छ। गरिबी निवारण, रोजगारी सिर्जना, शिक्षा सुधार, पूर्वाधार विकासजस्ता गम्भीर विषयहरू पन्छाइन्छन्। जनताको निराशा बढ्दै जान्छ र लोकतन्त्रप्रति विश्वास घट्दै जान्छ।

प्रतिशोधी राजनीति रोकिएन भने नेपाल फेरि अस्थिरतामा फस्नेछ, जसलाई आन्तरिक वा बाह्य शक्तिले सजिलै दुरुपयोग गर्न सक्छन्।

अघि बढ्ने बाटो

अहिले नेपाल महत्त्वपूर्ण काल खण्डमा छ। प्रतिशोध होइन, मिलन, संवाद र सुधार रोज्नुपर्ने बेला आएको छ। नेताहरूले विशेषगरी युवाको आवाज सुन्नु, आफ्ना असफलता स्विकार्नु र जवाफदेही बन्नु जरुरी छ। मानिसले गल्ती गर्छ तर गल्तीस्विकार्न सक्नु भने ठुलो कुरा हो। गल्ती पनि गर्ने अनि मेरो गोरुको बाह्रै टक्का भन्दै जहिलेपनि आफ्नो गल्ती ढाकछोप गर्नु ठुलो मूर्खता हो। यस्तो प्रवृत्तिले सामन्ती प्रथा र पितृसत्तात्मक सोचको झझल्को ल्याउँछ।

यस वर्षको दसैंमा आशीर्वादका टीकाजमरा मात्रै होइन, भविष्यप्रतिको प्रतिबद्धताको सन्देश पनि दिनुपर्छ। यसपालिका चाडपर्वमा सबैले नयाँ पुस्तालाई आशा, न्याय र शान्ति दिने वाचा गर्न जरुरी छ।

जेनजीले आफ्नो जिम्मेवारी पूरा गरिसकेको छ - आवाज उठाएर, भ्रष्टाचारविरुद्ध उभिएर। तर उनीहरूको शान्तिपूर्ण आन्दोलनलाई स्वार्थी समूहले दुरुपयोग गर्‍यो। अब पालो वरिष्ठ नेताहरूको हो– गल्ती सच्याउने, देशलाई शान्ति र स्थिरताको बाटोमा डोराएर लैजाने।

दसैंको टीकाजमराले यस वर्ष स्पष्ट सन्देश दिनुपर्छ - नेपाल प्रतिशोधले होइन, पुनर्मिलन, दृढतार नयाँ पुस्ताको आशाले परिभाषित  हुनेछ।

प्रकाशित: १० आश्विन २०८२ ०९:०८ शुक्रबार