विचार

तापवृद्धिको त्रास

विश्वव्यापी तापवृद्धि (ग्लोबल वार्मिङ) पृथ्वीको औसत तापक्रम क्रमशः बढ्दै जाने प्रक्रिया हो, जुन मुख्यतः मानव गतिविधिका कारण तीव्र बनेको छ। उद्योग, सवारी साधन, कारखाना तथा कोइला, पेट्रोलियम र ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोगले वातावरणमा कार्बनडाइअक्साइड, मिथेनलगायत हरितगृह ग्यासहरूको मात्रा बढिरहेको छ। यी ग्यासहरूले सूर्यबाट आएको तापलाई वायुमण्डलभित्रै रोक्ने भएकाले पृथ्वीको तापक्रम बढ्ने अवस्था सिर्जना हुन्छ, जसलाई हरितगृह प्रभाव भनिन्छ । वन विनाश, प्रदूषण र अनियन्त्रित सहरीकरणले पनि वातावरणीय सन्तुलनलाई थप कमजोर बनाइरहेका छन्। परिणामस्वरूप जलवायु प्रणाली असन्तुलित हुँदै अनियमित वर्षा, खडेरी, बाढी, पहिरो, हिमनदी पग्लिने तथा अत्यधिक गर्मीजस्ता प्राकृतिक विपद्हरूको आवृत्ति र तीव्रता बढिरहेको छ । यसले मानव जीवन, कृषि उत्पादन, स्वास्थ्य अवस्था, जैविक विविधता र समग्र वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको छ।

विश्वव्यापी तापवृद्धिको अवस्था

पृथ्वीको औसत तापक्रम पछिल्ला दशकहरूमा तीव्र गतिले बढिरहेको छ । हिमनदी पग्लिनु, समुद्री सतह बढ्नु, वर्षाको ढाँचा परिवर्तन हुनु तथा प्राकृतिक विपद् बढ्नु यसको प्रत्यक्ष संकेत हुन् । नेपालमा विशेषगरी हिमाली तथा तराई क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिएको छ । तापक्रम वृद्धि, अनियमित मनसुन तथा लामो खडेरीका कारण कृषि प्रणाली प्रभावित भइरहेको छ।

कृषि क्षेत्रमा विश्वव्यापी तापवृद्धिको प्रभाव

नेपालको अधिकांश जनसंख्या कृषि पेसामा निर्भर छ । जलवायु परिवर्तनले कृषि उत्पादन, पशुपालन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा गम्भीर असर पुर्‍याइरहेको छ । नेपालजस्तो कृषि प्रधान तथा भौगोलिक रूपमा संवेदनशील देशमा जलवायु परिवर्तनको असर अझ बढी देखिएको छ । विशेषगरी ग्रामीण समुदाय, किसान, महिला, बालबालिका तथा विपन्न वर्ग यसको प्रत्यक्ष मारमा परिरहेका छन् । कृषि उत्पादन घट्नु, खाद्य असुरक्षा बढ्नु, महिला स्वास्थ्यमा असर पर्नु तथा मानसिक तनाव बढ्नु आज गम्भीर सामाजिक तथा आर्थिक चुनौती बनेको छ।

यसको प्रत्यक्ष प्रभाव भनेको उत्पादनमा कमी आउनु हो । अनियमित वर्षा, अत्यधिक गर्मी तथा लामो खडेरीका कारण धान, गहुँ, मकै, कोदोलगायतका बालीको उत्पादन घट्दै गएको छ । समयमै वर्षा नहुनु वा अत्यधिक वर्षा हुनु दुवै अवस्थाले खेती प्रणालीमा समस्या ल्याएको छ । विश्वव्यापी तापवृद्धिले विश्व कृषि उत्पादकत्वमा समेत नकारात्मक प्रभाव पारेको अध्ययनहरूले देखाएका छन् । त्यसैगरी माटोको उर्वराशक्ति घट्नु अर्को समस्या देखिन थालिएको छ । बाढी तथा पहिरोका कारण उब्जाउ माटो बग्ने समस्या बढेको छ।

 अत्यधिक तापक्रमले माटोमा चिस्यान कम भई उत्पादनशीलता घट्दै गएको छ । यसले दीर्घकालीन खाद्य संकट निम्त्याउन सक्छ । यसकै प्रभावले पानीको अभाव हुने संकेत देखिएको छ । हिमनदी पग्लिनु तथा पानीका स्रोत सुक्दै जानुले सिँचाइमा समस्या सिर्जना गरेको छ । ग्रामीण क्षेत्रमा महिलाहरूलाई टाढाटाढाबाट पानी ल्याउनुपर्ने बाध्यता बढेको छ। यसले उनीहरूको श्रम तथा स्वास्थ्यमा थप बोझ सिर्जना गरेको छ । यस्तै कारणले गर्दा रोग तथा किराको वृद्धि भइरहेको छ । तापक्रम वृद्धि भएपछि विभिन्न रोग तथा किराहरू फैलिने सम्भावना बढ्छ । बालीमा नयाँ नयाँ किसिमका रोग तथा किरा देखा पर्ने साथै पशु स्वास्थ्यमा असर पर्ने समस्या बढ्दै गएको छ । यस्तै समस्या जोडिँदै जानुको कारण नै  खाद्य असुरक्षाको महसुस हुन थालेको छ । कृषि उत्पादन घट्दा खाद्यान्न अभाव, मूल्य वृद्धि तथा कुपोषणको समस्या बढ्ने गर्छ । ग्रामीण तथा गरिब परिवारहरू विशेष प्रभावित हुन्छन् । महिलाहरूले परिवारको खाद्य व्यवस्थापन गर्न थप संघर्ष गर्नुपरेको अवस्था देखिन्छ।

महिला स्वास्थ्यमा विश्वव्यापी तापवृद्धिको प्रभाव

जलवायु परिवर्तनले महिलाहरूलाई पुरुषभन्दा बढी असर पार्ने विभिन्न अध्ययनले देखाएका छन् । सामाजिक, आर्थिक तथा लैंगिक असमानताका कारण महिलाहरू बढी जोखिममा रहने गरेका छन् । नेपालमा पुरुष वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेसँगै कृषि तथा घरायसी कामको जिम्मेवारी महिलामाथि बढेको छ । पानी, दाउरा तथा पशुचारा संकलन गर्न टाढा जानुपर्ने अवस्थाले महिलाको शारीरिक थकान तथा स्वास्थ्य समस्या बढेको पाइएको छ ।

त्यसैगरी खाद्य अभावका कारण महिलाले पर्याप्त पोषण प्राप्त गर्न कठिन हुने गरेको छ । धेरैजसो परिवारमा महिलाले अन्तिममा खाना खाने परम्परा भएकाले उनीहरू कुपोषणको बढी जोखिममा पर्छन् । गर्भवती तथा स्तनपान गराउने महिलामा यो समस्या अझ गम्भीर देखिएको अनुसन्धानले बताएका छन् । त्यति मात्र नभएर प्रजनन स्वास्थ्यमा असर बढ्दै गएको छ । अत्यधिक गर्मी, दूषित पानी तथा स्वास्थ्य सेवामा पहुँचको कमीले महिलाको प्रजनन स्वास्थ्य प्रभावित हुन्छ । गर्भावस्थामा गर्मी तथा पोषण अभावले जटिलता बढ्न सक्छ । विपद्का समयमा सुरक्षित स्वास्थ्य सेवा नपाउनु पनि ठुलो समस्या हो । यसले सरसफाइ तथा स्वास्थ्य जोखिम बढ्दै जान्छ । बाढी तथा खडेरीका समयमा सफा पानीको अभाव हुन्छ । जसले गर्दा  झाडापखाला, छालासम्बन्धी रोग तथा संक्रमणको जोखिम बढाउँछ। महिनावारी सरसफाइ व्यवस्थापन गर्न कठिन हुने हुँदा किशोरी तथा महिलाहरू थप समस्यामा पर्छन्।

घरेलु हिंसा तथा सामाजिक जोखिम

एउटा कुराको धेरैतिर असर भनेझैं बढ्दै जाने आर्थिक संकट, बेरोजगारी तथा खाद्य असुरक्षाका कारण घरेलु तनाव बढ्ने संकेत गर्छ । यस्तो अवस्थामा महिलामाथि घरेलु हिंसा, मानसिक दबाब तथा सामाजिक विभेद बढ्ने जोखिम हुन्छ । जसको सिधै प्रभाव मानसिक स्वास्थ्य तथा मनोसामाजिक प्रभाव हो । विश्वव्यापी तापवृद्धिले मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पुर्‍याएको छ । प्राकृतिक विपद्, आर्थिक संकट तथा भविष्यप्रतिको डरले मानिसमा तनाव, चिन्ता तथा निराशा बढिरहेको छ। खेती नष्ट हुनु, पशुपन्छीको मृत्यु तथा आम्दानी घट्नुले किसानहरू मानसिक तनावमा पर्ने गरेका छन् । ऋण तिर्न नसक्ने अवस्था तथा परिवारको भविष्यप्रतिको चिन्ताले मानसिक दबाब बढाउँछ । यही कारणले महिलामा मानसिक बोझ थपिन जान्छ । महिलाले घर, खेती, बालबालिका तथा वृद्धहरूको जिम्मेवारी एकसाथ वहन गर्नुपर्दा उनीहरूमा मानसिक थकान बढ्ने गर्छ । खाद्य असुरक्षा तथा गरिबीका कारण महिलामा चिन्ता तथा डरको अवस्था बढी देखिन्छ।

विपद्पछिको मानसिक आघात

विपद्पछिको मानसिक आघात जलवायु परिवर्तनको एक गम्भीर तर अक्सर कम ध्यान दिइने प्रभाव हो । बाढी, पहिरो, आगलागी वा खडेरीजस्ता विपद्ले घर, जमिन, जीविकोपार्जन तथा प्रियजन गुमाउँदा मानिसहरूमा गहिरो मानसिक चोट पर्छ, जसले दीर्घकालीन तनाव, डर, चिन्ता र कहिलेकाहीं डिप्रेसनसम्मको अवस्था सिर्जना गर्न सक्छ।

 विशेषगरी बालबालिका र महिलाहरू बढी संवेदनशील हुने भएकाले उनीहरूमा असुरक्षा, डर र भावनात्मक अस्थिरता अझ प्रबल देखिन्छ । जलवायु संकटका कारण बढ्दो बसाइँसराइले परिवार र समुदायबिचको परम्परागत सम्बन्ध कमजोर बनाइदिन्छ, जसले सामाजिक सहयोग प्रणाली टुट्ने र एक्लोपन बढ्ने अवस्था ल्याउँछ । यससँगै लगातार असफल खेती, बेरोजगारी र आर्थिक संकटले मानिसहरूको आत्मविश्वास घटाउँदै निराशा र भविष्यप्रतिको अनिश्चितता बढाउँछ । विशेषगरी कृषिमा निर्भर समुदायमा यो समस्या अझ गहिरो रूपमा देखिन्छ, जहाँ जीवनयापन नै जोखिममा पर्दा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्छ।

ग्रामीण महिलाहरूको विशेष अवस्था

नेपालका ग्रामीण महिलाहरू जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी प्रभावित समूहमध्ये पर्छन् किनभने उनीहरू दैनिक जीवनमा प्राकृतिक स्रोतहरूसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । खेतीपाती, पशुपालन, पानी संकलन, दाउरा ल्याउनेदेखि लिएर घरको खाद्य व्यवस्थापनसम्मका सबै जिम्मेवारी उनीहरूकै काँधमा पर्ने भएकाले जलवायु परिवर्तनका कारण आएको अनियमितता र अभावले उनीहरूको श्रम र समय दुवै बढाइदिन्छ । यसले शारीरिक थकान मात्र होइन, मानसिक तनाव पनि बढाउने गर्छ। यद्यपि उनीहरूको योगदान अत्यन्त महत्त्वपूर्ण भए पनि निर्णय प्रक्रियामा उनीहरूको पहुँच सीमित रहनु ठुलो चुनौती हो। धेरै महिलासँग जमिनको स्वामित्व नहुनु, कृषि तालिम तथा आधुनिक प्रविधिमा कम पहुँच हुनु र मौसम तथा बजारसम्बन्धी सूचनाबाट वञ्चित रहनुका कारण उनीहरू अझ बढी जोखिममा पर्छन् । यस्तो अवस्थामा जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यक्रमहरूमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु आवश्यक छ, ताकि उनीहरू केवल प्रभावित समूह मात्र नभई समाधानका सक्रिय साझेदार पनि बन्न सकून्।

समाधान तथा अनुकूलनका उपायहरू

जलवायुमैत्री कृषि प्रविधि: सुखापन सहन सक्ने बाली, जैविक खेती, वर्षा पानी संकलन तथा आधुनिक सिँचाइ प्रणालीको विकास आवश्यक छ । जलवायु स्मार्ट कृषि प्रणालीले महिलाको श्रम घटाउन सहयोग पुर्‍याउन सक्छ।

महिला सशक्तीकरण: महिलालाई कृषि तालिम, ऋण सुविधा, प्रविधि तथा बजार पहुँच उपलब्ध गराउनु आवश्यक छ । निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउनुपर्छ।

मानसिक स्वास्थ्य सेवा: विपद्प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक छ । समुदायस्तरमा सचेतना तथा सहयोग समूह  निर्माण गर्नुपर्छ।

वन संरक्षण तथा हरित विकास: वन संरक्षण, वृक्षारोपण तथा स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । यसले कार्बन उत्सर्जन कम गर्न मद्दत गर्छ।

सरकारी नीति तथा स्थानीय

सहभागिता: सरकारले जलवायु परिवर्तनसम्बन्धी योजनामा महिला, किसान तथा विपन्न समुदायलाई प्राथमिकता दिनुपर्छ । स्थानीय ज्ञान तथा समुदायको सहभागिता महत्त्वपूर्ण हुन्छ।

प्रकाशित: ६ जेष्ठ २०८३ १०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %