विचार

मिलेनियल र जेन-जीको राजनीतिक मिलाप

फेरि एकपटक अल्पसंख्यक समुदायका हकअधिकारका पक्षमा आवाज उठाउने एक युवाले विश्व राजनीतिक परिदृश्यमा तहल्का मचाएका छन्। जोहरन मामदानीले न्युयोर्क सिटीका मेयर बन्न सफल हुँदै इतिहास रचेका छन्। नेपालको सन्दर्भमा यो समाचार विशेष रूपमा अर्थपूर्ण छ किनभने अहिलेका युवा देशमा व्याप्त भ्रष्टाचार र सत्ता नछोड्ने पुराना नेताको वर्चस्वविरुद्ध उभिएका छन्। काठमाडौंका मेयर बालेन साह र धरानका मेयर हर्क सामपाङलाई आदर्श मान्ने नेपाली युवाका लागि अर्को मिलेनियल नेता न्युयोर्क सिटीको मेयर बन्नु प्रेरणादायी उदाहरण हो।

रोचक कुरा के छ भने न्युयोर्क सिटीका मेयर मामदानी र काठमाडौंका मेयर बालेन साह दुवै संगीतकार पनि हुन्। दुवैले र्‍याप गीतमार्फत जनताको मन जितेका छन्। बालेन इन्जिनियरिङ पृष्ठभूमिबाट आएका हुन् भने मामदानीले संगीत, चलचित्र, सामाजिक कार्य र राजनीतिमा आफूलाई स्थापित गरेका छन्।

सन् १९९० मा जन्मिएका बालेनले काठमाडौं महानगरको इतिहासमै पहिलो पटक स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुँदै तराई मूलका प्रतिनिधि बनेका थिए। यसअघि यो पद प्रायः नेवार समुदायका हातमा सीमित रहन्थ्यो।

त्यस्तै, सन् १९९१ मा जन्मिएका जोहरन मामदानी अमेरिकी इतिहासमा पहिलो दक्षिण एसियाली मूलका मुस्लिम भएर सबैभन्दा ठुलो सहर न्युयोर्कका मेयर बनेका छन्। न्युयोर्क सिटी विश्वका करोडौं मानिसका लागि सधैं सपनाको सहरका रूपमा परिचित रहँदै आएको छ, जहाँ मानिस आफ्नो भविष्य र सम्पन्नता निर्माण गर्न चाहन्छन्।

सन् २०२५ नोभेम्बरमा भारतीय मूलका चर्चित फिल्म निर्देशक मिरा नायर र कोलम्बिया विश्वविद्यालयका प्राध्यापक महमुद मामदानीका छोरा जोहरनले पुँजीवादी सोचविरुद्ध र मजदुरको पक्षमा अभियान चलाउँदै मेयरको पद जिते। युगान्डामा जन्मिएका मामदानी सात वर्षको उमेरमा परिवारसहित न्युयोर्क आएका थिए र त्यसयता यही सहरमा हुर्किए। उनले ब्रंकस हाई स्कुल अफ साइन्स र बोवडोइन कलेजजस्ता प्रतिष्ठित संस्थाबाट शिक्षा हासिल गरे।

भारतीय, अफ्रिकी र अमेरिकी पहिचानको मिश्रणसहित मामदानीले गरिब र श्रमिक वर्गका पक्षमा आवाज उठाउने व्यक्तित्व विकास गरेका छन्, यद्यपि उनी स्वयं सम्पन्न परिवेशमा हुर्केका हुन् भन्ने कुरा स्विकार्छन्। उनकी श्रीमती २७ वर्षीया सिरियाली कलाकार रामा दुवाजी हुन्, जो अहिले न्युयोर्क सिटीकी सबैभन्दा कान्छी फस्र्ट लेडी बनेकी छिन्।

छात्र जीवनदेखि नै मामदानी विद्यार्थी संगठन र सामुदायिक सञ्चार माध्यममा सक्रिय रहे। उनले सधैं मजदुर र विपन्न समुदायका समस्याबारे लेख्ने र आवाज उठाउने काम गरे। बिबिसीको एक रिपोर्टअनुसार उनको सफलता युवा पुस्ताले उनलाई सामाजिक सञ्जालमा साँचो र विश्वसनीय रूपमा हेर्ने दृष्टिकोणसँग जोडिएको छ।

आजको युगमा डिजिटल प्लेटफर्मले सबैभन्दा प्रभावशाली माध्यमका रूप लिएको छ, यद्यपि यसै प्लेटफर्ममार्फत गलत सूचना र प्रचार पनि फैलिन्छ तर मामदानीले आफूलाई वास्तविक र सत्य बोल्ने युवाका रूपमा प्रस्तुत गरे, जसले विशेषगरी नयाँ पुस्ताको मन जित्यो। उनका ¥याप गीत र भाषाशैलीले युवामा सहानुभूति र सहभागिता दुवै जगाएको छ।

उनका आलोचकहरू भने भन्छन्– न्युयोर्कजस्तो विशाल सहरको नेतृत्व गर्न उनको अनुभव पर्याप्त छैन। केहीले उनलाई जातीय पहिचानमा बढी केन्द्रित भएको आरोप पनि लगाएका छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई ‘कम्युनिस्ट’ भनेर आक्षेप लगाउँदै उनको प्रशासनलाई संघीय कोष रोक्ने चेतावनीसमेत दिएका थिए। यद्यपि मामदानीले यो आरोप अस्वीकार गरेका छन्।

मामदानी अमेरिकी डेमोक्र्याटिक पार्टी र डेमोक्र्याटिक सोसलिस्ट अफ अमेरिका (डिएसए) का सदस्य हुन्। डिएसए कुनै राजनीतिक दल होइन तर अमेरिकाको सबैभन्दा ठुलो समाजवादी संगठन हो। यसले आफ्नो मूल्यमा सहमत उम्मेदवारलाई समर्थन गरेर निर्वाचनमा प्रभाव पार्ने काम गर्छ।मामदानीले समाजवादी विचारधारालाई अपनाएका छन्।

 न्युयोर्क सहरमा समाजवादी राजनीतिक धाराबाट नीति निर्माण गरेर सबै न्युयोर्क सहरवासीलाई सहज जिन्दगी बाँच्न दिनुपर्छ भन्ने मुद्दा उनले उठाउँदै आएका छन् र उनको यसै प्रतिबद्धताका कारण उनी विजयी पनि भएका छन्।

मामदानीले न्युयोर्कको इतिहासमा शताब्दीपछिका सबैभन्दा कान्छा मेयरको कीर्तिमान पनि स्थापित गरेका छन्। उनको निर्वाचन अभियान जीवनयापनको लागतमा केन्द्रित थियो। उनले लाखौं युवामध्ये समर्थन हासिल गरे। उनका प्रमुख घोषणामा निःशुल्क बस सेवा, बाल हेरचाह, सस्तो आवास, उच्च न्यूनतम ज्याला र धनी वर्गमाथि उच्च कर लगाउने नीति समावेश थिए।

केहीले यी योजनालाई अत्यन्त महत्त्वाकांक्षी र आर्थिक रूपमा कठिन भनेका छन् तर मामदानीले उत्साहसाथ विश्वास व्यक्त गरेका छन् कि युवा र न्युयोर्कका वासिन्दाले उनको अभियानलाई सफल बनाउन साथ दिनेछन्।

आजको विश्व फेरि एउटा नयाँ युगमा प्रवेश गर्दैछ जस्तो देखिन्छ। इतिहासले बारम्बार देखाएको छ– जब पुराना शासक वा शक्तिशाली समूहहरू जनताको आवाज नसुन्ने हुन्छन्, तब नयाँ पुस्ताले विद्रोह गर्छ। अमेरिका स्वयं नागरिक अधिकार आन्दोलनदेखि लिएर विश्वव्यापी मानव अधिकार स्थापनासम्म अग्रणी रहँदै आएको देश हो।

औपनिवेशिक शासन अन्त्यपछि धेरै मुलुकले लोकतान्त्रिक संस्था विकास गर्न थालेका थिए। नेपाल, जुन कहिल्यै उपनिवेश नबनेको देश हो, राजतन्त्र अन्त्यपछि लोकतन्त्र संस्थागत गर्ने यात्रामा छ तर आज पनि विश्वका धेरै लोकतान्त्रिक देशमा वित्तीय, सामाजिक र नैतिक भ्रष्टाचार बढ्दो क्रममा छ।

पुँजीवादी र बजारमुखी अर्थतन्त्रले विश्वको पुँजीवादी समूहलाई विश्वभरिको स्रोतसाधन परिचालन गर्न र आफ्नो केही उत्पादनलाई विश्वभरि बेच्न सफल त गरायो, तर यो मौकाले असमानता झनै बढाएको छ। विशेष गरेर कृषक, मजदुर र विपन्न वर्गका धेरै समुदायले अहिलेको अन्तद्र्वन्द्वबाट फाइदा लिन खासै सकेका छैनन्।

अब फेरि परिवर्तनको समय आएको संकेत देखिन्छ तर यो क्रान्ति बन्दुकको नभई युवाको चेतनाको हो। अमेरिका र नेपालमा क्रमशः जोहरन मामदानी र बालेनजस्ता युवाले स्थापित सत्ताको जरा हल्लाइरहेका छन्। डोनाल्ड ट्रम्प जस्ता शक्तिशाली नेताबाट लिएर नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दललाई चुनौती दिइरहेका छन्।

यस्तै जनसांघिक विद्रोह मलेसिया, फिलिपिन्स, नेपाललगायतका देशमा पनि जेनजी पुस्ताद्वारा अगाडि बढाइँदै छ।

यी सबै घटनाले देखाउँछ कि अब युवाको आवाज सुन्ने र डिजिटल माध्यमको प्रभाव बुझ्ने समय आएको छ। नयाँ पुस्ता प्रायः तथ्य र भ्रमबिचको भिन्नता बुझ्न सक्षम छन्। मामदानीले साँचो बोलेका कारण उनीमाथि विश्वास गरियो।

नेपालमा अहिलेको स्थिति अझै अस्थिर छ। जेनजीले विद्रोह गरेर सरकार ढालेका छन्, तर यो आन्दोलनले स्थायित्व ल्याउन र पाँच वर्षे सरकार गठन गरी विकासतर्फ अघि बढ्न सक्छ वा सक्दैन, त्यो हेर्न बाँकी छ। काम गर्दा गल्ती पनि हुन्छन्, तर नयाँ पुस्ताको नेतृत्वमा आएका व्यक्तिले पनि आफूले उठाएको कदमको जिम्मेवारी भने लिन जरुरी छ। हालै बालेनले सामाजिक सञ्जालमा हालेको एक अश्लील पोस्टले नेपालमा हलचल मच्चाएको छ।

 वास्तवमा उनले जुन भाषा लेखेका छन्, त्यो यो पुस्ताको चलन चल्तीकै भाषा हो तर सामाजिक सञ्जालमा मेयरको भूमिका र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेताले लेख्ने भाषा होइन। नेपालमा स्थिरता ल्याउन जरुरी छ। त्यसका लागि सामाजिक सञ्जालको परिचालन जिम्मेवारीका साथ गर्न जरुरी छ।

विश्वभरका जेनजीद्वारा अघि सारिएका परिवर्तनका प्रयासर जोहरन मामदानी तथा बालेनजस्ता व्यक्तिको नेतृत्वले एउटा नयाँ राजनीतिक युग सुरु भएको संकेत दिन्छ। अब नेतृत्वमा आएका नेता र अन्य सबै पक्षले यी पहललाई समर्थन गर्नुपर्छ, ताकि शासन प्रणाली केही थोरै विशेषाधिकार प्राप्त वर्गका लागि होइन, सबैका लागि कल्याणकारी बन्न सकोस्। सम्भवतः नयाँ राजनीतिक धारको आवश्यकता यही बेला देखिएको हो। प्रश्न भनेको यो हो– त्यो धार कस्तो हुनेछ र त्यसको नेतृत्व कसले गर्नेछ?

प्रकाशित: २१ कार्तिक २०८२ ०९:३५ शुक्रबार