विचार

दुई डुंगाको सफर यता न उता

सानैदेखि सुन्दै आएको, सिक्दै आएको कुरा हो - दुई वटा डुंगामा टेकेर नदी तरिँदैन। बरु लडिन्छ, दुर्घटनामा परिन्छ। हलचल नै हुन नसक्ने अवस्था पनि हुन सक्छ। अर्को शब्दमा यात्रा अघि बढ्नै सक्दैन। दुबै डुंगा एकै लयमा बहन सक्ने कुरै भएन। एउटा डुंगा त छाड्नैपर्छ नभए जस्तो परिणाम आउने हो त्यसलाई बेहोर्न तयार हुनुपर्छ। अर्को उपाय नै हुँदैन।

नेपालले सन् ६० को दशकमा अपनाएको असंलग्न परराष्ट्र नीति कत्तिको सफल वा असफल भन्नेबारे विविध विश्लेषण भइरहेका छन्। इतिहास फेर्न सकिँदैन। इतिहासको तथ्य सत्यलाई बदल्न पनि सकिंदैन, मिल्दैन पनि। गल्ती भए नयाँ ढंगले सुधार्न सकिन्छ। बरु त्यसबाट सिक्न सकिन्छ। सिकेको कुरा परिमार्जन गरी समयानुकूल र नौलो परिवेशमा परिष्कृत गर्न सकिन्छ। बितेको समय परिस्थिति फरक थियो। गुज्रिसकेको समय फेरि फर्किंदैन पनि तर घटना र परिवेश उस्तै रूपमा दोहरिनसक्छ। केही फेरिएको ढंगबाट आउन पनि सक्छ। घटनाका पात्रहरू फेरिएका हुन सक्छन्।

साठीको दशकको शीतयुद्धकालीन समयको विश्व दुई धारमा थियो। एउटा कम्युनिष्ट र अर्को प्रजातन्त्रिक व्यवस्थाका हिमायतीहरू। दुबै व्यवस्थाका हिमायतीहरू दुई ध्रुवमा विभाजित भइरहे। विश्व शासन व्यवस्था पनि दुई धु्रवीय तर दुवै गुटमा समाहित हुन नचाहने एक समूहले असंलग्न परराष्ट्र नीतिको वकालत गर्‍यो। त्यो असंलग्न अभियानको सम्बन्धमा मेरो मनमा सधैं द्विविधा रही रहेको छ। के त्यो असंलग्न आन्दोलन सही मानेमा असंंलग्न थियो? वा दुई डुंगाको टेकाइ? दुई डुंगाका दुई माझीहरूले आफ्ना डुंगाहरू दुईतिर अघि बढाउँदा सन्तुलन गुमाएर नदीमा खसेका यात्रु झैं बनेको छ नेपाल। अब आजको दिनमा फर्कंदा कताकता उही विश्व परिस्थिति फर्किएको जस्तो अनुभूति हुन थालेको छ। केही मुख्य पात्र र भूमिका मात्र फेरिए जस्तो देखिँदैछ।

अमेरिकी नेतृत्वको पश्चिमा राष्ट्र«हरूको समूह र नवशक्तिको रूपमा उदीयमान चीनको अगुवाइमा समाजवादका हिमायतीहरूको समूह। हालै सम्पन्न सांघाई सहयोग संगठनको बैठकले प्रस्ट रूपमै एउटा रेखा कोरेको छ। हालैको अमेरिकी कर नीति र उनका प्रतिद्वन्द्वीहरूलाई थचार्ने रणनीति बिरुद्धको ऐक्यबद्धता! युरेसियाली (युरोप–एसिया) मुलुकहरूको उपस्थिति। सोही अवसरमा चीनले ८०औं विजयोत्सव पनि मनायो। दोस्रो विश्वयुद्धताका जापानले चीनमाथि गरेको अतिक्रमण एवं फाँसीवादी भनिएको हमला विरुद्ध विजय हासिल गरेको दिनको स्मरणमा परेड पनि प्रदर्शन गर्‍यो। त्यस अवसरमा चीनले आफूले निर्माण र विकास गरेका अत्याधुनिक अश्त्र शस्त्रका साथै सैनिक शक्ति पनि प्रदर्शन गर्‍यो।

चीनको शक्ति प्र्रदर्शनले अधैर्य बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल यो घटनालाई रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन र चिनियाँ राष्ट्रपति सि जिन पिङको अमेरिका विरुद्धको षडयन्त्र भनेर आफ्नो सामाजिक सञ्जाल खातामा प्रतिक्रिया दिए। यसले प्रष्ट सन्देश दिएको भान हुन्छ – विश्व दुई धु्रवमा बिभाजन भइरहेको छ। प्रस्ट रूपमा भन्न नसकिए पनि अमेरिका विरोधी खेमाको नेतृत्व चीनले लिने सम्भावना बलियो हुँदै गएको देखिन्छ।

चीनले आयोजना गरेको सैनिक परेड प्रदर्शनमा चीनप्रति सद्भाव राख्ने मुलुकहरूका राष्ट्र प्रमुख एवं सरकार प्रमुखहरूको बाक्लो उपस्थिति चिनियाँ राष्ट्रपति सिको पछाडि देखिनुले यही कुराको संकेत गरिरहेको अनुमान गर्न गाह्रो छैन।

सन्तुलित परराष्ट्र नीति अवलम्बन र पञ्चशीलको सिद्धान्त अनुशरण गर्दै आएको नेपालको उपस्थितिले पश्चिमा शक्तिलाई झस्काएको हुनुपर्छ। नेपालले आफ्नो परराष्ट्र नीति पुनरावलोकन गर्न लागेको हो कि भन्ने प्रश्न टड्कारो रूपमा उठाउन सक्दछ, यस उपस्थितिले। यो प्रश्नले फेरि आन्तरिक राजनीतिमा पनि एक प्रकारको तरंग ल्याउने सम्भावना बाँकी नै छ।

नेपालको भावी रणनीति के हुने हो त्यसको पर्खाइ दुबै खेमामा रहिरहने छ। सही समय यही हुन सक्छ– नेपालको लागि। दुईमध्ये कुनै एक खेमामा उभिने वा दुबैतिर नजाने हो भने आफैं स्वतन्त्र रूपमा अघि बढ्ने भनेर प्रस्ट पार्ने बेला यही हो। यसको लागि सम्पूर्ण नेपाली एकजूट हुनुपर्छ। यस्ता बेलामा सबैको ऐक्यबद्धता अनिवार्य हुन्छ।

प्रकाशित: २२ भाद्र २०८२ ०७:४५ आइतबार