विचार

आणविक अध्यायकाे अन्त्य

राष्ट्रपति ट्रम्पलाई यस वर्ष अपेक्षित नोबेल शान्ति पुरस्कार नदिइएको भए पनि उनले मध्यपूर्वमा युद्धविराम लागु गराउन महत्त्वपूर्ण भूमिका खेलेको कुरा अस्वीकृत गर्न सकिँदैन। युद्धविरामको सफलता र आगामी दिनले यसको प्रभाव कस्तो रहनेछ त्यो देखाउनेछ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य विश्व नेताहरूलाई समेटेर इजरायली प्रधानमन्त्री नेतान्याहुलाई युद्धबन्धक फिर्ता गराएर युद्धविराम गराउन सफल हुनु ठुलो उपलब्धि हो। आतंककारी समूह हमासलाई पूर्ण रूपमा नष्ट गर्न नसकिने भए तापनि तिनको विध्वंस रोक्ने नीति लिनु मध्यपूर्व र विश्वका लागि अहिले ठुलो चुनौती हो। यसका लागि हातहतियारको उत्पादन र बिक्रीमा कटौती र रोक लगाउनु एक महत्त्वपूर्ण कदम हुनेछ। संसारमा शान्ति कायम गर्न नेताहरूले जुन योगदान दिन्छन्, त्यति नै योगदान हातहतियार बनाउने र बेच्नेमा कडाइ र रोक लगाउनबाट पनि हुन सक्छ। अहिलेको युगमा यो अनिवार्य छ। राष्ट्रपति ट्रम्पले आफ्नो हातहतियारसम्बन्धी नीतिमा परिवर्तन गर्नु जरुरी छ। उनले ती नीतिलाई फर्काएर हातहतियार उत्पादन र बिक्रीमा नियन्त्रण ल्याउन पहल गर्नुपर्छ।

इजरायल र प्यालेस्टाइनले एकअर्काबाट कब्जा गरेका बन्दीहरूको अदलबदल केवल उनीहरूको परिवारका लागि मात्र नभएर विश्वभरिका करोडौं मानिसका लागि पनि लामो समयदेखि प्रतिक्षित थियो। नेपालमा पनि विपिन जोशीको मुक्तिको प्रतीक्षा केवल उनको परिवारले मात्र गरेको थिएन, सम्पूर्ण राष्ट्रले गरेको थियो। उनी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायलमा रहेका बेला हमासले अपहरण गरेको थियो।

 दुर्भाग्यवश, २०२५ अक्टोबर १३, सोमबार, जब सबैले आफ्ना प्रियजनहरूको सुरक्षित फिर्ताको आशा गरिरहेका थिए, हमासले इजरायल फर्काएका २० जना जीवित बन्दीमध्ये विपिन जोशी परेनन्। प्रारम्भमा चार जनाको मृतक शव भेटिएको थियो र डिएनए परीक्षणपछि विडम्बनापूर्वक विपिन जोशीको शव ती चारमध्ये एक भएको पुष्टि इजरायलले गर्‍यो। यी २४ जना बन्दीहरूको सट्टामा इजरायलले करिब दुई हजार प्यालेस्टिनीलाई रिहा गर्‍याे।

युद्धविरामको पहिलो चरणका रूपमा बन्दीहरूको रिहाइको दृश्य अविस्मरणीय रह्यो। प्रत्यक्ष उपस्थित दर्शक र विश्वभरिका मानिसले भर्चुअल रूपमा हेरे। जीवित बन्दीहरूको फिर्ताबाट उत्पन्न खुसी, मृतकहरूको पीडा र परिवार तथा मित्रहरूको जीवनमा आएर शोक, समापन र केही राहत, यी भावनाहरू आफैंले भोग्नुभन्दा बाहिरबाट बुझ्न गाह्रो हुन्छ। तथापि, इजरायल–प्यालेस्टाइन संघर्षका क्रममा विश्वभरिका मानिसले दुवै पक्षका पीडितप्रति संवेदना व्यक्त गरेका छन्। विपिन जोशीका परिवारको पीडा हरेक नेपालीले अनुभव गरेको छ।

अब नेपाली युवाहरूले नेपालमै बसेर रोजगारी र कमाइका अवसरहरू सिर्जना गर्नुपर्छ, जसले भविष्यमा विपिन जोशीजस्ता अन्य नेपाली युवाहरूले कठिन परिस्थितिहरू भोग्न नपरोस्।

हालको इजरायल–प्यालस्टाइन युद्ध २०२३ अक्टोबर ७ देखि सुरु भएको थियो। दक्षिण इजरायलमा हमासको आक्रमणपछि इजरायलले जवाफस्वरूप आफ्नो आक्रमण सुरु गर्‍यो र युद्ध फैलियो। यसमा करिब १२ सय जनाको मृत्यु र दुई सय ५१ जनाको अपहरण भएको रिपोर्ट गरिएको थियो। बिबिसीको रिपोर्ट अनुसार त्यसयता इजरायलको आक्रमणबाट करिब ६७ हजार मानिस मारिएका छन्। यो तथ्यांक गाजाको हमास सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको हो र संयुक्त राष्ट्र संघलगायत निकायहरूले यसलाई विश्वसनीय रूपमा लिएका छन्।

हमासको कुख्यात आक्रमण र त्यसको प्रतिशोधस्वरूप इजरायलले हजारौं निर्दोष नागरिकको ज्यान लिएको छ। प्यालेस्टाइनहरूको अस्तित्व नै विनाशको नजिक पुगेको दृश्यले विश्वलाई झस्काएको छ। बमले सहरहरू ध्वस्त भएका र राष्ट्रका सपना चकनाचुर भएका दृश्यले मानवताको आत्मा झस्काएको छ।

विश्व नागरिकहरूले यहुदीहरूको इतिहास दोस्रो विश्वयुद्धको होलोकस्टसँग तुलना गर्दै इतिहासको एक भयावह दोहोर्‍याइ भएको अनुभूति गरे। यद्यपि सन्दर्भ फरक छ। बालबालिकादेखि वृद्धसम्मका मानिसहरू भोक र आधारभूत आवश्यकताको अभावमा संघर्ष गरिरहेका दृश्यहरूले एउटा प्रश्न उठाउँछ– कसरी केही शक्ति र केही नेतृत्वहरूले यति विनाशकारी निर्णय लिन्छन् कि पूरै समाज नै नष्ट हुनसक्ने अवस्थामा पुग्छ?

राष्ट्रपति ट्रम्पको नेतृत्वमा क्षेत्रीय र विश्व नेताहरूको सहयोगमा युद्धविराम लागु गरियो, जुन ढिलाइका बाबजुद अन्ततः सम्भव भयो। त्यो ढिलाइमा प्रधानमन्त्री नेतान्याहुको गाजामा बमबारी रोक्न अस्वीकार गरेकाले नकारात्मक भूमिका खेल्यो। हमास निःसन्देह एक चरमवादी र आतंककारी संगठन हो र उसलाई समर्थनयोग्य ठान्न सकिन्न। तर तिनीहरूलाई समाप्त गर्ने नाममा निर्दोष नागरिक मार्नु र पूर्ण राष्ट्र नष्ट गर्ने प्रयास मानव सभ्यताका लागि कालो अध्याय हुनेछ।

नेतान्याहुले गरेका अमानवीय कार्यहरूको जवाफ इतिहास र भविष्यका पुस्ताले पनि मागिरहनेछन्। यो भयावह अध्यायले मानव सभ्यताको समीक्षालाई प्रश्नचिह्न लगाएको छ र यसलाई इतिहासले एउटा अँध्यारो युगको रूपमा लेख्नेछ। मानव सभ्यता जति प्रगतिशील देखिए पनि यस्ता युद्धले शक्तिशाली राष्ट्रको नैतिकता र उद्देश्यमा गम्भीर प्रश्न उठाउँछन्।

परमाणु हुन् वा साधारण, हतियारहरू जनताको रक्षा गर्न बनाइन्छन् भन्ने भनाइ प्रचलित छ। विडम्बना तिनै हतियार प्रायः मानवता विनाशमा प्रयोग हुन्छन्। परमाणु हतियार र अन्य घातक हतियारको निर्माण र बिक्री क्षमता शक्तिशाली राष्ट्रहरूसँग केन्द्रित रहेको वास्तविकता स्पष्ट छ।

नागासाकी र हिरोसिमाको विनाशबाट हेर्ने हो भने शक्तिशाली राष्ट्रहरूले आफ्नो सामथ्र्य प्रदर्शन गर्न हतियार प्रयोग गरेका उदाहरणहरू इतिहासमा प्रशस्त छन्। अक्सर त ती विनाशकारी निर्णयहरू साधारण नागरिकको भलोका लागि नभई केही अहंकारी नेताहरूको महत्त्वाकांक्षा पूरा गर्न गरिन्छ। युद्ध कहिल्यै पनि न्यायिक हँुदैन। युद्धले जीवन मात्र होइन, वातावरण र जलवायु पनि नष्ट गर्छन् र पृथ्वीलाई विनाशतर्फ धकेल्छन्।

मानवीय संस्थाहरू गाजा पुनर्निर्माणका लागि सहयोग आयोजना गरिरहेका छन्। गाजाबाट आएका भोकमरीका दृश्य र खानेकुरा मागिरहेका साना हातहरूले नेपालमै बसेका हामीलाई समेत दुःखी बनाएका छन्। नेतान्याहुजस्ता नेताको विकल्पी शक्ति प्रदर्शनका कारण निर्दोष बालबालिका र नागरिकले भोग्नुपरेको पीडा हृदयविदारक छ र यो विश्वले साझा रूपमा मनन गर्नुपर्ने विषय हो।

गाजा स्ट्रिपमा भोकमरीको अवस्था आधिकारिक रूपमा घोषणा भइसकेको छ। गाजाको पुनर्निर्माण अब ठुलो चुनौती बनेको छ, जसका लागि भौतिक र मानवीय दुवै प्रकारका सहयोग आवश्यक छन्। परिवार र सम्पत्ति नाश भएका, भोकमरी र रोगको कारणले मृत्यु भएका मान्छेहरूलाई केवल जीवन रक्षा मात्र होइन, मानसिक रूपमा सशक्त बनाउने सहयोग पनि गरिनुपर्छ, ताकि तिनीहरू प्रतिशोधी मार्गमा नलागून्।

विश्व बैंकका मध्यपूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तान क्षेत्रका प्रमुख अर्थशास्त्रीहरूले गाजामा बालबालिका कुपोषण र मानसिक स्वास्थ्य संकटका कारण गरिबीका असरहरू धेरै पुस्तासम्म रहने चेतावनी दिएका छन्। ‘इन्टरग्रेटेड फुड सेकुरिटी क्लासिफिकेसन’का अनुसार सन् २०२६ जुनसम्म पाँच वर्षमुनिका करिब एक लाख ३२ हजार बालबालिका गम्भीर कुपोषणको जोखिममा पर्ने अनुमान गरिएको छ। प्रारम्भिक वर्षमा भएको कुपोषणले जीवनभर असर पार्ने हुनाले ती अबोध बालबालिका अनावश्यक रूपमा कुपोषण र त्यसका दीर्घकालीन प्रभावबाट पीडित बन्न बाध्य हुन्छन्।

गाजामा चलिरहेको यो युद्ध मानव सभ्यताका लागि एउटा पीडादायी घटना हो, जुन कहिल्यै दोहोरिनु हुँदैन। यसलाई रोक्ने एउटा ठोस उपाय भनेको सामूहिक विनाशका हतियारहरू नियन्त्रण गर्न र ती हतियार ती देशहरूसम्म पुग्न नदिने व्यवस्था गर्नु हो। विशेष गरी ती देशलाई जसले आफ्ना शत्रुहरूसँगै पूरै राष्ट्र नष्ट गर्ने दुस्साहस गर्छन्। यद्यपि यो कार्य सजिलो छैन किनकि हतियारको व्यापारबाट ठुलै धन आर्जन हुन्छ र जर्मनी, अमेरिकालगायतका विकसित देशहरू विश्व अन्तर्राष्ट्रिय हतियार बजारका मुख्य सहभागी हुन्। अन्ततः विश्वमा शान्ति कायम गराउने क्षमतासमेत यिनै राष्ट्रहरूसँग जोडिएको हुनाले अब तिनीहरूकै पहलमा हातहतियार उत्पादन र बिक्रीमाथि सतर्कता र कटौतीको पहल हुनु अनिवार्य छ।

प्रकाशित: ३१ आश्विन २०८२ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %