२०४६ सालको जनआन्दोलन सकिएको थियो। भर्खर विभिन्न नेता सार्वजनिक जीवनमा देखिन थालेका थिए। तत्कालीन लोकप्रिय अखबार साप्ताहिक विमर्शमा एउटा समाचार छापियो - को हुन् जेएन?
जनआन्दोलनपछि भूमिगत नेताहरू सार्वजनिक हुन थाले। जेएनले सार्वजनिक भाषण गरिसकेपछि समाचार बनेको थियो - को हुन् जेएन? अर्थात् झलनाथ खनाललाई पनि समयले चिनेको थिएन। २०४६ चैतको वसन्त विद्रोहले मुलुकमा प्रजातन्त्र ल्याएको थियो।
चैत २६ गते रातिबाट दलमाथिको प्रतिबन्ध हटेपछि मुलुकमा प्रजातन्त्रको पारिलो घाम लागेको थियो। हाम्रो युवावयले अनेकन् सपना देखेको थियो। हामी टुँडिखेलमा नेताहरूको अनुहार हेर्न र तिनका भाषण सुन्न मडारिएर गएका थियौं। बाटाहरू फूल र अबिरले रंगिएका थिए।
त्यो बेला जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह टुँडिखेल नजिकैको वीर अस्पतालमा उपचार गराइरहेका थिए। टुँडिखेलको त्यो विशाल आमसभाले गणेशमान सिंहको एक झलक नहेरी मानेन। उनलाई त्यहाँ ल्याइएको थियो।
समय त्यही हो। प्रत्येक वसन्तमा नयाँ पात पलाउँछन्। हाम्रो मुलुकको राजनीतिमा पनि नयाँ पात पलाइरहन्छन्। पुराना पात परित्यक्त हुन्छन्।
२०६२÷६३ को जनआन्दोलन सफल भएपछि त्यसैगरी पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईलगायतका नेताको आगमन भयो। भट्टराईलाई त काठमाडौंका समाजले धेरथोर चिनेको थियो तर दाहाल नितान्त अपरिचित थिए। प्रचण्डका नामले राजनीति गर्दै आएका उनलाई चिन्ने अवस्था थिएन। कतिपयले तत्कालीन मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरलाई नै प्रचण्ड भन्थे।
दाहाल र भट्टराईलाई हेर्न अहिलेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सर्वसाधारणको कुँडुलो अहिले पनि सम्झनामा आइरहन्छ। तिनको एकझलक पाउन सारा मानिस लागेका थिए। अहिलेसम्म नेपाल बनेन, अब यिनैले बनाउँछन् भन्ने ठुलो आशा र अपेक्षा थियो।
उस्तै गरी कोरेको जुल्फी, एकै रङका कोट लगाएर यी नेता आएका थिए। त्यति मात्र होइन, संसद्मा जनआन्दोलनपछि माओवादीलाई दिइएका ८३ स्थानमा आएका सांसदको पोसाक पनि उस्तै थियो। यत्रतत्र सर्वत्र यिनकै चर्चा थियो। त्यही भएर २०६४ को सविधानसभा निर्वाचनमा सर्वसाधारणले आफ्नो मत खन्याएका थिए।
अब फेरि निर्वाचन आउँदै छ। अबका तीन सातामा फागुन २१ गते हामी मतदान केन्द्रमा उभिने छौं। यतिबेला हाम्रो घरदैलोमा धेरै उम्मेदवार आइरहेका छन्। तर केही नेताको भने यतिबेला ‘रोडसो’ चलिरहेको छ। तिनले धक्कामुक्का दिँदै हिँडिरहेका छन्। धक्कामुक्का सहेर पनि सर्वसाधारण भने तिनलाई हेर्न कुदिरहेका छन्।
निर्वाचन ‘रोडसो’ को केन्द्रमा यतिबेला बालेन्द्र साह देखिएका छन्। उनलाई हेर्न र पुज्न यतिबेला समाज लालायित छ। यिनी बोल्दैनन्। कतिपयले त यिनको हाँसेको अनुहारसमेत नेदेखेको भनेर टिप्पणी गरिरहेका छन्। जति धेरै रहस्य त्यति नै धेरै आकर्षणले यतिबेला हाम्रो समाजलाई आक्रान्त तुल्याएको छ।
समय सबैको आउँछ। प्रत्येक समय प्रत्येक मानिस लोकप्रिय हुन्छन्। हिजो लोकप्रियता एउटाले अर्कालाई सुनाएर आउँथ्यो। आज लोकप्रियता सामाजिक सञ्जालबाट आउँछ। त्यो लोकप्रियता विदेशका ठुला प्रविधि कम्पनी (टेकजायन्ट) बाट आउँछ। अब हामी तिनलाई रोक्न सक्दैनौं। ती हाम्रा हातहातका मोबाइल स्क्रिनमा सजिलै आउँछन्। हाम्रा निर्वाचनमा तिनले प्रभाव पार्छन्। आज हाम्रो मुलुकले पनि तिनलाई केही गर्न सक्दैन।
हिजोको पञ्चायती शासन व्यवस्था र त्यसपछिको राजाको छोटो समयको एकांकी शासन व्यवस्थापछि पनि त्यसबाट निकाल्न भूमिका खेल्ने यिनै नेता थिए। समयले तिनलाई असान्दर्भिक तुल्याउन थालेको छ। अर्थात् तिनले समयको आवाज सुनेनन्। तैपनि म यी पंक्ति लेखिरहेका बेला तिनीप्रति आभारी छु। कम्तीमा तिनले हाम्रो वैयक्तिक स्वतन्त्रता अहिलेसम्म कायम राखिदिए।
हो, यदाकदा तिनमा पनि निरंकुशताको भूत चढ्थ्यो। हाम्रा संस्था र प्रणालीले त्यसलाई जोगाइदिएको हो। कसैले पनि ‘जंगबहादुर’ बन्न पाएनन्। तर, आज समय भिन्न आएको छ। हामीले पाएको स्वतन्त्रता यतिकै आएको हो भन्ने परेको छ। त्यसैले हाम्रै स्वतन्त्रता खोस्नसक्ने उद्देश्य र व्यवहार भएका व्यक्तिहरू पनि हाम्रा छेउमा आइरहेका छन्। ख्यालख्यालमै यो स्वतन्त्रता जान पनि सक्छ।
‘म नेपाल हाँसेको देख्न चाहन्छु’ भनेका नाममा हामी झुक्किने अवस्था पनि आउँदै छ। म सम्झिन्छु -२०४६ र २०६२/६३ का जनआन्दोलको सफलतापछि हामीले हाम्रा सडकमा फूल र अबिर मात्र देखेका छौं। लोकतन्त्रको पारिलो घाम लिएर ती जनआन्दोलन आए। हामीले यसपटक भदौ २३ र २४ पनि देख्यौं। २३ गते युवावयका व्यक्तिहरूले सुशासनका निम्ति पहल गरे। त्यसलाई कसैले ‘क्याप्चर’ गरे। त्यही दिन १९ जनाको निधन भयो। त्यसको भोलिपल्ट २४ गते जुन ढंगले देशलाई तहसनहस पारियो, त्यो कसैले बिर्सन सक्दैन।
यसपटकको आन्दोलन भनाैं या अभियानपछि देशमा जताततै खरानी मात्र देखियो। खरानीबाट उठेर हिँड्नु परेको छ। जनआन्दोलनको सफलतापछि अबिर लिएर एकअर्कालाई स्वतन्त्रताको रङमा रंगाउँदै हिँड्ने हाम्रो परम्परा खण्डित भएको छ।
हो, सबै युगका युवा वयले नै परिवर्तनको आकांक्षा बोक्ने हो। तिनैले आन्दोलन र अभियान चलाउँछन् तर यसपटक त्यो खरानी पार्नेहरूलाई युवाले चिन्न सकेनन्। ‘देखिस तेरो देश जलेको’ भन्दै आफ्नै देशबन्धुलाई भनिरहेको हामीले देख्यौं।
यी सबै घटनाक्रम र परिवर्तनले हामीले भित्रभित्रै कुँढ्याएको छ। परिवर्तनपछि देश कसरी बनाउने भन्दा पनि प्रतिशोधको तयारी भएको छ। अहिलेसम्म हाम्रो मुलुक कसैका निम्ति प्रयोग भएको छैन, त्यसलाई कसरी कसैका विरुद्ध उपयोग गर्न सकिन्छ भन्ने पनि छ। यस पटकको निर्वाचनमा लोकप्रियतावादले जित्यो भने वर्षौंसम्म नेपाल रुने निश्चित भएको छ।
मान्छेहरू यतिखेर एकोहोरिएका छन्। अल्गोरिदमको मायावी संसारले तिनलाई सोच्न नसक्ने बनाएको छ। काँचको पर्दामा आउने रंगिन अनुहारभित्र लुकेको खतरनाक उद्देश्यलाई तिनले महसुस गर्न सकेको देखिएको छैन। विश्वका कैयन् मुलुकलाई हामीले अहिले देखिरहेका छौं– त्यहाँ लोकप्रियतावादले कस्ता नेता जन्माएको छ?
आज हौसिएर मत दियो, भोलिबाट रुनुपर्ने तिनले नै गराउने छन्। कम्तीमा स्वतन्त्रता जोगाउन सक्ने गरी मत दिनुपर्ने अवस्था अहिले देखिएको छ। आज हामीले पाएको स्वतन्त्रता कतिपयका निम्ति खासै महत्त्वको छैन। जुन दिन यो हाम्रो जीवनमा हुँदैन, त्यतिबेला हामीलाई लाग्नेछ– गल्ती गरिएछ। त्यो बेला रगतको आँसु पिएर बाँच्नुपर्ने अवस्था पनि आउनेछ। हाम्रोजस्तो मुलुक, जुन भूराजनीतिक जटिलतामा फस्दै गइरहेको छ, यसलाई बुझ्न र व्यवहार गर्न सक्ने नेताको अभाव भयो भने भोलिका दिन हाम्रा निम्ति अभिशाप हुनेछन्।
जेनजी आन्दोलनको जगमा घरघरमा पुगेर मानिसलाई जलाइयो। लुटपाट भयो। प्रविधिको प्रयोग गरेर मानिसका आवासमा आगजनी गरियो। जुन लोकतन्त्रले मानिसलाई बलियो बनायो, मानिसलाई प्रविधि प्रयोग गर्न सक्ने बनायो, त्यही व्यवस्थालाई बदलेर एकथरीलाई अहिले निरंकुशता चाहिएको छ। मानिसहरूलाई विकास गर्ने तानासाह चाहिएको छ। तर, जेनजी युवामध्येकै केही नेताले भने ‘हाइज्याकर’हरूलाई चिनेको महसुस हुँदै छ। समयमै स्थिति बुझेर ती अघि बढेनन् भने दुःख धेरै टाढा छैनन्।
ए मानिसहरू! तानाशाही व्यवस्थामा बाँच्नु निकै कठिन हुन्छ। यसमा विचार गर। ३५/३६ वर्षको अन्तरालमा हामी धेरै फेरिएका छौं। हिजो ‘को हुन् जेएन?’ भन्ने समाचार पढेका हामीले आज तिनकै पत्नीलाई जिउँदै जलाएको हेर्नुपरेको छ। जेएन पत्नी रविलक्ष्मी चित्रकार त्यो दिनको आक्रमणको घाउ बोकेर यतिबेला बाँचिरहेकी छन्।
हाम्रा आन्दोलनमा लुटपाट, वैयक्तिक जीवन र सम्पत्तिमा आक्रमण गर्ने चलन थिएन। यसपटक देखिएको छ। लोकतन्त्रमा बाँचेको समाजलाई अँध्यारोमा लैजाने वा कसैका निम्ति प्रयोग हुने समय छैन।
प्रकाशित: ३ फाल्गुन २०८२ १०:०६ आइतबार