विचार

समयचक्र र कर्मको शाश्वत प्रतिध्वनि

यो अनन्त ब्रह्माण्डमा समय एउटा यस्तो अदृश्य र शक्तिशाली पांग्राे हो, जसले निरन्तर घुमिरहँदा हरेक भुगोल, इतिहास र व्यक्तिगत जीवनका कथाहरूलाई एउटै सूत्रमा बाँधिदिएको हुन्छ।

हामी प्रायः वर्तमानको एउटा सानो बिन्दुमा उभिएर सोच्छौं कि हामीले आज जे हासिल गर्‍यौं, त्यो सधैं स्थिर रहन्छ। सृष्टिको प्रारम्भदेखि नै एउटा सत्य अटल छ– पृथ्वी गोलो छ र यहाँ समयको चक्रले कसैलाई पनि पक्षपात नगरी आफ्नो परिधि पूरा गर्छ। जसरी दिनपछि रात र रातपछि दिन आउनु निश्चित छ, त्यसरी नै आज हामीले गरेको कर्मको प्रतिफल भोलि हाम्रै दैलोमा आइपुग्नु पनि उत्तिकै निश्चित छ। यो संसारमा कोही पनि सधैंका लागि माथि हुँदैन र कोही पनि सधैंका लागि तल रहँदैन। यो त केवल समयको खेल हो, जसले सबैलाई आफ्नो पालोमा उचाइ र गहिराइको अनुभव गराउँछ।

मानव स्वभाव प्रायः शक्ति, सम्पत्ति, र सामर्थ्यको उन्मादमा परेर अहंकारको बादलमा हराउन पुग्छ। जब मानिस सफलताको शिखरमा पुग्छ, उसलाई लाग्छ कि उसको उचाइ नै अबको अन्तिम सत्य हो। यही भ्रमको अँध्यारोमा उसले अरूको स्वाभिमानलाई कुल्चिन थाल्छ, कसैको प्रगतिमा तगारो बन्न पुग्छ र कसैको निरीहतामा आफ्नो विजयको मुस्कान खोज्छ।

अरूको पखेटा काटेर आफू मात्र उड्न खोज्ने प्रवृत्तिले क्षणिक लाभ त देला, तर त्यसले निर्माण गरेको रिक्तता र पीडा ब्रह्माण्डमा एउटा नकारात्मक तरंग बनेर तैरिरहेको हुन्छ। हामीले बिर्सनु हुँदैन कि समय कहिल्यै मौन बस्दैन। यसले त केवल उपयुक्त घडीको प्रतीक्षा मात्र गरिरहेको हुन्छ।

आज तपाईंले कसैको आँसु झार्नुभयो भने समयले त्यो आँसुको प्रत्येक थोपाको हिसाब राखेको हुन्छ र जब समयको पाङ्ग्रो घुमेर उल्टो गिन्ती सुरु हुन्छ, तब ती आँसुहरू नै तपाईंको बाटोका तगारा बनेर उभिन्छन्। यस प्रक्रियालाई आधुनिक विज्ञानले पनि आफ्नै ढङ्गले पुष्टि गरेको छ।

सर आइज्याक न्युटनले भनेझैं भौतिक जगतमा हरेक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुन्छ। यो नियम केवल निर्जीव वस्तुमा मात्र होइन, मानवीय संवेग र कर्ममा पनि उत्तिकै लागु हुन्छ। दार्शनिकहरूका अनुसार हाम्रा विचारहरूमा एउटा विशिष्ट ऊर्जा र शक्ति हुन्छ।

हामीले जस्तो विचारको बिउ रोप्छौं, परिणामको फल पनि त्यस्तै प्राप्त गर्छौं। सकारात्मक विचारले सुखद भविष्य निर्माण गर्छ भने नकारात्मक र प्रतिशोधी सोचले आफ्नै जीवनमा अन्धकार निम्त्याउँछ।

हामीले अरूको कुभलो चिताएर आफ्नो स्वार्थको महल बनाउँछौं भने त्यो महलको जगमा कतै न कतै पछुतोको धमिरा लागिसकेको हुन्छ। समयको खेल कति अचम्मको छ। जसले अरूलाई रुवाउँछ, उसले एकदिन आफ्नै एकान्तमा भक्कानिएर रुनुपर्ने स्थिति सिर्जना हुन्छ। जसले अरूको मन तोड्छ, उसको आफ्नै सपनाहरू एकदिन सिसाजस्तै चकनाचुर भएको उसले आफ्नै आँखाले देख्नुपर्छ। यो कुनै दैवी श्राप होइन, बरु यो त जीवनको एउटा यस्तो सन्तुलन हो, जसले ब्रह्माण्डलाई न्यायपूर्ण बनाइराख्छ।

समयको यही निर्मम न्यायको कसीमा आजको राजनीतिक परिदृश्यलाई पनि हेर्न सकिन्छ। नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक जस्ता शक्तिशाली पात्रहरू जब कानुनको फन्दामा पर्छन्, तब यसलाई केवल ‘राजनीतिक प्रतिशोध’ को लेपन लगाएर उम्किन मिल्दैन।

शक्तिमा रहँदा गरिएका त्रुटि, अन्याय र पदको दुरुपयोगले ढिलो–चाँडो आफ्नो हिसाब खोज्छ नै। जब कसैले गल्ती गर्छ, तब समयले त्यसको सजाय कुनै न कुनै रूपमा दिन्छ। यहाँ एउटा गम्भीर प्रश्न उठ्छ -यदि बाबुले फट्याइँ गरेर जेल परेको छ भने के असल छोराछोरीले त्यसको विरोध गर्नु सुहाउँछ? पक्कै पनि सुहाउँदैन। सत्य र न्याय नातागोता वा सम्बन्धभन्दा धेरै माथि हुन्छ। गलतलाई गलत भन्न सक्नु नै वास्तविक नैतिकता हो। आज तपाईं जहाँ उभिएर अरूलाई सानो देख्दै हुनुहुन्छ, भोलि त्यही ठाउँमा अर्को कोही उभिएर तपाईंलाई पनि सानो देख्न सक्छ।

मान्छे जब अहंकारमा अन्धो हुन्छ, उसलाई ‘म नै सर्वेसर्वा हुँ’ भन्ने भ्रम हुन्छ। उसलाई लाग्छ कि उसको शक्ति र पैसाले समयको न्यायलाई पनि किन्न सक्छ तर इतिहास साक्षी छ कि ठूला–ठूला साम्राज्यहरू ढलेका छन् र अहंकारी शिरहरू माटोमा मिलेका छन्। जब मानिसको शक्ति क्षीण हुन थाल्छ र ऊ सफलताको सिँढीबाट ओरालो लाग्न थाल्छ, तब उसले वरिपरि कसैलाई पाउँदैन। त्यो बेला न त उसँग भिड हुन्छ न त उसको पक्षमा बोल्ने कोही सहानुभूति राख्ने हृदय नै। त्यो शून्यतामा उसलाई आफ्ना पुराना दिनहरू सम्झिँदा एउटै कुराको आभास हुन्छ– ‘मैले माथि उड्दा कति जनाको पखेटा काटेको रहेछु !’

त्यो समयको ‘उल्टो गिन्ती’ यति कठोर हुन्छ कि त्यहाँ पश्चात्ताप बाहेक अरू केही बाँकी रहँदैन। त्यसैले, जीवनको यो छोटो यात्रामा कसैलाई सानो ठान्नु वा कसैको पीडामा हाँस्नु आत्मघाती कदम हो।

हरेक मानिसको आफ्नै संघर्ष, आफ्नै कथा र आफ्नै स्वाभिमान हुन्छ। हामी कसैको सहारा बन्न सक्दैनौं भने कम्तीमा कसैको बाधा त नबनौं। कसैको आँसु पुछ्ने हात हुन सक्नु नै सबैभन्दा ठुलो धर्म हो। हामीले आज अरूलाई जुन सम्मान, माया र सद्भाव दिन्छौं, भविष्यमा त्यही कुरा अनेकौं गुणा भएर हाम्रै जीवनमा सुखद फल बनेर फर्किन्छन्। सृष्टिको यो नियममा कुनै पनि कर्म व्यर्थ जाँदैन।

तपाईंले रोपेको मायाको बिरुवाले एकदिन तपाईंलाई नै छहारी दिनेछ भने तपाईंले रोपेको घृणाको काँडाले तपाईंलाई नै विझाउनेछ। अन्ततः यो गोलो पृथ्वीमा हामी सबै घुमन्ते यात्री हौं। यहाँ कसैको पालो आज छ त कसैको भोलि। अहंकार र घमण्डले मान्छेलाई केवल एक्लो बनाउँछ तर प्रेम र विनम्रताले मान्छेलाई युगौंसम्म जीवित राख्छ। कर्मको फल कसैले पनि टार्न सक्दैन भन्ने बोधले नै मानिसलाई सही मार्गमा डोर्‍याउँछ। 

प्रकाशित: १० आश्विन २०८३ ११:०० शनिबार