विचार

उज्यालो सहन नसक्नेहरू बिच पनि चम्किरहने साहस

नेपालजस्तो सम्भावनाले भरिएको देशमा युवाहरू परिवर्तनका मुख्य वाहक मानिन्छन्। तर, यथार्थ के छ भने परिवर्तनको बाटो कहिल्यै सजिलो हुँदैन। यो बाटोमा अनेकौँ चुनौती, अवरोध र कहिलेकाहीँ अनावश्यक विरोध पनि सामना गर्नुपर्छ। यही यथार्थलाई एउटा सरल तर गहिरो अर्थ बोकेको कथाले उजागर गर्छ, 'जुनकिरी र सर्पको कथा', जहाँ सर्पले जुनकिरीको चमक सहन नसकेर, कुनै व्यक्तिगत क्षति वा आवश्यकता बिना नै पछ्याइरहेको हुन्छ, यो कथा केवल कल्पना मात्र होइन, हाम्रो समाजको वास्तविक चित्र पनि हो।

अरूको प्रगति देख्न नसक्ने मानसिकताले नेपालको सामाजिक संरचनामा अझै पनि एउटा प्रवृत्ति गहिरो रूपमा जरा गाडेर बसेको छ। जब कोही युवा आफ्नो क्षेत्रमा केही राम्रो गर्न खोज्छ, नयाँ सोच ल्याउँछ, अथवा समाजमा सकारात्मक प्रभाव पार्न थाल्छ, त्यतिबेला उसले समर्थनभन्दा बढी आलोचना र अवरोधको सामना गर्नुपर्छ। धेरै अवस्थामा, आलोचना पनि रचनात्मक नभई व्यक्तिगत, नकारात्मक र हतोत्साहित गर्ने खालको हुन्छ। यो अवस्था केवल व्यक्तिगत स्तरमा सीमित छैन; यो संस्थागत र सामाजिक व्यवहारमा समेत देखिन्छ।

आजको नेपालमा धेरै युवाहरू स्टार्टअप, सामाजिक अभियान, नवप्रवर्तन, वातावरण संरक्षण, र सुशासनको क्षेत्रमा काम गरिरहेका छन्। उनीहरूले नयाँ बाटो खोजिरहेका छन्, पुराना समस्याहरूको समाधान निकाल्न खोजिरहेका छन्। तर, उनीहरूको यो प्रयासलाई सबैले स्वागत गर्दैनन्। कतिपयले उनीहरूको सफलतालाई प्रेरणाको रूपमा लिनुको सट्टा प्रतिस्पर्धा र इर्ष्याको दृष्टिले हेर्छन्। यस्तो मानसिकता विकासको सबैभन्दा ठूलो बाधक हो।

हाम्रो समाजमा 'खुट्टा तान्ने' प्रवृति र संस्कृतिको चर्चा बारम्बार हुन्छ। यसको अर्थ, कसैले माथि उठ्न खोज्दा उसलाई तल तान्ने प्रयास गर्नु। यो प्रवृत्ति केवल व्यक्तिगत इर्ष्याबाट मात्र उत्पन्न हुँदैन, यो असुरक्षा, आत्मविश्वासको कमी, र परिवर्तनप्रतिको डरबाट पनि उत्पन्न हुन्छ। जब मानिसहरू आफैंले केही गर्न सक्दैनन् वा गर्न डराउँछन्, तब उनीहरूले अरूलाई पनि रोक्न खोज्छन्।कहिलेकाहीँ सर्पको मनोविज्ञान यस्तै हुन्छ, जुनकिरीलाई नष्ट गर्न खोज्नु, केवल त्यसको उज्यालो र चमक सहन नसकेर हो।

युवाहरूका लागि यो अवस्था निकै चुनौतीपूर्ण छ। उनीहरूले दुईवटा लडाइँ लड्नुपर्छ। एक, आफ्नो लक्ष्य प्राप्त गर्ने; र अर्को, नकारात्मक सोच र अवरोधसँग जुध्ने। यस्तो अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, युवाहरूले आफ्नो उद्देश्यप्रति स्पष्टता र दृढता राख्नुपर्छ। यदि तपाईंले आफ्नो लक्ष्य स्पष्ट रूपमा देख्नुभएको छ भने, बाहिरी आवाजहरूले तपाईंलाई विचलित पार्न सक्दैनन्।

नेपालको सन्दर्भमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि यो समस्या अझै जटिल बनाएको छ। आजको डिजिटल युगमा आलोचना र नकारात्मकता झन् छिटो फैलिन्छ। एक जना व्यक्तिको सफलता देखेर प्रेरित हुनेभन्दा पनि आलोचना गर्ने मानिसहरूको संख्या कहिलेकाहीँ बढी देखिन्छ। यस्तो अवस्थामा, युवाहरूले डिजिटल साक्षरता र मानसिक सन्तुलन दुवै कायम राख्नुपर्छ। सबै कुरा व्यक्तिगत रूपमा नलिने, र आफ्नो ऊर्जा सकारात्मक कार्यमा केन्द्रित गर्ने क्षमता विकास गर्नु आवश्यक छ।

तर, यसको अर्थ यो होइन कि आलोचना सधैं खराब हुन्छ। रचनात्मक आलोचना विकासको लागि आवश्यक हुन्छ। तर, फरक के हो भने, रचनात्मक आलोचना सुधारका लागि हुन्छ, जबकि नकारात्मक आलोचना रोक्नका लागि हुने गर्छ। युवाहरूले यी दुईबीचको भिन्नता बुझ्नुपर्छ। जसले तपाईंलाई सुधार गर्न मद्दत गर्छ, त्यसलाई स्वीकार सिक्नु पर्छ, जसले केवल तपाईंलाई तल तान्न खोज्छ, त्यसलाई नजरअन्दाज गर्नु नै उपयुक्त हुन्छ।

नेपालमा परिवर्तनको आवश्यकता धेरै क्षेत्रमा छ, जस्तै शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन, रोजगारी, र सामाजिक न्याय आदि, यी सबै क्षेत्रमा युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। तर, यदि युवाहरू नै निरुत्साहित भए भने, परिवर्तनको गति सुस्त हुन्छ। त्यसैले, समाजले पनि आफ्नो सोच परिवर्तन गर्नुपर्छ। अरूको सफलतालाई ईष्र्याको दृष्टिले होइन, प्रेरणाको रूपमा हेर्ने संस्कृतिको विकास गर्नुपर्छ।

अर्कोतर्फ, सफल व्यक्तिहरूले पनि आफ्नो व्यवहारमा विनम्रता र समावेशिता कायम राख्नुपर्छ। कहिलेकाहीँ, सफलता आफैंमा पनि दूरीको कारण बन्न सक्छ। यदि तपाईंले आफ्नो प्रगतिको यात्रामा अरूलाई पनि साथमा लैजानुभयो भने, विरोधको मात्रा स्वतः कम हुन्छ। नेतृत्व भनेको केवल अगाडि बढ्नु मात्र होइन, अरूलाई पनि अगाडि बढ्न प्रेरित गर्नु हो।

'सर्प' स्वभावका व्यक्तिहरू सधैं बाहिर मात्र हुँदैनन्, कहिलेकाहीँ हामीभित्र पनि हुन सक्छन् भन्ने कुरा बुझन आवश्यक छ। जब हामी अरूको सफलतामा खुसी हुन सक्दैनौं, जब हामी तुलना र ईर्ष्यामा फस्छौं, तब हामी पनि त्यही मानसिकताको हिस्सा बन्छौं। त्यसैले, आत्मचिन्तन आवश्यक छ। हामी कस्तो समाज बनाउन चाहन्छौं? सहयोग र प्रेरणाको, कि प्रतिस्पर्धा र अवरोधको?

जुनकिरीको सन्देश स्पष्ट छ, आफ्नो प्रकाशलाई कायम राख्नुहोस्। जीवनमा जतिसुकै अवरोध आए पनि, आफ्नो मूल्य, उद्देश्य र पहिचानलाई कहिल्यै कमजोर नपार्नुहोस्। तपाईंको चमक नै तपाईंको शक्ति हो, त्यो चमक अरूलाई असहज लाग्न सक्छ, तर त्यो नै तपाईंको योगदान हो।

नेपालका युवाहरूलाई आज यही सन्देश आवश्यक परेको छ, डराउनु हुँदैन, थाक्नु हुँदैन, र रोकिनु हुँदैन। तपाईंहरूको सोच, ऊर्जा र प्रतिबद्धताले यो देश परिवर्तन गर्न सक्छ। तर, त्यसका लागि तपाईंहरूले नकारात्मकता भन्दा माथि उठ्नुपर्छ। आफ्नो बाटोमा आउने 'सर्प' हरूलाई चिनेर, उनीहरूबाट टाढा रहँदै, आफ्नो यात्रालाई निरन्तर अगाडि बढाउनुपर्छ।समाज पनि परिवर्तन हुनुपर्छ। हामीले एकअर्कालाई तान्ने होइन, उठाउने संस्कृतिको विकास गर्नुपर्छ। किनकि, एउटा जुनकिरीको उज्यालोले अँध्यारो हटाउन सक्छ भने, हजारौँ जुनकिरीहरूले देशको भविष्य नै उज्यालो बनाउन सक्छन्। त्यसैले, आफ्नो प्रकाशलाई कहिल्यै निभ्न नदिनुहोस्। त्यो केवल तपाईंको मात्र होइन, यो देशको आशा पनि हो।

-लेखक क्लिन अप नेपालका कार्यकारी निर्देशक हुन्।

प्रकाशित: २१ असार २०८३ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %