‘यसलाई शीर्षक भनिन्छ, पाकिस्तानमाथि गर्व छ। धेरै धेरै माया,’ पाकिस्तानी मानव अधिकारकर्मी दीप सइदाले आफ्नो फेसबुकमा ‘पाकिस्तानले सम्पूर्ण सभ्यता जोगाएको छ’ शीर्षकप्रति संकेत गर्दै ‘द एक्सप्रेस ट्रिब्युन’मा प्रकाशित समाचारलाई उल्लेख गर्दै लेखेकी छन्। पछिल्ला केही हप्तामा पाकिस्तानले पश्चिम एसियामा शान्ति स्थापना गर्न र एउटा सभ्यतालाई बचाउन इरान र अमेरिकाबिच महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिका खेलेको छ।
विश्व इतिहासमा चम्किने अवसर पाउने नेताहरू धेरै कम हुन्छन्। पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफ र पाकिस्तानी सेनाका प्रमुख तथा रक्षा बलका प्रमुख फिल्ड मार्सल आसिम मुनिरले शान्तिदूतका रूपमा विश्व नेताहरूको सूचीमा आफ्नो नाम लेखाएका छन्, जो आगामी नोबेल शान्ति पुरस्कारका हकदार देखिन्छन्। जब संसारका सबैभन्दा शक्तिशाली व्यक्तिले एउटा सभ्यतालाई समाप्त गर्ने घोषणा गरेका थिए, उनीहरूले वास्तवमै त्यो सभ्यतालाई जोगाएका छन्। कुनै देशको आणविक शक्तिको आधारमा कसैलाई एउटा सभ्यता मेटाउने अधिकार कसले दिएको हो?
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना सर्तहरू नमान्ने र २०२६ अप्रिल ८ तारिख बेलुका ८ बजेसम्म जलडमरु या हर्मुज नखोल्ने हो भने एउटा सभ्यता समाप्त गर्ने धम्की दिएका थिए। ट्रम्पको यस धम्कीपछि विश्वभरका मानिसहरू बेचैन र निद्राहीन बने। विश्वले यो घटनालाई नजिकबाट हेरिरहेको थियो। जब ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा प्रधानमन्त्री सहबाज सरिफ र फिल्ड मार्सल आसिम मुनिरसँगको छलफलपछि इरानसँग दुई हप्ताको युद्धविराममा सहमति जनाएको उल्लेख गरे, तब सबैले राहतको सास फेरे।
उक्त घोषणा लगत्तै प्रधानमन्त्री सरिफले एक्समार्फत इरान र अमेरिका तथा उनीहरूका सहयोगीहरूले लेबनानलगायत सबै क्षेत्रमा तत्काल युद्धविराममा सहमति जनाएको जानकारी दिएका थिए। उनले दुवै देशका प्रतिनिधिहरूलाई अप्रिल १० मा इस्लामाबादमा बोलाएर सबै विवाद समाधान गर्न थप वार्ता गर्ने प्रस्ताव पनि राखे।
इरानका विदेशमन्त्री अब्बास अराघचीले प्रधानमन्त्री सरिफ र फिल्ड मार्सल मुनिरप्रति आभार व्यक्त गर्दै उनीहरूलाई ‘प्रिय दाजु’ भनेर सम्बोधन गरेका थिए र क्षेत्रीय युद्ध अन्त्य गर्न उनीहरूको अथक प्रयासको प्रशंसा गरेका थिए। पाकिस्तान र इरानबिच ऐतिहासिक सम्बन्ध, साझा सिमाना तथा भाइचारा सम्बन्ध रहेको छ।
जलडमरु विश्वका सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक हुन्। २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले यो मार्ग बन्द गरेको थियो। बिबिसीका अनुसार विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट पार हुन्छ। इरानले आफूमाथि भएको आक्रमणका कारण यो मार्ग बन्द गरेपछि नेपालजस्ता देशहरूसमेत प्रभावित हुने गरी विश्वव्यापी तेल तथा ग्यास संकट सुरु भएको थियो। युद्धपछि तेल र ग्यासको मूल्य बढ्न थालेको थियो तर युद्धविराम घोषणा भएपछि विश्वभर राहत मिल्दै करिब १५ प्रतिशतले मूल्य घटेको छ।
जलडमरु पश्चिम एसियाबाट विश्वभर आपूर्ति हुने तेल, ग्यास र मलका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग हो । यसको प्रवेश र निकास क्षेत्रमा करिब ५० किलोमिटर चौडाइ छ भने सबैभन्दा साँघुरो स्थानमा करिब ३३ किलोमिटर मात्र छ। यो मार्गले खाडी क्षेत्रलाई अरब सागरसँग जोड्छ र उत्तरतर्फ इरान तथा दक्षिणतर्फ ओमान र संयुक्त अरब इमिरेट्सले घेरेको छ। जलडमरु विश्वका सबैभन्दा ठुला कच्चा तेल ट्यांकरहरूका लागि पर्याप्त गहिरो छ र पश्चिम एसियाका प्रमुख तेल तथा एलएनजी उत्पादक र उपभोक्ताहरूले प्रयोग गर्छन्। अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार २०२५ मा दैनिक करिब दुई करोड ब्यारेल तेल यस मार्गबाट गुज्रिएको थियो। बिबिसीका अनुसार यो वार्षिक करिब ६ सय अर्ब अमेरिकी डलर बराबरको ऊर्जा व्यापार हो। यो तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र युएईबाट आउँछ। एलएनजी भनेको ग्यासलाई तरल बनाएर ढुवानी गर्ने प्रक्रिया हो, जसले स्थानको उपयोग धेरै कम गर्छ र गन्तव्यमा पुगेर पुनः ग्यासमा रूपान्तरण गरिन्छ।
यो मार्ग मल निर्यातका लागि पनि महत्त्वपूर्ण छ, जहाँ प्राकृतिक ग्यास उत्पादन प्रक्रियामा व्यापक प्रयोग हुन्छ। विश्वको करिब एकतिहाइ मल व्यापार यही मार्गबाट हुने गर्छ। खाद्यान्न, औषधी र प्रविधिसम्बन्धी सामग्रीहरू पनि यही मार्ग हुँदै पश्चिम एसियामा आयात हुन्छन्।
हाल विश्व राजनीति शक्तिको लालचमा केन्द्रित भएको छ। राजनीतिज्ञहरूले कति हतियार, कति तेल, ग्यास र प्राकृतिक स्रोतहरूमा नियन्त्रण छ भन्ने आधारमा शक्ति हासिल गर्छन्। आज विश्वभर भइरहेका अधिकांश युद्धहरू धर्म, हतियार र तेलमाथिको प्रभुत्वका लागि भइरहेका छन्। यो लालचले निर्दोष मानिसहरूको अस्तित्वमाथि प्रहार गरेको छ, जो केवल सम्मानजनक र सुरक्षित जीवनयापन गर्न चाहन्छन्।
प्यालेस्टाइन, इरानजस्ता देशमा निर्दोष मानिसका लागि सुरक्षा मजाकजस्तै बनेको छ। उनीहरू कुनै दोषबिना अचानक आक्रमणको सिकार हुन्छन् र सम्पूर्ण सभ्यता नै समाप्त गरिने धम्कीसमेत भोगिरहेका छन्। डोनाल्ड ट्रम्पजस्ता विश्व नेताहरूले आफूलाई शान्ति ल्याउने उद्धारकर्ता बताउँछन् तर उनीहरूको आणविक शक्ति र धनसम्पत्तिको बलमा संसार झन् असुरक्षा र अस्थिरतातर्फ धकेलिँदै गएको देखिन्छ।
जलवायु परिवर्तनले विश्वलाई असर पार्दै जाँदा प्राकृतिक स्रोतहरू झन् दुर्लभ हुँदै गएका छन् र धनी पश्चिमी राष्ट्रहरूको नियन्त्रणको लक्ष्य बनेका छन्। हालका दिनहरूमा युक्रेन, प्यालेस्टाइन र अहिले इरानजस्ता देशहरू शक्तिशाली राष्ट्रको आक्रमणबाट ध्वस्त भएका छन्। अर्बौं डलरका हतियारहरूले केवल मानिस मात्र होइन, जीवनभरको मेहनतले निर्माण गरिएका संरचना पनि नष्ट गरिरहेका छन्।
दुर्भाग्यवश मानिसले आफ्नो कडा परिश्रमले कमाएको सम्पत्ति र प्रेमले बुनेका सपनाहरू एक क्षणमै नष्ट भइरहेका छन्, किन यस्तो भइरहेको छ भन्ने बुझ्ने समयसमेत नदिईकन। आतंकवाद अन्त्य गर्ने र तेल–ग्यास स्रोतमा नियन्त्रण गर्ने दौडमा निर्दोष मानिसहरूले हरेक दिन ज्यान गुमाइरहेका छन्।
इरानमा भएको युद्धविराम सकारात्मक कदम हो तर यस्तो युद्ध किन हुन्छ भन्ने बुझ्न आवश्यक छ। किन अन्तर्राष्ट्रिय कानुन तुरुन्त लागु गरिँदैन? किन शक्तिशाली राष्ट्रहरूले नै निर्णय गर्ने संयन्त्रहरू नियन्त्रणमा लिएका छन्? मानव अधिकारका मूल्यहरू हरेक क्षण कमजोर हुँदै गइरहेका छन् तर पनि विश्व नेताहरू शान्ति र न्याय ल्याउने दाबी गरिरहेका छन्।
अहिले अमेरिकाले इरानमा ध्वस्त भएका संरचनाहरू पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। पहिले हान्ने अनि बनाउने किन ?
जलडमरु बन्द हुँदा उत्पन्न मूल्यवृद्धि र अस्थिरताबाट सबैभन्दा बढी प्रभावित दैनिक ज्यालामा काम गरेर परिवार पाल्ने मानिसहरू भएका छन्। युद्ध छेडिनेबित्तिकै इन्धन र खाना पकाउने ग्यासको कमी भएर नेपालभरि सबैलाई हाहाकारमा धकेलिनुको साथै खाडी मुलुकमा काम गर्न गएका नेपाली कामदार एक्कासि अन्योलको अवस्थामा धकेलिएका थिए। युद्धका कारण कतिपयको मृत्यु पनि भयो।
यी अँध्यारा बादलबिच पाकिस्तानले दुई हप्ताको युद्धविराम गराउन सफल मध्यस्थकर्ताका रूपमा आशाको किरण देखाएको छ। अब विश्वले युद्ध अन्त्य गरी पश्चिम एसियामा स्थायी शान्ति सुनिश्चित गर्नुपर्छ।
प्रकाशित: २७ चैत्र २०८२ १०:३१ शुक्रबार