विचार

साना उद्यम विशाल भविष्य

नेपालको समग्र विकासको आधार आर्थिक सशक्तीकरण हो। कुनै पनि राष्ट्र दिगो रूपमा अघि बढ्न अर्थतन्त्र मजबुत हुनुपर्छ। विगत केही दशकमा नेपालले धेरै राजनीतिक उतारचढाव र सत्ता परिवर्तन भोगेको छ। अहिले जनतामा नयाँ आशा र अपेक्षा जागृत भएको अवस्था छ। शासन प्रणालीमा आएको परिवर्तनसँगै जनताले विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट अनुभूति गर्न चाहेका छन्। अहिलेको परिस्थितिमा सरकारमा आउने नेतृत्वले देश र जनताको हितलाई केन्द्रमा राखी दीर्घकालीन सोचका साथ काम गर्नु अत्यन्त आवश्यक छ।

देश विकासको चाहना केवल नेताहरूमा मात्र होइन, आमनागरिकमा पनि गहिरो रूपमा देखिन्छ। पछिल्ला सार्वजनिक अभिव्यक्तिमा राजनीतिक तथा सामाजिक नेतृत्वमा रहेका व्यक्तिले देश बनाउने आकांक्षा प्रस्तुत गरेका छन्। यसले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ तर केवल चाहना र भाषणले मात्र विकास सम्भव हुँदैन, त्यसका लागि स्पष्ट नीति, योजना र कार्यान्वयन क्षमता आवश्यक पर्छ।

नेपालको आर्थिक विकासमा साना तथा मझौला उद्यमको भूमिका महत्त्वपूर्ण छ। यो क्षेत्र रोजगारी सिर्जना, स्थानीय स्रोत साधनको सदुपयोग, आय आर्जनको अवसर विस्तार तथा समग्र आर्थिक वृद्धिमा योगदान दिने प्रमुख आधार हो। विशेष गरी महिला, युवा तथा ग्रामीण समुदायका लागि साना तथा मझौला उद्यम क्षेत्र आत्मनिर्भर बन्ने सशक्त माध्यमका रूपमा स्थापित हुँदै आएको छ।

पछिल्ला वर्षहरूमा महिला उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय वृद्धि देखिए पनि अझै धेरै महिलाहरू साना तथा सूक्ष्म स्तरमै सीमित छन्। उनीहरूले पुँजी अभाव, बजार पहुँचको कमी, तालिम तथा प्रविधिको अभावजस्ता विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ। यस्ता समस्या समाधान गर्न लक्षित कार्यक्रम आवश्यक छन्, जस्तै–उपयुक्त व्यवसाय छनोट, प्रारम्भिक पुँजी, सिप विकास तालिम तथा निरन्तर व्यावहारिक सहयोग।

अधिकांश यस्ता उद्योग अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन्। वित्तीय संस्थासम्म पहुँच नहुनु, आधुनिक प्रविधिको अभाव, दक्ष जनशक्तिको कमी तथा सामाजिक संरचनाका कारण व्यवसाय सुरु गर्न र विस्तार गर्न कठिनाइ छ। विशेषगरी महिलाका लागि पारिवारिक जिम्मेवारी र सीमित अवसरले थप चुनौती सिर्जना गरेको छ। त्यसैले साना उद्योगहरूलाई सशक्त बनाउन उनीहरूको क्षमता अभिवृद्धि गर्दै बजारको मागअनुसार व्यवसाय पहिचान गर्नु पहिलो र महत्त्वपूर्ण कदम हो।

नेपालमा महिला तथा युवा उद्यमीहरूले सुरु गर्न सक्ने सम्भावनायुक्त व्यवसायहरू धेरै छन्। कृषि तथा कृषिजन्य व्यवसाय यसमध्ये सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो। अर्गानिक तरकारी खेती, च्याउ उत्पादन, मौरीपालन, दुग्ध उत्पादन, कुखुरापालन तथा फलफूल खेतीजस्ता व्यवसायहरू कम लगानीमै सुरु गर्न सकिन्छ। यस्ता व्यवसायहरू गाउँमै सञ्चालन गर्न सकिन्छ र स्थानीय बजारमा सजिलै बिक्री गर्न सकिन्छ। उत्पादनमा मूल्य अभिवृद्धि गर्न सकियो भने जुस, जाम, अचार, सुक्खा खानेकुरा तथा मसला प्रशोधनबाट थप आम्दानी आर्जन गर्न सकिन्छ, जसले निर्यातको सम्भावनासमेत बढाउँछ।

त्यस्तै, हस्तकला तथा परम्परागत उत्पादनहरू पनि महिला उद्यमीका लागि उपयुक्त क्षेत्र हुन्। नेपालका ढाका कपडा, पस्मिना, हस्तनिर्मित कागज, थाङ्का चित्रकला, गहना तथा विभिन्न बुनेका सामग्रीहरू अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय छन्। यस्ता उत्पादन घरमै तयार गर्न सकिने भएकाले महिलाहरूको आर्थिक स्वतन्त्रता बढाउन ठुलो भूमिका खेल्छन्। साथै, यसले नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्धनमा समेत योगदान पुर्‍याउँछ।

खाद्य तथा घरेलु उद्योग पनि अर्को महत्त्वपूर्ण क्षेत्र हो। घरेलु अचार, बेकरी सामग्री, स्थानीय परिकारहरू जस्तै सेलरोटी, गुन्द्रुक, घिउ आदि उत्पादनहरूको माग दिन प्रतिदिन बढिरहेको छ। अहिले उपभोक्ताले घरेलु तथा अर्गानिक उत्पादनलाई बढी प्राथमिकता दिन थालेका छन्। यसले महिला तथा युवालाई उद्यमशीलताको क्षेत्रमा आकर्षित गर्ने ठुलो अवसर प्रदान गरेको छ।

सेवा क्षेत्रमा पनि उल्लेखनीय सम्भावना छ। ब्युटी पार्लर, टेलरिङ, बुटिक, होमस्टे, क्याटरिङ सेवा, टिफिन सेवा तथा अनलाइन डेलिभरी सेवा जस्ता व्यवसायहरू सहरी क्षेत्रमा विशेष रूपमा प्रभावकारी देखिएका छन्। व्यस्त जीवनशैली र कामकाजी परिवारहरूको वृद्धिसँगै यस्ता सेवाहरूको माग निरन्तर बढ्दै गएको छ।

डिजिटल प्रविधिमा आधारित व्यवसाय आज अत्यन्त महत्त्वपूर्ण छन्। अनलाइन व्यापार, सामाजिक सञ्जालमार्फत मार्केटिङ, कन्टेन्ट निर्माण, ग्राफिक डिजाइन तथा फ्रिल्यान्सिङजस्ता कार्यहरू कम लगानीमै सुरु गर्न सकिन्छ। सरकारले डिजिटल साक्षरता तथा तालिम कार्यक्रम विस्तार गर्न सकेमा युवा तथा महिलाले घरमै बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन्।

साना तथा मझौला उद्यम क्षेत्रलाई सशक्त बनाउन केवल व्यावसायिक सुझाव पर्याप्त हुँदैनन्, त्यसका लागि स्पष्ट नीति तथा प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ। पहिलो, वित्तीय पहुँच सहज बनाउनु अत्यावश्यक छ। बिनाधितो कर्जा, सहुलियत ब्याजदर तथा महिला उद्यमीका लागि विशेष कोष स्थापना गर्नुपर्छ। माइक्रोफाइनान्स प्रणालीलाई अझ प्रभावकारी बनाउनु पनि जरुरी छ।

दोस्रो, सिप विकास तथा तालिमलाई प्राथमिकता दिनुपर्छ। उत्पादन, प्याकेजिङ, ब्रान्डिङ, डिजिटल मार्केटिङ तथा वित्तीय व्यवस्थापनजस्ता विषयमा नियमित तालिम दिनु आवश्यक छ। तेस्रो, बजार पहुँच सुनिश्चित गर्नुपर्छ। ‘एक जिल्ला, एक उत्पादन’जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउँदै व्यापार मेला, एक्स्पो तथा डिजिटल प्लेटफर्ममार्फत उत्पादनको प्रवर्धन गर्नुपर्छ।

चौथो, नीतिगत सुधार अपरिहार्य छ। उद्योग दर्ता प्रक्रिया सरल बनाउने, कर प्रणालीलाई सहज बनाउने तथा एकद्वार सेवा प्रणाली लागु गर्नेजस्ता कदमले उद्यमशीलता प्रवर्धनमा सहयोग पु¥याउँछन्। पाँचौं, सहकारी तथा समूहमा आधारित उद्यमलाई प्रोत्साहन दिनुपर्छ। समूहमा काम गर्दा जोखिम कम हुनुका साथै बजार पहुँच पनि विस्तार हुन्छ। साथै, महिला उद्यमीको सञ्जाल निर्माण गरी अनुभव आदानप्रदान तथा सहकार्यको वातावरण सिर्जना गर्न सकिन्छ।

नेपालले साना तथा मझौला उद्यमहरूलाई सशक्त बनाउन सफल भयो भने यसले देशको आर्थिक संरचनामा ठुलो परिवर्तन ल्याउन सक्छ। राज्यले महिला तथा युवा उद्यमीहरूलाई केवल सहानुभूति होइन, व्यावहारिक अवसर प्रदान गर्नुपर्छ। उनीहरूको सिप पहिचान गरी प्रोत्साहन गर्नु आवश्यक छ।

सानो प्रयासबाट सुरु भएको उद्यमले ठुलो आर्थिक परिवर्तन ल्याउन सक्छ। त्यसैले साना तथा मझौला उद्यमको विकास, महिला सशक्तीकरण र युवा रोजगारीबिच गहिरो सम्बन्ध रहेको छ। जब महिला र युवा आर्थिक रूपमा सक्षम हुन्छन्, तब परिवार, समाज र राष्ट्र नै सशक्त बन्छ।

अबको बाटो स्पष्ट छ - उचित नीति, पर्याप्त लगानी, आधुनिक प्रविधि र समान अवसरमार्फत साना तथा मझौला उद्यमलाई अघि बढाउनु। यही मार्गले नेपाललाई दिगो विकास र समावेशी समृद्धितर्फ अग्रसर गराउनेछ।  

प्रकाशित: १८ चैत्र २०८२ ०७:२७ बुधबार