राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धेरै सांसद यतिबेला नेपालको राष्ट्रगान सुन्दै र घोक्दै छन् भन्ने समाचार हालै पढ्नमा आयो। उनीहरूलाई राष्ट्रगानको पूरा पाठ सांसद हुँदासम्म आएको रहेनछ। संसद्मा दुईतिहाइ बहुमतको हाराहारी गणितीय शक्ति बोकेको रास्वपालाई एकमना सरकार गठन गरेर चलाउने एकदमै गह्रौं जिम्मेवारी आएको छ, मानौं हात्तीले जसोतसो बोक्न सक्ने भारी घोडाले बोकेर हिँड्नुपरेको होस्। यति असाधारण र गह्रौं अभिभारा रास्वपाले बहन गर्नुपर्ला भन्ने सायद उनीहरूलाई अपेक्षै थिएन। जनताले रामराज्यको अपेक्षा गरेर दिएको जनादेशका कारण रास्वपाको जिम्मेवारी र नेतृत्व कौशलको पनि परीक्षा सुरु भएको छ।
रास्वपाको आधारभूत सिद्धान्त के हो र? लोकतान्त्रिक विकल्प हो कि लोकतन्त्रकै विकल्प बन्न आएको हो? छिमेकी मुलुकसँगको सम्बन्ध र परराष्ट्र नीति के हो? यस्ता आधारभूत विषयहरू प्रस्ट हुन बाँकी छन्। रास्वपालाई सत्ता जिम्मा लगाउन कुनै शक्तिलाई हतार भएझैं २०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्षअगाडि नै आयो।
एमाले अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध चुनाव लड्न बालेन स्वचालित उत्साहका साथ गएका हुन् वा सञ्चालित रहस्य बोकेर गएका हुन्? रवि र बालेन आफ्नो राजनीतिका निर्देशक नै हुन् कि फगत कर्ता हुन्? रास्वपाका यी शीर्ष नेताद्वयका बिच एकता बनिरहने आधारतत्त्व के हो? रहस्यबोधक अनेक प्रश्न अनुत्तरित छन्।
प्रधानमन्त्री बालेनलाई ओलीसँग हुनसम्मको आक्रोशको कारण बुझेका मानिसहरू धेरै हदसम्म न्यायोचित मानवीय स्वभाव मान्छन्। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई असफल बनाउने कार्यमा ओलीको जोड थियो। ओलीको इच्छा उनी नेतृत्वको महानगरपालिका विघटन गर्नमा थियो। प्रतिक्रियालाई ध्यानमा राखेर मात्र प्रधानमन्त्री ओली पछाडि हटेका हुन्। महानगरपालिकालाई सबै स्रोतबाट असहयोग पुर्याउने काममा सरकारबाट हदैसम्मको कसरत भयो। सरकारले खटाउनुपर्ने प्रधान अधिकृत नपठाएर महिनौंसम्म महानगरका दैनन्दिनी कामलाई यति अस्तव्यस्त बनाइयो कि कर्मचारीले तलब पाउनसमेत महिनौंसम्म कुर्नुपर्यो।
मानिसले कुनै पात्रलाई रोज्नुपर्दा कि आदर्शपुरुष वा अन्नदाता वा जीवनदातालाई प्राथमिकता दिनु निर्विवाद र न्यायोचित हो। तर मतदाताको मनोवृत्ति आफ्नो अन्नदाता, जीवनदाता वा आदर्श पुरुषको रोजाइलाई छाडेर उम्मेदवारीको फारम भरेपछि अघिल्लो दिन राजनीतिमा प्रवेश गरेर जनतामा परिचय गर्न थालेका पात्रतिर विश्वास देखाउनु आफैंमा रहस्यमय छ। आफूलाई अद्वितीय गुन लगाएको बेदागी उम्मेदवारलाई पनि कृतघ्नतापूर्वक त्यागेर मतदाताहरू रास्वपामा होमिए। यस्तो परिस्थितिले जनताको सुखदुःखका सहयोगी हुनु र समाजसेवा र विकासलाई राजनीतिको आधार बनाउनु निरर्थक रहेछ भन्ने सन्देश जाने खेदजनक अवस्था बन्यो।
हालैको संसदीय निर्वाचनमा जस्तो फराकिलो मतान्तर यसअघिका निर्वाचनहरूमा कहिल्यै देखापरेको थिएन। भनिन्छ, रास्वपालाई मत परेको होइन, मत–भण्डारमा रास्वपा पर्न गएको हो। साढे तीन दशक सत्तामा आलोपालो वा गठबन्धन गरी बसेका पार्टी र नेताहरू, खासगरी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल यो अवस्था बनाउनमा मूल रूपका दोषी छन्। अतः बालेन्द्रलाई आफूविरुद्ध उम्मेदवार हुन इख्याउने व्यक्ति ओली स्वयं हुन्।
गत भदौ १४ देखि १८ गतेसम्म तत्कालीन प्रधानमन्त्री ओलीले गरेको पाँचदिने चीन भ्रमण, बेइजिङमा जापानविरोधी सैनिक विजय परेडमा विवादास्पद सहभागिता र चीनले अमेरिकालगायतका प्रतिपक्षी मुलुकहरूको काउन्टरमा अगाडि बढाएको सैनिक गठबन्धनवाला ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’मा नेपालको समर्थनको आपत्तिजनक आश्वासन उनकै लागि आत्मघाती हुन पुग्यो। परिणामस्वरूप चीन भ्रमणबाट फर्केको पाँच दिनमै मच्चिएको जेनजी आन्दोलनले आजको अवस्थामा पुर्यायो।
कांग्रेसले इतिहासमै नराम्रो पराजय भोग्नुको मूल कारण रास्वपाको अस्तित्वभन्दा बढी भ्रष्टाचार, कुशासन, दण्डहीनता र आर्थिक अपराधको संरक्षकका रूपमा पार्टीभित्र ३५ वर्षदेखि जरा गाडेको गुट मूल रूपमा दोषी हो। पार्टीको नियमित महाधिवेशन समयमै गर्न नचाहने, बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको सामूहिक लिखित माग गर्दा नियमित महाधिवेशनको बहाना तेर्स्याएर विशेष महाधिवेशनलाई तुहाउन खोज्ने, विशेष महाधिवेशनका पक्षधरलाई पार्टीबाट निष्कासन, दमन र कमजोर बनाउने, सिद्धान्तहीन र नैतिकहीन सत्तागठबन्धनमा रमाउने, निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन कार्यकर्तालाई रास्वपामा मत हाल्न लगाउने त्यो पक्ष जेनजी आन्दोलन, त्यसपछिका घटनाक्रम र आजको परिणाममा पुर्याउने खलनायक हुन्। आज उनीहरू नै समानान्तर कांग्रेस बनाउने भन्दै कांग्रेसमा विभाजनको नयाँ खेल गरिरहेका छन्।
धनुषा–३ मा रास्वपाको उम्मेदवारी खारेजीमा परेको र म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनलाई रास्वपाले सहयोगका लागि छोडिदिएको सिट हिसाब गर्दा प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि चाहिने १८४ सिट पहिले नै हिसाब गरेर मिलाइएको देखिन्छ। निर्वाचन हुनुभन्दा केही दिनअगाडि ‘हामी दुईतिहाइ बहुमत ल्याउँछौं’ भनी रास्वपाका अध्यक्ष रविले गरेको घोषणालाई आँट दिने कुन शक्ति हो?
दुईतिहाइ बहुमतको जनादेश पाएपछि सत्तारुढ रास्वपाले देश र जनताका लागि के गर्ला र? गौरीबहादुर कार्की आयोगले सरकारलाई हालै बुझाएपछि सार्वजनिक भएको विवादास्पद प्रतिवेदनअनुसार जेनजी आन्दोलनको दमन र आपराधिक वारदातका दोषीहरूलाई कानुनी कारबाही गर्न सक्छ? भदौ २३ गतेको सरकारी दमनबारे दोषी किटानी गरिएको उक्त आयोगको प्रतिवेदनले भदौ २४ गतेको आपराधिक गतिविधिलाई उपेक्षा गरेको विषयमा बालेन सरकारले के गर्छ? कहालीलाग्दो भ्रष्टाचारका काण्डलाई कारबाहीको प्रक्रिया सुरु गर्छ? पार्टी अध्यक्ष रवि मुछिएको ‘सहकारी ठगीको फरार मूल नाइके’ जिबी राईलाई कानुनको कठघरामा ल्याएर सहकारी पीडितको रकम फिर्ता दिलाउला?
परिवर्तन र युवापुस्ताको नाममा संसदीय काइदा–कानुन र राजनीतिक सुझबुझको कुनै ज्ञान नभएका कलिलो उमेरका कोरा व्यक्तिहरूसमेत संसद्मा पुगेको अवस्था आफैंमा खोट लगाउने खालको र नराम्रो होइन तर अहिलेकै प्रतिनिधिसभा संरचनाले राजनीतिक स्थिरता र सुशासनको ग्यारेन्टी दिइहाल्छ भन्ने विश्वास बनाइहाल्न पनि सकिन्न। बालेन र रविबिच ‘केमेस्ट्री नमिलेको’ देख्नेहरू यी दुईबिच पूर्णकाल नै समझदारी र अमनचैन रहन्छ भन्ने भरोसाको वातावरण विकसित भएको छैन, बरु भरोसाभन्दा अनिश्चितता घनीभूत देखिन्छ।
सत्ताधारी रास्वपाको समर्थनमा कार्यकर्ताहरूबाट सार्वजनिक रूपमा व्यक्त अभिव्यक्तिले पार्टीको छवि निर्माणमा महत्त्वपूर्ण प्राथमिकता राख्छ तर त्यस पार्टीका कार्यकर्ता वा समर्थकहरूले सामाजिक सञ्जालमा असामाजिक ढंगले व्यक्त गर्दै आएका फोहोरी प्रतिक्रिया, गालीगलौजका असभ्य अभिव्यक्तिले सामाजिक सञ्जालको चरम दुरुपयोग, समाजमा वैमनस्य र जनमानसमा निराशा र क्षोभ बढाउने गतिविधि गरिरहेका छन्। रास्वपा पक्षधरको पहिचानमा असभ्य र फोहोरी गालीगलौज गर्नु नै त्यस पार्टीको नीति हो? वा यस्तो अराजनीतिक, अराजकतावादी र आपराधिक मानसिकताको रवैयामा नियन्त्रण नहुने हो भने त्यो पार्टीलाई मटियामेट बनाउनमा विरोधी पक्ष होइन, आफ्नै पार्टीका कार्यकर्ताहरूको उद्दण्ड र उरन्ठेउलो चरित्र पर्याप्त हुने अवश्यम्भावी छ।
आजको परिस्थितिमा सत्ता चलाउने काम एकदमै जिम्मेवारीपूर्ण अभिभारा हो। बाह्य जगत्मा विकसित नवीन घटनाहरूको प्रत्यक्ष–परोक्ष असर नेपालमा परिरहेको छ। विश्वका महत्त्वपूर्ण स्थलहरू युद्धले ग्रसित वा युद्धोन्मुख छन्। लगानी, विकास, प्रगति र समृद्धिका अवसरहरू युद्ध, सैन्यकरण, बढ्दो रक्षाबजेट, हातहतियारको खरिदबिक्रीजस्ता गतिविधिमा खोसिँदै छन्। त्यसकारण नेपालका आगामी दिनहरू थप जटिल, संवेदनशील र चुनौतीपूर्ण हुने अवश्यम्भावी छ।
यस्तो अवस्थामा दुईतिहाइ बहुमतको अहंकार र दम्भलाई अगाडि आउन नदिएर सबै राष्ट्रिय शक्तिसँग संवाद, राष्ट्रिय एकता तथा सहमति र सहकार्यका साथ काम गर्नु अनिवार्य छ। भदौ २३ गतेसम्मको सरकारसँग पनि दुईतिहाइकै हाराहारीको शक्ति थियो तर अहंकार र दम्भले असफल मात्र होइन, सत्ताधारीको उछित्तो काडियो। अब रास्वपासमक्ष यही प्रश्न आएको छ– उसले पुरानै प्रवृत्तिको सिको गर्ने हो कि राष्ट्रिय सहमति र समाधानको बाटो लिने हो? जनता आशामा लामो प्रतीक्षा गर्न सक्ने परिस्थितिमा छैनन्, न त कसैको कब्जामा छन्। अहिलेलाई शंकाको लाभ दिनु उचित हुन्छ। अभूतपूर्व जनमत प्राप्त गरी प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई!
प्रकाशित: १५ चैत्र २०८२ ०८:४० आइतबार