‘क्वाकरी’ अर्थात् नक्कली। चिकित्सा क्षेत्रमा आर्थिक लाभ लिने ध्येयले उचित योग्यता वा इजाजतपत्रविना अभ्यास गर्ने व्यक्तिलाई चिनाउन ‘क्वाक’ शब्द प्रयोग हुन्छ। यसलाई नक्कली डाक्टर भन्न सकिन्छ। यस्ता डाक्टरले मानिसलाई मात्र होइन पशु कल्याण, खाद्य सुरक्षा र जनस्वास्थ्यमासमेत गम्भीर खतरा निम्त्याउन सक्छन्। तिनीहरूको गलत अभ्यासले जनावरमा पीडा, रोगको विस्तार र विशेषज्ञता बेगर रासायनिक पदार्थ वा औषधि प्रयोग गरी खाद्य उत्पादनमा समेत गम्भीर परिणाम निम्त्याउन सक्छ।
पशु चिकित्सामा ‘क्वाकरी’ बढ्दो संकट हो। यसले पशु स्वास्थ्यलाई त खतरामा पार्छ नै सार्वजनिक सुरक्षामा जथाभाबी गर्छ। त्यति मात्र होइन एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) बढाउन सघाउँछ। ग्रामीण क्षेत्रमा जहाँ योग्य पशु चिकित्सकहरूको अभाव हुन्छ, तिनले आफूलाई पशु चिकित्सकका रूपमा प्रस्तुत गर्छन्।
यी स्वघोषित चिकित्सकलाई सामान्यतया ढोंगी भनिन्छ। यिनीहरूले औपचारिक शिक्षा, प्रशिक्षण र नियामकको स्वीकृतिविना पशु रोगको निदान, उपचार र शल्यक्रिया गर्छन्। एन्टिबायोटिक, स्टेरोइड र अन्य औषधि तिनले जथाभाबी प्रयोग गर्दा पशु कल्याणलाई मात्र खतरामा पार्दैन मानव स्वास्थ्यमा समेत दूरगामी परिणाम निम्त्याउँछ।
दुधालु गाईको फाँचोमा पोलिरहेको हुन सक्छ। यस्तो बेला एन्टिबायोटिकले काम गर्दैन। ब्याक्टेरियाले हरेक उपचारलाई पचाइसकेको छ। यसका कारण प्रतिरोध क्षमता विकास गरिसकेको छ। पशुधनबाट उत्पादित खाना उपभोग गर्ने नौ अर्ब मानिसको संसार अहिले संकटमा छ। अब एक पटक प्रभावकारी भएका औषधिले काम नगर्ने भइसकेको छ।
यस्तो अवस्थामा हामी कसरी पुग्यौं त ? यसको उत्तर एन्टिबायोटिकको लापरबाहीपूर्ण प्रयोगलाई मानिन्छ। यस्तो गलत अभ्यास पशुचिकित्सा क्षेत्रमा नक्कली औषधिको अनियन्त्रित प्रयोगसँग गाँसिएको छ। मानिस र पशुबिच नक्कली डाक्टरको कामलाई बुझ्नु जरुरी छ। एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) पशु स्वास्थ्यका लागि मात्र खतरा होइन; मानिसका लागि पनि उत्तिकै जोखिम छ।
पशु र मानव स्वास्थ्यमा घनिष्ट सम्बन्ध छ। विशेष गरी दूध र मासुजन्य पदार्थको उपभोग अभिन्नरूपमा जोडिएको छ। नक्कली डाक्टरद्वारा एन्टिबायोटिकको अन्धाधुन्ध प्रयोग, उचित मात्रा, निकासी अवधि, वा फार्माकोडायनामिक्स (शरीरमा औषधि प्रभाव) लाई वास्ता नगरी उपयोग गर्दा पशुजन्य खाद्य उत्पादनमा औषधिका अवशेष जम्मा हुन थाल्छन्। यी अवशेष मानिसले उपभोग गरेपछि एन्टिबायोटिक–प्रतिरोधी ब्याक्टेरियाको विकास हुन्छ। यसैले एकै पटकमा निको हुने संक्रमणको उपचार अझ गाह्रो हुन्छ। यो प्रवृत्तिलाई नियन्त्रण नगरी निरन्तरता दिइरहने हो भने एन्टिबायोटिकले प्रभावकारिता गुमाउने सम्भावना हुन्छ।
सरकारका गरिबी निवारण योजनासहित धेरै कारकले ढोंगीहरूको प्रसारलाई बढावा दिन्छन्। यस क्षेत्रमा जिम्मेवारीपूर्वक अभ्यास गर्न आवश्यक ज्ञान वा नैतिक मापदण्ड प्रदान नगरी आधारभूत पशु चिकित्सा प्राथमिक उपचारमा मानिसलाई तालिम दिने सरकारका गरिबी निवारण योजना समावेश छन्।
पशुधन व्यवस्थापनमा तीनदेखि ६ महिने प्रशिक्षण दिने सरकारी कार्यक्रमले ठूलो संख्यामा ढोंगी चिकित्सक उत्पादन गरिरहेका छन्। यिनले वास्तविक पशु चिकित्सकहरूलाई अपेक्षाकृत सहयोग गर्नुको सट्टा आफैं अनियमित अभ्यास गर्न थाल्छन्। वित्तीय लाभ लिने ध्येयले विश्वविद्यालय र तालिम संस्थानहरूले कुनै कानुनी अनुमति बिना पशुचिकित्साका क्षेत्रमा प्रवेश गर्ने डिप्लोमाधारी उत्पादन गर्छन्।
नेपाल पशु चिकित्सा परिषद् (एनविसी) मा दर्ता पशु चिकित्सकले मात्र पशु चिकित्सा सेवा प्रदान गर्न सक्ने भनेर आदेश दिन्छ तर यी नियमहरूको कार्यान्वयनपक्ष साह्रै फितलो छ, जसले ढोंगी पशुचिकित्सक बढाउँछ।
यस्तो संकट बढ्नुमा औषधि कम्पनी पनि उत्तिकै जिम्मेवार छन्। उत्पादन प्याकेजिङमा सरलीकृत नेपाली वा अंग्रेजीमा पशु चिकित्सा औषधिहरूमा लेबल टाँसेर, तिनीहरूले अयोग्य व्यक्तिहरूलाई पूर्ण ज्ञानविना औषधि व्यवस्थापन गर्न सक्षम भएको भ्रम सिर्जना गर्छन्।
विश्वव्यापी मापदण्ड विपरीत पशु चिकित्सासम्बन्धी औषधिलाई वैज्ञानिक भाषामा लेबल टाँस्नु आवश्यक हुन्छ। स्थानीय औषधि प्याकेजिङमा सरलीकृत निर्देशनले ढोंगीहरूलाई एन्टिबायोटिकको दुरूपयोग गर्न सजिलो बनाउँछ, जसले गर्दा एएमआरको जोखिम अझ बढ्छ। पशु कल्याण र जनस्वास्थ्यमाथि औषधि बिक्रीको यस्तो प्राथमिकताले प्रतिरोधी ब्याक्टेरियाको फैलावटलाई तीव्र बनाउँछ।
यस सन्दर्भमा चिन्ताजनक प्रवृत्ति भनेको विज्ञानको नाममा अवैज्ञानिक अभ्यास गर्न केही इजाजत प्राप्त पशु चिकित्सकको संलग्नता हो। आर्थिक लाभका लागि केही पशु चिकित्सकले आफ्नो डिग्री र आधारभूत क्लिनिकल ज्ञान अयोग्य व्यक्तिलाई भाडामा दिन्छन् वा प्रशिक्षणविनाका सहायकहरूलाई आफ्नो व्यावसायिक आवरणमा काम गर्न तालिम दिन्छन्।
यो अभ्यासले पशु चिकित्सा सेवामा नागरिक विश्वास र पेशाको पवित्रतालाई कमजोर बनाउँछ। यिनीहरूले सामाजिक सञ्जालमार्फत भ्रम बढाउँछन्। प्रायः स्वघोषित पशु चिकित्सा विशेषज्ञहरू र सामाजिक सञ्जालमा योग्य पशु चिकित्सकहरू पनि- आफैं औषधि र गलत निदानको जोखिमलाई विचार नगरी उपचार प्रोटोकल प्रस्तुत गरिहेका देखिन्छन्। यस्ता क्रियाकलापले लापरबाहीपूर्ण तवरले औषधि प्रयोग गर्न बढावा दिन्छ।
विश्वभरका पशु चिकित्सा अभ्यासमा नक्कली पशु चिकित्सकको उपस्थिति, पशु कल्याण, खाद्य सुरक्षा र जनस्वास्थ्यका लागि गम्भीर चिन्ताको विषय हो।
प्रकाशित: ९ श्रावण २०८२ ०८:१९ शुक्रबार