नदी किनारा, अस्पताल, जताततै लासको थुप्रो देखिने हाम्रो मुलुक अहिले इतिहासकै कहालीलाग्दो नदीजन्य दैवीविपत्ति भोगिरहेको छ। यस्तो कठिन दैवीविपत्ति हामी नेपालीहरूले यसअघि कहिल्यै भोग्नुपरेको थिएन, काल्पनिक दन्त्यकथाजस्तै भइरहेको छ। जुन अहिले हामीहरू भोगिरहेका छौं। सपनाजस्तै भइरहेको छ। छापाहरूमा देख्ने र पढ्ने गर्छौं– चितवनमा दुई सय जनाको, पूर्वी नवलपरासीमा एक सय २५ जनाको, धादिङ, नुवाकोट र रसुवाका नदीका बगरहरूमा पनि असंख्य मात्रामा मानिसका लासहरू देखिन थालेका छन्। देखिने मात्र होइन, अब ती मानव र पशुपंक्षीका शवहरू कुहेर रोग फैलने महामारीको कारण फेरि अर्को समस्या देखापर्ने छ।
देशको रक्षक हिमालयबाट हाम्रा सबै हिमनदीको उत्पत्ति हुन्छ। नदीले जलस्रोतसम्बन्धी सबै काम गरेको छ। बिजुली उत्पादन र सिँचाइसम्बन्धी काम गरेको छ तर बर्सेनि तापक्रम बढेका कारण हिमालमा पनि हिउँ पग्लन सुरु गर्यो। हिमपहिरो आयो। नदी बढे, परिणाम भदौ १० गतेको बिर्सनै नसकिने घटना घट्यो। आर्थिक विशेषज्ञ र योजनाविद्हरूको तर्कअनुसार राष्ट्र १५ वर्षपछि धकेलियो। यस्तै त्रास दोलखा जिल्लास्थित छहेरोल्पा हिमताल फुट्ने प्रबल सम्भावना देखाएका थिए २०५५/५६ सालतिर भूगोलविद्हरूले। दोलखा भीमसेनका कारणले भन्नुपर्छ, अहिलेसम्म क्षति भएको छैन।
हाम्रो देशका अधिकांश बस्तीहरू नदी किनारामा छन्। पहाडी भूखण्डमा भिरालो ठाउँमा रहेका छन्। बाँकी बस्तीहरू पहाड र चट्टानमुन्तिर जोखिमपूर्ण अवस्थामा छन्। पूर्वी पहाडी भागभन्दा पश्चिमी चट्टानीय भिरहरू अग्ला छन्। जहाँ उत्तिस, गोब्रे सल्लो, लौठजस्ता रुखहरू नरोप्नाले बर्सेनि पहिरो पनि गइरहन्छ।
भोटेकोसीमा आएको बाढीले सोच्नै नसकिने घटना घट्यो। कसैको वंश विनाश गर्यो, कतिको सिन्दूर पुछियो, कतिको कलिलो उमेर बगाएर लग्यो। गोठका चौपाया, लगाएको बालीनाली त छिनभरमै बगरमा परिणत गर्यो, नुवाकोट, धादिङ, रसुवा, गोरखालगायत जिल्लाका बजार पूरै ध्वस्त बनायो। यो संकट कसरी सामना गर्ने, अल्पविकसित मुलुकका बाँचेका बासिन्दाका लागि भोलिका दिनमा ज्यादै ठुलो संकट देखापर्दै छ। संयुक्त राष्ट्रसंघको महासंघमा नेपाली प्रतिनिधिमण्डलले देशको जलवायु र छिमेकी राष्ट्रले देखाउनुपर्ने भावनात्मक एकताबारे व्यापक छलफल गर्नुपर्ने देखिन्छ।
सुदूरपश्चिम र कर्णालीका धेरै जिल्लाका बस्ती र सदरमुकामहरू नदी कटानका कारण जोखिममा परेका छन्। २०६८ सालमा दार्चुलाको सदरमुकाममा महाकाली नदीले पुर्याएको क्षति र पाँच जना व्यक्ति बगाएको घटना आलो नै छ। ४/५ तलाका पक्की घरहरू मात्र बगाएन, सदरमुकाम पूरै असर पार्यो। यसको तुलनामा भारतको धार्चुलामा त्यति असर परेन।
बझाङको सदरमुकाम कुमालतडोमा पन्ध्रौं शताब्दीमा भीषण बाढी आएको थियो, बस्ती पूरै बगरमा परिणत भएको थियो, शुर्मादेवीका कारण सो ठाउँ बच्न गयो। पछि राजा देवीजंगले सुन्दर बस्ती बसाले। सेती नदी र बाउलीगाणको दोभानमा अवस्थित चैनपुर अहिले पनि अत्यन्त जोखिममा रहेकाले समयमा नै बचाउनुहोस् भन्ने अर्ति दिनुहुन्छ बुढापाकाहरू। बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारको कथा पनि त्यहाँका बाउलीगाडसँग जोडिएको देखिन्छ। अछामको साँफेबगरबिच भागमा बग्दै आएको कैलाश खोलाले पुर्याएको क्षति जगजाहेर नै छ। मलिला फाँटहरू बगाएर बर्सेनि धानबाली नष्ट गरिनै राखेको छ।
जुम्लाको तिला नदीलाई जुम्लाको दुःख भन्ने गरिन्छ। जसरी हुग्ली नदीलाई बंगालको दुःख भनिन्छ। डोटीको बिच भाग भएर बग्ने हिमनदी सेतीले ठाउँठाउँमा बर्सेनि नोक्सान पुर्याइरहने खबर नयाँ होइनन्। कैलालीका विभिन्न ठाउँमा मोहना नदीले पुर्याएका क्षति र लगाएको धानबाली बर्सेनि नष्ट गर्दै आएको देखिन्छ।
नेपालको सीमापारिका चाँदनी र दोधाराको मानव बस्तीमा महाकाली नदी पसेर त्यहाँका बासिन्दा त्राही त्राही भइरहन्छन्। कयौं हेक्टर जमिन बगरमा परिणत गरेको वास्तविक कथा नयाँ होइन। जाजरकोटको मटेला बजार र अन्य गाउँमा पनि भेरी नदीको भेलले बर्सेनि बगाउँदा स्थानीयवासीहरू रातभर जाग्राम बस्ने गर्छन् वर्षायाममा। २०५६ सालको बाढी पछिल्लो उदाहरण हो।
म पनि देउडागीत संकलन गर्न जाँदा र कार्यक्रमको समयमा बेला बखत ती र अन्य ठाउँमा पुग्ने गरेको थिएँ। ती जोखिमयुक्त बस्तीका दृश्यहरू सम्झिँदा आङ जिरिङ्ङ हुन्छ। बझाङ तलकोटदेखि देउरासम्म सेती नदीले कति नोक्सानी गरेको छ, शब्दमा उतार्न सकिन्न।
यसैगरी बझाङको अन्नको भण्डार मानिएको खप्तड छान्नाको बिच भाग भएर बग्ने छान्नागाडमा २०७८ सालमा आएको भीषण बाढीका कारण देउडा सर्जक धनराज जोशीसहित आठ जना मानिसलाई हेर्दाहेर्दै बगायो। खेतीयोग्य जमिन छिनभरमै बगरमा परिणत गर्नुका साथै पशुपंक्षी, घरघट्ट बगाएर त्यसको क्षति सरकारले बेहोर्न सकेको छैन।
इतिहासको पाना पल्टाउँदा भदौमा बढी मात्रामा दैवीय विपत्ति परिरहेछ र पछिल्लो अवस्थामा भौतिक सम्पत्ति नष्ट गर्न मानवीय हातहरू पनि किन अग्रसर भइरहेछन् ? सोचनीय विषय बनेको देखिन्छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशका ऐतिहासिक धरोहरहरूको आगजनी, तोडफोडको कालो दाग मेटिन अझै समय लाग्नेछ।
यसैगरी तत्कालीन ओली सरकारका पालामा हिंसात्मक घटनाका कारण ७४ जना मानिसको ज्यान गएको थियो। जसको जगबाट बनेको वर्तमान बालेन सरकारलाई वर्तमानमा दैवीय विपत्तिको सामना गर्नुपरिरहेछ। विध्वंस गर्न जति सजिलो छ, देशलाई संकटबाट मुक्ति दिलाउन त्योभन्दा कठिन हुन्छ।
२०६५ भदौ १२ गते इराकको विद्रोही समूहद्वारा बिनाकारण १२ जना नेपालीलाई हत्या गरेको कुरा कुन नेपालीले बिर्सेको होला र ? त्यस्ता आततायी काम पनि छिमेकी राष्ट्रमा घटेका छन्। तैपनि नेपाली जातिले सहेर बस्नुपरेको छ। युवाहरू उदरपूर्तिका लागि बर्सेनि लाखौंको संख्यामा बिदेसिनु परेको छ।
अहिले नेपाल लासमय मुलुक बनेको छ। नुवाकोट, रसुवा, धादिङ, चितवन, नवलपरासीदेखि संघीय राजधानीका विभिन्न अस्पतालहरूमा थुप्रिएका लासहरूको पहिचानका लागि आफन्तहरूको भिड लागेको छ। कतै एउटै लासलाई आफ्नो परिवारको भनी दाबी संकेत गरिरहेछन्।
तस्बिरहरू हेर्दै काखमा दुधे बालक बोकेका केही महिला र वृद्धवृद्धाहरू रुँदै आफ्नाहरूको मृत शरीरलाई पहिचान गर्दै गरेको शिक्षण अस्पतालको कारुणिक दृश्यले मन थाम्न सकिँदैन। सरकारी तथ्यांकभन्दा धेरै मात्रामा क्षति भएको आकलन गरिँदै छ।
पाँच हजारभन्दा बढी विदेशी पर्यटकहरू अझै सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डको तथ्यांक रहेको छ। यसैगरी कैलाश मानसरोवर जाने क्रममा रहेका तीर्थयात्रीको संख्या पनि स्वदेशी र भारतीय नागरिकहरूको पनि निकै देखिन्छ।
नेपालको विपत्कालीन अवस्थाको गहिरो रूपमा मनन गरेर अकालमा ज्यान गुमाउने सयौं नेपालीहरूप्रति समवेदना प्रकट गर्दै दक्षिण एसियाली मुलुक बंगलादेशले संसद्मा नेपालको राष्ट्रगान बजाएर एक मिनेट मौनधारण गरेको दृश्य कारुणिक थियो। छिमेकी मुलुकले नेपाल र नेपाली जनताप्रति गरेको गहिरो माया नेपाली जनताले र सरकारले चिरकालसम्म सम्झिरहनुपर्छ। असल छिमेकी राष्ट्रको सच्चा कूटनीतिक व्यवहार हो यो।
हालै सबै दलका संसद्मा रहेका नेताहरूले पार्टीभन्दा माथि उठेर विपद्को यस्तो बेला साझा लक्ष्य लिएर संकटको घडीमा एकजुट भई काम गर्ने प्रतिबद्धता जनाउनु आफैंमा प्रशंसनीय कार्य मानिन्छ। संकटको बेला हामी सबैले निःस्वार्थ रूपमा सेवाका हातहरू मिलाउनु जरुरी छ। जुन अहिले बाढीग्रस्त क्षेत्रमा देखिएको छ।
प्रकाशित: १८ भाद्र २०८३ ०९:३१ बिहीबार