हरेक राष्ट्र विश्व कूटनीति र महाशक्तिका स्वार्थका कारणले आत्मनिर्णयको अधिकार गुमाइरहेका छन्। राष्ट्रिय चरित्र हराउन थालेको छ। आर्थिक र सामरिक हितमा ठूला राष्ट्रले निर्वल, निर्धन र निरीह राष्ट्रलाई नचाइरहनु नियमित आकस्मिकता बनेको छ। तसर्थ हाम्रो अबको बाटोमा हामी भ्रान्त पथिक बन्दा राष्ट्र झन् ठूलो संकटमा पर्नेछ।
सोभियत संघ टुक्राटुक्रामा विभक्त हुँदा पन्ध्र राष्ट्र जन्मिन सक्छन् भनेर कसैले कल्पना गरेकै थिएनन्। वासिङ्टनसँग सिङ जुधाउने प्रवल शक्तिको केन्द्र थियोे, मस्को। पूर्वी युरोपका हंगेरी, रोमेनिया, पोल्यान्ड, चेकोस्लोभाकिया, अल्बानिया, पूर्वी जर्मनीजस्ता कम्युनिस्ट राष्ट्रमा साम्यवादको सूर्यास्त हुन्छ भन्नेलाई बौलाहा भनिन्थ्यो।
क्युवा, भियतनाम र उत्तर कोरियाले पनि साम्यवाद धान्न सक्दैन भने पुँजीवादले पनि रूपान्तरण खोजिरहेको छ। असंलग्न परराष्ट्र नीति ‘फेल’ भयो भन्न लज्जित हुनुपर्दैन तर धेरै राष्ट्र असंलग्न हुन चाहन्छन्। त्यो बाटो सजिलो छैन। विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका दाताको प्रिय बनेर गुजारा चलाउनुपर्ने अवस्थामा रहेकाले नेपालजस्ता धेरै अल्पविकसित राष्ट्र असंलग्न रहेर बस्न सक्ने अवस्थामा छैनन्। अनेक शर्त र स्वार्थको चक्रव्यूहमा परेका अभिमन्यु बनेको छ, नेपाल। यसकारण हाम्रो भावी बाटो कता मोडिन्छ, त्यो विधातालाई पनि थाहा नहुन सक्छ।
सयौं वर्ष पहिले शक्ति प्रदर्शन गरेर बलशाली हुँ भन्ने जंगली पारा धेरै राष्ट्रले त्यागेका छैनन्। छरछिमेकीलाई आफ्नो रैती मान्ने सोच उस्तै छ। कूटनीतिक लेखापढीमा मित्र राष्ट्र भनिए पनि नेपाल जस्ता राष्ट्रलाई मौजा मान्ने छिमेकीको ठालुपन हामीले देखेकै कुरा हो। यस्तो छिमेकीले हाम्रो सत्तरी हजार हेक्टर क्षेत्रफल मिच्दा पनि सहेर बस्नु परेको सीमाविद बुद्धिनारायण श्रेष्ठले ‘नेपालको सिमाना’ पुस्तकमा लेख्नुभएको छ।
प्रश्न उठ्छ, निजी स्वार्थको रक्षा गर्न जुलुस निकाल्ने दलहरू, पेशाकर्मी, बुद्धिजीवी आदिले किन राष्ट्रिय हितका सवालमा मौनधारण गरिरहेका होलान्। उत्तर प्रष्ट छ, दलहरू राष्ट्र सर्वोपरि हुन्छ भन्ने मान्यता बिर्सेर दल र गुट बलियो बनाउने होडमा छन्। कसरी टिक्ने र कसरी चुनाव जित्ने भन्ने ध्याउन्नमा छन्। राष्ट्र हारिरहेको कुरालाई उनीहरूले गम्भीरतापूर्वक लिएको देखिँदैन।
विश्वेश्वरप्रसाद कोइराला को हुन् ? भनेर सोध्नेहरू पनि नेपाली कांग्रेसका सदस्य छन्। मदन भण्डारीले व्याख्या गरेको जबज के हो भन्नेको बहुमत देखिन थालेको छ, एमाले दलमा। धेरैलाई एमाले भनेको एकीकृत माक्र्सवादी लेनिनवादी भन्ने पनि थाहा छैन। कतिपयले त एमाले एनजिओ महासंघ भएको आरोप लगाइरहेका छन्।
व्यक्तिपुजा हरेक दलमा क्यान्सर जस्तो देखिन्छ। सिद्धान्त, नीति, दर्शन र लक्ष्य बिर्सेर सस्तो लोकप्रियता खोज्नेहरूको भीडले नेपाल राष्ट्रको सुदूर–भविष्य सुरक्षित राख्न सक्ला त?
यो पंक्तिकार अहिले मेची नदी किनारमा पर्ने क्षेत्रमा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका व्यक्ति र युवा अवस्थामा रहेका विद्यार्थीसँग विचार मन्थन गरिरहेको छ। धेरैजसो विद्यार्थी सकेसम्म युरोप अमेरिका र अष्ट्रेलिया जान चाहन्छन्। कमाउने उमेरका मानिस विदेश गएर धन कमाए मात्रै छोराछोरी पढाउन र वृद्ध अवस्थामा उपचार गर्न सकिन्छ भन्छन्। जनतालाई भोट दिने मेसिन मात्रै बनाइएको उनीहरूको गुनासो छ।
दलहरूलाई विश्वास नगरे पनि दलत्याग गर्ने साहस छैन। उनीहरू भन्छन्, एउटा ठूलो दलमा सदस्य भएपछि मात्रै सरकारी कर्मचारी वा प्रहरीले पनि टेर्छ। नेताले हप्काएपछि गलतलाई पनि सही भनेर प्रमाणित गरिन्छ। ठूलो दल भनेको ठूलो जात जस्तो मान्छ प्रशासनले। वैकल्पिक शक्ति हुने रहर गरेका राप्रपाजस्ता दलको आन्तरिक गज्याङमज्याङले गर्दा राजतन्त्र समर्थक हजारौं मानिस निराश बन्न थालेका छन्। ‘मैले राजा महेन्द्रका पालादेखि स्थानीय तह गाउँ पञ्चायतमा काम गरें। राजा महेन्द्रले विकेन्द्रीकरण र भूमिसुधार कार्यक्रम यहींबाट सुरु गरिबक्सेको थियो’, पुराना राजनीतिकर्मी मेघनाथ ढकाल भन्छन्, ‘मोहनमान सैंजु अधिकृत भएर आउनुभयो।
हामी विकासका काममा मात्रै लाग्यौं। ऊबेला जयपुर बुधबारे गाउँ पञ्चायत (हालको बुद्धशान्ति) विकासको नमुना थियोे। अहिले नब्बे वर्ष नाघिसकें। सुन्छु, अचेल विकासका कामभन्दा वैचारिक मतभेद बढी हुने गरेको छ। यसले निरासा बढाउन सक्छ।’ विश्वमा आर्थिक असमानता, भेदभाव (रङ, जात, धर्म आदिको विभेद), अन्तर्राष्ट्रिय षड्यन्त्र तथा आन्तरिक शक्तिबीचमा हुने संघर्ष जस्ता कारणले भयानक युद्ध, कलह र विग्रह भएको इतिहास छ।
खास गरेर दोस्रो विश्वयुद्धपछि स्वतन्त्र भएका धेरै राष्ट्र आर्थिक तनावमा परेर पुरानै मालिक राष्ट्रको पाउमा परे। स्वतन्त्रता मात्रै हात लाग्यो। धनका लागि छटपटाएका दरिद्र राष्ट्रका प्राकृतिक स्रोत साधन, दोहन गरेर पुराना मालिकले सीमित नेतालाई प्रलोभनमा पारेर उनको इच्छा अनुसार सरकार पाल्ने र ढाल्ने काम गरे। जातीय दंगा गराएर जनतालाई विभाजित गरे। फलतः गृहयुद्धमा लाखौं जनता मरे। शान्ति स्थापना गर्न भनेर राष्ट्रसंघले शान्ति सेना पठाए पनि लेवनान, अंगोला, रुआन्डालगायतका धेरै राष्ट्र जलिरहे। शान्ति गराउन जानेले धेरै ठाउँमा द्वैध चरित्र देखाए।
एक्काईस वर्ष अघि बुरुन्डीको राजधानी बुजुम्बुराका एक प्राध्यापकले पंक्तिकारलाई भनेका थिए, यहाँ खटिएको राष्ट्रसंघीय मिसनले शुद्ध काम गरेको देखिँदैन। यही कारणले विद्रोही सैनिक (फ्याब) निकै उत्ताउलो भएको जस्तो लाग्छ। हरेक कुरालाई ठट्टा बनाउने राजनीतिक नेतृत्व झन् खतरनाक हुन्छ। राष्ट्र जर्जर बनिरहेको छ। चुनौति थपिएका छन्। सरकार हरेक संकटमा रमाइलो गर्दै ‘रेशम फिरिरी’ शैलीमा नाचिरहेको देखिन्छ। राष्ट्र र जनता होइन, गुट र दलमा अल्मलिएका छन्, राजनीतिक महारथीहरू। भविष्यमा के हुन्छ, अन्योल छ।
२०४७ को संविधानमा संयुक्त जनमोर्चा (पछि माओवादी) देखि राजासमेतको भूमिका प्रष्ट थियोे। सबै अटाएका थिए। राष्ट्र निर्माण कार्यमा सबैलाई समेट्न खोजिएको थियोे। त्यो अवस्था अब रहेन। नेपाल नेपालीको निर्णयले चलोस् र बाहिरी शक्तिले हस्तक्षेप नगरोस् भन्ने विचार गरेर सबैले राष्ट्रिय स्वतन्त्रता बचाउने प्रण गरे मात्र भविष्य सुरक्षित हुन सक्छ।
होइन भने संकट गहिरिएर जानेछ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मृत्युको मुखमा छ। दक्षिण एसियाका राष्ट्रहरूबीच सुमधुर सम्बन्ध, सहयोग आदानप्रदान, प्रेम र भ्रातृभाव बढोस् भन्ने सदाशयले सो संगठन स्थापना भएकोमा आज त्यसको उपेक्षा गरिएको छ। अध्यक्ष भए पनि सार्कको प्रतिस्पर्धामा खोलिएको अर्को संगठनमा सहभागी हुनु कूटनीतिक नैतिकता विरुद्धको कदम भएको कतिपय कूटनीतिक विश्लेषकको तर्क छ। यसले कूटनीतिमा हाम्रो बाटो द्विविधामय देखिन्छ।
चीन र भारत दुबै मित्रले नेपाललाई थोरै मात्र भरोसा गरेको पाइन्छ। ससाना विवाद कूटनीतिक तवरले समाधान गर्नुपर्नेमा उग्र भाषामा ‘कटुनीति’ हल्ला चलाउनु अपरिपक्व र संस्कारहीन चरित्र मानिन्छ। कुनै बखत भारत र चीन तथा अमेरिका र सोभियत संघबाट राम्रो सहयोग पाउने नेपाल ‘घरको न घाटको’ हुन सक्ने अवस्था आउन सक्छ।
हामीले भारतद्वारा नेपालका विभिन्न ठाउँमा राखिएका सैनिक चेकपोस्ट, भारतीय मुद्राको प्रचलन, भारतीय पाठ्यपुस्तक हटाएर नेपाल साँच्चै स्वतन्त्र राष्ट्र हो भनेर पुनः पुष्टि गरेकै हो। खम्पा विद्रोह आफ्नै बुताले दमन गरेकै हो। संयुक्त राष्ट्रसंघमा ‘असंलग्न’ राष्ट्र भएर निर्भिक रूपमा छुट्टै धारणा राखेकै हो। यति हुँदाहुँदै पनि सबैसँग मित्रता राखेकै हो। आज ती घटनाक्रम कथा जस्तो लाग्न थालेको हो।
युवाले इतिहास पढे भने धेरै कुरा बुझ्नेछन्। तुलनात्मक अध्ययन गर्नेछन्। इतिहास कालो मात्रै हुँदैन, उज्यालो पनि हुन्छ। राम्रा कुरालाई निरन्तरता दिने उदार हृदयका देशभक्त सत्तामा पुगे भने भविष्यमा हामीले अवश्य पछुतो मान्नुपर्ने छैन।
प्रकाशित: ८ श्रावण २०८२ ०७:४७ बिहीबार