विद्यार्थीलाई विद्यालयको अति व्यवसायीकरण र अभिभावकको असीमित आकांक्षाबाट मुक्त गरिनु नै आजको आवश्यकता हो। झन्डै १२ घण्टाभन्दा बढी एकै ठाउँमा अलमल्याई थुनेर राख्नु राम्रो कुरा होइन। परीक्षामा राम्रो ग्रेड ल्याउने महत्त्वाकांक्षामा बढी घोकाउने, एउटै कोठामा थुनेर राख्ने कार्यले केटाकेटीको बौद्धिक विकासमा बाधा पुग्ने हुन्छ।
राम्रो ग्रेड र धेरै संख्यामा परीक्षामा उत्तीर्ण गराउने तथा विद्यार्थी र अभिभावकलाई आकर्षित बनाउने सोचबाट विकसित यस किसिमको धारणाले विद्यालयको व्यवसाय प्रवद्र्धन होला तर प्रतिभा प्रस्फुटन हुन कठिन हुन्छ। यस किसिमको चलन प्रायः निजी विद्यालयमा त थियो नै, अहिले आएर कतिपय सामुदायिक विद्यालयमा पनि विद्यार्थी संख्या बढाउन निजी विद्यालयको सिको गर्न थालेका छन्।
आज पनि हाम्रा कतिपय शिक्षक वा अभिभावक केटाकेटीलाई आफूले चाहेजस्तो बनाउन खोज्छन्। शिक्षामा यो सोच असान्दर्भिक भइसकेको छ। केटाकेटीले चाहेजस्तो बन्न सहयोग पुर्याउनु अभिभावक र शिक्षकको कर्तव्य हुन आउँछ। यस्ता कुरामा अभिभावक, शिक्षक, विद्यालय र समग्र शिक्षण प्रक्रियामै बदलाव नआई सम्भव हुँदैन। विद्यालयको शैक्षिक र व्यवस्थापकीय सुधार एक पक्षको मात्र भूमिकाले हुँदैन। यसका लागि प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, देशको शिक्षा नीति निर्माणमा प्रभाव पार्ने शिक्षाविद्, कर्मचारी र राजनीतिकर्मीहरूको ठुलो भूमिका हुन्छ।
अहिलेको शिक्षा प्रणालीमा विद्यालयको भूमिका ठुलो छ तर जसका निम्ति विद्यालय स्थापित भए, तिनका निम्ति आकर्षित हुने वातावरण बनाइएको छैन। विद्यालयमा केटाकेटीका लागि मनोरञ्जनात्मक ढंगले कक्षाकोठा आनन्ददायी बन्न नसक्दा र त्यहाँ केटाकेटीको इच्छा, विचार, जिज्ञासा र प्रयोगलाई कम वास्ता गरिँदा विद्यालय जानु नपरे हुन्थ्यो भन्ने मनोविज्ञानमा केटाकेटी देखिन्छन्।
केटाकेटी उच्छृंखल पनि बन्न जाने हुन्छन्। कतिपय शिक्षकले नियन्त्रणका लागि कडाइ पनि गर्न चाहन्छन्। तर, केटाकेटीलाई तह लगाउन जति प्रयत्न गरे पनि सम्भव नहुँदा शिक्षक असन्तुष्ट हुन्छन्। उता परीक्षामा केटाकेटीले राम्रो ग्रेड ल्याउन नसक्ने हुन्छन् र अभिभावक विद्यालय र शिक्षकसँग असन्तुष्ट बन्न पुग्दछन्।
विद्यालयका कक्षाकोठामा लामो समय बस्नुपर्ने हुँदा त्यहाँ मनोरम वातावरण र शिक्षकको आकर्षक व्यवहारको जरुरी छ। विद्यार्थीअनुकूल कक्षाकोठा नहुँदा विद्यार्थीलाई छटपटी हुन्छ। अनि तिनलाई रिस उठ्नु, दिक्क लाग्नु अस्वाभाविक हुँदैन। उपयुक्त वातावरण नभएका कक्षाकोठामा पढ्ने केटाकेटी यस्ता कुरा सहन बाध्य छन्। बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म एउटै कक्षाकोठाभित्र बस्न कम कठिन कुरा भएन। तर, मन नपर्दा नपर्दै पनि केटाकेटी सहेरै बस्ने गरेकै छन्।
शिक्षाका आजका चुनौती हिजोका जस्ता छैनन्। हिजो विद्यार्थी जसरी पनि शिक्षाको अवसरको खोजीमा सीमित थिए र केटाकेटीलाई विद्यालयमा सरिक गराउन बढी मिहिनेत गरिन्थ्यो तर आजको पुस्ता शिक्षाको गुणस्तरको खोजीमा छ। हाम्राजस्ता मुलुकमा शिक्षाको स्तर वृद्धिका लागि सरकारी अनुदानमा मात्र निर्भर नरही निजी स्रोतको सहभागिता पनि त्यत्तिकै जरुरी छ।
सुधार र समाज रूपान्तरणका जति कुरा गरे तापनि लामो समयदेखि शिक्षाक्षेत्र संक्रमणकालमै जेलिँदै आएको छ। यसरी विगतदेखि समस्या बल्झँदै आउँदै गरेको अवस्थामा वर्तमानमा समस्या थपिँदा झन् पेचिलो हुँदै आउन थालेको आभास दिलाउँछ। यसले गर्दा वर्तमान सरकार आएको त धेरै समय भएको छैन। यो अल्प अवधिमा शिक्षाको गति र मति भएन भन्न त मिल्दैन तर पनि अवस्था गम्भीर छ, सजग हुन भने जरुरी छ। सुरुवात राम्रो हुन सके भविष्य सकारात्मक बन्ने आशा राख्न सकिन्छ। तर, सुरुवातमै बिराउन थालियो भने त्यसपछिका दिनहरू झन् झन् बिग्रँदै जाने हुन्छन्।
हाम्रो शिक्षा क्षेत्रमा बहुआयामिक जटिलतालाई कसरी चिर्ने भन्ने समस्या यथावत् छन्। मुलुकभित्र विज्ञसँगको परामर्श, अन्य मुलुकका सफल अभ्यास अवलोकन गरी नीति निर्माणमा सहयोग पुर्याउन खोज्नुका साथै परिपक्व राजनीतिको नीति निर्माणमा सहयोग पुर्याउन खोज्नुका साथै परिपक्व राजनीतिको खाँचोको पनि त्यत्तिकै महसुस गरिएको छ।
आजको पुस्ता भनेको नै साइबर पुस्ता हो। यो पुस्ताअनुकूलको निम्ति नवीनतम प्रविधिको खोजी हुनु जरुरी छ। प्रविधि र एआई एउटा शक्तिशाली औजारको रूपमा देखापरिरहेको छ। यस्ता औजारलाई सञ्चालन गर्ने शिक्षण संस्थाहरूसम्म पुर्याउन, तिनलाई यस विषयको स्पष्ट शिक्षण दिन, प्रभावकारिता ल्याउन र व्यक्तिको क्षमता वृद्धि गर्न कसरी सकिन्छ, त्यो पनि एउटा समस्याकै रूपमा विद्यमान छ। बालबालिकासम्म यस किसिमको सूचना प्रवाह गर्न उपयुक्त प्रविधि प्रयोग हुन नसके उनीहरूको भविष्यका लागि प्रत्युत्पादक बन्न सक्दछ। यथार्थमा केटाकेटीको क्षमताभन्दा बढी भारी बोकाउन भने खोजिनु हुँदैन।
हुन त व्यावसायिक शिक्षण संस्थाहरू बढी सेवामूलकभन्दा नाफामूलक बन्दै जानु, कलिला बालबालिकालाई पनि नवीनतम बोझिला सूचना प्रवाह र प्रयोग गराउन खोज्नु र अभिभावकलाई आकर्षित गराई विद्यार्थी संख्या बढाउने काम गर्नु चाहिँ शैक्षिक कार्य मान्न सकिँदैन। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली, २०७७ समेत व्यवस्था भएको सन्दर्भमा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा ३ मा प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँच हुने व्यवस्था उल्लेख गरिएको छ।
त्यस्तै, दफा ४ ले शिक्षा प्रदान गर्ने दायित्व राज्यको तोकेको छ। शिक्षालाई सेवामूलकका रूपमा स्वीकारिएको छ। यसमा सार्वजनिक होऊन् वा निजी लगानीका वा गुठीअन्तर्गत सञ्चालित किन नहुन्, सबै सेवामूलकअन्तर्गत पर्नुपर्छ।
नेपालमा युवा पुस्ताका लागि सूचना प्रविधि, डिजिटल डिजाइन, भाषिक तथा अनुवाद, लेखन, डेटा विश्लेषण, अनलाइन शिक्षण र उद्यमशीलता सीप विकाससम्बन्धी शिक्षा प्रणाली चाहिन्छ। जुन शिक्षा डिग्रीकेन्द्रित मात्र नभएर व्यावहारिक सिप, सिर्जनात्मक सोच र नवप्रवर्तनउन्मुख हुनु जरुरी छ।
प्रकाशित: १० मंसिर २०८३ १३:०१ बिहीबार