विचार

नेपाली कांग्रेसको नीति र गगनको सन्देश

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले तोकेको समयमा महाधिवेशन सम्पन्न गर्न अब तीन महिना मात्र बाँकी छ।  यस अवधिमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत कार्यसमितिका सदस्यहरूले निर्वाह गर्नुपर्ने महत्त्वपूर्ण काम निकै देखिन्छन्।  नमिलेका विषयवस्तुदेखि देउवा समूहका नेताकार्यकर्तासँग पार्टी एकताका लागि हालसम्म उहाँहरूले गरेका प्रयासहरू स्तुत्य छन्।  परिणाममुखी भने देखिएको छैन।  लोकतान्त्रिक पार्टीभित्र मत–मतान्तर हुनु स्वाभाविकै हो तर पार्टीभित्रको विग्रह, चरम असन्तुष्टि र प्रत्येक व्यक्तिमा देखिएको अहम्पनले पार्टीलाई कतै जनताको डिलबाट त खसाल्दै छैन् ? यसबारे सचेत नागरिक र वास्तविक लोकतन्त्रवादीको मनमा चिसो परिरहेछ।

सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लोकतन्त्रका पक्षमा खरो रूपमा उभिएर नेपाली कांग्रेसका पुराना र उहाँहरूका समवयीभन्दा निकै माथि देखिन्छन्। संगठन विस्तार, लोकतान्त्रिक विचार, विपक्षी दलहरूसँगको सम्बन्ध र उदारभावना यी द्वय नेतामा करिब निष्कलंक देखिएकाले युवापंक्तिहरू खुला रूपमा प्रशंसा गर्छन्। त्यो प्रशंसा दुवैले कमाएको पुँजी हो। यो पुँजी नेताद्वयले ढिलो गरी कमाए। दश वर्ष पहिले दुवै नेता एउटै कित्तामा उभिनुपर्थ्याे, पार्टीभित्रका विसंगति बढार्न एक मनले लोकतान्त्रिक कुचो हातमा लिइसक्नुपर्थ्याे। सायद ढिलो भयो।  परिणाम पार्टीभित्र विकृति र विसंगतिको ढंगुर थुप्रिएर आकासियो।  जसको बाछिटा दूरदराजका कांग्रेसी र गैरकांग्रेसी जमातमा पनि देखाप¥यो। कताकता पार्टीभित्र निरंकुशता, हैकमवाद र ठालुपनले बास पायो।  त्यो दुर्गन्धको सिकार सबैभन्दा बढी मध्यम र निम्नवर्गीय कांग्रेसी कार्यकर्तामा पर्न गयो।

गत फागुन १३ गतेदेखि पूर्वप्रधानमन्त्री देउवा पत्नी आरजुसहित देशबाहिर छन्।  गम्भीर रोगी भए पनि यति लामो उपचारपछि स्वदेश फर्किसक्नुपर्ने हो।  सरकारले अकुत सम्पत्ति कमाएको आरोप र स्रोत खुलाउनका लागि रेड कर्नर नोटिस पत्नी आरजुका नाममा जारी गर्‍यो।  जलेको घर बुढानीलकण्ठस्थित निवासमा स्वकीय सचिवको हातमा थमायो।  लोकतन्त्रका पक्षमा जीवनभर उभिएको, तत्कालीन शाही आयोगले पनि असक्षम भनी थुनिएको व्यक्तिमा पक्राउ पर्ने डरले बसेको त पक्कै छैन होला।  जति छिटो स्वदेश फर्कियो, त्यति नै कल्याणकारी मार्ग देउवा दम्पत्तिलाई हुनेछ।  थाहा छैन, देउवाका नेपालका पुराना र वर्तमान सल्लाहकारले के राय दिइरहेका छन् ? जनताले थाहा पाउने गरी कुनै बेलाका सुदूरपश्चिमका ‘शेरे’ उपनामबाट परिचित, जननायक बिपी कोइरालाका सच्चा अनुयायी देउवाले यथाशीघ्र स्वदेश फर्कनु उपयुक्त हुनेछ।

२०३३ पुस १६ गते राष्ट्र र राष्ट्रियता बचाउनका लागि मेलमिलापको नीति लिएर बिपी साहससाथ स्वदेश फर्केको इतिहास ताजा छ।  जबकि मृत्युदण्ड हुनसक्नेलगायतका तत्कालीन सरकारले आठवटा मुद्दा बिपीमाथि लगाएको थियो।  यसैगरी गत पुस २७–३० गतेसम्म चलेको विशेष महाधिवेशनबाट सर्वसम्मत चुनिएका गगन थापा नेतृत्वको संस्थापन पक्ष र देउवा पक्षबिचको कांग्रेसी शीतयुद्ध सुरु भएको ६ महिना पूरा हुँदै छ। यस अवधिमा कांग्रेसी कचिंगल रसातलमा पुगेको देखेर मुलुकका प्रतिगामी शक्तिहरू खुसी हुँदै लोकतन्त्र, गणतन्त्रको उछितो काटिरहेछन्। संस्थापन पक्ष र देउवा पक्ष नाममा राजनीतिको मियो हातमा लिन चाहने समूहबिच पार्टीमा राजनीतिक घम्साघम्सी चलिरहेछ।  प्रतिदिन राजनीतिक सभादेखि चोक–चोकमा कांग्रेसीजन रमिता गरिरहेछन्। थाहा छैन, हङकङ र सिंगापुरबाट देउवाले आफ्ना कुनै बेलाका सात भाइ र डा. शेखर कोइरालालाई आफूलाई साथ दिन र संस्थापन पक्षमा नलाग्न राजनीतिक अर्ती दिइराखेका छन् या कांग्रेस एकजुट हुन आह्वान गरिराखेका छन्।  सबैथरी कांग्रेसी मनहरू जानकारी पाउन लालायित छन्।

जिम्मा विदेशमा भए पनि देउवाको हातमा देखिन्छ।  लोकतन्त्र बचाउको रातो टीका र पार्टी फुटाउने अभियानको कलंकको कालो टीका अहिले पनि देउवाको हातमा रहेको विश्लेषण गर्छन्।  तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका पुराना सबै नेताले लोकतन्त्र प्राप्तिका लागि जेजति कुर्बानी गरे, वर्तमान युवा पिँढीले मूल्यांकन गरिनै राखेका छन्।  अब पुराना पिँढीका कांग्रेसी नेताहरू कांग्रेसी व्यासाचार्यमा बसेर नवपिँढीका लागि अभिभावक भएर बस्नुहोस्, राजनीतिक हिस्सा नखोज्नुहोस्, भन्छन् युवा पिँढीहरू। गगनकुमार थापा, विश्वप्रकाश शर्माजस्ता युवा नेतालाई कांग्रेसी रथ हाक्ने अवसर दिनुहोस्।  पार्टीले अवलम्बन गरेको जरा अभियानमा साथ दिनुहोस्।

गगनकुमार थापा आफूभन्दा शीर्ष नेताहरूलाई मर्यादित व्यवहार देखाउँदै पार्टी एकताका लागि उहाँहरूको निवासमा पुग्नुभएको जानकारी प्राप्त भइ नै राखेको छ। उहाँहरूसँग पार्टी एकताका लागि विनीत भएर आफ्ना तर्क राखेको पनि सुनियो। क्रियाशील सदस्यता नवीकरण गर्ने समयावधि पनि लम्ब्याइयो।  यसैबिच कांग्रेस संस्थापनइतर पक्षबाट यही असार २२ गते आफ्नो समूहको सम्पर्क कार्यालय खोलिएको छ।

लोकतन्त्रमा राजनीतिक सम्बन्धको सेतु तन्काउन पाइन्छ तर छिनाउन पाइन्न।  यसैगरी बार्गेनिङ गर्न पाइन्छ तर मूल्य तोकेर होइन। ग्रिक दार्शनिक प्लेटोले भनेका छन् – राजनीतिमा विवाद र संवाद हुन्छ तर लोकतन्त्रलाई बचाएर संवाद हुन्छ। अहिले कांग्रेसमा संवादको खाँचो छ, आआफ्ना कमी–कमजोरी केलाउन जरुरी छ तर पिठ्यु फर्काएर होइन, आमने–सामने उभिएर खुला दिलले साथ दिएर।

यसैबिच मध्यमार्गी नेता मानिएका र कोइराला परिवारका राजनीतिक बिँडो थाम्ने डा. शेखर कोइरालाले सभापति गगन थापाले झैं पार्टीमा गरुंगो राजनीतिक डोको बोक्नुपर्ने देखिन्छ।  सो समाजवादी राजनीतिक डोकोको भारी शेखरले पश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङ जिल्लाका कार्यकर्ता र जनसमक्ष पुर्‍याउन सकेमात्र गुम्नै लागेको कोइराला परिवारको साख बच्नेछ।  होइन भने महाकाली र कोसीको पानी बगेझैं बग्नेछ बिपी कोइरालाबाहेकको कांग्रेसी राजनीतिक नदी। कोइराला परिवारको राजनीतिबाट कुनै बेला लोभिएर लागेकाहरू वर्तमान कालसम्म जीवित छन्। त्यसैले सभापति गगनकुमार थापासँग एकाकार भएर पन्ध्रौं महाधिवेशनको राजनीतिक रथ हाक्नुहोस्।  आजको आवश्यकता यही हो।  यसबाट नै पार्टी र राजनीतिक जीवनले सार्थकता पाउनेछ।

अहिले नेपालको राजनीति कताकता गतिहीन अवस्थामा जान लागेको आभास मिल्दै गइरहेको छ। दक्षिणको भारत र उत्तरको चीनसँगको सम्बन्धलाई सन्तुलित रूपमा कूटनीतिक तरिकाले सञ्चालन गर्न कांग्रेस पार्टीले मात्र सक्छ। आफू प्रधानमन्त्री बनेपछि यी दुवै छिमेकीसँग बिपी कोइरालाले जुन दौत्य सम्बन्ध कायम राखेका थिए, यसअघिका सरकारका प्रधानमन्त्रीले पनि सोही मार्ग अवलम्बन गरेका थिए। वर्तमान बालेन सरकारको दुई छिमेकीबिचको सम्बन्ध केही फरकजस्तो देखिँदै छ।  राष्ट्रिय स्वतन्त्र पार्टीका केही युवा सांसदबाट बेलाबेलाको बोली र व्यवहार सुन्दा, हेर्दा उनीहरूमा राजनीतिक परिपक्वताको कमी हो कि जस्तो देखिन्छ।

हालै राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सम्पन्न महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापाको सम्बोधनबाट उनी पनि स्व. प्रदीप गिरीजस्तै समाजवादका प्रखर व्याख्याता र परिपक्व हुँदै गरेका भरपर्दो नेता हुन् भन्ने कुरामा शंका छैन। सम्बोधनका क्रममा गगनले ‘नेपाली कांग्रेस तपाईंहरूको प्रतिस्पर्धी हो, दुस्मन होइन’ भने।

जहाँ विधि मिचिन्छ, त्यहाँ औंला उठाउँछौं भन्दै २०१८ माघ १८ गते तत्कालीन सरकारले नेपाली कांग्रेसका ५० जनाको हत्या गरेको इतिहास बताए।  जुन ठाउँमा कांग्रेसको चारतारे झन्डा बोकेर जय नेपाल भन्ने व्यक्तिहरूको लास गाडिएको छ, रातो रगतले भुईं लतपतिएको छ, त्यही ठाउँमा तपाईंहरूको निलो झन्डा गाडिएको छ भनी शालीन र सभ्य भाषामा राजनीतिक व्यंग्य गरे।  यस्ता गर्विला कुराहरू उनले संसद्मा गर्न पाएको भए अझ कति सान्दर्भिक हुन्थ्यो होला।  विडम्बना, पार्टीको आन्तरिक वैमनस्यका कारण गगनले संसदीय निर्वाचनमा पराजय भोग्नुपर्‍यो।

यसैगरी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद्मा दिएको मन्तव्य पनि चर्चाको विषय रह्यो।  यसबाट के बुझिन्छ भने लोकतन्त्रलाई बचाउने र साना–ठुला सबै दलको मियो त नेपाली कांग्रेस नै हो।  मुलुकको जेठो दलका रूपमा मात्र होइन, राजनीतिक सुझबुझका दृष्टिमा पनि नेपाली कांग्रेस अग्रपंक्तिमा पर्छ।  यिनै कुरा दर्साउँदै निवर्तमान सहमहामन्त्री किशोर सिंह राठौरले दाङमा दुवै कांग्रेस मिल्नुको विकल्प छैन भनी सन्देश दिएका छन्।

कांग्रेसको जरा अभियानलाई सफल पार्न सभापति थापाले निःस्वार्थ भएर काम गरून्।  विभिन्न कालखण्डमा सरकारमा गएका, मन्त्री पदमा रही काम गरेका व्यक्तिले यदि भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएका छन् र अदालतबाट दोषी ठहरिएको देखिन्छ भने उसको फड्के किनाराको साक्षी नबसून्।  कोदाको रोटी खाएर भए पनि इमानदारीसाथ चारतारे झन्डा बोक्दै, जनताको सेवा गर्दै रुखको छहारीमा बस्ने मौका सबैले पाऊन्।  पुराना पिँढीका सबैले यसका लागि पार्टी सभापति थापालाई विश्वास मान्दै गुट–उपगुटको अन्त्य गरी एकताका लागि साथ दिऊन्।  

प्रकाशित: २६ असार २०८३ ०६:५९ शुक्रबार