विचार

कोप-३१ पछि नेपालको जलवायु न्याय

टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ कुनै साझा राजनीतिक सम्झौताबिना समाप्त भयो। दुई सातासम्म चलेको वार्ता र अन्तिम समयसम्म भएका कूटनीतिक प्रयासपछि पनि १९८ राष्ट्रबिच सहमति जुट्न सकेन। यो केवल एउटा सम्मेलनको असफलता होइन, जलवायु संकटको सामना गर्न विश्व राजनीतिको सीमित इच्छाशक्तिको प्रतीक हो। पृथ्वी तीव्र गतिमा तातिरहेको छ, हिमालहरू पग्लिरहेका छन् तर जलवायु न्यायको प्रश्न अझै शक्तिशाली राष्ट्रहरूको राजनीतिक स्वार्थबिच अल्झिएको छ।

दुबईमा सम्पन्न कोप–२८ ले पहिलोपटक ‘जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने’ प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय सहमतिमा स्थान दिएको थियो तर अन्ताल्यामा उक्त प्रतिबद्धता कमजोर पार्ने प्रयास भएपछि विकसित र विकासशील राष्ट्रबिच गहिरो मतभेद देखापर्‍यो। तेल तथा कोइला उत्पादनमा निर्भर राष्ट्रहरू र जलवायु प्रभावबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूबिचको यही द्वन्द्व सम्मेलन निष्कर्षविहीन रहनुको प्रमुख कारण बन्यो।

संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरेसले सम्मेलनपछि भन्नुभयो, ‘हामी आगोमा इन्धन थपेर आगो निभाउन सक्दैनौं। वार्ता कक्षमा सहमति नहुन सक्छ तर विज्ञानमा कुनै अस्पष्टता छैन।’

यो भनाइ आजको जलवायु राजनीतिको यथार्थ चित्र हो। वैज्ञानिक प्रमाणहरू स्पष्ट छन्, विपत्तिहरू बढिरहेका छन् तर राजनीतिक निर्णयहरू अझै पर्याप्त साहसिक छैनन्। विश्व तापक्रम लगातार नयाँ कीर्तिमानतर्फ उन्मुख छ। पेरिस सम्झौताले निर्धारण गरेको १.५ डिग्री सेल्सियसको सीमा आज गम्भीर दबाबमा छ। हिमनदीहरू खुम्चिरहेका छन्, समुद्री सतह बढिरहेको छ र चरम मौसमीय घटनाहरूको आवृत्ति तथा तीव्रता बढ्दै गएको छ।

दुःखद पक्ष के हो भने यसका सबैभन्दा गम्भीर असरहरू ती मुलुकहरूले भोगिरहेका छन्, जसको योगदान संकट सिर्जना गर्न न्यून थियो। नेपाल त्यसको स्पष्ट उदाहरण हो।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान जम्मा ०.०५६ प्रतिशत मात्र छ तर जलवायु परिवर्तनका प्रभावले नेपालको हिमाली भूगोललाई गहिरो रूपमा प्रभावित गरिरहेको छ। हिन्दुकुश–हिमालय क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतभन्दा छिटो भइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।

हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, हिमतालहरू विस्तार भइरहेका छन् र पहाडी भूभाग अस्थिर बन्दै गएका छन्। २०८३ साल नेपालका लागि जलवायुजन्य हिमाली विपत्तिको वर्ष साबित भयो। रसुवा–भोटेकोसी क्षेत्रमा आएको विनाशकारी लेदोबाढी, पश्चिमी हिमाली क्षेत्रमा भएका बाढी–पहिरो तथा गोरखाको पहिरो–बाँध फुटेर आएको बाढीले हिमाली भूगोलमा जलवायु परिवर्तनका जोखिमहरू कति जटिल बन्दै गएका छन् भन्ने स्पष्ट पारे।

विशेषगरी रसुवा–भोटेकोसी विपत्तिले नेपालको विकास संरचनामाथि गम्भीर आघात पुर्‍यायो। नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा प्रकाशित ‘र्‍यापिड ड्यामेज एन्ड निड्स एसेसमेन्ट २०२६’ अनुसार उक्त विपत्तिबाट करिब ४० अर्ब ८२ करोड रुपैयाँबराबरको प्रत्यक्ष क्षति भएको छ भने पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि ७२ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ। जलविद्युत्, यातायात, व्यापार र स्थानीय अर्थतन्त्रमा परेको प्रभावले जलवायु जोखिम अब वातावरणीय विषय मात्र नभई विकास र आर्थिक स्थायित्वको प्रश्न बनेको देखाउँछ।

जलवायु न्यायको बहस

नेपालले संकट सिर्जना गरेको छैन तर संकटको सबैभन्दा ठुलो मूल्य तिरिरहेको छ। उत्सर्जनबाट समृद्ध भएका राष्ट्रहरू एकातिर छन्, जबकि त्यसको दुष्परिणाम भोग्ने मुलुकहरू अर्कातिर। यही असमानता नै जलवायु न्यायको केन्द्रीय प्रश्न हो। महासचिव गुटेरेसले अर्को सन्देश पनि दिनुभएको थियो, ‘यो संकट सिर्जना गर्न सबैभन्दा कम योगदान गर्ने देशहरूलाई यसको सबैभन्दा खराब परिणामहरू एक्लै सामना गर्न छोडिनुहुँदैन। यो जलवायु न्यायको विषय हो।’

वास्तवमा नेपालजस्तो हिमाली राष्ट्रको अवस्थाले यही यथार्थ देखाउँछ। उत्सर्जन नगण्य तर क्षति अर्बौं डलर। योगदान कम तर जोखिम अत्यधिक।

हालै नेपालले अन्तर्राष्ट्रिय नोक्सानी तथा क्षतिपूर्ति कोषबाट केही आर्थिक सहयोग पाएको छ तर अर्बौं डलर बराबरको क्षति र पुनर्निर्माण आवश्यकताबिच करोडौं डलरको सहायता पर्याप्त हुन सक्दैन। कसैको घर पूर्ण रूपमा जलेपछि उसलाई एक बाल्टिन पानी दिएर सहायता गरेको दाबी गरियो भने त्यो समाधान होइन, सांकेतिक सान्त्वना मात्र हुन्छ। आजको विश्वव्यापी जलवायु वित्तीय संरचना पनि धेरै हदसम्म यही विरोधाभासबाट ग्रस्त छ।

यही कारणले जलवायु वित्तलाई दया, अनुदान वा परोपकारका रूपमा होइन, उत्तरदायित्व र न्यायका रूपमा हेर्न आवश्यक छ। विकसित राष्ट्रहरूले दुई शताब्दीसम्म जीवाश्म इन्धनको प्रयोगमार्फत औद्योगिक समृद्धि हासिल गरे।

आज वातावरणमा सञ्चित अधिकांश ऐतिहासिक कार्बन त्यसै प्रक्रियाको परिणाम हो तर त्यसको वातावरणीय, सामाजिक र आर्थिक मूल्य विकासशील मुलुकहरूले तिरिरहेका छन्। यही ऐतिहासिक असमानतालाई धेरै विद्वान्ले ‘जलवायु ऋण’को संज्ञा दिएका छन्।

यस सन्दर्भमा विश्वव्यापी सम्पत्ति करको बहस पनि महŒवपूर्ण छ। विश्वका अर्बपतिहरूसँग केन्द्रित ट्रिलियन डलर सम्पत्तिमाथि सीमित प्रतिशतको वार्षिक कर लगाउन सकियो भने जलवायु अनुकूलन, नोक्सानी–क्षतिपूर्ति र हरित विकासका लागि विशाल वित्तीय स्रोत जुटाउन सकिन्छ।

यस्तो करले जलवायु वित्तलाई दातृ राष्ट्रहरूको राजनीतिक इच्छामा निर्भर हुनबाट मुक्त गर्न सक्छ। निश्चय नै यसको कार्यान्वयन सरल छैन। अन्तर्राष्ट्रिय कर सहकार्य, सम्पत्ति पारदर्शिता, वित्तीय नियमन र राजनीतिक सहमति आवश्यक पर्छ तर जलवायु संकटलाई विश्वव्यापी आपतकालीन अवस्थाका रूपमा स्विकार्ने हो भने यस्ता नवीन वित्तीय उपायहरूको बहस अपरिहार्य छ।

नेपालले अब केवल कोप सम्मेलनबाट आउने निर्णयहरूको प्रतीक्षा गरेर बस्नु हुँदैन। कूटनीतिक, कानुनी र प्राविधिक तीनवटै मोर्चामा सक्रिय रणनीति आवश्यक छ। पहिलो, अन्तर्राष्ट्रिय न्यायिक संयन्त्रहरूको उपयोग। अन्तर्राष्ट्रिय न्यायालय र अन्तर्राष्ट्रिय समुद्री कानुन न्यायाधिकरणका हालैका परामर्शात्मक रायहरूले जलवायु दायित्वका विषयमा नयाँ कानुनी आधार निर्माण गरेका छन्।

नेपालले जलवायु क्षतिलाई नैतिक आग्रह मात्र नभई कानुनी अधिकारका रूपमा उठाउनुपर्छ। दोस्रो, जीवाश्म इन्धन अप्रसारसम्बन्धी विश्वव्यापी पहलहरूलाई समर्थन गर्नुपर्छ। जलवायु संकटको समाधान केवल असर व्यवस्थापन गरेर सम्भव छैन। प्रदूषणको स्रोत नियन्त्रण अपरिहार्य छ। तेस्रो, राष्ट्रिय अनुकूलन क्षमता तीव्र रूपमा विस्तार गर्नुपर्छ। जोखिमयुक्त हिमतालहरूको व्यवस्थापन, उन्नत पूर्वसूचना प्रणाली, हिमाली भूगर्भीय निगरानी तथा नेपाल, चीन र भारतबिच वास्तविक समयको तथ्यांक आदानप्रदान संयन्त्र निर्माण अब विकल्प होइन, आवश्यकता हो।

आज नेपालको संघर्ष केवल आफ्ना हिमाल बचाउने संघर्ष होइन। हिमालय दक्षिण एसियाका करिब डेढ अर्ब मानिसको पानीको स्रोत हो। यहाँको वातावरणीय स्थायित्व ऊर्जा, कृषि, खाद्य सुरक्षा र क्षेत्रीय समृद्धिसँग प्रत्यक्ष जोडिएको छ। त्यसैले हिमालयको संकट स्थानीय मात्र होइन, क्षेत्रीय र वैश्विक संकट हो।

कोप–३१ ले विश्वलाई एउटा असहज सत्य सम्झाएको छ। विज्ञानले चेतावनी दिइरहेको छ, विपत्तिहरूले प्रमाण प्रस्तुत गरिरहेका छन् तर राजनीति अझै पछि परेको छ। हिमालहरू पग्लिरहेका छन्, हिमतालहरू जोखिमको सीमामा पुगेका छन्, पहाडहरू कमजोर बन्दै गएका छन् तर विश्वको नैतिक संवेदनशीलता र न्यायबोध भने अझै जमेकै देखिन्छ।

हिमालहरू हाम्रो सीमाभित्र छन् तर तिनको नियति विश्वसँग जोडिएको छ। न्याय यस्तै जमिरह्यो भने केवल हिमनदीहरू मात्र होइन, अन्तर्राष्ट्रिय सहकार्यप्रतिको विश्वास पनि पग्लिनेछ। त्यसैले नेपालले अब दयाको भाषा होइन, अधिकारको भाषा बोल्नुपर्छ। सहयोगको याचना होइन, जलवायु न्यायको माग गर्नुपर्छ किनकि हामी सहायता होइन, आफ्नो हिस्साको न्याय खोजिरहेका छौं। हिमाल पग्लिरहेका छन्। अब न्याय पनि पग्लनैपर्छ।

प्रकाशित: ८ मंसिर २०८३ ०८:०८ मंगलबार