विचार

मिडिया सचेतनाको माध्यम

आजको डिजिटल प्रविधिले जीवनका सबै पक्षमा गहिरो परिवर्तन ल्याएको छ। अब शिक्षा, सिकाइ, मनोरञ्जन र किनमेल सबै अनलाइन माध्यमबाट हुन्छन्। विश्वभरका समाचार, जलवायु परिवर्तनका असर, बैंकिङ सेवा, लगानीका अवसर, सरकारी वा निजी सेवासम्बन्धी सबै जानकारी हाम्रा औंलाको टुप्पोमै उपलब्ध छन्। तर, यही सुविधाले जोखिम पनि बोकेको छ– यही अनलाइन संसारले मानिसलाई ठग्न, धम्क्याउन र शोषण गर्न पनि सक्छ।

त्यसैले आजको युगमा मिडिया सूचना साक्षरता (एमआइएल) सबै उमेरका मानिसका लागि अत्यावश्यक आवश्यकता बनेको छ। एमआइएल भन्नाले विभिन्न मिडिया माध्यमको प्रयोगलाई जिम्मेवारीसाथ पहुँच, विश्लेषण, मूल्यांकन र सञ्चार गर्न सक्ने क्षमता भन्ने बुझिन्छ। अहिले विश्वभर अनलाइन ठगी र अपराधका घटनाहरू बढ्दै गएका छन्। मानिसको व्यक्तिगत सम्पत्ति साइबर अपराधीहरूले लुट्ने, वृद्धहरूलाई झुटो लगानी योजनामा फसाउने र बालबालिकालाई अनलाइनबाटै यौन शोषण वा अपहरणमा तान्ने घटनाहरू पनि बढेका छन्।

बालबालिका र वृद्धहरू यसमा बढी असुरक्षित समूह भए पनि अनलाइन उत्पीडन र ठगीका सिकार सबै उमेरका मानिस बनेका छन्। त्यसैले, अब हरेक देशका सरकारले मिडिया सूचना साक्षरतालाई औपचारिक शिक्षाको पाठ्यक्रममा समावेश गर्नुका साथै समुदाय स्तरका सचेतना अभियानहरू पनि सुरु गर्नु आवश्यक छ। जसले डिजिटल संसारका जोखिमबाट आफूलाई कसरी सुरक्षित राख्ने भन्ने जनतालाई सिकाउन मद्दत गर्छ।

शिक्षा कहिल्यै स्थिर हुँदैन। समय अनुसार शिक्षाको स्वरूप पनि परिवर्तन हुनुपर्छ। दक्षिण एसियाका धेरै देशमा परम्परागत रटन्ते शैली अझै प्रचलित छ तर यो प्रविधिको युगमा त्यस्तो प्रणालीले समाजका आवश्यकता पूरा गर्न सक्दैन। औपचारिक र अनौपचारिक दुवै शिक्षालाई समय र प्रविधिअनुसार परिवर्तन गर्न जरुरी छ। सिकाइ जीवनभर निरन्तर चल्ने प्रक्रिया हो। जन्मदेखि मृत्युसम्म मानिसले सिकिरहनैपर्छ। बाल्यावस्थामा जीवनपयोगी सिप सिक्नुपर्छ र उमेर बढ्दै जाँदा मानसिक र शारीरिक रूपमा सक्रिय रहन नयाँ सिप सिकिरहनु आवश्यक हुन्छ।

युनेस्कोको सन् २०२५ को प्रतिवेदनअनुसार एक सय ९४ सदस्य राष्ट्रमध्ये एक सय ७१ देशले एमआइएल वा सोसँग सम्बन्धित सिपहरू आफ्ना राष्ट्रिय नीतिमा उल्लेख गरेका छन् तर कार्यान्वयन भने अझै असमान र अपूर्ण छ। विश्वका जम्मा ४३ प्रतिशत देशले मात्र विद्यालय पाठ्यक्रममा एमआइएलसमावेश गरेका छन् भने २९ प्रतिशत देशले डिजिटल सिप सिकाउनेतर्फ मात्र ध्यान दिएका छन्। युरोप र उत्तर अमेरिकामा यो दर ९१ प्रतिशत पुगेको छ भने अफ्रिका, एसिया र ल्याटिन अमेरिका अझै पछाडि छन्, जसले सूचना साक्षरतामा गहिरो असमानता देखाउँछ।

उक्त प्रतिवेदनले मिडिया साक्षरतालाई आलोचनात्मक सोच, मिडिया विश्लेषण र नैतिक डिजिटल संलग्नता विकास गर्न सहयोगी बनाउनुपर्छ भन्नेमा जोड दिएको छ। धेरै देशमा एमआइएललाई अलग विषयका रूपमा होइन, विभिन्न विषयमा मिसाएर पढाइने गरिएको छ।

म विगत दुई दशकदेखि जीवनोपयोगीसिप विषयलाई नेपालको शिक्षामा समावेश गराउनका लागि अभियान चलाउँदै आएकी छु। मैले यस विषयमा प्रशिक्षण पुस्तिका तयार गर्नेदेखि विद्यालयका विद्यार्थी र युवा व्यवसायीहरूलाई तालिम दिने कार्यमा सहभागिता जनाएकी छु। हालसालै, नेपाल सरकारले उच्च माध्यमिक तहमा जीवनोपयोगीसिपलाई समावेश गरेको देख्दा खुसी लाग्यो, तर यो विषय सामाजिक शिक्षाको पाठ्यपुस्तकमासमावेश गरिएको छ। साथै यो यसलाई वैकल्पिक अंशका रूपमा मात्रै राखिएको छ। त्यसैले सबै विद्यार्थीले यो विषय पढ्न पाउँदैनन्।

नेपाल सरकारले यो विषय उच्च माध्यमिक शिक्षामा समावेश गरेपछि मैले कक्षा ८ देखि ११ सम्मका विद्यार्थीलाई तीन वर्षसम्म यो कोर्स पढाएकी थिएँ। विद्यार्थीहरूकै अनुसार जीवनोपयोगी शिक्षाले उनीहरूको आत्मबल बढाउनुका साथै आफूले पाएको पकेट मनी कति फजुल खर्चमा सकिएको रहेछ भन्ने कुरा बुझ्न मद्दत गर्‍यो।

त्यति मात्र होइन, उनीहरूका अभिभावकले पनि जीवनोपयोगी शिक्षा लिएपछि बच्चाहरू उनीहरूसँग बढी खुलेर कुरा गर्न थालेको बताएका छन्। तर विडम्बना के छ भने यो विषय सबै बच्चाले उच्च शिक्षा सकाएर विद्यालय छोड्नु अघि पढ्न पाएका छैनन्।

जीवनोपयोगीसिप साना कुरादेखि सुरु हुन्छ– बच्चालाई जुत्ता बाँध्न सिकाउनेदेखि वृद्धहरूले आफ्नो औषधी समयमै खान सम्झने सिप विकास गर्नेसम्म। माध्यमिक तह पार गर्ने विद्यार्थीले विज्ञान, प्रविधि, इतिहास, भूगोल मात्र होइन, खर्च कसरी योजना गर्ने, गलत साथीसँग कसरी दुरी राख्ने, समूहमा मिलेर कसरी काम गर्ने जस्ता व्यावहारिक सिप पनि सिक्नुपर्छ। यी सबै जीवनका आवश्यक सिप हुन्, जसमा अबमिडिया सूचना साक्षरता पनि समावेश हुनुपर्नेछ।

नेपालको हालको जीवन सिप पाठ्यक्रममा डिजिटल साक्षरताको उल्लेख भए पनि यसले एमआइएलको वास्तविक उद्देश्य पूरा गर्न सकेको छैन। बालबालिकालाई जीवनका यथार्थ चुनौती सामना गर्न सिकाउने यस्ता विषय वैकल्पिक होइन, अनिवार्य हुनुपर्छ। यसरी मात्र विद्यालयबाट निस्कने विद्यार्थीहरू पुस्तकमा मात्र सीमित नभई जीवनका व्यावहारिक सिपमा पनि दक्ष बन्न सक्छन्।

युनेस्कोको प्रतिवेदनले देखाएको छ कि जुन देशलेस्वतन्त्र वा मिश्रित एमआइएल नीतिअपनाएका छन् (हाल विश्वका १७ देश), उनीहरूले आलोचनात्मक सोच र मिडिया विश्लेषण प्रवर्धनमा बढी सफलता हासिल गरेका छन्। तर, जुन देशले एमआइएललाई केवल प्रविधिसम्बन्धी सिपका रूपमा मात्र हेरेका छन्, ती देश गलत सूचना, कृत्रिम बौद्धिकता र जटिल डिजिटल वातावरणसँग जुझ्न आवश्यक व्यापक सिप विकासमा पछि परेका छन्।

युनेस्कोको सिफारिसअनुसार मिडिया सूचना साक्षरता २१औं शताब्दीको मूलभूत सिपहो, जुन लोकतन्त्रलाई सुदृढ गर्न अपरिहार्य छ। नेपालजस्तो देशमा जीवन सिप र एमआइएल दुवै विषय शिक्षाको अनिवार्य अंग बन्न जरुरी छ। वास्तवमा एमआइएल आफैंमा जीवन सिप हो, जसले मानिसलाई सही सूचना पत्ता लगाउने, गलत प्रचारबाट बच्ने र जिम्मेवार डिजिटल नागरिक बन्न सिकाउँछ।

तर यो शिक्षा विद्यालयमा मात्र सीमित हुनुहुँदैन। नेपालको सामाजिक संरचना, वर्ग, जात, लिंग र ग्रामीण सहरी असमानताका कारण सबैले समान पहुँच पाउन कठिन छ। त्यसैले सरकारले नागरिक समाजसँग मिलेर एमआइएल पहुँचलाई समावेशी बनाउन नीतिगत ढाँचा तयार गर्नुपर्छ।

यसका लागि विद्यालय तहमाअनिवार्य एमआइएल विषयसुरु गर्नुका साथै सातै प्रदेशका स्थानीय तहहरूमा सचेतना अभियान चलाउन सकिन्छ। गाउँपालिका र नगरपालिकाका वडा कार्यालयहरू, जो जनताको नजिकका सरकार हुन्, ती इकाइले स्थानीय बासिन्दालाई एमआइएल तालिम दिन सक्नेछन्। यसरी एमआइएललाई सामुदायिक सिकाइका रूपमा विस्तार गर्न सकिन्छ।

नेपाल अहिले निर्वाचनको तयारीतिर अघि बढ्दैछ। यस्तो समयमामिडिया सूचना साक्षरता अझ महत्त्वपूर्ण विषय बनेको छ। गलत सूचना र भ्रामक प्रचारको प्रभावबाट मुक्त नागरिकले मात्र लोकतान्त्रिक समाजलाई बलियो बनाउन सक्छन्।

नेपालले समयमै सावधानीपूर्वक तयार गरिएको मिडिया सूचना साक्षरता कार्यक्रम लागु गर्न सकोस् भने हाम्रा नागरिकहरू डिजिटल दुनियामा सुरक्षित, जिम्मेवार र विवेकपूर्ण रूपमा अघि बढ्न सक्षम हुनेछन्। यही साक्षरता नै हाम्रो लोकतन्त्रको मेरुदण्ड बन्न सक्छ।

प्रकाशित: २८ कार्तिक २०८२ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App