विश्वको इतिहास हेर्दा हामी पाउँछौं - नेतृत्व कुनै लिंगमा सीमित हुँदैन। नेतृत्व जन्मिन्छ साहस, दूरदृष्टि, नैतिकता र राष्ट्रप्रतिको गहिरो समर्पणबाट । धेरै समयसम्म विश्व राजनीति र राज्य सञ्चालनको क्षेत्रमा पुरुषहरूको वर्चस्व देखिए पनि इतिहासले बारम्बार प्रमाणित गरेको छ कि महिलाहरूले पनि आफ्नो अदम्य इच्छाशक्ति, धैर्य र दृढ नेतृत्वबाट राष्ट्रको दिशा परिवर्तन गर्न सक्छन्। केही असाधारण महिलाहरूले केवल आफ्नो देशलाई मात्र होइन, सम्पूर्ण विश्वलाई प्रेरणा दिएका छन्। आज पनि उनीहरूको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ र भावी पुस्ताले उनीहरूको योगदानबाट मार्गदर्शन पाइरहेका छन्।
यस्तै प्रभावशाली महिला नेतृमध्ये एक हुन् इन्दिरा गान्धी । भारतकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा उनले अत्यन्त चुनौतीपूर्ण समयमा देशको नेतृत्व सम्हालेकी थिइन्। दृढ निर्णय क्षमता, राजनीतिक साहस र राष्ट्रिय हितप्रतिको अटल प्रतिबद्धताले उनलाई विश्व राजनीतिमा प्रभावशाली व्यक्तित्व बनायो । विशेष गरी सन् १९७१ को युद्ध र बंगलादेशको स्थापना सन्दर्भमा देखिएको उनको नेतृत्वले भारतको इतिहासमा महत्त्वपूर्ण स्थान पाएको छ।
त्यस्तै, बेलायतकी पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचर पनि इतिहासमा विशेष रूपमा स्मरणीय छन्। ‘आइरन लेडी’ भनेर चिनिने मार्गरेट थ्याचरले दृढ इच्छाशक्ति र कडा निर्णयका माध्यमबाट बेलायतको आर्थिक र राजनीतिक नीतिमा ठुलो परिवर्तन ल्याइन्। करिब एघार वर्षसम्म देशको नेतृत्व गर्दै उनले आर्थिक सुधार, औद्योगिक पुनर्संरचना र अन्तर्राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति कायम गरिन्।
आधुनिक विश्वमा महिला नेतृत्वको अर्को उत्कृष्ट उदाहरण हुन्– एन्जेला मार्केल। जर्मनीको चान्सलरका रूपमा उनले करिब १६ वर्षसम्म देशलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाइन्। वैज्ञानिक सोच, धैर्य र व्यावहारिक निर्णय क्षमताका कारण उनी केवल जर्मनीमा होइन, सम्पूर्ण युरोपेली संघभित्र पनि अत्यन्त प्रभावशाली नेतृका रूपमा चिनिइन्।
मानवीय नेतृत्वको उदाहरणका रूपमा जासिन्डा आर्डेनलाई पनि विश्वले विशेष रूपमा सम्झिन्छ। न्युजिल्यान्डकी प्रधानमन्त्रीका रूपमा उनले देखाएको सहानुभूति, संवेदनशीलता र दृढ निर्णय क्षमताले विश्वभर प्रशंसा प्राप्त गर्यो। कठिन परिस्थितिमा पनि उनले देखाएको शान्त र मानवीय नेतृत्वले आधुनिक राजनीतिमा नयाँ शैलीको परिचय गरायो।
अफ्रिकाको इतिहासमा पनि एलेन जोनसन सरलिफ महिला नेतृत्वको अत्यन्त प्रेरणादायी उदाहरणका रूपमा चिनिन्छिन्। उनी अफ्रिकाकी पहिलो निर्वाचित महिला राष्ट्रपति थिइन्। लामो गृहयुद्धपछि थलिएको लाइबेरियालाई पुनर्निर्माण र स्थिरताको मार्गमा ल्याउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। शान्ति, लोकतन्त्र र महिला सशक्तीकरणका लागि गरेको योगदानका कारण उनलाई नोबेल शान्ति पुरस्कारले सम्मानित गरिएको थियो।
यी सबै नेतृहरूको जीवनले एउटा गहिरो सन्देश दिन्छ– महिलाहरूलाई अवसर र विश्वास दिइयो भने उनीहरूले राष्ट्रलाई नयाँ दिशा दिन सक्छन्। दृढ संकल्प, स्पष्ट दृष्टि र राष्ट्रप्रतिको समर्पणले महिलाहरूले असम्भवजस्तो देखिने कामहरू पनि सम्भव बनाएका छन्।
यही सन्दर्भलाई हेर्दा नेपालको वर्तमान राजनीतिक यात्रा पनि एउटा महत्त्वपूर्ण मोडबाट गुज्रिरहेको छ। राष्ट्रको इतिहासमा कहिलेकाहीं यस्ता क्षण आउँछन्, जब अनिश्चितता, अस्थिरता र जनआक्रोशले राज्यका संस्थाहरूलाई गम्भीर परीक्षणमा राख्छ। नेपालले पनि हालै यस्तै एउटा संवेदनशील परिस्थिति अनुभव गरेको थियो।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले नेपालमा नयाँ पुस्ताको आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो। युवापुस्ताले सुशासन, पारदर्शिता, जवाफदेहिता र अवसरको माग गर्दै सडकमा उत्रिएको त्यो आन्दोलनले राज्यका संरचनाहरूलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो। आन्दोलनपछि केही समय देशमा अस्थिरता, अनिश्चितता र राजनीतिक दिशाहीनताको अनुभूति बढेको देखियो। धेरै नागरिकले देश मानौं अभिभावकविहीन अवस्थामा पुगेकोजस्तो अनुभूति गरेका थिए। देशमा कैयौं सहिद भए, रगतको खोलो बग्यो, राष्ट्रको सम्पत्ति भष्म भयो।
यही संवेदनशील र जटिल परिस्थितिमा राष्ट्रलाई स्थिरता र स्पष्ट दिशा दिन सक्ने नेतृत्वको आवश्यकता झनै तीव्र भयो । त्यस्तो अवस्थामा राष्ट्रिय बहसको केन्द्रमा आइन्– सुशीला कार्की। आफ्नो दृढ चरित्र, निष्पक्षता र न्यायप्रतिको अटल प्रतिबद्धताका कारण पहिल्यै राष्ट्रिय सम्मान कमाइसकेकी उनले कठिन परिस्थितिमा पनि राष्ट्रलाई स्थिरता र सन्तुलनको बाटोमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्।
उनको सार्वजनिक जीवन कुनै आकस्मिक घटनाको परिणाम होइन। यो दशकौंको मेहनत, अनुशासन, न्यायप्रतिको समर्पण र व्यक्तिगत इमानदारीको परिणाम हो। नेपाली समाजमा महिलाहरूले अझै पनि धेरै क्षेत्रमा अवसरका लागि संघर्ष गर्नुपरेको यथार्थबिच उनले आफ्नो क्षमता र दृढ इच्छाशक्तिबाट असम्भवजस्तो देखिने सीमाहरू पार गरेकी छन्।
जेनजी आन्दोलनपछि देशमा देखिएको राजनीतिक तनाव र सामाजिक असन्तोषलाई व्यवस्थापन गर्नु कुनै सरल कार्य थिएन। तर केही महिनाभित्रै उनले परिस्थितिलाई सम्हाल्दै देशलाई स्थिरताको दिशामा अघि बढाउने प्रयास गरिन्। करिब ६ महिनाभित्रै जटिल राजनीतिक समीकरण, सामाजिक दबाब र जनअपेक्षाबिच सन्तुलन कायम गर्दै राष्ट्रलाई व्यवस्थित मार्गमा लैजान उनको नेतृत्व महत्त्वपूर्ण बन्यो। साथै ६ महिनाभित्र असम्भव निर्वाचनलाई सम्भव बनाई देशलाई नयाँ राजनीतिक मोडमा ल्याइन्।
उनको नेतृत्व ऐतिहासिक बन्नुको अर्को कारण पनि थियो– नेपालको इतिहासमा महिलाको नेतृत्वलाई नयाँ उचाइमा पुर्याउने सन्देश। नेपालजस्तो समाज, जहाँ महिलाले अझै पनि आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा धेरै चुनौतीको सामना गर्नुपर्छ, त्यहाँ एक महिलाले राष्ट्रको नेतृत्व सम्हाल्नु अत्यन्त प्रेरणादायी घटना हो । यसले समाजलाई एउटा गहिरो सन्देश दिन्छ– नेतृत्व क्षमता लिंगले होइन, चरित्र, दृष्टि, क्षमता र राष्ट्रप्रतिको प्रतिबद्धताले निर्धारण गर्छ।
नेपालका गाउँदेखि सहरसम्म महिलाले समाज निर्माणमा असाधारण योगदान दिएका छन्। कृषि क्षेत्र, शिक्षा, उद्यमशीलता, सामाजिक सेवा र परिवार व्यवस्थापनमा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ तर पनि लामो समयसम्म उनीहरूको नेतृत्व क्षमताले औपचारिक रूपमा पर्याप्त मान्यता पाउन सकेको थिएन। सुशीला कार्कीको उदयले यही धारणा बदल्ने संकेत दिएको छ।
उनको नेतृत्वले देखाएको छ कि जब महिलालाई अवसर र जिम्मेवारी दिइन्छ, उनीहरूले कठिनतम परिस्थितिमा पनि सशक्त निर्णय लिन सक्छन् र राष्ट्रलाई स्थिरताको दिशामा अघि बढाउन सक्छन् । चौबिसै घण्टा यो देशलाई सही दिशामा कसरी ल्याउन सकिन्छ भनेर उनी लागिरहेकी देखिन्छिन्।
जेनजी आन्दोलनले पनि यही सन्देश दिएको थियो कि युवापुस्ता अब निष्क्रिय दर्शक होइन। उनीहरू देशको भविष्य निर्माणमा सक्रिय भूमिका चाहन्छन्। उनीहरू पारदर्शी शासन, न्यायपूर्ण व्यवस्था र अवसरमूलक समाजको अपेक्षा राख्छन्। यस्ता अपेक्षाहरूलाई सम्बोधन गर्न सक्षम नेतृत्व आवश्यक हुन्छ। नेतृत्वले केवल प्रशासनिक निर्णय मात्र होइन, समाजका विभिन्न वर्गबिच विश्वास र संवादको पुल पनि निर्माण गर्नुपर्छ।
सुशीला कार्कीको नेतृत्वले यही सन्तुलन कायम गर्ने प्रयास गरेको देखिन्छ। अनुशासन, नैतिकता र जिम्मेवारीमा आधारित शासनको आवश्यकता उनले स्पष्ट रूपमा देखाएकी छन्। लोकतन्त्र केवल निर्वाचनको प्रक्रियामा सीमित हुँदैन, यो सुशासन, जवाफदेहिता र नागरिक अधिकारको संरक्षणसँग गहिरो रूपमा जोडिएको हुन्छ।
आज नेपालमा महिला सशक्तीकरणको आन्दोलन उल्लेखनीय रूपमा अघि बढिरहेको छ। महिला उद्यमीहरू बढिरहेका छन्, महिलाहरू नेतृत्वका विभिन्न तहमा सक्रिय भइरहेका छन् र सामाजिक परिवर्तनका आन्दोलनहरूमा महिलाहरूको सहभागिता निरन्तर विस्तार भइरहेको छ।
यद्यपि अझै पनि राजनीतिक नेतृत्वका उच्च तहहरूमा महिलाको उपस्थिति सीमित छ। यही सन्दर्भमा सुशीला कार्कीको नेतृत्वले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ।
उनको उदाहरणले स्पष्ट सन्देश दिन्छ– महिलाहरूले संकल्प लिन्छन्, उनीहरूसँग स्पष्ट दृष्टि र दृढ इच्छाशक्ति हुन्छ भने कुनै पनि लक्ष्य असम्भव हुँदैन।
महिलाहरूले राष्ट्रलाई संकटबाट निकाल्न, स्थिरता कायम गर्न र विकासको दिशामा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। अन्ततः इतिहासले सधैं त्यस्ता नेतालाई सम्झन्छ, जसले संकटको समयमा राष्ट्रलाई सही दिशा दिन सके।
विश्वका महान् महिला नेतृहरूका जस्तै नेपालको कठिन समयमा देखिएको सुशीला कार्कीको नेतृत्व पनि प्रेरणादायी अध्यायका रूपमा स्मरणीय रहनेछ । उनको यात्राले नेपाली समाजलाई एउटा सशक्त सन्देश दिएको छ– महिलाले चाहे भने सबै सम्भव छ, महिलाले नेतृत्व सम्हाले भने राष्ट्रलाई नयाँ दिशा दिन सकिन्छ भन्ने जिम्मेवारीसहितको सपना पनि देखाएकी छन्।
नेपालको लोकतान्त्रिक यात्रामा साहस, दृष्टि र समर्पणको यो अध्याय भविष्यका पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ।
- अध्यक्ष, नेपाल रिपब्लिक मिडिया
प्रकाशित: २४ फाल्गुन २०८२ ०८:४० आइतबार