व्यक्तिगत कमजोरीले आविष्कारको इतिहास मेटिँदैन तर विश्वव्यापी प्रविधिको नेतृत्व गर्ने व्यक्तिले आफ्नो निजी आचरण र संस्थागत जिम्मेवारीबिचको सीमा बुझ्नैपर्छ। विश्व आज एउटा यस्तो युगमा प्रवेश गरिसकेको छ, जहाँ शक्ति केवल सेना, आणविक हतियार, प्राकृतिक स्रोत वा राजनीतिक प्रभावबाट मात्र मापन हुँदैन। अब विश्वको शक्ति प्रविधिमा छ, कृत्रिम बुद्धिमत्तामा छ, सेमिकन्डक्टर चिपमा छ र भविष्यको अर्थतन्त्रलाई नियन्त्रण गर्न सक्ने ज्ञान तथा आविष्कारमा छ। जसले प्रविधिको भविष्य निर्माण गर्छ, उसैले भोलिको विश्व अर्थतन्त्र, रोजगारी, शिक्षा, सुरक्षा र मानव जीवनको दिशा प्रभावित गर्न सक्छ। यही परिवर्तित विश्व व्यवस्थामा एउटा नाम अत्यन्त प्रभावशाली रूपमा स्थापित भएको थियो– जेन्सेन हुआङ।
अमेरिकाको सिलिकन भ्यालीबाट उदाएको एनभिआइडिआइए नामक कम्पनीलाई विश्वको एआई प्रविधिको अग्रपंक्तिमा पुर्याउने व्यक्ति जेन्सेन हुआङ हुन्। सामान्य आर्थिक पृष्ठभूमिबाट आएका, आफ्नो सपना र मेहनतमा विश्वास गर्ने एक आप्रवासी उद्यमीले विश्वकै शक्तिशाली प्रविधि उद्योगमध्ये एकको नेतृत्व गर्न सफल हुनु आफैंमा प्रेरणादायी इतिहास हो। उनले केवल एउटा कम्पनी स्थापना गरेनन्, विश्वले कम्प्युटरलाई हेर्ने दृष्टिकोण, प्रविधिको प्रयोग र भविष्यको सम्भावनालाई समेत नयाँ दिशा दिए। आज त्यही व्यक्तिको नाम एउटा गम्भीर विवादसँग जोडिएको छ।
चीनसँग सम्बन्धित एक व्यवसायी महिलासँगको कथित प्रेम सम्बन्ध, सम्भावित विदेशी गुप्तचर गतिविधिसम्बन्धी अमेरिकी आशंका, कम्पनीभित्रको संस्थागत अनुसन्धान र अन्ततः प्रमुख कार्यकारी अधिकृत पदबाट उनको राजीनामा। यी घटनाले एउटा महत्त्वपूर्ण प्रश्न उठाएका छन्– के कुनै महान् व्यावसायिक उपलब्धि हासिल गरेको व्यक्तिको निजी कमजोरीले उसको सम्पूर्ण योगदानलाई समाप्त गर्न सक्छ? के व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षाको प्रश्न एउटै विषय हुन्? के विश्व प्रविधिको भविष्य निर्माण गर्ने व्यक्तिले आफ्नो निजी जीवनलाई पूर्णतः व्यक्तिगत भन्दै संस्थागत जिम्मेवारीबाट अलग राख्न सक्छ ? यी प्रश्नको उत्तर भावनामा होइन, तथ्य, विवेक र न्यायपूर्ण विश्लेषणमा खोज्नुपर्छ।
एउटा साधारण सुरुआतबाट विश्व प्रविधिको शिखरसम्म जेन्सेन हुआङको जीवनयात्रा कुनै एक दिनमा बनेको सफलता होइन। सन् १९९३ मा उनले आफ्ना सहसंस्थापकहरूसँग मिलेर एनभिआइडिआइए स्थापना गरे। त्यसबेला आजको जस्तो कृत्रिम बुद्धिमत्ताको विश्वव्यापी बजार थिएन। कम्प्युटर उद्योगको भविष्य के हुन्छ भन्ने विषयमा पनि आजजस्तो स्पष्टता थिएन तर हुआङले ग्राफिक्स प्रोसेसिङ युनिट अर्थात् जिपियु प्रविधिको सम्भावना पहिचान गरे।
सन् १९९९ मा एनभिआइडिआइएले जिपियु प्रविधिलाई नयाँ उचाइमा पुर्यायो। सुरुमा कम्प्युटर गेम, ग्राफिक्स र दृश्य प्रविधिका लागि महत्त्वपूर्ण मानिएको यही प्रविधि पछि वैज्ञानिक अनुसन्धान, ठुला तथ्यांकको विश्लेषण, मेसिन लर्निङ र कृत्रिम बुद्धिमत्ताको आधार बन्यो।
आज विश्वभरका अनुसन्धानकर्ता, विश्वविद्यालय, प्रविधि कम्पनी, अस्पताल, उद्योग र सरकारहरूले प्रयोग गर्ने एआई प्रणालीको विकासमा एनभिआइडिआइएका चिप र कम्प्युटिङ संरचनाको ठुलो भूमिका छ। उनको सबैभन्दा ठुलो व्यावसायिक विशेषता भविष्यको सम्भावना चिन्न सक्ने क्षमता थियो। धेरैले जिपियुलाई केवल गेम खेल्ने कम्प्युटरको उपकरण ठानिरहेका बेला उनले यसलाई भविष्यको कम्प्युटिङको आधार बनाउन सकिन्छ भन्ने सोच विकास गरे। यही दूरदृष्टिले एनभिआइडिआइएलाई सामान्य चिप निर्माता कम्पनीबाट विश्वव्यापी एआई पूर्वाधार निर्माण गर्ने कम्पनीका रूपमा स्थापित गर्यो। उनले ओरेगन स्टेट विश्वविद्यालयबाट विद्युतीय इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरेका छन्। उनको सफलताको आधार केवल शैक्षिक प्रमाणपत्र होइन, निरन्तर अनुसन्धान, प्रविधिमा लगानी जोखिम लिन सक्ने क्षमता र लामो समयसम्म एउटै लक्ष्यमा केन्द्रित रहने नेतृत्व हो।
एनभिआइडिआइएको आधिकारिक जीवनीले पनि कम्पनीको स्थापनादेखि आधुनिक एआईको विकाससम्म उनको योगदानलाई उल्लेख गरेको छ। यसैले हुआङको व्यावसायिक यात्रालाई एउटा विवादका कारण पूर्ण रूपमा अस्वीकार गर्नु न्यायसंगत हुँदैन। उनले सिर्जना गरेको प्रविधि, रोजगारी, लगानी र विश्वव्यापी औद्योगिक प्रभाव व्यक्तिगत जीवनभन्दा धेरै ठुलो विषय हो तर यही उपलब्धिले उनलाई नैतिक र संस्थागत जिम्मेवारीबाट मुक्त पनि गर्दैन।
प्रेम सम्बन्धको विवाद कि राष्ट्रिय सुरक्षाको प्रश्न?
हाल सार्वजनिक भएको विवादलाई केवल कसैको प्रेम सम्बन्ध वा निजी जीवनको घटनाका रूपमा बुझ्नु पर्याप्त हुँदैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार हुआङको चीनसँग सम्बन्धित व्यवसायी एलिस हुआङसँग सम्बन्ध रहेको विषय सार्वजनिक भएको छ। उनीहरूबिचको सम्बन्धलाई लिएर अमेरिकी अधिकारीहरूले एलिस हुआङमाथि चीनका लागि जासुसी गरेको हुन सक्ने आशंका गरेको समाचार सार्वजनिक भएको छ तर यहाँ एउटा महत्त्वपूर्ण तथ्य स्पष्ट गर्नुपर्छ– कुनै व्यक्तिमाथि गुप्तचर गतिविधिको आशंका हुनु र उनी वास्तवमै विदेशी सरकारका लागि जासुसी गरिरहेको प्रमाणित हुनु एउटै कुरा होइन।
रोयटर्सले नोभेम्बर १४ मा प्रकाशित आफ्नो अनुसन्धानात्मक समाचारमा एलिस हुआङ चीन सरकारका तर्फबाट काम गरिरहेको तथ्य आफूले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको स्पष्ट पारेको छ। चीनले पनि उनी जासुस भएको आरोप अस्वीकार गरेको समाचारमा उल्लेख छ। त्यसैले उनलाई प्रमाणबिना जासुस भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन। अर्कातर्फ, हुआङले आफ्नी पत्नीप्रति बेइमान भएको र परिवार तथा कम्पनीलाई निराश बनाएको भन्दै माफी मागेको समाचार सार्वजनिक भएको छ। यो घटनाले उनको निजी जीवनमा नैतिक प्रश्न उठाएको छ। तर वैवाहिक सम्बन्धमा भएको कमजोरी र विदेशी शक्तिका लागि गोप्य सूचना उपलब्ध गराएको आरोपलाई एउटै प्रमाणका रूपमा प्रस्तुत गर्न मिल्दैन। हामीले यहाँ दुईवटा विषय छुट्याउनुपर्छ। पहिलो, एक व्यक्तिको वैवाहिक तथा व्यक्तिगत जीवनमा भएको नैतिक कमजोरी। दोस्रो, विश्वकै महत्त्वपूर्ण प्रविधि कम्पनीको नेतृत्वमा रहेको व्यक्तिको सम्बन्धले कम्पनीको गोप्य सूचना, व्यापारिक रणनीति, ग्राहकको तथ्यांक र राष्ट्रिय सुरक्षामा सम्भावित जोखिम सिर्जना गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न। पहिलो विषय पारिवारिक र नैतिक जिम्मेवारीसँग सम्बन्धित छ। दोस्रो विषय संस्थागत सुशासन र राष्ट्रिय सुरक्षासँग सम्बन्धित छ।
नोभेम्बर १२ मा एनभिआइडिआइएको नेतृत्वमा अप्रत्याशित रूपमा गरिएको परिवर्तन विवाद केवल सामाजिक सञ्जालमा चलेको हल्लामा सीमित रहेन। एनभिआइडिआइएले नोभेम्बर १० मा कम्पनीको स्वतन्त्र सञ्चालक समितिले यस विषयमा स्वतन्त्र अनुसन्धान गराउन कानुनी परामर्शदाता नियुक्त गरेको जानकारी सार्वजनिक गरेको थियो। नोभेम्बर १२ मा कम्पनीले एउटा महत्त्वपूर्ण घोषणा गर्यो।
जेन्सेन हुआङले कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको सदस्य पदबाट तत्काल लागु हुने गरी राजीनामा दिए। कम्पनीको आधिकारिक घोषणाअनुसार प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइयो। स्थायी उत्तराधिकारी चयन गर्न सञ्चालक समितिले प्रक्रिया अघि बढाउने जनाएको छ।
यो सामान्य नेतृत्व परिवर्तन मात्र होइन, तीन दशकभन्दा बढी समयसम्म कम्पनीको निर्माण र विस्तारमा केन्द्रित रहेको संस्थापक नेतृत्वबाट भएको अलगाव पनि हो। एनभिआइडिआइएको इतिहाससँग हुआङको नाम गहिरो रूपमा जोडिएको छ तर उनको राजीनामाको कारणबारे पनि सावधानी अपनाउनुपर्छ। कम्पनीको आधिकारिक विज्ञप्तिले राजीनामालाई विवादको कुनै एउटा कारणसँग स्पष्ट रूपमा जोडेको छैन। त्यसैले उनले केवल चीनसँग सम्बन्धित कथित प्रेम सम्बन्धका कारण राजीनामा दिएका हुन् भनेर निश्चित निष्कर्ष निकाल्नु उचित हुँदैन। घटनाबारे कम्पनीको स्वतन्त्र अनुसन्धान र सम्बन्धित पक्षको आधिकारिक जवाफलाई पनि ध्यान दिन आवश्यक छ।
कुनै पनि व्यक्तिले आफ्नो निजी जीवनका विषयमा गलत निर्णय लिन सक्छ तर जब त्यो व्यक्ति विश्वव्यापी कम्पनीको नेतृत्वमा हुन्छ, त्यस्ता निर्णयले संस्थागत विश्वासमा असर पार्न सक्छन्। नेतृत्वको पद केवल अधिकार र प्रतिष्ठा होइन, त्यो विश्वास र उत्तरदायित्व पनि हो।
चीनसँगको सम्बन्ध: व्यापार, प्रतिस्पर्धा र प्रविधिको राजनीति
यस घटनाको अर्को महत्त्वपूर्ण पक्ष चीन र अमेरिकाबिचको प्रविधि प्रतिस्पर्धा हो। चीन विश्वकै ठुलो जनसंख्या भएको देश हो। तीव्र औद्योगिकीकरण, विशाल उपभोक्ता बजार, उत्पादन क्षमता, अनुसन्धान तथा प्रविधिमा लगानीका कारण चीन विश्व अर्थतन्त्रको प्रमुख शक्तिका रूपमा स्थापित भएको छ। भविष्यमा विश्व अर्थतन्त्रको शक्ति सन्तुलनमा चीनको भूमिका अझ महत्त्वपूर्ण हुन सक्छ। अमेरिका र चीनबिचको सम्बन्ध केवल दुई देशबिचको व्यापारिक सम्बन्ध होइन। यो विश्वव्यापी अर्थतन्त्र, सुरक्षा, सेमिकन्डक्टर, एआई, दूरसञ्चार, रक्षा प्रविधि र रणनीतिक प्रभावको प्रतिस्पर्धासँग जोडिएको छ। अमेरिकी कम्पनीहरूले चीनमा व्यापार गर्न चाहनु अस्वाभाविक होइन। चीनमा ठुलो बजार छ। त्यहाँका उद्योग, अनुसन्धान संस्था र प्रविधि कम्पनीहरूलाई उन्नत कम्प्युटिङ उपकरण आवश्यक पर्छ।
अर्कातर्फ चीनले पनि आफ्नो घरेलु चिप उद्योग र एआई क्षमताको विकासमा ठुलो लगानी गरिरहेको छ। एनभिआइडिआइएजस्तो कम्पनीका लागि चीनको बजार आर्थिक दृष्टिले महत्त्वपूर्ण हुन सक्छ तर अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा र उन्नत प्रविधिको दुरुपयोगको सम्भावनालाई ध्यानमा राखेर चीनमा उच्च क्षमताका चिप निर्यातमा नियन्त्रण लगाएको छ।
एनभिआइडिआइएको सन् २०२६ को दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनमा पनि अमेरिकी तथा चिनियाँ सरकारका निर्यातसम्बन्धी प्रतिबन्धका कारण चीनको डेटा सेन्टर कम्प्युटिङ बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको उल्लेख छ। कम्पनीले दुवै सरकारबाट स्वीकृति पाउनुपर्ने अवस्थाले आफ्नो व्यावसायिक अवसर सीमित भएको जनाएको छ। यसबाट एउटा कुरा स्पष्ट हुन्छ। चीनसँग व्यापार गर्ने विषय र चीनलाई गोप्य प्रविधि उपलब्ध गराउने विषय एउटै होइनन्। वैधानिक व्यापारलाई जासुसीको प्रमाणका रूपमा लिन मिल्दैन। त्यस्तै, व्यापारिक सम्बन्धको आवरणमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना हस्तान्तरण भएको प्रमाण भेटिए त्यसलाई सामान्य व्यापारिक गतिविधि भनेर पनि बेवास्ता गर्न मिल्दैन।
अमेरिका आफ्नो प्रविधि र सुरक्षा जोगाउन चाहन्छ। चीन आफ्नो आर्थिक र प्रविधिगत क्षमता विस्तार गर्न चाहन्छ। यी दुवै देशको राष्ट्रिय हितमा छन्। निजी सम्बन्धलाई आधार बनाएर कुनै पनि देश वा समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्नु न्यायपूर्ण हुँदैन। यस विवादको सबैभन्दा महत्वपूर्ण प्रश्न एउटा व्यक्तिको निजी जीवन र कम्पनीको भविष्य हो। के एउटा व्यक्तिको निजी जीवनले उसले निर्माण गरेको संस्थाको भविष्य निर्धारण गर्नुपर्छ ? कुनै पनि कम्पनी एउटा व्यक्तिको निजी सम्पत्ति मात्र होइन। त्यहाँ हजारौं कर्मचारी काम गर्छन्। लाखौं लगानीकर्ता र ग्राहकको विश्वास जोडिएको हुन्छ।
एनभिआइडिआइएको सञ्चालक समितिले कम्पनीका काम, ग्राहकप्रतिको प्रतिबद्धता र उत्पादन योजनालाई निरन्तरता दिने जनाएको छ। हुआङको योगदानलाई सम्मान गर्दै कम्पनीको भविष्यलाई संस्थागत प्रणालीमा आधारित बनाउनु आवश्यक छ। कुनै व्यक्तिको सफलताले संस्था जन्माउन सक्छ तर संस्थाको दीर्घकालीन सफलता बलियो व्यवस्थापन र सामूहिक क्षमताले मात्र सम्भव हुन्छ। के जेन्सेन हुआङको योगदानलाई एउटा विवादले मेटाउन सक्छ ? मेरो विचारमा सक्दैन। व्यक्तिगत जीवनमा गल्ती गर्नु र व्यावसायिक जीवनमा योगदान दिनु दुई अलग विषय हुन्। कुनै व्यक्तिले परिवारप्रति जिम्मेवारी पूरा गर्न नसकेको हुन सक्छ। उसको व्यक्तिगत निर्णय गलत हुन सक्छ तर त्यसैका आधारमा उसले निर्माण गरेको प्रविधि, रोजगारी र औद्योगिक योगदानलाई इतिहासबाट मेटाउन सकिँदैन। हामीले इतिहासमा धेरै यस्ता व्यक्तित्व देखेका छौं, जसको निजी जीवन विवादित थियो तर उनीहरूको आविष्कारले मानव समाजलाई परिवर्तन गर्यो। त्यसको अर्थ उनीहरूका गल्तीलाई सही ठहर गर्नु होइन, योगदान र कमजोरीलाई अलग–अलग मूल्यांकन गर्नुपर्छ भन्ने हो।
जेन्सेन हुआङको व्यावसायिक सफलता कुनै संयोग होइन। उनले भविष्यको बजार पहिचान गरे, अनुसन्धानमा लगानी गरे, जोखिम लिएर कम्पनीलाई लामो समयसम्म एउटै प्रविधिगत लक्ष्यमा केन्द्रित राखे। आज एआई उद्योगमा देखिएको तीव्र विस्तारमा उनको योगदान उल्लेखनीय छ। ठुलो पदमा रहेको व्यक्तिले सामान्य नागरिकभन्दा बढी संस्थागत जवाफदेहिता वहन गर्नुपर्ने हुन सक्छ।
विशेषगरी राष्ट्रिय सुरक्षासँग जोडिएको प्रविधि उद्योगमा नेतृत्वको पारदर्शिता अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसैले हुआङप्रति न्याय गर्नु भनेको उनलाई अन्धो समर्थन गर्नु होइन। उनको उपलब्धिलाई सम्मान गर्नु, आरोपलाई प्रमाणका आधारमा परीक्षण गर्नु र गल्ती प्रमाणित भए जिम्मेवारी स्वीकार गराउनु नै न्याय हो।
एआई: युवाको सपना र भविष्यको अर्थतन्त्र
आज विश्वका युवाहरू एआई प्रविधिसँग जोडिएका सपना देखिरहेका छन्। कोही नयाँ सफ्टवेयर बनाउन चाहन्छन्, कोही रोबोटिक्समा काम गर्न चाहन्छन्, कोही स्वास्थ्य सेवामा एआई प्रयोग गर्न चाहन्छन्, कोही कृषि, शिक्षा, पर्यटन र उद्योगमा नयाँ समाधान खोजिरहेका छन्।
एआई अब केवल प्रविधि कम्पनीहरूको विषय रहेन। यो भविष्यको रोजगारी, उत्पादन, आर्थिक विकास र प्रतिस्पर्धात्मक क्षमताको आधार बन्दै गएको छ। जेन्सेन हुआङको सफलताले युवालाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ। आज संसारमा एआईको प्रयोग चिकित्सा अनुसन्धानदेखि कृषि उत्पादनसम्म विस्तार भइरहेको छ।
अस्पतालमा रोग पहिचान, औद्योगिक क्षेत्रमा उत्पादनको गुणस्तर नियन्त्रण, विद्यालयमा व्यक्तिगत सिकाइ, प्राकृतिक प्रकोपको पूर्वानुमान, ऊर्जा व्यवस्थापन र वैज्ञानिक अनुसन्धानमा एआईको भूमिका बढ्दै छ। तर यसले चुनौती पनि ल्याएको छ। रोजगारी विस्थापन, व्यक्तिगत तथ्यांकको सुरक्षा, गलत सूचना, साइबर अपराध, प्रविधिमा असमान पहुँच र केही ठुला कम्पनीमा शक्ति केन्द्रित हुने जोखिम गम्भीर छन्। एआईको भविष्य केही सीमित कम्पनी र धनी देशको नियन्त्रणमा मात्र रहनुहुँदैन। विकासशील देशका युवाले पनि अनुसन्धान, सिप, नवप्रवर्तन र उद्यमशीलतामार्फत यस क्षेत्रमा अवसर पाउनुपर्छ।
नेपालले जेन्सेन हुआङबाट के सिक्ने?
हामी नेपालमा विकासको कुरा गर्छौं। युवा विदेश गइरहेका छन्, प्रतिभा पलायन भइरहेको छ, उद्योग विस्तार हुन सकेको छैन र नयाँ उद्यम सुरु गर्न चाहने युवाले पर्याप्त लगानी तथा प्राविधिक सहयोग पाएका छैनन्। जेन्सेन हुआङको यात्रा नेपालका युवाका लागि पनि अध्ययनको विषय हुनुपर्छ। उनले एउटा प्रविधिगत सम्भावनालाई पहिचान गरेर दशकौंसम्म त्यसमा काम गरे। नेपालका युवासँग पनि नयाँ सोच, प्रतिभा र सिर्जनशीलता छ तर प्रतिभालाई उद्यममा बदल्ने वातावरण कमजोर छ।
हामीले केवल रोजगारी खोज्ने युवा होइन, रोजगारी सिर्जना गर्ने युवा तयार गर्नुपर्छ। एआई, सूचना प्रविधि, कृषि प्रविधि, स्वास्थ्य प्रविधि, पर्यटन, ऊर्जा र स्थानीय उत्पादनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिनुपर्छ।
नेपालका ग्रामीण क्षेत्रमा पनि सम्भावना छन्। जुम्लाको कृषि उत्पादन, मुस्ताङको पर्यटन, तराईको कृषि प्रविधि, पहाडी क्षेत्रको जडीबुटी, जलविद्युत्, स्थानीय हस्तकला र महिलाले सञ्चालन गरेका साना उद्यमलाई प्रविधिसँग जोड्न सकिन्छ। एआई प्रयोग गर्न विश्वकै ठुलो चिप निर्माता कम्पनी स्थापना गर्नैपर्छ भन्ने छैन। स्थानीय समस्या समाधान गर्ने सानो डिजिटल प्रणाली निर्माण गरेर पनि ठुलो आर्थिक परिवर्तन सुरु गर्न सकिन्छ। हामीले युवालाई एउटा सन्देश दिनुपर्छ– विदेश गएर अवसर खोज्नु मात्र सफलता होइन, आफ्नै देशमा अवसर सिर्जना गर्नु पनि ठुलो सफलता हो।
हामीले न्यायको सिद्धान्तलाई सबैका लागि समान बनाउनुपर्छ। व्यक्ति अमेरिकाको होस् वा चीनको वा विश्वको कुनै पनि देशको होस्, उसको मूल्यांकन प्रमाण, कानुन र निष्पक्ष प्रक्रियाबाट हुनुपर्छ। एलिस हुआङमाथि विदेशी गुप्तचर गतिविधिमा संलग्न भएको आशंका छ भने त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ। जेन्सेन हुआङले कम्पनीका अधिकारीहरूलाई आफ्नो सम्बन्धबारे गलत जानकारी दिएको प्रमाणित हुन्छ भने त्यसको संस्थागत जवाफदेहिता पनि तय हुनुपर्छ तर अनुसन्धान पूरा हुनुअघि कसैलाई जासुस वा देशद्रोही घोषणा गर्नु न्यायको सिद्धान्तविपरीत हुन्छ।
नेतृत्व भनेको सफलता मात्र होइन, जिम्मेवारी पनि हो। जेन्सेन हुआङको कथाले हामीलाई नेतृत्वका दुईवटा पक्ष देखाएको छ। पहिलो पक्ष दूरदृष्टि, मेहनत, आविष्कार र व्यावसायिक सफलता हो। दोस्रो पक्ष व्यक्तिगत आचरण, पारदर्शिता र संस्थागत जिम्मेवारी हो। कुनै पनि नेता केवल आफूले कति ठुलो सम्पत्ति कमायो, कति ठुलो कम्पनी बनायो वा कति देशमा आफ्नो प्रभाव विस्तार गर्यो भन्ने आधारमा मात्र महान् हुँदैन। उसले आफ्नो नेतृत्वमा रहेको संस्था, कर्मचारी, परिवार, लगानीकर्ता र समाजप्रति कस्तो जिम्मेवारी पूरा गर्यो भन्ने प्रश्न पनि महत्त्वपूर्ण हुन्छ।
हुआङले निर्माण गरेको एनभिआइडिआइएको भविष्य अब उनको व्यक्तिगत नेतृत्वभन्दा बाहिर पनि अघि बढ्नुपर्नेछ। कम्पनीले संस्थागत प्रणाली, अनुसन्धान, पारदर्शिता र व्यावसायिक अनुशासनमार्फत आफ्नो विश्वसनीयता कायम राख्नुपर्छ। त्यस्तै, हुआङको व्यावसायिक योगदानलाई पनि उचित स्थान दिनुपर्छ। उनको जीवनबाट युवाले प्रविधिमा लगानी, दूरदृष्टि, निरन्तरता र जोखिम लिने साहस सिक्न सक्छन्। उनको पछिल्लो विवादबाट नेतृत्वमा नैतिकता र पारदर्शिता कति आवश्यक हुन्छ भन्ने पाठ पनि सिक्न सक्छन्।
व्यक्तिलाई होइन, सत्यलाई न्याय गरौं
आज सामाजिक सञ्जालमा कुनै पनि व्यक्तिको नामसँग जोडिएको विवाद केही घण्टामै विश्वव्यापी बहस बन्न सक्छ। अपुष्ट समाचार, व्यक्तिगत टिप्पणी, राजनीतिक प्रचार र व्यावसायिक स्वार्थले वास्तविक घटनालाई फरक दिशामा लैजान सक्छन्। त्यसैले हामीले समाचार र हल्लाबिचको भिन्नता बुझ्नुपर्छ। आरोप र प्रमाणबिचको भिन्नता बुझ्नुपर्छ। निजी जीवन र सार्वजनिक जिम्मेवारीबिचको सीमा बुझ्नुपर्छ। जेन्सेन हुआङलाई केवल एउटा विवादका कारण उनको सम्पूर्ण जीवनको योगदानबाट वञ्चित गर्नु हुँदैन।
त्यस्तै, उनले ठुलो कम्पनी निर्माण गरेकै कारण उनका व्यक्तिगत तथा संस्थागत कमजोरीलाई पनि क्षमा गरेर बिर्सन मिल्दैन। उनको जीवनको एउटा अध्यायले विश्वलाई प्रविधि र आविष्कारको शक्ति देखाएको छ। पछिल्लो घटनाले सफलताको शिखरमा पुगेको व्यक्तिले पनि आफ्नो आचरण र जिम्मेवारीप्रति सचेत रहनुपर्ने पाठ दिएको छ। मलाई लाग्छ, यो घटनालाई अमेरिकाको जित वा चीनको जितका रूपमा हेर्नु गलत हुनेछ। यो कुनै देशको नागरिकलाई अर्को देशको नागरिकविरुद्ध उभ्याउने विषय पनि होइन। यो विश्वव्यापी प्रविधि उद्योगमा विश्वास, सुरक्षा, नैतिकता र संस्थागत जवाफदेहिताको प्रश्न हो।
चीन विश्व अर्थतन्त्रको ठुलो शक्ति बन्न सक्छ। अमेरिकाले प्रविधिमा आफ्नो अग्रता कायम राख्न सक्छ। भोलि भारत, युरोप, जापान वा अन्य कुनै देशले पनि नयाँ आविष्कारमार्फत विश्वलाई प्रभावित गर्न सक्छन् तर जुन देशले प्रविधिको विकास गरे पनि त्यसको आधार मानवता, जिम्मेवारी र न्याय हुनुपर्छ।
– ज्ञवाली सामाजिक तथा आर्थिक लेखक हुन्।
प्रकाशित: ३ मंसिर २०८३ ०७:०४ बिहीबार