मन्त्रालयको संख्या घटाउने प्रतिबद्धतासहित सरकारमा गएका बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय मात्र थपेनन्, बरु पर्याप्त बजेटसहितको निकाय विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा दशकौंदेखि काम गरेका वैज्ञानिक महावीर पुनलाई सुम्पिए। विगतमा सत्ता बाँडफाँडको भाग पुर्याउन खडा गरिने विज्ञान मन्त्रालय यस पटक अधिकारसम्पन्न देखियो। राम्रै बजेट अनि उपयुक्त पात्रले हाक्ने मन्त्रालयले असल नै गर्ला भन्ने आशा राखौं। यो लेखको उद्देश्य विज्ञान र प्रविधिको चर्चा गर्नुभन्दा माटो सुहाउँदो प्रवर्तनको उत्खनन हो।
विज्ञानले ज्ञानको भण्डार खोल्छ। नवीन आविष्कारका लागि वर्षौंको मेहनत अनि जटिल उत्खननको जरुरत पर्छ। फिजिक्स, केमेस्ट्री अनि बायोलोजीका प्रयोगशालामा गरिने क्लिष्ट परीक्षण विज्ञान हो। र, विज्ञानका सफलतालाई अनुभव गर्न सकिने उपकरणमार्फत सुसूचित गर्छ प्रविधिले। अनि विज्ञान र प्रविधिले देखाएका विकासलाई मानव उपयोगी साबित गर्ने काम नवप्रवर्तकको हो। नवप्रवर्तनले जनतालाई प्रत्यक्ष फाइदा दिन्छ।
विज्ञान, प्रविधि र नवप्रवर्तन बुझ्न घरमा जडान भएको सोलारलाई हेरौं। झन्डै दुई सय वर्षअघि सूर्यकिरण पदार्थमा पर्दा विद्युतीय तरंग पैदा हुने विधि ‘फोटोभोल्टोनिक इफेक्ट’ विज्ञानले पत्ता लगायो। उक्त आविष्कारको धेरै वर्षपछि सूर्यको प्रकाशमार्फत उत्पादित बिजुली भण्डारण गर्ने ‘सोलार सेल’ बनायो। विज्ञान र प्रविधिले आविष्कार गरेको प्रक्रियालाई उपयोग गर्दै प्रवर्तकले सोलार हिटर बनाए। सोलार हिटर बनाएर संसारभर वितरण गरे, पैसा कमाए नवप्रवर्धकहरूले। कम्प्युटर, सेलफोन, टिभी, एक्स–रे मेसिनलगायतका समाज उपयोगी उपकरण विज्ञान, प्रविधि अनि नवप्रवर्तनको फल हो।
झट्ट हेर्दा नवप्रवर्द्धनका लागि धेरै पैसाको खाँचो पर्ला भन्ने लाग्न सक्छ तर यथार्थमा यसका लागि ठुलो लगानीको आवश्यकता हुँदैन, नवीन सोचको भने अत्यावश्यक हुन्छ। कतिपय नवीनताको अवसर गाउँकै अनुभव र यन्त्रबाट समेत सम्भव छ। प्रतिफलको सम्भाव्य देखिएको खण्डमा नवप्रवर्तनका लागि लगानी समस्याको विषय नै होइन। संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्क मात्र होइनन्, बरु एप्पल, गुगल, एमेजनलगायतका कम्पनी स्थापना हुँदा सञ्चालकसँग योजनाको खाकाबाहेक अरू केही थिएन भन्ने कुरा बुझ्नुपर्छ। नयाँ विचारले सकारात्मक परिणाम दिएमा धेरै प्रतिफल पाइने भएकाले मानिसले जोखिम मोलेर लगानी गर्छ। एक अध्ययनले नवपवर्तनमा गरिएको १०० रुपैयाँको लगानीले १८० को प्रतिफल दिन्छ भन्ने देखिएको छ। त्यसमाथि विज्ञानमन्त्री पुनले सम्भाव्य बोकेका विचार र मोडल संयन्त्र भएको खण्डमा सरकार पैसा दिन तयार रहेको बारम्बार दोहोर्याइरहेका छन्। त्यसको मतलब भरोसायोग्य प्रोजेक्टका लागि सरकारी लगानी निश्चित भयो।
सफलता पाएको खण्डमा नवीन विचारले ठुलो मुनाफा दिने भएकाले जोखिमपूर्ण लगानीप्रति संसारभर ठुलो उत्साह छ। मंगलग्रहमा बस्ती बसाउने योजनामा खुलेको स्पेसएक्सले गतिलो अन्तरिक्षयान बनाउनसमेत सफल नहुँदै गत महिना मात्र हजारौं लगानीकर्ताले अर्बौं डलरको सेयर खरिद गरे। भविष्य ठानेर अर्बौंको सम्पत्ति नभएको रकेट कम्पनीलाई भरोसा गरेर खर्बौं डलर लगानी भयो।
अब प्रश्न उठ्छ, नयाँ विचारको स्रोत के हो? एप्पल, गुगल, टेस्ला, माइक्रोसफ्टलगायतका कम्पनीको सफलता हेर्दा नवप्रवर्तनको स्रोत पाको उमेर, विश्वविद्यालयको अध्ययन र वर्षौंको अनुभव होइन भन्ने देखिन्छ। यद्यपि नवीन विचार भने युवा दिमागले अधिक प्रवाहित गरेको देखिन्छ। केही महिनाअघि मात्र संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ सिकागोको ज्ञान प्रयोगशाला (नलेज ल्याब)मा कार्यरत समाजशास्त्रका प्राध्यापक जेम्स एभेन्सलगायतका अनुसन्धानकर्ताले सन् १९६० देखि २०२० का बिचमा एक करोड २५ लाख अन्वेषणकर्ताले प्रकाशित गरेका अनुसन्धानात्मक आलेखलाई विश्लेषण गरी जर्नल ‘साइन्स’मा एक रिसर्च आर्टिकल प्रकाशित गरे। २५–३० वर्षको हाराहारीमा मस्तिष्क सबैभन्दा बढी सिर्जनशील हुन्छ भन्ने उक्त आर्टिकलको सार देखियो। विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनको क्षेत्रमा भएका अधिकांश सफलताको विश्लेषण गर्दा नवीन उत्खननका लागि धेरै पढ्नुपर्छ भन्ने छैन तर युवावस्था आविष्कारका लागि अनुकूल देखियो। विज्ञानमा नोबेल पुरस्कार पाएका अधिकांश वैज्ञानिकले युवावस्थामा गरेको अनुसन्धानको प्रतिफल पाको उमेरमा पाएको तथ्यांकले देखायो। नवप्रवर्तनका लागि तीक्ष्ण बुद्धि र अधिकांशले भन्दा पृथक् ढंगले सोच्ने क्षमता भने चाहिन्छ।
युरोप, अमेरिका र एसियाका धेरै देश डढेलोको समस्या भोगिरहेका अवस्थामै केही दिनअघि मात्र आगलागी नियन्त्रणको नवीन सफलताको खबर स्पेनबाट बाहिरियो। दमकल, हवाईजहाजलगायतका कुनै पनि आधुनिक उपकरणको प्रयोग नभएको, बरु गाउँले अनुभवले भूमिका खेलेकाले पनि उक्त ‘इनोभेटिभ’ कामले संसारभर चर्चा पायो। केही वर्षअघि ठुलो आगलागीको चपेटामा पर्यो स्पेनको क्याटालोनिया क्षेत्र। त्यसबेला धनजनको धेरै क्षति भयो। डाँडाकाँडा अनि जटिल भौगोलिक बनोटका कारण हेलिकोप्टर अनि दमकल पुग्न नसकेर भएको संहारलाई नजिकबाट नियालेका एक स्थानीयले प्राकृतिक उपायमार्फत डढेलो नियन्त्रण गर्ने सोच बनाए। एक दिन टहल्ने क्रममा गधाले सुकेको झारपातसमेत जरैसँग खाएको उनले देखे। उक्त कामबाट हौसिँदै देशभर त्यागिएका गधाहरू संकलन गरेर सहरको डढेलो लाग्न सक्ने इलाकामा छोडे। जटिल भूभागमा पनि सजिलै जान सक्ने अनि सुकेको घाँसपात सबै खाने भएपछि पाखामा आगलागीको सम्भाव्य घट्यो। सुकेका झारपात नै नभएपछि डढेलोको समस्या समाधान भयो। यो परिदृश्य विशाल समस्या समाधानमा स्थानीय नवप्रवर्द्धनको चोटिलो उदाहरण हो। डढेलो नियन्त्रणमा विद्यावारिधि गर्नेले नसोचेको समाधान एक सर्वसाधारणले खोज्यो, संसारभर चर्चा पायो।
झट्ट हेर्दा नवप्रवर्द्धनका लागि धेरै पैसाको खाँचो पर्ला भन्ने लाग्न सक्छ तर यथार्थमा यसका लागि ठुलो लगानीको आवश्यकता हुँदैन, नवीन सोचको भने अत्यावश्यक हुन्छ। कतिपय नवीनताको अवसर गाउँकै अनुभव र यन्त्रबाट समेत सम्भव छ। प्रतिफलको सम्भाव्य देखिएको खण्डमा नवप्रवर्तनका लागि लगानी समस्याको विषय होइन।
अब स्कुले विद्यार्थीले हासिल गरेको एक उत्कृष्ट सफलता हेरौं। कलिला स्कुले युवा–युवतीलाई वैज्ञानिक प्रतिस्पर्धामा लगाउने हेतुले बर्सेनि अन्तर्राष्ट्रिय विज्ञान तथा इन्जिनियरिङ महोत्सव गरिन्छ। त्यहाँ संसारका झन्डै दुई हजार बढ्दो दिमागको परीक्षण हुन्छ। ज्ञान–विज्ञानको दोहोरीमा धेरैथरीका प्रोजेक्टहरू प्रदर्शन हुन्छन्। भेलामा अर्गानिक केमेस्ट्रीको गीताभन्दा पनि फरक नपर्ने जेरी मार्चको किताब पूरै कण्ठस्थ गर्ने स्कुले केटा मात्र देखिएनन्, बरु सानै उमेरमा क्यान्सर पत्ता लगाउने उपकरण बनाउनेसम्म देखिए। १५ वर्षीय किशोर ज्याक एन्ड्याकाले मधुमेह रोग जाँच्न प्रयोग हुने सर्वसुलभ टेस्ट पेपर प्रविधिलाई परिष्कृत गरी पाचनथैलीमा लाग्ने क्यान्सर रोग पत्ता लगाउने उपकरण बनाएर देखाए। उनले निर्माण गरेको सानो मेसिनले अस्पतालमा प्रयोगमा रहेको उपकरणभन्दा २८ गुणा छिटो, सस्तो र १०० गुणा ठोकुवाका साथ क्यान्सरको किटान गर्न सक्ने बेहोरा आयो। कुनै पनि क्लिष्ट उपकरण र रासायनिक तत्व प्रयोग नभएको उक्त संयन्त्र नेपाललगायत संसारका कुनै पनि भागका विद्यार्थीले गर्न सक्ने प्रवर्तन हो। एउटा स्कुलमा पढ्दै गरेको विद्यार्थीले कतिसम्म चमत्कारी काम गर्न सक्छ भन्ने एउटा उदाहरण हो यो वैज्ञानिक आविष्कार।
उल्लिखित दुई उदाहरण हेर्दा गाउँले अनुभव र स्कुले बच्चाले समेत अद्वितीय आविष्कार गर्न सक्ने भएकाले नवप्रवर्तन मन्त्रालयले आफ्नो रकम विनियोजनमा उक्त पक्षलाई समेट्न आवश्यक देखियो। ७७ जिल्लामा विज्ञान शिक्षकलाई सरिक गराई गाउँले सिप अनि किताबी ज्ञानको सम्मिश्रण गरी स्थानीय तहमा नवप्रवर्तनको सुरुआत गर्न नसकिने होइन। किसानको दुःखका रूपमा रहेको बाँदर अनि बदेलको समस्यालगायतका स्थानीय सरोकारको सम्बोधन गर्ने दिशामा जिल्लास्तरीय रूपमा गरिने विज्ञान प्रतियोगिताले सहयोग गर्न सक्छ। आखिर व्यावहारिक ज्ञानमा गाउँले अनुभव कलेजको विद्यावारिधिभन्दा कहाँ कम हुन्छ र?
आर्थिक वर्षका लागि सरकारले नवगठित नवप्रवर्तन मन्त्रालयका लागि चार अर्बभन्दा अधिक रकम विनियोजन गर्यो। आधुनिक प्रयोगशाला तथा महँगा अत्याधुनिक उपकरण खरिद नगर्ने हो भने विनियोजित रकमका सम्बन्धमा धेरै असन्तोष गर्नुपर्ने अवस्था रहेन। जीवनस्तर त्यति महँगो नभएकाले विकसित मुलुकको तुलनामा नेपालमा उक्त रकमले धेरै काम गर्न सक्छ। प्रतिफल लिन सकिन्छ। त्यसका लागि कहाँ र कुन प्रयोजनका लागि पैसा खर्चिंदा अधिक लाभ पाउन सकिन्छ, त्यसको हेक्का राख्न जरुरी छ। स्थानीय समस्या समाधान गर्ने अनि गाउँले उत्पादनलाई परिमार्जन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिने प्रकृतिका अनुसन्धानबाट धेरै मुनाफा लिन सकिने भएकाले त्यस्ता क्षेत्रमा गरिने विनियोजन लाभप्रद हुन्थ्यो होला।
प्रकाशित: १९ श्रावण २०८३ १०:५९ मंगलबार