इतिहास साक्षी छ, जब–जब कुनै समाजले आफ्नो आन्तरिक स्वाभिमान र रैथाने चिन्तनको धरातल गुमाउँछ, तब त्यसको मानसिक संकट लुकाउन ‘उग्र र प्रदर्शनकारी देशभक्ति’को जन्म हुन्छ। त्यसले एकप्रकारले अन्योलता वा द्विविधा उत्पन्न गराउँदै जान्छ। त्यही प्रसंगसँग मेल खाने विचार इटालेली चिन्तक एन्टोनियो ग्राम्सीले ‘शासक वर्गले आफ्नो शक्ति जोगाउन समाजमा एउटा यस्तो झुटो चेतना पैदा गरिदिन्छ, जहाँ सर्वसाधारण नागरिक आफ्ना वास्तविक समस्या बिर्सेर सत्ताकै स्वार्थलाई आफ्नो भाग्य ठान्न पुग्छन्।’
फ्रान्ज फ्याननले यसलाई अझ स्पष्ट पार्दै लेखेका छन्– ‘तेस्रो विश्वका बुद्धिजीवीहरू बाहिर जतिसुकै उग्र राष्ट्रवादको नारा लगाए पनि भित्रभित्रै पश्चिमा मालिकहरूको विकृत अनुकरण र गुलामी गरिरहेका हुन्छन्।’
यस्तै विरोधाभासलाई समात्दै अर्का विद्वान् थिओडोर एडोर्नोले चेतावनी दिएका थिए कि आधुनिक युगको राष्ट्रवाद कुनै आत्मिक विवेक होइन, बरु बजार र सत्ताले आफ्नो स्वार्थका लागि नागरिकलाई अल्झाउन तयार पारेको एउटा ‘देखावटी भावुकता’ मात्र हो।’
यिनै झुटो चेतना, मानसिक गुलामी र देखावटी भावुकताको आधुनिक रूपलाई नै ‘हाइब्रिड राष्ट्रवाद’ भनिन्छ। त्यसलाई नेपालीमा वर्णशंकर राष्ट्रवाद हुन्छ।संसारमा कुनै पनि मानव सभ्यता, भाषा, संस्कार–संस्कृति र विचारहरू निरपेक्ष वा शुद्ध हुँदैनन्। ऐतिहासिक आदानप्रदानको क्रममा यिनीहरू कुनै न कुनै रूप एकअन्तर भई वर्णशंकर बनेकै हुन्छन्। सभ्यताको विकासक्रममा यस्तो विचार वा संस्कृतिको शंकरणले समाजलाई गतिशील र रूपान्तरणकारी बनाउन कति योगदान दियो भन्ने कुरा नै महत्त्वपूर्ण पाटो हो तर समकालीन नेपालको सन्दर्भमा भने यस्तो वर्णशंकर विचार वा राष्ट्रवादले समाजलाई कुनै सकारात्मक रूपान्तरण र निकास दिनुको सट्टा झन् उग्र, छद्म र अन्योलग्रस्त बनाएको छ।
यस परिप्रेक्ष्यमा ग्राम्सीले भनेको झुटो चेतना, फ्याननले औंल्याएको मानसिक गुलामी र एडोर्नोले देखाएको नक्कली भावुकताको कसीमा उभिएर अनि ‘सायारेम्मा’ले निर्देश गरेको मुन्दुमी स्वाभिमानको ऐना हेरेर आजको यो खोक्रो हाइब्रिड राष्ट्रवादको मनोवैज्ञानिक एवं दार्शनिक शल्यक्रिया गर्नु अपरिहार्य भइसकेको छ। त्यसैले यहाँ क्रमशः इतिहासको विद्रोही चेत, वर्तमानको वैचारिक परनिर्भरतालगायत वर्णशंकर, राजनीतिक विचार सिद्धान्त र आयामहरूलाई समेट्दै, नेपाली बौद्धिक वृत्त र युवा मानसमा जरो गाड्दै गएको हाइब्रिडराष्ट्रवादी भ्रमको मुकुण्डो उतार्ने र वास्तविक, स्वाभिमानी राष्ट्रप्रेमतर्फको यात्रालाई पुनर्जीवित गर्ने प्राज्ञिक प्रयास गरिएको छ।
मेरो पूर्ववर्ती पुस्तक ‘सायारेम्मा: राष्ट्रवाद कि राष्ट्रप्रेम’मा मीमांसा गरिएझैं सायारेम्मा भनेको मानिसको भित्री शीर उठाउने र रैथाने स्वाभिमान जागृत गराउने कुरा, जुन सात्विक राष्ट्रप्रेमको शाश्वत धरातल र विविध राष्ट्रियताहरूको संयुक्त विचारधारा राष्ट्रवादको अर्गानिक स्वरूप हो।
हाइब्रिड राष्ट्रवाद बहस: हाइब्रिड राष्ट्रवादको वकालत गर्नेहरू एउटा कुनामा मात्र छैनन्, उनीहरू राष्ट्रका प्रायः सबै स्थानमा ह्वात्तै बढिरहेका छन्। दिन दुई गुणा रात चौगुणा बढिरहेको हाइब्रिड राष्ट्रवादीहरू बाहिर प्रगतिशील र क्रान्तिकारी देखिने शीर्ष राजनीतिक नेतृत्वदेखि लिएर, कुनै विचारबिनाको उग्र नारा बेच्ने नयाँ ‘पपुलिस्टहरू’ र पश्चिमा फन्डिङमा हुर्किएका सुकिला थिंक–ट्यांकका ‘बौद्धिक दलाल’हरू सबैको विचार आज एउटै बिन्दुमा छन्। दक्षिणपन्थी संकीर्णता र वैचारिक आत्मसमर्पणजस्ता पश्चगामी विचारबाट ग्रसित, दृश्य–अदृश्य पात्रहरू संघीय लोकतान्त्रिक गणतन्त्रलाई वास्तविक रूपमा संस्थागत गर्ने मुद्दाहरूलाई ओझेलमा र आफ्नो असफलता लुकाउन जनतालाई खोक्रो र कृत्रिम राष्ट्रवादको अफिम खुवाइरहेका छन्।
आजको दिनसम्म आइपुग्दा राजनीतिक र प्राज्ञिक परिदृश्यमा ‘हाइब्रिड राष्ट्रवादी विचार’को वकालत कुनै एउटा व्यक्ति वा दलले मात्र गरेका छैनन्, विभिन्न शक्ति, समूह र पात्रहरूको एउटा अनौठो गठजोडबाट सञ्चालित छ, जहाँ सबैको राजनीतिक र वैचारिक पृष्ठभूमि फरक–फरक छन् तर पनि भित्रभित्रै उनीहरूको चरित्र एउटै छ। बाहिर प्रगतिशील/उग्र नारा, भित्र दक्षिणपन्थी अजेन्डा र वैचारिक परनिर्भरता।
त्यसो हुनाले नेपालको सन्दर्भमा यो हाइब्रिड राष्ट्रवादको वकालत सैदान्तिक रूपमा कसले गर्छ र कसले मलजल गर्छ भन्ने मूलतः चार प्रमुख पात्र/समूहमा वर्गीकरण गरी चिरफार गर्यो भने बुझ्न अझै सहज हुनेछ।
पहिलो कुरा उनीहरू प्रगतिशील मुकुण्डोधारी राजनीतिक नेतृत्व गरिरहेका हुन्छन्। नेपालमा हाइब्रिड राष्ट्रवादका सबैभन्दा ठुला वाहक स्थापित ठुला दल कम्युनिस्ट र समाजवादी/प्रजातान्त्रिक पार्टी र शीर्ष नेताहरू नै छन्। उनीहरूको चरित्र बाहिर समाजवाद, संघीयता, समावेशिता र साम्राज्यवाद–विरोधी चर्का भाषण दिन्छन् तर व्यवहारमा उनीहरूको विचार पूरै दक्षिणपन्थी, पश्चगामी र वैदेशिक शक्तिहरूसँगको गुप्त सम्झौतामा आधारित हुन्छ। विशेषतः उनीहरूको चरित्र भाषण र व्यवहारमा विरोधाभासपूर्ण देखिन्छ। उनीहरू सडक र चुनावी सभाहरूमा ‘राष्ट्रिय स्वाभिमान’को उग्र नारा उराल्दै बेच्ने तर सत्तामा पुगेपछि राज्यका स्रोतसाधन शक्ति राष्ट्रहरूको पुँजीपतिहरूलाई बुझाउने र भूराजनीतिक शक्तिहरूसँग आत्मसमर्पण गर्ने दोहोरो चरित्र नै उनीहरूको हाइब्रिड रूप हो।
यति मात्र होइन, उनीहरूबाहेकका उदाइरहेका नयाँ शक्ति नयाँ ‘लोकप्रियतावादी’ र भर्चुअल भिडका अगुवाहरू पनि हाइब्रिड राष्ट्रवादी हुन्। उनीहरूको चरित्र प्रणालीको विरोध गरेझैं गर्छन् र कुनै वैचारिक धरातल वा दर्शनबिनाको ‘विशुद्ध देशभक्ति’को नारा दिन्छन्। उनीहरूसँग संघीय गणतन्त्रलाई सुदृढ बनाउने वा देशको वर्गीय संकट हल गर्ने कुनै स्पष्ट राजनीतिक–आर्थिक मार्गचित्र छैन। त्यो पक्षमा खासै अगाडि बढ्न चाहँदैनन्। उनीहरूले फैलाउने राष्ट्रवाद केवल सतही, भर्चुअल आक्रोश र दक्षिणपन्थी संकीर्णता (जात, धर्म वा कृत्रिम शत्रु) मा आधारित हुन्छ। त्यसैगरी तेस्रो आधार भनेको ‘प्रोजेक्टेड’ बुद्धिजीवी र दाता–पोषित थिंक–ट्यांकहरू पनि हाइब्रिड राष्ट्रवादीहरू हुन्। उनीहरू नेपालका प्रमुख विश्वविद्यालय, काठमाडौंका ‘सुकिला–मुकिला’ अध्ययन संस्थान थिंक थ्यांक र विदेशी अनुदान संस्थाहरूमा आधारित प्राज्ञिक दलाल र विश्लेषकहरू आदि पर्छन्। मूलतः उनीहरूको चरित्र आफूलाई स्वतन्त्र, नागरिक समाज वा भू–राजनीतिक विज्ञका रूपमा प्रस्तुत गर्छन्। तर उनीहरूको विचार र व्यवहारमा यथेष्ट विरोधाभास हुन्छन्। उनीहरू प्रायः पश्चिमा ज्ञानका कारखाना वा बाह्य दातृ निकायबाट उत्पादित भाष्यहरूलाई नेपाली माटोमा राष्ट्रिय हितको लेबल लगाएर आयात गरिरहेका हुन्छन्। बाहिर रैथाने वा समावेशी कुरा गर्ने तर भित्रभित्रै नेपालको रैथाने दर्शन सायारेम्मा र मौलिक आलोचनात्मक चेतलाई ध्वस्त पार्ने काम उनीहरूबाटै गराइरहेका हुन्छन्।
त्यसैगरी अर्को आधार भनेको दक्षिणपन्थी–संरक्षक मिडिया र डिजिटल इको–चेम्बर मुख्यधारका कर्पोरेट मिडिया हाउसहरू र सामाजिक सञ्जालका संगठित ‘ट्रोल’ वा ‘पेज’ सञ्चालकहरू। मूलतः उनीहरू राष्ट्रवादलाई एउटा बिक्री हुने सामग्री बनाउँछन्। जस्तै देशमा भ्रष्टाचार, संघीयताको निष्प्रभाविता वा नीतिगत टाटपल्टाइमाथि प्रश्न उठ्नेबित्तिकै उनीहरूले कुनै उग्र भावनात्मक वा दक्षिणपन्थी मुद्दा उछालेर जनताको ध्यान मोड्न उद्दत हुन्छन्। दक्षिणपन्थी संरक्षकहरूले नै सत्य बोल्ने अर्गानिक बुद्धिजीवीहरूलाई देशद्रोहीको बिल्ला भिराउने काम गर्छन्।
हाम्रो यथार्थ: हाम्रो समाजको मौलिक धरातल पूरै खण्डित कर्म अन्त्य हुनुपर्ने र स्वतःस्फुर्ट राष्ट्रप्रेम र राष्ट्रवादी भावनाले उद्देलित हुनुपर्ने थियो तर वर्तमान राजनीतिको विरूप यो व्यवस्थाले संस्थागत आकार लिन नपाउँदै हाइब्रिड राष्ट्रवादको चपेटामा परेर अन्योलता र दिशाहीनको बाटोमा पुग्यो। दलहरू उनीहरूको आदर्श र ऐतिहासिक अजेन्डाहरूबाट पूरै च्युत भई नीतिगत रूपमा शून्यमा प्रायः हुनुपुग्यो। बाहिरी लेपबाट हेर्दा यो व्यवस्था बलियो र स्थिरजस्तो देखिए पनि भित्रभित्रै दलहरू भित्रको वैचारिक परनिर्भरता र शक्ति संघर्षले गर्दा संघीयताको जग नै हल्लिएको छ। यो छद्म राष्ट्रवादी होहल्लाले व्यवस्थाका वास्तविक चुनौतीहरूजस्तै प्रदेशहरूको स्वायत्तता, साधन–स्रोतको न्यायिक बाँडफाँड र संवैधानिक निकायहरूको निष्पक्षतामाथि हुनुपर्ने गम्भीर राजनीतिक विमर्शहरू पूरै ओझेलमा परेको छ। जसले समग्र गणतान्त्रिक पद्धतिलाई नै एउटा अकल्पनीय अन्योलको भुमरीमा धकेलिदिएको अवस्था छ। संसद् जनताको निम्ति नीति निर्माणको थलो हुनुको सट्टा क्षणिक चुनावी दाउपेच र दक्षिणपन्थी विचारसँगको गुप्त लेनदेनको अखडा बन्न पुग्यो। यी कमजोरीले गर्दा समग्र गणतान्त्रिक पद्धतिमाथि नै आमनागरिकको अनास्था तीव्र रूपमा बढ्दै गयो।
यसरी एकातिर राज्यको संघीय संरचना चरम नीतिगत शून्यताबाट गुज्रिनु र अर्कातिर प्रगतिशील भनिएका शक्तिहरूको विचार पूरै दक्षिणपन्थी अजेन्डासँग मिल्न जानुले नेपाली राजनीतिलाई कतै नभेटिने अँध्यारो सुरुङनजिकै पु¥याएको छ र समग्र व्यवस्था नै कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने गम्भीर खतरा पैदा भएको छ।
प्रकाशित: २० श्रावण २०८३ ०८:३९ बुधबार