देशको जेठो राजनीतिक पार्टी नेपाली कांग्रेसमा पछिल्लो पटक देखापरेको चरम गुटबन्दीका कारण दुई धारमा विभाजित हुन सक्ने संकेतका बेला कांग्रेसका निष्ठावान् नेता गोपालमान श्रेष्ठको निधन भएको छ।
कुनै बेला सात भाइका नाममा आफूलाई जेठो दाजु सम्झने गोपालमान पछिल्लो अवस्थामा क्यान्सरका कारण अस्पतालमा भर्ना हुनुभएको थियो। त्यसपछि निष्क्रिय रहे तापनि देश र लोकतन्त्रका बारेमा अस्पतालमा चिन्ता गरिरहनुभएको थियो। क्यान्सरका कारण गत साउन १२ गते उहाँको ८३ वर्षको उमेरमा ललितपुरस्थित हेलिअस अस्पतालमा निधन भयो। २००० साल असार ८ गते पिता शंखनारायण श्रेष्ठ र आमा चमेली श्रेष्ठका कोखबाट गोपालमानको जन्म पुतलीबजार, स्याङ्जामा भएको थियो।
राजनीति पेसाका लागि मात्र नभएर जनताको भलाइका लागि गरिने विशुद्ध सामाजिक सेवा हो भन्न रुचाउने गोपालमानलाई सबैले माया गरी ‘गोपालमान दाइ’ सम्बोधन गर्थे। प्रतिबन्धित कालमा स्याङ्जामा नेपाली कांग्रेसको कार्यालय उहाँकै घरमा थियो। प्रहरीले कयौं पटक छापा मारे पनि चारतारे झन्डा उहाँको घरबाट बाहिर निकाल्न पाएनन्, आफैंले सुरक्षा दिएर स्याङ्जामा उहाँले कांग्रेस पार्टीलाई बचाएर राख्नुभएको थियो।
काठमाडौंबाट गणेशमान सिंह, किसुनजी र गिरिजाबाबु स्याङ्जा जाँदा गोपालमानकै घरमा बसोबास हुन्थ्यो भनी पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले बताउनुभयो। काठमाडौंको त्रिचन्द्र कलेजबाट बिए उत्तीर्ण उहाँ पढाइमा मेधावी हुनुहुन्थ्यो। २०१७ सालमा राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्गबारे निबन्ध प्रतियोगितामा देशव्यापी रूपमा उहाँ प्रथम हुनुभएको थियो। महेन्द्रको हातबाट नलिएर धेरैपछि तत्कालीन शिक्षामन्त्री केदारनाथ व्यथितका हातबाट सुनको तक्मा लिनुभएको थियो।
व्यवस्था बदली समाज परिवर्तन गर्न जीवनभर कठोर संघर्ष गरेका नेपाली कांग्रेसको दोस्रो पिँढी पनि क्रमिक रूपमा बिदा हुँदै छन्। केही महिना पहिले वरिष्ठ पत्रकार होमनाथ दाहाल, त्यसभन्दा पहिले दार्शनिक चिन्तक प्रदीप गिरी, केही महिना पहिले नेपाली कांग्रेस कर्णालीका अभिभावक लाल हमालले पनि यो धर्तीबाट बिदा लिइसक्नुभएको छ।
गत साल दैलेखका नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्का र कञ्चनपुर जिल्लाका नेता बलदेव बोहोराको पनि क्यान्सरका कारण निधन भयो। अहिले गण्डकी अञ्चलका भरपर्दा नेता, प्रतिबन्धित कालमा कांग्रेसको बिउ जोगाएर बिपी कोइरालाको सिद्धान्तमा अडिग व्यक्तित्व गोपालमान श्रेष्ठको निधन भयो। जन्मनु र मर्नु प्रकृतिको नियम नै हो। तथापि राष्ट्र निर्माणमा योगदान दिएका, देशमा प्रजातन्त्र, लोकतन्त्रका लागि जीवनभर त्याग गरेका विशिष्ट व्यक्तित्वको निधनले समाजमा रिक्तता देखापर्छ। अहिले नेपाली कांग्रेसमा र विशेष गरी गण्डकी प्रदेशमा यही अभाव खड्किएको बताउँछन् गोपालमानलाई नजिकबाट चिन्नेहरू।
फुट्दै, जुट्दै गरेको कांग्रेस २०५९ सालमा फुटेर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भयो। तत्कालीन राजाले असक्षम मात्र भनेनन्, शेरबहादुर देउवालाई शाही आयोगमार्फत नजरबन्द नै गरिदिए। गोरखाका राजाबाट न्याय पाएँ भनी तेस्रोपटक प्रधानमन्त्री बन्न पुगेका देउवालाई अपदस्त गरेपछि तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति पद आफैंले सम्हाल्नुभएको थियो गोपालमान श्रेष्ठले। नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिने अधिवेशनको नेतृत्व उहाँले आफैं गर्नुभएको थियो।
जनआन्दोलन २०६२/६३ सालमा एकातिर तत्कालीन माओवादीको जनविद्रोह चलिरहेको थियो। अर्कातिर तत्कालीन राजाको प्रत्यक्ष शासनकाल चलिरहँदा नेपाली जनता चेपुवामा थिए। यसको निकासका लागि विद्रोही माओवादीसँग शान्तिवार्ता गर्नुबाहेक दोस्रो विकल्प हुन सक्दैन भन्ने सल्लाह तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई दिने पहिलो व्यक्ति नेता गोपालमान श्रेष्ठ नै थिए।
पछि १९ दिने जनआन्दोलन २०६३ वैशाख ११ गते सफल भएपछि लोकतन्त्रलाई मजबुत बनाउनका लागि दुवै पार्टी एक हुनैपर्छ भनेर सभापति शेरबहादुर देउवालाई उचित सल्लाह दिने व्यक्ति पनि गोपालमान श्रेष्ठ नै हुनुहुन्थ्यो। त्यसपछि यस विषयलाई बहसमा नेता विमलेन्द्र निधि र स्व. प्रदीप गिरीले ल्याउनुभएको थियो।
अन्ततः २०६३ असोजमा दुवै पार्टी एक भएको थियो। त्यसपछि २०६३ मंसिर ५ गते विद्रोही माओवादीसँग काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पाँच बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएर १० वर्षे जनयुद्धको समाप्ति भएको थियो। शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहबिच संयुक्त हस्ताक्षर गर्नुभएको थियो।
यसरी दुई ध्रुवमा रहेका राजनीतिक दलहरू र माओवादीबिच शान्ति सम्झौता गराउनमा गोपालमान श्रेष्ठको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो।
गोपालमान श्रेष्ठ, प्रदीप गिरी, विमलेन्द्र निधि, चिरञ्जीवी वाग्ले, अर्जुननरसिंह केसी यस्ता नेता हुन्, जसले शेरबहादुर देउवालाई नेपाली कांग्रेसको पार्टी सभापति बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। पार्टीभित्र किचलो बढ्दै गएपछि एउटा राजनीतिक संयन्त्र निर्माण गरी उहाँहरूले ‘सात भाइ एक ठाउँ’ भन्ने राजनीतिक सूत्र खडा गरे। जसमा गोपालमान श्रेष्ठ उमेर र राजनीतिक अनुभवका आधारमा आफूलाई अब्बल दर्जाको नेता साबित गर्न चाहनुहुन्थ्यो तर पछिल्लो अवस्थामा रोगले शिथिल हुनुभयो। बरु उहाँ आफूलाई केही चाहिन्न, पार्टीभित्रको असन्तुष्टि साम्य पार्नुपर्छ भन्ने मान्यतामा अडिग रहनुभयो।
यसैगरी उहाँले २०७९ को राष्ट्रिय चुनावमा नेकपा माओवादीसँग मिलेर चुनाव लड्नुपर्छ भन्ने नेपाली कांग्रेसको निर्णयको विपक्षमा उभिएर बोल्नुभएको थियो। उहाँ त्यसबेला ‘एक्लो बृहस्पति झुटो’जस्तै साबित हुनुभयो। वर्तमान पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र हालका असन्तुष्ट पक्ष मानिएका नेता डा. शेखर कोइरालाले तत्कालीन पार्टी सभापति देउवाको सो निर्णयको विरोध गरेका थिए।
वास्तवमा आफ्नो स्वार्थका लागि नेपाली कांग्रेसले सिद्धान्तविपरीत कदम चाल्नुहुँदैनथ्यो भन्ने ठुलो पाठ त्यही बेलादेखि सिकायो। पार्टीमा आन्तरिक विद्रोह एकातिर चुलियो भने अर्कातिर वामपन्थी दलसँग मिलेर जाँदा देशमा भयावह राजनीतिक अवस्था देखाप¥यो। राजनीतिमा बेइमान नभइदिएको भए गत साल भदौ २३ र २४ गतेको अकल्पनीय घटना सायद घट्दैनथ्यो कि ? ओली, देउवा र प्रचण्डबिचको अपवित्र राजनीतिक गठबन्धन नभएको भए भन्ने राजनीतिक विश्लेषक बताउने गर्छन्।
पछिल्लो अवस्थामा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएपछि उहाँमा केही असन्तुष्टि देखा परेको थियो। ‘संकटकालका अवस्थामा शेरबहादुर देउवालाई काँधमा बोकेर हिँडेँ, उहाँको सदैव भलो चिताएर पार्टीको काम गरेको व्यक्ति हुँ म’ भन्नुहुन्थ्यो। जुन स्वाभाविक पनि हो। गत पुस २७–३० गते राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशनमा जानुभन्दा अघि गोपालमान श्रेष्ठले ‘धेरैपटक देउवासँग समस्याको समाधान समयमा नै गर्नुपर्छ, भोलि पार्टी पंक्तिमा विचलन आउन सक्छ’ भन्नुभएको थियो।
आखिरमा नसोचेको परिणाम हाल पार्टीमा देखा परिरहेछ। दुवै समूहमा अभिभावकविहीनको जस्तो अवस्था देखिँदै छ। विशेष महाधिवेशनमा गोपालमान श्रेष्ठ र ओमकार श्रेष्ठ पुग्नुभयो। ‘युवाहरूको पनि हो नेपाली कांग्रेस पार्टी’ भनेर विशेष महाधिवेशनमा सम्बोधन पनि गर्नुभयो। त्यही नै उहाँको अन्तिम सम्बोधन हुन पुग्यो।
गोपालमान श्रेष्ठ वास्तवमा समाजवादी नेता हुनुहुन्थ्यो। सर्वमान्य नेता गणेशमान सिंहद्वारा दीक्षितजस्तो देखिनुहुन्थ्यो। लप्पनछप्पन उहाँमा थिएन। २०१४ सालमा स्याङ्जाको सदरमुकाम नुवाकोटमा थियो। प्रतिबन्धित कालमा जिल्लाको छैटौं र सातौं महाधिवेशन उहाँकै घरमा सम्पन्न भएको थियो। प्रतिनिधि सभाको २०४८, २०५६ र २०६४ प्रत्यक्षतर्फ र २०७० सालमा समानुपातिकतर्फबाट स्याङ्जा जिल्लाबाट प्रतिनिधित्व गर्नुभयो।
२०१७ देखि २०६३ सालसम्म देशका विभिन्न जिल्लामा सात वर्षसम्म बन्दी जीवन बिताउनुभयो। बिपी, गणेशमान र किसुनजीसँगै लामो कालखण्डसम्म प्रवासमा जीवन बिताउनुभयो। पटकपटक वाणिज्य, शिक्षा, वन र २०७४ सालमा उपप्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गोपालमान भ्रष्टाचाररहित नेता हुनुहुन्थ्यो। बिपी कोइरालाको ४४ औं स्मृति दिवसको उपलक्षमा सभापति गगनकुमार थापाले उहाँलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्नुभएको थियो।
दुई जना श्रीमती झलककुमारी र सावित्री श्रेष्ठबाट तीन छोराहरू राजकुमार श्रेष्ठ, अमित श्रेष्ठ र सम्पूर्णमान श्रेष्ठ र ६ जना छोरीहरू इन्दिरा, पोर्सिया, शैलजा, सुलोचना, निशा र मनिषा श्रेष्ठ हुनुहुन्छ। नेपाली कांग्रेसमा राजनीतिक संस्कार यसरी देखापर्यो कि नेपाली कांग्रेसको पार्टी कार्यालयमा अन्तिम बिदाइका लागि असन्तुष्ट पक्षका कुनै पनि नेता, कार्यकर्ताले पाइलासम्म टेकेनन्। आर्यघाटमा पनि सोही कुरा दोहोरियो। जुन गोपालमान श्रेष्ठको लोकतन्त्र बहालीका लागि गर्नुभएको संघर्षको अपमान हो भन्ने लाग्छ। बिपीको अनुशरणमा लाग्नुपर्ने देखिन्छ।
प्रकाशित: ६ भाद्र २०८३ ०८:०४ शनिबार