विश्व नै एक संकटको समयमा गुज्रिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय विजय हासिल गरेको छ। रास्वपाले एक्लै सरकार गठन गर्न सक्ने झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको छ। रास्वपाको निलो झन्डा र चुनाव चिह्न ‘घन्टी’ अहिले देशभरि फर्फराइरहेका छन् र घन्किरहेका छन्, जसले भ्रष्टाचार अन्त्य गर्दै नयाँ परिवर्तनतर्फ अघि बढ्न युवापुस्ताको आवाजलाई प्रतिध्वनित गरिरहेका छन्।
तर एक प्रचलित नेपाली भनाइजस्तै यी नवनिर्वाचित ऊर्जावान् नेपाली युवाहरू देश हाँक्न आएको बेला ‘भूतले खाजा खाने बेला’ परेको छ। आज नेपालमा विगतका नेताहरूविरुद्ध आरोपित भ्रष्टाचारका मुद्दाको समाधान गर्नु छ, जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई न्याय दिनु छ, खाडी मुलुकमा भएको युद्धले अन्योलमा परेका नेपाली प्रवासी कामदारलाई सुरक्षित घर ल्याउनु छ, भूराजनीतिलाई ध्यानमा राख्दै दे सुहाउँदो परराष्ट्र नीति लिई छिमेकी राष्ट्रहरूलाई विश्वासमा लिनु छ र यो सबै गरेर देशलाई विकासतर्फ लम्काउनु छ। यस्तो बेलामा नेपाली जनताको भूमिका झन् महत्त्वपूर्ण छ। यो नवनिर्वाचित सरकारलाई आफ्नो कार्य सफल पार्न सहायता पनि अब जनताले गर्नुपर्छ र संसद्मा एक बलियो प्रतिपक्ष नभएकाले जनता नै एक प्रतिपक्ष भएर सरकारलाई सतर्क पनि गरिरहनुपर्छ।
विश्वका विभिन्न देशका नेताबाट रास्वपालाई बधाई सन्देशहरू आइरहेका छन्। तीमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा राखेको सन्देशले नेपाल र भारत दुवै देशमा चर्चा पाएको छ। उनले रवि लामिछानेसँग न्यानो टेलिफोन वार्ता भएको उल्लेख गर्दै दुवै देशको पारस्परिक समृद्धिका लागि सहकार्य गर्न उत्सुक रहेको बताएका छन्।
लामिछानेले उक्त सन्देशलाई पुनःप्रसारण गर्दै धन्यवाद दिएका छन् र नेपाल–भारत दुवै देशको विकासका लागि सहकार्य गर्न आफू पनि इच्छुक रहेको बताएका छन्। त्यस्तै बालेन्द्र शाहले नेपालीमा प्रत्युत्तर दिँदै सहकार्य गर्नुका साथै भारतले लगातार दुईचोटि क्रिकेट विश्वकप जितेकोमा भारतीय जनतालाई बधाई पनि दिएका छन्।
रास्वपाले अब नेपालमा सरकार गठन गर्ने निश्चित भएपछि नयाँ अनुहारहरू विशेषगरी सम्भावित प्रधानमन्त्रीले कसरी काम गर्नेछन् भन्ने विषयमा मिडियामा विभिन्न अड्कलबाजी र भविष्यका चर्चा पनि हुन थालेका छन्। नेपालभित्र समाधान गर्नुपर्ने धेरै चुनौतीपूर्ण मुद्दा छन्। तीमध्ये भूराजनीति र नेपालको भावी भूमिका देशभित्र र विश्वभरि नै चासोका साथ हेरिएको विषय हो।
भारत र चीनबिच रहेको नेपालको भौगोलिक स्थिति लामो समयदेखि संवेदनशील रहँदै आएको छ। यसले केवल यी तीन देश मात्र होइन, पश्चिमी विश्वलाई पनि आकर्षण गर्ने विषय बनेको छ। नेपालका लागि यी दुवै शक्तिशाली छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्नु अत्यन्त महत्त्वपूर्ण रहँदै आएको छ, किनकि देशको दैनिक आर्थिक र रणनीतिक अस्तित्व यी दुवैसँग जोडिएको छ। नेपालको भूपरिवेष्ठित स्थितिले विगतमा धेरै कठिन अवस्था भोग्न परेको यथार्थ कसैले बिर्सेका छैनन्।
दुर्भाग्यवश, विगतका धेरै सरकारहरूसँग स्पष्ट परराष्ट्र नीति वा प्रभावकारी वार्ता क्षमता देखिएको थिएन। बालेन्द्रको नेतृत्वमा बन्ने रास्वपा सरकारले विशेष गरी भारत र चीनसँग सम्बन्ध व्यवस्थापन गर्दा कस्तो भूराजनीतिक दृष्टिकोण अपनाउँछ भन्ने विषय अहिले सबैको चासोको केन्द्र बनेको छ।
३६ वर्षीय शाह, जो बालेन नामले लोकप्रिय छन्, एक इन्जिनियरबाट र्यापर बनेर काठमाडौं महानगरपालिकाका मेयरसम्म बने र अब ऐतिहासिक सफलता कायम गर्दै देशको प्रधानमन्त्री पदतर्फ बढिरहेका छन्। उनले केपी शर्मा ओलीलाई वामपन्थी गढ मानिने झापा–५ बाट पराजित गराउनु जित मात्र नभएर एक सन्देश पनि हो।
बालेन्द्र अब नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री मात्र होइन, मधेस प्रदेशबाट आउने पहिलो मधेसी समुदायका प्रधानमन्त्री पनि बन्नेछन्। उनीसँगै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका धेरैजसो सांसद युवा, शिक्षित र इमानदार कार्यशैलीका रूपमा परिचित छन्। यसले बालेन्द्र नेतृत्वको मन्त्रिपरिषद्ले नेपालका आन्तरिक मुद्दालाई प्राथमिकतामा राख्दै छिमेकी र विश्वसँग सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
रास्वपाको उदय पनि निकै तीव्र गतिले भएको छ। २०७९ को आमनिर्वाचनताका लोकप्रिय टेलिभिजन प्रस्तोता रहेका रवि लामिछाने राजनीतिमा प्रवेश गरेपछि पार्टीको उदय भएको थियो। त्यही समयमा बालेन्द्र स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयर निर्वाचित भएपछि देशभरि धेरै स्वतन्त्र उम्मेदवारहरू चुनावमा होमिएका थिए।
पछि लामिछानेले ती स्वतन्त्र आवाजहरूलाई एकत्रित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे। छोटो समयमा नै रास्वपा संसद्को तेस्रो ठुलो शक्ति बन्यो। लामिछाने केही समय गृहमन्त्री र पछि उपप्रधानमन्त्री पनि बने। प्रभावशाली राजनीतिक व्यक्तित्वहरू संलग्न भ्रष्टाचारका मुद्दाहरू पुनः खोल्ने कदमले उनलाई विशेष चर्चामा ल्यायो। यद्यपि उनको राजनीतिक यात्रा विवादरहित भने छैन। उनका विरुद्धका केही कानुनी मुद्दाहरू अझै विचाराधीन छन्।
शाह र लामिछाने दुवैको लोकप्रियता विशेष गरी युवापुस्तामाझ असाधारण देखिन्छ । उनीहरूको नेतृत्वले जनअपेक्षालाई प्रभावकारी शासनमा रूपान्तरण गर्न सफल भयो र विगतका सरकारहरूको तुलनामा नेपालको भूराजनीतिक सम्बन्धलाई अझ सन्तुलित ढंगले व्यवस्थापन गर्न सके भने नेपाल साँच्चै नै स्थायित्व र समृद्धितर्फ अग्रसर हुने नयाँ राजनीतिक युगमा प्रवेश गर्न सक्छ।
तर उनीहरूका लागि सबैभन्दा पहिलो चुनौती भनेको जेनजी आन्दोलनकारीहरूको माग पूरा गर्नु हो, अर्थात् आन्दोलनपछि भएको हत्या र तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्नु। यसबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन केही दिनअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको छ।
हालको विश्वमा भइरहेको नेतृत्वको कार्य हेर्ने हो भने निराशाजनक गतिविधिहरू पनि देखिन्छन्। संयुक्त राज्य अमेरिका र इजरायलले मिलेर इरानमाथि आक्रमण गरे, जसमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित सयौं मानिसको मृत्यु भयो, जसमा विद्यालयका छात्राहरू पनि परेका छन्। नयाँ सहस्राब्दी अगाडि बढ्दै जाँदा विश्व झन् अस्थिरता र अशान्तितर्फ उन्मुख भइरहेको देखिन्छ।
महाशक्तिहरू थप स्रोत र शक्ति कब्जा गर्ने लोभबाट प्रेरित देखिन्छन्, जबकि निर्दोष मानिसहरू आफ्नै कुनै दोषबिना मारिइरहेका छन्। दिनरात परिश्रम गरेर परिवारको आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका सर्वसाधारण मानिस महाशक्तिहरूबिचको शक्ति संघर्षको सबैभन्दा ठुलो मार सहन बाध्य भइरहेका छन्।
आज पृथ्वीमा भइरहेको शक्ति संघर्षमा तेल, प्राकृतिक स्रोतसाधन र हतियार उद्योगको राजनीतिक खेलले प्रमुख भूमिका खेलिरहेका छन्। यसमा विश्वभरका प्रवासी कामदारहरू सबैभन्दा बढी चेपुवामा परेका हुन्छन्। हालको यो युद्धले मध्यपूर्वमा काम गर्न गएका नेपालीहरूको ज्यान जोखिममा परेको छ । खाडी क्षेत्रमा करिब १.५ मिलियन नेपालीहरू कार्यरत छन्। हालको युद्धले तिनीहरूको ज्यान जोखिममा पार्नुका साथै आर्थिक स्थितिमा समेत प्रहार गरेको छ। उता कार्यरत नेपाली र उनीहरूको परिवार यस समय अन्योलमा परेका छन्। साथै यो युद्धले देशमा महँगी आकासिनुका साथै दैनिक जीवनमा अति आवश्यक वस्तु जस्तै खाना पकाउने ग्यास, आवतजावतको इन्धनलगायत अन्य सामग्रीमा कमी हुन थालेको छ।
दीर्घकालदेखि अस्थिरता, भ्रष्टाचार र अधुरा वाचाले थाकेको नेपालका लागि यो निर्वाचन सम्भवतः फरक राजनीतिक यात्राको सुरुवात हुन सक्छ तर नव निर्वाचित युवा पुस्ताले नेतृत्व गर्ने सरकार एक अफ्ठ्यारो समयमा उदाएकाले सम्पूर्ण नेपाली जनताले उनीहरूको देशको विकास गर्ने जमर्कोलाई पूरा समर्थन गर्न जरुरी छ। यसका साथै यो समयमा प्रतिनिधिसभामा बलियो प्रतिपक्ष छैन। त्यसैले रास्वपालाई आफ्ना अजेन्डा अगाडि बढाउन सजिलो पर्छ तर लोकतन्त्रमा एक बलियो प्रतिपक्षको ठुलो भूमिका हुन्छ। अब जुन जनताले रास्वपालाई अत्यधिक मतले जिताएको छ, त्यही जनताले उनीहरूको देश बनाउने कार्यमा सहायता गर्नुका साथै एक बलियो प्रतिपक्षको रूपमा उभिन पनि जरुरी छ।
रास्वपाले जनताको सहायता लिएर ‘जनताले हेरिरहेका छन्, हामीले वाचा गरेको पूरा गर्नुपर्छ’ भन्ने हेक्का लिएको खण्डमा नेपाललाई जनताले चाहेको जस्तो विकासतर्फ लम्काउन सफल भइन्छ।
प्रकाशित: २९ फाल्गुन २०८२ ०९:४४ शुक्रबार