सरल रूपमा परिभाषित गर्दा नारीवाद भनेको महिला र पुरुषबिच समानताको आधारमा महिलाको अधिकारको वकालत गर्नु हो तर नारीवादबारे कुरा गर्नेबित्तिकै त्यसप्रति विरोध र यसलाई कुनै खतराका रूपमा हेर्ने प्रवृत्ति अझै विद्यमान छ।
गत अगस्ट ७ मा ललितपुरस्थित बोधिसत्त्व आर्ट ग्यालरीमा इन्टरजेनेरेसनल सिभिक फोरम र साउथ एसिया पिस एक्सन नेटवर्कले आयोजना गरेको ‘द योङ एन्ड रेस्टलेस: साउथ एसियाज न्यु पोलिटिकल फोर्स’ शीर्षकको अन्तरपुस्ता छलफलमा युवा पुस्ताका जेनेरेसन जेडका सहजकर्ता बालकृष्ण शाहले उमेरले दशकौं फरक रहेका दुई नारीवादी अभियन्ता खुसी कबिर र अस्मिता शाहलाई एउटा प्रश्न गरेपछि बहस तातेको थियो।
बहसको सुरुवात बालकृष्णले नारीवादविरुद्ध भइरहेका विभिन्न तर्क र सामाजिक सञ्जालमा नारीवादलाई ‘विषाक्त नारीवाद’ अर्थात् ‘टक्सिक फेमिनिज्म’ भनेर आलोचना गर्नेहरूप्रति उनीहरूको धारणा के हो भन्ने प्रश्नबाट गरेका थिए। प्रश्न गर्नुअघि उनले आफूले यो प्रश्न गर्दा प्रतिक्रिया आउन सक्छ भन्ने थाहा भएको बताएका थिए।
एकातिर सात दशक पार गरिसकेकी र अर्कातिर २० वर्षको दशकमा रहेकी दुई नारीवादीसँगको छलफल आफूले सञ्चालन गरिरहेकाले उनीहरूले यस विषयलाई कसरी हेर्छन् भन्ने जान्न चाहेको उनको भनाइ थियो।
बंगलादेशकी मानव अधिकार अभियन्ता खुसी कबिरले नारीवादमा आफूले कुनै विषाक्तता नदेखेको बताइन्। उनका अनुसार नारीवाद भनेको महिलालाई समान मानवका रूपमा अधिकार दिलाउने अभियान हो तर मानिसहरूले कुनै पनि आन्दोलन र विचारधारामा कट्टरताको अस्तित्वबारे प्रश्न उठाइरहेका छन् भने त्यसलाई पनि गम्भीर रूपमा लिनुपर्ने उनको धारणा थियो।
उनले भनिन्, ‘सच्चा नारीवादी भएर तपाईं कट्टर हुन सक्नुहुन्न। वास्तवमा कुनै पनि विचारधारा र आन्दोलनमा कट्टरता हुनुहुँदैन।’
अस्मिता शाहले पनि कबिरको भनाइमा सहमति जनाउँदै आफू किशोरावस्थामै नारीवादी बनेको बताइन्। महिला भएकै कारण आफूले धेरै अन्याय भोग्नुपरेपछि आफू नारीवादी बनेको उनको भनाइ थियो। उनले महिलाको अधिकार हासिल गर्नु अझै पनि टाढाको सपनाजस्तो रहेको र ग्रामीण क्षेत्रमा बस्ने महिलाका लागि यो चुनौती अझ ठुलो रहेको बताइन्।
कबिरको धारणा छ, नारीवादबारे कुरा गर्दा एउटा कुरा बुझ्न आवश्यक छ– हरेक मुद्दा नारीवादी मुद्दा हो किनभने कुल जनसंख्याको ५० प्रतिशत महिला छन्। आधा जनसंख्याका आवश्यकता र अधिकारबारे कुरा नगरी लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन।
पत्रकारिता, सामाजिक अभियान र विकास क्षेत्रमा तीन दशकभन्दा बढी समयको आफ्नै व्यावसायिक अनुभवका आधारमा अहिले मलाई लाग्न थालेको छ– नारीवादप्रति यति धेरै आपत्ति अझै किन छ र मिलेनियल तथा जेनेरेसन जेड पुस्तामा फेरि ‘अल्फा मेल’ प्रवृत्ति किन देखिन थालेको छ भन्ने विषयमा गहिरो अध्ययन र बहस आवश्यक छ।
यसको कारण विश्वभरको नारीवादी आन्दोलन असफल भएको होइन। यसको कारण पितृसत्ताका जरा र सोच अझै पनि मानिसहरूको मानसिकतामा गहिरोसँग रहेको छ। विशेषगरी राज्य सञ्चालन गर्ने र निर्णय गर्ने तहमा रहेका मानिसहरूको सोचमा यसको प्रभाव अझै देखिन्छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवातमै महिलाको सुरक्षित जीवन, प्रजनन अधिकार र महिलासम्बन्धी विभिन्न कार्यक्रमलाई सहयोग गर्दै आएको अमेरिकी सहयोग नियोग (युएसएआइडी) को कोष कटौती गर्नु तथा अफगानिस्तानमा बालिका र महिलाका आधारभूत मानव अधिकारसमेत प्रभावकारी रूपमा खोसिनुले एउटा संकेत दिन्छ।
महिलाहरू पुरुषसरह समान छैनन् भन्ने तर्कलाई सही ठह¥याउन खोज्ने शक्तिहरू अझै पनि विश्वभर महिलाका अधिकार पूर्ण रूपमा स्थापित हुन नदिने अवस्थामा सफल भइरहेका छन्।
नारीवादले धेरै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। महिलाको मतदानको अधिकार, स्वास्थ्यमा पहुँच, समान पारिश्रमिक तथा आफूले चाहेको कुनै पनि पेसा अपनाउन महिला पनि समान रूपमा योग्य छन् भन्ने मान्यतालाई स्थापित गर्न नारीवादी आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको छ।
उदाहरणका लागि, विश्वभर महिला खेलकुदलाई हेर्ने दृष्टिकोणमा ठुलो असमानता थियो। खेल क्षेत्रमा महिलाले पाउने पारिश्रमिकमा पनि ठुलो विभेद थियो। पूर्ण समानता अझै हासिल हुन बाँकी भए पनि विभिन्न देशमा महिला फुटबल, टेनिस र अन्य खेललाई पुरुषका खेलसरह, कतिपय अवस्थामा पुरुषका खेलभन्दा बढी नै रुचिका साथ हेर्न थालिएको छ। टेनिसका केही प्रतियोगितामा महिला र पुरुषका लागि समान पुरस्कार राशि कायम गरिएको छ भने नारीवादी आन्दोलनले अझ बढी समानताका लागि निरन्तर अभियान चलाइरहेको छ।
नेपालकै कुरा गर्ने हो भने हामी जन्मिँदा छोरीलाई पैतृक सम्पत्तिमा अधिकार थिएन। विवाहपछि मात्र श्रीमान् र ससुरालीको सम्पत्तिमा अधिकार हुने व्यवस्था थियो।
अहिलेको अवस्थामा नेपालमा नारीवादी आन्दोलनको बलियो उपस्थितिका कारण छोराछोरी दुवैलाई पैतृक सम्पत्तिमा समान अधिकार प्राप्त भएको छ। महिलाको आधारभूत आवश्यकतादेखि मानव अधिकारसम्म सुनिश्चित गर्न धेरै कानुन निर्माण र संशोधन भएका छन्। यी अधिकार विश्व मानव अधिकार घोषणापत्रले सुनिश्चित गरेका अधिकारसँग पनि जोडिएका छन्।
दुर्भाग्यवश, कानुन बनेर लागु भइसकेपछि पनि समाजमा पूर्ण स्वीकृति र यस्तो मानसिकता अझै विकास हुन सकेको छैन, जसले हरेक मानिस, चाहे ट्रान्सजेन्डर होस्, महिला होस् वा पुरुष, समान हुन् भन्ने स्वीकार गरोस्।
खुसी कबिरले दिएको उदाहरणलाई हेर्ने हो भने बंगलादेशमा जेनेरेसन जेडले नेतृत्व गरेको आन्दोलन र त्यसपछि भएको निर्वाचनमा एउटा सकारात्मक पक्ष के थियो भने इस्लामिक शक्तिहरू विजयी हुन सकेनन्। तर सबै दलले उठाएका उम्मेदवारलाई हेर्दा महिलाको उम्मेदवारीको अनुपात अत्यन्तै निराशाजनक देखिन्थ्यो।
नेपाल र दक्षिण एसियाका अन्य देशमा अहिले छोरी र छोरालाई पैतृक सम्पत्तिमा समान अधिकार प्राप्त भए पनि अझै पनि कतिपय परिवारमा छोरा नजन्मिए सामाजिक रूपमा अस्वीकार गरिने डरका कारण गर्भवती महिलालाई भ्रूणको लिंग पहिचान गरी छोरी भए गर्भपतन गराउन बाध्य पारिने अवस्था छ।
मैले तालिम सञ्चालन गर्दा लगभग हरेक तालिममा २० वर्षको दशकमा रहेका युवतीहरूले एउटा पीडादायी अनुभव सुनाउँछन्– परिवारमा पहिले नै छोरीहरू भएकाले आफू छोरीका रूपमा जन्मिँदा परिवार खुसी नभएको र आफ्नो जन्मलाई परिवारका सदस्यहरूले निराशाका रूपमा लिएको।
सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यमलाई नियाल्ने हो भने डिजिटल युगमा महिला पेसाकर्मी र सामान्य महिलाविरुद्धको प्रतिक्रिया र आक्रमण बढिरहेको देखिन्छ।
विशेषगरी महिलाले आफ्नो अधिकारका विषयमा आवाज उठाउँदा उनीहरूमाथि गरिने टिप्पणी र लक्षित आक्रमण झन् विषाक्त बन्दै गएको छ। वास्तवमा महिला र अधिकारकर्मीविरुद्धको विषाक्तता अहिले अझ बढेको छ। उपलब्ध तथ्यांकले पनि भौतिक र भर्चुअल दुवै प्रकारका आक्रमणमा महिलाहरू बढी लक्षित हुने गरेको स्पष्ट देखाउँछन्।
अब नारीवादी आन्दोलनले पितृसत्तामा रहेको कट्टरता किन अझै कायम छ र कतिपय अवस्थामा किन बढिरहेको छ भन्ने विषयमा पनि गम्भीर रूपमा समीक्षा गर्न आवश्यक छ। कम्प्युटर र मोबाइलका थुप्रै खेलमा ‘माचो’ व्यवहार गर्ने पात्रहरूलाई लोकप्रिय बनाइएको छ। मनोरञ्जनको संसारले पनि हतियार, युद्ध र माचो व्यवहारलाई अझै आकर्षक रूपमा प्रस्तुत गरिरहेको छ।
विश्वभर युवाहरूले आफ्ना नेताहरूले देशमा लोकतन्त्र कसरी सुरक्षित गरिरहेका छन् भनेर प्रश्न गर्ने आन्दोलनहरू बढिरहेका बेला युवाहरूले आफ्नै पुस्ताभित्र पनि गम्भीर रूपमा हेर्न आवश्यक छ।
आधा जनसंख्या ओगट्ने महिलासहित सबै मानिसका अधिकार सुरक्षित नभएसम्म लोकतन्त्र वास्तवमै बलियो र सुरक्षित हुन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उनीहरूले गर्नुपर्छ।
कानुन बनेर लागु भइसकेको अवस्थामा पनि छोरीको जन्म अझै किन स्वागतयोग्य हुँदैन? छोरीहरूलाई आफूले चाहेजति शिक्षा हासिल गर्न दिनुको सट्टा किन अझै धनी परिवारमा विवाह गरिदिने सोच कायम छ? किन उनीहरूलाई आफ्नै बाबुआमाको सम्पत्तिमा अधिकार प्राप्त गर्नुभन्दा अरूको सम्पत्तिमा निर्भर बनाइन्छ ? किन उनीहरूलाई आफ्नो रुचिअनुसार पेसागत जीवन अघि बढाउन प्रोत्साहित गरिँदैन ? यस्ता प्रश्नहरूको गम्भीर समीक्षा आवश्यक छ।
युवा पुस्ताका महिला र पुरुष दुवैले आफ्नो जीवनमा समानताको अभ्यास गर्न आवश्यक छ। एकअर्कामा निर्भर हुनेभन्दा एकअर्काका परिपूरक भएर अघि बढ्ने सोच विकास गर्नुपर्छ।
बालकृष्ण र अस्मिता शाहजस्ता जेनजी युवाले अन्तरपुस्ता छलफलमा जस्तै यी विषयलाई खुलेर उठाउनुपर्छ। साथै, अब नेपाललाई यस्तो समतामूलक समाजतर्फ अघि बढाउन सुनिश्चित गर्नुपर्छ, जहाँ कुनै पनि छोरी जन्मिँदा परिवार निराश हुनुपर्ने अवस्था नरहोस्।
प्रकाशित: २९ श्रावण २०८३ ०९:४१ शुक्रबार