व्यावसायिक खेलकुद संसारका धेरै देशहरूमा लामो समयसम्म पुरुषमै सीमित रह्यो तर अवसर पाउने वित्तिकै महिलाहरूले पनि खेलकुदमा आफ्नो क्षमता देखाउँदै विभिन्न विश्व कीर्तिमान र उपलब्धि हासिल गर्न थालेका छन्। ओलम्पिक लगायतका विश्वस्तरीय प्रतियोगिताहरूमा महिलाको सहभागिता र योगदान निरन्तर बढ्दो छ। विकसित देशहरूमा त महिलाको सहभागिता झन्डै बराबरीमा पुगेको छ भने विकासोन्मुख देशहरूमा उनीहरूले अझै पनि सामाजिक धारणा, पूर्वाधारको कमी र आर्थिक कठिनाइ जस्ता चुनौती सामना गर्नु परिरहेको छ।
गरिबी र स्रोत–साधनको कमी भएका मुलुकमा महिला र पुरुष दुवैलाई रोजगारीतर्फ प्रोत्साहित गरिन्छ तर खेलकुदलाई करिअरको रूपमा रोज्न सक्ने अवस्था धेरैका लागि सहज हुँदैन। खेलमा उत्कृष्ट हुन लामो अभ्यास, उचित पूर्वाधार र निरन्तर लगन जरूरी हुन्छ। यसका लागि परिवार र समाज दुवैको समर्थन चाहिन्छ तर सपना भने आफैंले देख्नुपर्छ। अहिले धेरै नेपाली किशोरीले खेलकुदलाई आफ्नो जीवनको मार्ग बनाउने सपना देख्न थालेका छन्।
हालैका उपलब्धि यसका स्पष्ट प्रमाण हुन् - तेक्वान्दोमा पलेशा गोवर्धनले पेरिस पेरालम्पिक २०२४ मा ऐतिहासिक कास्य पदक जितेर नेपाललाई पहिलो पटक पदक दिलाइन्। करातेमा अरिका गुरुङले अष्ट्रेलियन ओपनमा स्वर्ण र मोरक्कोमा अन्तर्राष्ट्रिय कास्य पदक जितेर नेपालको नाम विश्वमञ्चमा चम्काइन्। फुटबलमा सबित्रा भण्डारी (साम्बा) युरोपेली टप–टायर लिगमा खेल्ने र ह्याट–ट्रिक गर्ने पहिलो दक्षिण एसियाली खेलाडी बनिन्।
त्यस्तै महिला क्रिकेट टोलीले पहिलो पटक आइसिसी यु–१९ महिला टी २० विश्वकप २०२५ मा प्रवेश गरेर ऐतिहासिक उपलब्धि हासिल गर्यो र सिनियर टोलीले ग्लोबल क्वालिफायरको लागि स्थान सुनिश्चित गर्यो।
यी उपलब्धिले के प्रमाणित गर्छन् भने नेपाली महिला खेलकुदमा मात्र सहभागी हुन थालेका होइनन्, उनीहरूले प्रतिस्पर्धा र विजेताको भूमिका निर्वाह गर्दै राष्ट्रको प्रतिष्ठा पनि बढाइरहेका छन्। यो निरन्तरता र लगानी कायम रहिरह्यो भने भविष्यमा नेपालबाट अझ धेरै अन्तर्राष्ट्रिय स्तरका महिला खेलाडी तयार हुने सम्भावना प्रबल छ।
नेपाल राष्ट्रिय महिला क्रिकेट टोली (एनएनडब्लयुसिटी) को हालैको सफलता नेपाली मिडियामा व्यापक रूपमा चर्चामा आएको थियो। खेलेको सबै प्रतियोगिता नजिते पनि विश्व कपतिर क्रमशः अगाडि बढ्ने कोसिस भने उनीहरूले गरेको कुरा त मान्नैपर्छ। सार्वजनिक र राजनीतिक नेताहरूबाट प्रशंसा प्राप्त गरेको टोलीले ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेर धेरै खेलाडी र समर्थकहरूको पुरानो सपना पूरा गरेका छन्। यस उपलब्धिले नेपालको खेलकुद क्षेत्रलाई उत्साहित बनाएको मात्र होइन हजारौं नेपाली किशोरीहरूलाई खेलमा सक्रिय हुन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्ने सपना देख्न पनि प्रेरित गरेको छ।
सन् २०२५ मे महिनामा, नेपाली महिला क्रिकेट टोलीले युएईलाई पाँच विकेटले हराउँदै आइसिसी महिला टि–२० विश्वकप एसिया क्वालिफायरको सुपर थ्री चरणमा जित हात पर्यो र ग्लोबल क्वालिफायरको टिकट पायो। एनएनडब्लुसिटीले सन् २००७ जुलाईमा मलेसियामा आयोजित एसिसी महिला प्रतियोगिताबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो र त्यसयता विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेको छ । हाल टोलीको कप्तानी इन्दु वर्माले गरिरहेकी छिन्।
विश्वभर महिलाको खेलमा सहभागिता तीव्र गतिमा बढिरहेको छ। एक दशकअगाडि पुरुष फुटबल र क्रिकेटले अधिकांश मिडिया कभरेज पाउँथे तर आज महिला खेलकुदले दर्शक तान्न थालेको छ र महिला खेलाडीहरूलाई समर्थन गर्ने संख्या बढ्दो छ। नेपालमा पनि राष्ट्रिय महिला क्रिकेट र फुटबल टोलीको निरन्तर सफलतासँगै महिला खेलहरूको दर्शक संख्या बढ्दै गएको देखिन्छ। भाग लिएका सबै प्रतियोगिता जित्न नसके पनि सहभागिता जनाएर खेलप्रतिको सतप्रतिशत समर्पण प्रस्तुत गरेका छन्।
पेरिस ओलम्पिकलाई इतिहासकै सबैभन्दा लैंगिक समानतायुक्त खेलकुदको रूपमा मनाइयो। विश्वभर महिला खेलाडीहरूले पुरुषभन्दा बढी परिश्रम गरेर पहिचान कमाउनुपरेको छ तर उनीहरूको अथक प्रयास र उत्कृष्ट उपलब्धिले कीर्तिमान तोड्दै, रूढीवादी सोचलाई चुनौती दिँदै नयाँ पुस्तालाई प्रेरणा दिइरहेको छ।
एनएनडब्लयुसिटीको जस्तै अन्य धेरै महिला खेलाडीहरू रोल मोडल बनेका छन् - जसले बालिकाहरूलाई खेल केवल रुचिको विषय मात्र होइन भविष्यको पेशा पनि हुन सक्छ भन्ने विश्वास दिलाएका छन्।
खेलकुदले बालबालिकामा जीवनका महत्त्वपूर्ण सिपहरू विकास गराउँछ। किशोर अवस्थादेखि खेलमा संलग्न हुनेहरूमा आत्मविश्वास, आत्मसम्मान, सहनशीलता र सहकार्यको भावना बलियो हुने गर्दछ। केटाहरूलाई सानैदेखि खेलमा प्रोत्साहित गरिन्छ भने केटीहरूलाई धेरैजसो निरुत्साहित गरिन्छ।
संयुक्त राष्ट्रसंघीय महिला संस्था (युएन वुमन) का अनुसार खेलमा संलग्न बालिकाहरू विद्यालयमा बढी समय बिताउँछन्, ढिलो विवाह गर्छन् र राम्रो रोजगारी प्राप्त गर्छन्। रोचक कुरा के छ भने अमेरिकाका उत्कृष्ट कम्पनीहरू ‘फर्चुन ५००’ को सूचीमा उल्लिखित ८० प्रतिशत महिला सिइओहरूले आफ्नो बाल्यकालमा खेल खेलेको उल्लेख गरिएको छ। यसले खेलले महिलालाई सशक्त बनाउने रहेछ भन्ने देखाउँछ।
‘प्यारिटी नाव’ (खेलकुद मार्केटिङ र प्रायोजन प्लेटफर्म जसले व्यावसायिक महिला खेलाडीहरूको लागि लैंगिक आय र अवसरको खाडल कम गर्न सघाउँछ) द्वारा गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार ९२ प्रतिशत उत्तरदाताले बालिकाको लागि खेल महत्त्वपूर्ण छ भनेका छन्, जसमा ६१ प्रतिशतले ‘अत्यन्तै महत्त्वपूर्ण’ मानेका छन् तर यति धेरै लाभ हुँदाहुँदै पनि १४ वर्षको उमेरसम्म आइपुग्दा केटीहरूले खेल खेल्न छाड्ने दर केटाहरूको तुलनामा दोब्बर देखिन्छ। यसो हुनुका पछाडि सामाजिक अपेक्षाहरू र केटीहरूका लागि गुणस्तरीय खेल कार्यक्रमको अभाव मुख्य कारण हुन्।
महिलाको सहभागिता रहेका खेलको प्रवद्र्धनमा मिडियाको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। डिजिटल युगमा खेलकुद कार्यक्रमहरू स्थानीय मात्र नभई विश्वभर प्रशारण हुन्छन्। महिला खेलमा ध्यान केन्द्रित गर्न थालिएपछि पेरिस २०२४ का लागि ओलम्पिक ब्रडकास्टिङ सर्भिसले ३५ जना महिला कमेन्टेटरहरू नियुक्त गर्यो, जसले महिला कमेन्टेटरको अनुपात ४० प्रतिशत पुर्यायो। यो टोकियो २०२० को तुलनामा ८० प्रतिशत र रियो २०१६ को तुलनामा २०० प्रतिशतभन्दा बढी वृद्धिको संकेत हो।
अतीतमा ओलम्पिकजस्ता ठूला खेलकुद प्रतियोगितामा महिला खेललाई निकै कम मिडिया कभरेज दिइन्थ्यो। बजारीकरण गर्नेहरूले महिला खेलाडीहरूलाई आकर्षक वा ‘बिक्ने अनुहार’ मानेका थिएनन् तर फ्रान्समा सन् २०२४ मा आयोजित ग्रीष्मकालीन ओलम्पिकमा महिला खेलको मिडिया कभरेज सन् २०१९ को तुलनामा तीन गुना बढी भयो। यो प्रवृत्ति जारी रह्यो भने सन् २०२५ सम्म महिला खेलको कभरेज २० प्रतिशत पुग्ने आशा गरिएको छ।
सामाजिक सञ्जाल पनि महिला खेल प्रवद्र्धनको शक्तिशाली माध्यम बनेको छ। नेपालमा पनि एनएनडब्लुयुसिटीको जितपछि सामाजिक सञ्जालमा व्यापक उत्साह देखियो। युएन वुमनका अनुसार, सन् २०२२ मा महिला खेल सम्बन्धी सामाजिक सञ्जाल कुराकानी १८.५ प्रतिशत पुगेको थियो र वार्षिक वृद्धिदर २.५३ प्रतिशत थियो। ८० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले महिला व्यावसायिक खेलाडीहरूलाई युवतीहरूको लागि सकारात्मक प्रेरणा मान्छन्।
महिला खेलप्रतिको चासो तीव्र रूपमा बढिरहेको छ। सन् २०२३ को फिफा महिला विश्वकप इतिहासकै सबैभन्दा धेरै हेर्ने महिला खेलकुद प्रतियोगिता बन्यो, जसले करिब दुई अर्ब दर्शक तान्यो । २०२३ अगस्ट ३० मा नेब्रास्का, अमेरिकास्थित लिंकनमा आयोजित महिला भलिबल खेल हेर्न ९२ हजारभन्दा बढी दर्शक पुगे -जसले विश्व कीर्तिमान बनायो। त्यसपछि बार्सिलोनामा आयोजित महिला फुटबल टोलीले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको सबै टिकट बिक्री भएका थिए।
युएन वुमनका अनुसार अहिले ७० प्रतिशत मानिस महिला खेल हेर्छन् र तीमध्ये ५४ प्रतिशत महिला दर्शकले पछिल्लो तीन वर्षभित्र महिला खेल हेर्न सुरु गरेका हुन् -जसमा राम्रो प्रतिनिधित्व र मिडिया कभरेजको भूमिका महत्त्वपूर्ण छ।
खेलकुदमा पुरस्कार राशी निकै ठूलो हुन्छ। सन् १९७३ मा टेनिस दिग्गज बिली जिन किङले महिला टेनिस संघ स्थापना गरेकी थिइन्, जसले समान पारिश्रमिकको माग गर्यो। आज सबै चारवटा ठूला टेनिस प्रतियोगिताहरूले महिला र पुरुष दुवैलाई समान पुरस्कार राशी दिन्छन्। अष्ट्रेलिया, नर्वे, न्युजिल्यान्ड र ब्राजिलले आफ्ना राष्ट्रिय फुटबल टोलीलाई समान पारिश्रमिक दिने घोषणा गरिसकेका छन्।
लामो कानुनी लडाइँपछि अमेरिकी महिला राष्ट्रिय फुटबल टोलीले २२ मिलियन अमेरिकी डलर बराबरको ऐतिहासिक बराबरी पारिश्रमिक सम्झौता जित्यो । २०२३ को महिला विश्वकपले १५० मिलियन अमेरिकी डलर पुरस्कार राशी प्रदान ग¥यो - यो सन् २०१९ को तुलनामा ३०० प्रतिशत बढी हो। यद्यपि यो सन् २०२२ मा पुरुष विश्वकपले दिएको ४४० मिलियन डलरको एक तिहाइ मात्र हो।
यी सबै विकासहरू महिला खेल प्रवद्र्धनमा एक महत्त्वपूर्ण पाइला हुन्, जसले प्रमाणित गर्छ कि महिला खेलाडीहरूले पनि समान अवसर पाए उत्कृष्ट प्रदर्शन गर्न सक्छन्। यस्ता उपलब्धि हुँदाहुँदै पनि महिला खेलाडीहरूले अझै पनि विविध चुनौतीहरू झेल्नुपर्छ -जसमा सीमित पेशागत अवसर, पारिश्रमिकको असमानता, थोरै प्रायोजन, कम मिडिया कभरेज, र असमान खेल मैदानहरू प्रमुख छन्।
नेपालजस्ता देशमा व्यावसायिक खेलाडी बन्ने सपना देख्ने केटीहरूको यात्रा अझै पनि कठिन छ। एनएनडब्लयुसिटीको उदाहरण र महिला खेलप्रतिको बढ्दो समर्थन उत्साहजनक संकेत हुन् । यी उपलब्धिहरूलाई सुरक्षित राख्दै आगामी पुस्तालाई थप सशक्त बनाउने सिँढीका रूपमा विकास गर्न आवश्यक छ।
(शर्मा वरिष्ठ पत्रकार र महिला अधिकारकर्मी हुन्।)
प्रकाशित: २० भाद्र २०८२ ०९:३३ शुक्रबार