विचार

ऊर्जा सुरक्षा र पुनर्जीवित इभी ब्याट्री

नेपाल आफ्नो स्वच्छ ऊर्जा यात्राको एक निर्णायक मोडमा उभिएको छ। हाम्रा नदीहरूले वर्षायाममा प्रशस्त जलविद्युत् उत्पादन गरे पनि हामी अझै मौसमी विद्युत् अभाव, महँगो विद्युत् आयात र पेट्रोलियम पदार्थप्रतिको ठुलो परनिर्भरताजस्ता चुनौतीहरू सामना गरिरहेका छौं। त्यसो त विश्व यतिखेर ऊर्जाको वैश्विक भूराजनीतिमा जकडिएको छ।

चार वर्षदेखि नसकिएको युक्रेन–रुसको युद्धमा यतिखेर भेनेजुएलादेखि इरानसम्मको वैश्विकझैं झगडा ऊर्जाको भूराजनीति नै हो। त्यसको विश्व प्रभावले अहिले धेरै टाढाको देश नेपालसमेत तीव्र चपेटामा परिरहेको छ। ऊर्जाका स्रोतहरूले सम्पन्न नेपाल जलस्रोत, सौर्य र बायोमासजस्ता नवीकरणीय ऊर्जाले धनी भए पनि त्यसको समायोचित प्रयोगमा सधैं पछि परिरहेको यथार्थसामु केही आशाका किरणहरू देखिएका छन्।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सको ‘ग्लोबल इभी आउटलुक २०२५’ अनुसार विद्युतीय सवारीसाधनहरूले विश्वव्यापी तेल खपत करिब १.७ मिलियन ब्यारेल प्रतिदिनले घटाएका छन्। यो तथ्यले विश्व ऊर्जा प्रणाली कति तीव्र गतिमा रूपान्तरण हुँदै छ भन्ने स्पष्ट देखाउँछ।

‘राष्ट्रिय यातायात नीति, २०८३’ अनुसार नेपालमा दर्ता भएका सबै प्रकारका सवारीसाधनको संख्या फागुन मसान्त, २०८२/८३ सम्म आइपुग्दा ६२ लाख ४९ हजार ७३२ पुगेको छ। यसमध्ये ५० लाखभन्दा बढी अर्थात् कुल दर्ता सवारीसाधनको करिब ८० प्रतिशत दुईपांग्रे (मोटरसाइकल तथा स्कुटर) रहेका छन्।

सरकारी तथ्यांकले देखाएअनुसार विद्युतीय सवारीको पछिल्लो दर्ता संख्या ६३ हजार २८० छ, जसमा कार, भ्यान र जिप समावेश छन्। यो कुल दर्ता सवारीसाधनको करिब १ प्रतिशत मात्र हो। यद्यपि हालका वर्षहरूमा नेपालमा इभीको अपनत्व तीव्र रूपमा बढ्दै गएको छ र कुल सवारी आयातमा इभीको हिस्सा ७६ प्रतिशत पुगेको तथ्यांक छ।

नेपालको सन्दर्भमा हेर्दा इभी बिक्री विश्वका धेरै देशभन्दा छिटो बढिरहेको तथ्य पनि यही रिपोर्टले संकेत गर्छ। यसको मुख्य कारण नेपाल सरकारले लागु गरेको इभी–मैत्री कर छुट नै हो, जसले उपभोक्तालाई स्वच्छ सवारीतर्फ आकर्षित गरेको छ। यो उत्साहजनक तथ्यले नेपालमा इभी विस्तारको भविष्य अझ उज्यालो बनाइदिएको छ।

इभीको संख्या बढ्दै जाँदा तिनमा प्रयोग हुने ब्याट्रीहरू ३ देखि ७ वर्षभित्र प्रतिस्थापन गर्नुपर्ने भएकाले तिनको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती भने यथावत् छ। यही बेला, एउटा अध्ययनले देखाएको महत्त्वपूर्ण दिशानिर्देश अत्यन्त प्रेरणादायी छ– फोहोर मानिने इभी ब्याट्रीलाई पुनर्जीवन (सेकेन्ड–लाइफ) दिएर ऊर्जा भण्डारणको रूपमा पुनःप्रयोग गर्न सकिने सम्भावना। यसले नेपालका लागि दुई ठुला अवसर खोल्छ– एकातिर, इभीको तीव्र विस्तारले भविष्यमा ठुलो मात्रामा सेकेन्ड–लाइफ ब्याट्री उपलब्ध गराउनेछ, अर्कातिर, ती ब्याट्रीलाई विद्युत् भण्डारण, मिनी–ग्रिड, चार्जिङ स्टेसन, जिएक्स तथा औद्योगिक ऊर्जा समाधानमा प्रयोग गर्न सकिनेछ। यसैकारण इभी विस्तार र सेकेन्ड–लाइफ ब्याट्री उपयोग दुवैलाई जोडेर हेर्ने नीति अब नेपालका लागि अत्यावश्यक बनेको छ। यो अनुसन्धानको निष्कर्षले हामी सबैलाई दिगो ऊर्जा भविष्यतर्फ अघि बढ्न प्रेरणा दिएको छ।

नेपालको राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदान र पूर्ण विद्युतीकरण लक्ष्यसँग मिल्ने विभिन्न परिदृश्यहरूमा अध्ययनले सन् २०४३ सम्म दोस्रो जीवन इभी ब्याट्री क्षमता १४५ देखि १८४ जिडब्जुएचसम्म पुग्ने प्रक्षेपण गरेको छ। यो क्षमता अत्यन्त महत्त्वपूर्ण छ किनकि सन् २०४० सम्ममा यी ब्याट्रीहरूले औसत दैनिक वर्षायामको अतिरिक्त जलविद्युत्को ६७ प्रतिशतदेखि ९४ प्रतिशतभन्दा बढी (कम अतिरिक्त भएको अवस्थामा १०० प्रतिशतभन्दा बढी) भण्डारण गर्न सक्नेछन्। यो भण्डारण गरिएको ऊर्जा ठ्याक्कै शुष्क मौसममा जब देशलाई सबैभन्दा बढी आवश्यकता पर्छ, त्यतिबेला उपलब्ध हुनेछ।

नेपालको जलविद्युत् प्रणाली मुख्य रूपमा ‘रन अफ द रिभर’ प्रकारको छ। मनसुनमा उत्पादन बढ्छ तर खपत कम हुन्छ। शुष्क मौसममा नदीको बहाव घट्दा उत्पादन घट्छ र नेपाल विद्युत् प्राधिकरणले भारतबाट नियमित रूपमा ६०० देखि ६५४ एमडब्लुसम्म विद्युत् आयात गर्नुपर्छ। यसका साथै पेट्रोलियम आयातले ठुलो रकम विदेशी मुद्रा बाहिरिन्छ।

चालु आर्थिक वर्ष २०२५/२६ को आठ महिनामा व्यापार घाटा १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ नाघिसकेको छ। यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। विभागका अनुसार पछिल्लो आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ।

दोस्रो जीवनका इभी ब्याट्रीहरूले यी चुनौतीलाई उल्ट्याउने ठोस सम्भावना प्रस्तुत गर्छन्। वर्षायामको अतिरिक्त जलविद्युत् भण्डारण गरी शुष्क मौसममा प्रयोग गर्न सकिने यो दृष्टिकोणले आयातित विद्युत् प्रतिस्थापन गर्छ र यातायात क्षेत्रमा पेट्रोलियमको माग घटाउँछ।

घरेलु स्तरमा प्रयोग गर्दा यी ब्याट्रीहरूले भरपर्दो ब्याकअप पावर प्रदान गर्न, छतमा सोलार प्रणालीसँग एकीकरण गर्न, लोड सिफ्टिङ गर्न र लोडसेडिङ तथा मूल्य अस्थिरताबाट परिवारहरूलाई बचाउन सक्छन्। हरेक किलोवाट–घण्टा घरेलु जलविद्युत्बाट भण्डारण र खपत गर्दा विदेशी मुद्रा घरमै रहन्छ, व्यापार घाटा कम हुन्छ र ऊर्जा आत्मनिर्भरता मजबुत बन्छ।

यो रणनीतिले सर्कुलर इकोनोमीको सिद्धान्तलाई पनि मूर्त रूप दिन्छ। इभी ब्याट्रीहरूको आयु बढाएर फोहोर घटाउने, नयाँ खनिज स्रोतको निकासी कम गर्ने र मूल्यवान् सामग्रीलाई ल्यान्डफिलमा नफाल्ने काम गर्छ। विश्वव्यापी रूपमा इभीहरूले दैनिक लाखौं ब्यारेल तेलको खपत बचाइरहेका छन्।

नेपालले पनि आफ्नो प्रचुर जलविद्युत् स्रोतलाई दोस्रो जीवनका ब्याट्रीमार्फत प्रभावकारी बनाएर महँगो आयात घटाउन र सन् २०४५ सम्म कार्बन न्युट्रल हुने राष्ट्रिय लक्ष्यलाई सहयोग पुर्‍याउन सक्छ।

बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले हालै गरेको नीतिगत प्रगतिले स्वच्छ ऊर्जा क्षेत्रमा नयाँ गति ल्याएको छ। परम्परागत पेट्रोलियम–चालित सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न कानुनी अवरोध हटाउने मन्त्रिपरिषद्को निर्णय साहसिक र समयानुकूल पहल हो। यस कदमले वर्षौंदेखि रहेका बाधा हटाइदिन्छ, विद्युतीय सवारीको अपनत्वलाई तीव्र बनाउँछ र भविष्यमा ‘सेकेन्ड–लाइफ’ ब्याट्रीहरूको उपलब्धता उल्लेखनीय रूपमा बढाउनेछ, विशेषगरी स्थिर ऊर्जा भण्डारणका लागि उपयुक्त, दीर्घायु एलएफपी ब्याट्रीहरूको। यो कदमले इभी अपनाइलाई तीव्रता दिनेछ र दोस्रो जीवनका ब्याट्रीहरूको भविष्यको पुललाई ठुलो बनाउनेछ।

अहिले झन्डै दुईतिहाइ बहुमतसहित सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको सन्दर्भमा यो अनुसन्धानले अझ ठुलो महत्त्व राख्छ। पार्टीले आफ्नो चुनावी घोषणापत्रमा पाँच वर्षभित्र १५ हजार एमडब्लु बिजुली उत्पादन गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने, आन्तरिक खपत विस्तार गर्ने, बन्द उद्योगहरू सञ्चालन गर्ने, हालको ४५ अर्ब डलरको अर्थतन्त्रलाई १०० बिलियन डलरमा पुर्‍याउने र १०० वटा नीतिगत सुधार योजनाहरू अघि सार्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। रास्वपाले चुनावअघि नै ऊर्जा तथा जलस्रोत नीति तयार पारेर पार्टी र मतदातालाई बुझाएको थियो।

अर्थतन्त्रका लागि यो अवसर अत्यन्त आकर्षक छ। पेट्रोलियम र विद्युत् आयातले विदेशी मुद्रा सञ्चिति र व्यापार सन्तुलनमा दबाब पारिरहेको छ। दोस्रो जीवनका ब्याट्री भण्डारणले आयात बिल घटाएर बचत भएको रकम चार्जिङ पूर्वाधार, नवप्रवर्तन र स्वच्छ ऊर्जा विस्तारमा लगानी गर्न सकिन्छ। यसले रोजगारी सिर्जना गर्नेछ, स्थानीय प्रविधि विकासलाई प्रोत्साहन दिनेछ र नेपाललाई क्षेत्रीय स्तरमा सर्कुलर इकोनोमीको उदाहरण बनाउन सक्छ।यसका मुख्य चुनौती ब्याट्रीको सुरक्षा, क्षय व्यवस्थापन, प्रमाणीकरण र प्रारम्भिक लागत मुख्य हुन्। नेपालसँग दुर्लभ तुलनात्मक लाभ छ, जस्तै विशाल जलविद्युत् सम्भावना, बढ्दो इभी फ्लिट र जलवायु अनुकूल नीतिगत नेतृत्व।

ग्लोबल ऊर्जा संकट र अस्थिरताको युगमा दोस्रो जीवनका इभी ब्याट्री भण्डारणले मौसमी अतिरिक्तलाई वर्षभरि प्रतिरोधात्मक क्षमतामा बदल्न सक्छ, पेट्रोलियम तथा विद्युत् आयात घाटा घटाउन सक्छ र हरेक नेपाली घरपरिवारलाई भरपर्दो ऊर्जा उपलब्ध गराउन सक्छ।

प्रकाशित: ५ आश्विन २०८३ ११:३८ सोमबार