नेपाली कांग्रेस सभापति गगन थापाको उपस्थितिमा जनकपुरको तिरहुतिया गाछी मैदानमा प्रतिज्ञासभा भइरहेको थियो। म भने कुनातिर बसेर त्यहाँ आएका सर्वसाधारणसँग कुराकानी गरिरहेको थिएँ। रौतहटबाट एक ८२ वर्षीय जेष्ठ नागरिकले भने, ‘यसपटक कसमकस छ।’
उनले देहाती लवजमा भनेको शब्द ‘कसमकस’ रोचक लाग्यो। त्यहाँ अलि पाका किसिमका मानिसहरू एकै ठाउँमा बसेका थिए। गगन थापा मधेस आएपछि निर्वाचनमा दलका निम्ति सकारात्मक प्रभाव परेको तिनको विश्वास थियो। तिनले भने, ‘गगन आएर राम्रो भयो।’
कांग्रेसको प्रतिबद्धतासँगै त्यहाँ सबैको भाषण भयो। उनले त्यहाँ मैथिलीमै आफ्नो भनाइ सुरु गरे। संयोग पनि कस्तो रह्यो भने यहाँ गगन आएर मैथिलीमा बोलिरहेका थिए। त्यही दिन धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह त्यहींको स्थानीय लवजमा बोलिरहेका थिए। प्रतिस्पर्धा आआफ्नो ठाउँमा होला तर मुलुकका विभिन्न भूभागमा पुगेर आफूलाई राष्ट्रिय नेताका रूपमा स्थापित गर्ने प्रक्रिया चलिरहेको छ।
यस पटकको निर्वाचनमा स्पष्टतः तीनजना नेताले भावी प्रधानमन्त्रीका रूपमा आफूलाई निर्वाचनमा उतारेका छन्। कांग्रेस सभापति थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन्द्र साह। यसले निर्वाचनलाई विगतमा भन्दा बढ्ता प्रतिस्पर्धात्मक बनाएको छ। निर्वाचन परिणामपछि मुलुकको राजनीतिले लिने दिशा र दशाबारे पनि यतिबेला अनेकन् आकलन भइरहेका छन्।
ओलीको निर्वाचन क्षेत्रमा साह प्रतिस्पर्धाका निम्ति जानु एउटा रोचक पक्ष भएको छ। अर्को रोचक पक्षमा भने मधेसमा कांग्रेस सभापति थापाले उम्मेदवारी दिनु हो। सर्लाही–४ बाट उनी उम्मेदवार भएपछि यसले कांग्रेसको मधेसमा गुमेको साख मात्र पुनस्र्थापित हुने होइन, निर्वाचन परिणाममा पनि तात्त्विक असर पर्ने आँकलन भइरहेको छ।
केही वर्षदेखि निर्वाचनमा कांग्रेसभित्र चलेको एउटा शब्द हो– अन्तर्घात। आफ्नै दलका उम्मेदवारविरुद्ध लाग्ने कांग्रेसभित्रको यो प्रवृत्तिलाई अन्तर्घातका रूपमा प्रस्तुत गरिँदै आएको छ। कांग्रेस सभापति थापा मधेस झरेपछि धेरै अर्थमा निर्वाचन परिणाम फरक पर्ने आशामा कांग्रेसी समुदाय रहेका छन्।
विगतमा कांग्रेसको बलियो पकड रहेको मधेसमा पछिल्ला वर्षमा क्षेत्रीय दलहरूले प्रभाव पार्दै आएका छन् तर मधेसको हकमा कांग्रेस भनेको विरासत बोकेको दल हो। यसकारण पनि मधेसका आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रले दिने परिणामले आगामी सरकारको ढाँचा अवश्य आउनेछ।
यसपटकको निर्वाचन गत भदौ २३ को जेनजी आन्दोलन र त्यसको भोलिपल्ट भदौ २४ मा भएको लुटपाट, आगजनी र तोडफोडको पृष्ठभूमिमा भइरहेको छ। त्यसैले यसपटकको निर्वाचनमा ‘खरानी–पथ’ अँगाल्ने कि विकासको बाटो? भन्ने प्रश्न अहम् हुन पुगेको छ। मुलुकको लोकतान्त्रिक भविष्य कतातिर निर्देशित हुने हो? प्रश्न गम्भीर छ। जसरी यहाँ निर्वाचन परिणाममा असर पार्न खोजिँदै छ, त्यसमा ध्यान गएको छ/छैन?
गगनले जनकपुरको प्रतिज्ञासभामा पनि आफ्ना कुरा सुनाउन ‘कसैले सिंहदरबार जलाउनुपर्दैन’ भनेर आश्वस्त पार्न खोजेका थिए। त्यति मात्र होइन, विगतमा कांग्रेसले नै मधेसीलाई राष्ट्रपति बनाएको प्रसङ्ग उल्लेख गर्दै राज्यका कुनै पनि निकायमा मधेसी पुग्न सक्ने बनाउन आफू तत्पर रहेको उनको सन्देश थियो।
धन्य! गगनलाई उम्मेदवारका रूपमा पाएपछि भने त्यस क्षेत्रका कांग्रेस कार्यकर्ताको मनोबल बढेको देखिएको छ। ‘गगन भएकै कारण अहिले कांग्रेस भनेर हिँड्न पाइएको छ,’ एक कार्यकर्ताले भने, ‘नत्र भने गाउँ छिर्न सक्ने अवस्था थिएन।’
तैपनि कांग्रेसकै कतिपय कार्यकर्ताले खुलेर साथ दिन सक्छन् वा सक्दैनन् भन्ने प्रश्न पनि आफ्नो ठाउँमा छ। सर्लाही–४ कै भित्री गाउँमा पुग्दा पनि कुनै न कुनै रूपमा कांग्रेसको रुख र रास्वपाको घन्टीको प्रभाव देखिएको छ। कैयन्लाई रवि लामिछानेभन्दा पनि बालेन्द्र साहको प्रभावले तानेको देखिन्छ। त्यही भएर सबैजसो उम्मेदवारले बालेन्द्र साहलाई नै आफ्नो पोस्टरको मुख्य व्यक्तिका रूपमा प्रस्तुत गरेर भोट मागिरहेका छन्।
भित्री गाउँतिर मैले कैयन् मानिसलाई निर्वाचनबारे जिज्ञासा राखेँ। तीमध्ये कतिपय भने अहिले पनि नेतालाई गाली गरिरहेका थिए। कसैले पनि काम नगरेको भन्ने तिनको गुनासो थियो। अझ कतिपयले भने आफू र आफ्नो परिवारसँग रहेको मतसंख्या उल्लेख गर्दै ‘सहयोग गर्नेलाई मत दिने’ कुरा पनि गरिरहेका थिए।
‘हामीलाई दुःख छ’ करिब ६० वर्षकी एक महिला मतदाताले टाउकोमाथि बोकेको भारी नबिसाई भनिन्, ‘कर्जा पैंचो लिएर खाँदै आएका छौं।’
अझ एकजना ६५ वर्षका प्रबुद्ध स्थानीयले सर्वसाधारण ‘होसियार’ भइसकेको जनाए। जवान छोराछोरीले तिनलाई होसियार बनाएका छन् भन्ने उनको धारणा थियो। ‘धियापुता सब होसियार’ रहेको उनले बताए।
सर्वसाधारणमा रहेको असन्तुष्टिको जवाफ उम्मेदवारले दिनुपर्ने अवस्था छ। विगतमा निर्वाचन जितेर गएपछि नफर्केका उम्मेदवारमाथि पनि उत्तिकै गुनासो छ। संयोगको पक्ष प्रायः मधेसमा उम्मेदवार बनेर आएका धेरैजसो फेरि नयाँ दलबाट छन्। त्यसले उनीहरूलाई सर्वसाधारणको गुनासोमा जवाफ दिने फेरि एउटा मौका प्राप्त भएको छ।
निर्वाचन लोकतन्त्रको एउटा सुन्दर सन्दर्भ हो। यसमा सर्वसाधारण मतदाताले पनि सोचविचार गरी आफ्नो मत दिनुपर्ने अवस्था रहन्छ। दलहरूले पनि तिनलाई आश्वस्त तुल्याउन नयाँ उपायको खोजी गर्नुपर्ने हुन्छ। सबैजसो दललाई गाली गर्दै आएका भए पनि सर्वसाधारणमा आफूले मतदान गर्दै आएका पुराना दलप्रतिको आकर्षण पनि पूरै सकिएको छैन। बरु बाहिर चलेको हावाजस्तै आफूले तिनलाई मतदान दिने भने पनि यथार्थ त्यस्तो नभएको महसुस गर्न सकिन्छ। प्रत्येक मतदातासँग केही बेर कुराकानी गरेपछि तिनको मनोभाव बुझ्न कठिन छैन।
मतदाताले पनि खुलेर कुरा नगर्ने, पाएको सहयोग लिने र आफ्नै मनको निर्णय गर्ने अवस्था देखिन्छ। सुरुमा तिनले एउटा कुरा गरे पनि भित्री रूपमा तिनको उद्देश्य आफूले विगतदेखि समर्थन गरेका दलप्रति विमुख भएरै जाने किसिमको पनि छैन। कुनै एउटा पक्षमा लहर चलेको भनेर सामाजिक सञ्जालमा हल्ला मच्चाए पनि स्थानीय स्तरमा मतदाताको सोचविचारपूर्वकको निर्णय हुने पक्का छ।
यस पटकको मतदानमा सर्वसाधारणले पनि विचार पुर्याउनुपर्छ भन्ने राय बुज्रुगहरूको देखिन्छ। आफूले जथाभावी मान्छेलाई मतदाता गरियो भने भोलिको नेपालले दुःख पाउँछ। त्यसैले योग्यतम व्यक्तिलाई मतदान गर्न सजग हुनुपर्छ भन्ने तिनको राय रह्यो। सर्वसाधारणले आफ्नो मतको विचार गरेनन् भने तिनले खोजेजस्तो परिणाम आउँदैन। खराब मानिस छान्नबाट सर्वसाधारण पनि जोगिनुपर्छ भन्ने धारणा यतिबेला गाउँगाउँ पुगेको छ। त्यसैले पुराना दलमा पनि असल व्यक्तिको खोजी भइरहेको छ। नयाँमा पनि पुरानै दलका मानिस आएका छन् भने तिनीमाथि सर्वसाधारणको प्रश्न हुन्छ भन्ने देखिन्छ।
निर्वाचनसँगै कैयन् युवामा भने अब नेपाल बन्छ भन्ने विश्वास पनि बढेको देखिएको छ। एक २४ वर्षे युवाले विदेश जाने होइन, यहीं बसेर काम गर्ने हो भने। उनले तरकारी र अनाज उब्जाएर बजारमा बेच्ने गरेको र त्यसबाट राम्रो कमाइ भइरहेको सुनाए। संयोगको पक्ष उनी नयाँ होइन, पुरानै दलका निम्ति कामसमेत गर्दा रहेछन्। पुरानै दलमा पनि युवा नेतृत्वलाई अघि सारेको ठाउँमा त्यसको सकारात्मक प्रभाव परेको देखिएको छ।
‘राष्ट्रिय व्यक्तित्व बनिसकेका गगन यहाँ आएका कारण हामीलाई निर्वाचनमा लाग्नसमेत सजिलो भएको छ,’ कांग्रेसको निर्वाचनमा लागेका एक युवाले भने। यही स्थिति रास्वपाको हकमा पनि देखिएको छ। स्थानीय स्तरमा बलियो संगठन रहेको नेकपा (एमाले)को पनि आफ्नै प्रभाव छ। अझ बलियो दलीय आधारले तिनलाई निर्वाचनमा सघाउने विश्वासमा छन्। निर्वाचनमा सबै दलले आशा र अपेक्षा गर्छन् नै। तर, नयाँ र पुरानाबिच प्रतिस्पर्धा भने कसिलो देखिएको छ।
प्रकाशित: १० फाल्गुन २०८२ ०८:५४ आइतबार