नेपालको राजनीतिक इतिहासमा ठूला दलहरूको उतार–चढाव स्वाभाविक मानिन्छ। तर गत फागुन २१ मा सम्पन्न आम निर्वाचनले नेकपा एमालेका लागि निकै चुनौतीपूर्ण सन्देश दिएको छ। लामो समयदेखि सशक्त संगठन र जनाधार भएको दाबी गर्दै आएको यो पार्टीले यस निर्वाचनमा अपेक्षाभन्दा निकै कमजोर परिणाम भोग्नुपर्यो। यस हारलाई केवल चुनावी गणितको असफलता मात्र नभई नेतृत्व, संगठन र राजनीतिक दृष्टिकोणको समग्र पुनरावलोकन आवश्यक भएको संकेतका रूपमा पनि लिनुपर्छ।
• नेतृत्वमाथि उठेका प्रश्न
एमालेको हारको मुख्य कारण पार्टीको मूल नीति भन्दा पनि नेतृत्वको शैली र निर्णय प्रक्रियालाई मान्नुपर्छ। चुनावी रणनीति बनाउने क्रममा पार्टीभित्र व्यापक छलफल र परामर्शको अभाव देखिएको गुनासो कार्यकर्तामाझ बढ्दै गएको थियो। केही निर्णयहरू सीमित घेराभित्र मात्र बनेका कारण कार्यकर्ताहरूले आफूलाई प्रक्रियाबाट टाढा भएको महसुस गरे। नेतृत्वले संगठनको वास्तविक अवस्थाभन्दा वरिपरिका सीमित सल्लाहकार समूहको सुझावलाई बढी महत्त्व दिएको आरोप पनि व्यापक रूपमा सुनियो। परिणामतः धरातलको यथार्थ र जनभावना बुझ्ने क्षमता कमजोर बन्दै गयो।
• गलत सल्लाह दिने घेराको प्रभाव
पार्टी नेतृत्व वरिपरि बनेको सल्लाहकार समूहले वास्तविकताभन्दा फरक चित्र प्रस्तुत गर्यो, जुन घातक साबित भयो। यस्ता समूहहरूले नेतृत्वलाई केवल आशावादी रिपोर्ट मात्र दिने र आलोचनात्मक आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले निर्णय प्रक्रियालाई कमजोर बनायो। जब नेतृत्वले जनताको असन्तुष्टि र कार्यकर्ताको चिन्तालाई समयमै बुझ्न सकेन, त्यसको असर चुनावी परिणाममा देखिन पुग्यो।
• कार्यकर्ताको कमजोर मनोबल र अन्योलता
कुनै पनि राजनीतिक दलको शक्ति भनेको त्यसको कार्यकर्तापंक्ति नै हो। तर पछिल्लो समय एमालेभित्र कार्यकर्ताको मनोबल कमजोर हुँदै गएको संकेत देखिन थालेको थियो। संगठनात्मक स्पष्टता, भावी रणनीति र नेतृत्वबाट आउने मार्गदर्शन अस्पष्ट हुँदा धेरै कार्यकर्तामा अन्योलता थियो। कतिपय स्थानमा कार्यकर्ताहरू सक्रिय रूपमा अभियानमा लाग्न नसकेको र पार्टीको सन्देश जनतासम्म प्रभावकारी रूपमा पुग्न नसकेको पनि देखियो। पार्टीको मूल महाधिवेशनदेखि युवासंघ र अनेरास्ववियुको महाधिवेशनसम्म सहमति हुन नसकी विपक्षी समूहजस्तै चर्को प्रतिस्पर्धा हुन पुग्यो, जहाँ मत र मनसमेत विभाजित भएको ताजा अवस्था थियो।
• महाधिवेशनबाट नयाँ नेतृत्व आएको भए के हुन्थ्यो?
यदि त्यसो भएको भए यतिसम्मको लज्जास्पद हार हुने थिएन कि भन्ने अनुमान नगरिएको होइन। मतमा केही हजार तलमाथि हुन्थ्यो होला, तर सिट नै फरक पार्ने गरी परिवर्तन हुने अवस्था रहेनछ भन्ने ठोकुवा गर्न गाह्रो छैन। पुराना दललाई खरानी बनाउन डढेलो निकै खतरनाक रूपमा फैलिएको रहेछ कि कुनै पनि नेतृत्वसँग त्यो साम्य पार्न सक्ने दमकलको जोहो हुने रहेनछ। यदि त्यसो हुँदो हो त सहयात्री पुरानो दल नेपाली कांग्रेसलाई पनि केही राहत मिल्ने थियो।
• जनतामा बढ्दो निराशा
एक समय विकास, स्थायित्व र राष्ट्रवादको नारा लिएर जनताको भरोसा जितेको एमालेप्रति पछिल्लो समय निराशा बढ्दै गएको थियो। जनताले अपेक्षा गरेका नीतिगत स्पष्टता, नयाँ सोच र व्यवहारिक कार्यक्रमहरू पर्याप्त रूपमा प्रस्तुत हुन नसक्दा मतदाताको भरोसा कमजोर भएको आभास चुनावी परिणामले दिएको छ। राजनीतिक प्रतिस्पर्धा तीव्र हुँदै गएका बेला जनताको अपेक्षा पनि त्यत्तिकै बढेको छ, जसलाई सम्बोधन गर्न नसक्दा यस्तो अवस्था आएको देखिन्छ।
• चर्चित मुख्य भ्रष्टाचार काण्डसँग नाम जोडिनु
-गिरीबन्धु टी–इस्टेट जग्गा प्रकरण
-ओम्नी ग्रुप स्वास्थ्य सामग्री खरिद प्रकरण
-वाइडबडी जहाज खरिद प्रकरण
-ललिता निवास जग्गा प्रकरण
लगायतका विभिन्न नीतिगत तथा प्रत्यक्ष भ्रष्टाचार काण्डसँग नाम जोडिएपछि आम नागरिकमा एमालेप्रतिको विश्वास घटेको कुरा लुकाउन सकिँदैन।
• नयाँ पुस्तालाई नबुझ्ने कमजोरी
अहिलेको नेपाली समाजमा नयाँ पुस्ताको प्रभाव उल्लेखनीय रूपमा बढेको छ। शिक्षा, प्रविधि र विश्वव्यापी सोचसँग जोडिएको यो पुस्ताले राजनीतिक दलहरूबाट पारदर्शिता, नवीन सोच र स्पष्ट दृष्टिकोण अपेक्षा गर्छ। तर एमालेले नयाँ पुस्ताको सोच, आकांक्षा र भाषालाई पर्याप्त रूपमा बुझ्न नसकेको कारण पनि एउटा रह्यो। युवाहरूलाई आकर्षित गर्ने कार्यक्रम, नेतृत्वमा अवसर र सहभागिताको स्पष्ट नीति भए पनि व्यवहारमा नदेखिँदा पार्टी र युवा पुस्ताबीच दूरी बढेको देखियो।
• नयाँ पार्टीको लहर
पुराना पार्टीबाट आजित भएका जनताले भोलि के होला भन्ने नसोची नयाँलाई एकपटक खुलेर समर्थन गरेर परीक्षण गर्ने कठोर निर्णय लिए। नयाँ पार्टीको नाम भन्न नसक्ने व्यक्तिले पनि चुनाव चिन्ह राम्ररी चिने, नयाँ पार्टीलाई रंगले चिने, त्यसको नेताको नामले चिने, नेतासँग जोडिएको अर्को चर्चित नेतालाई चिने। त्यति नै पर्याप्त बन्यो।
• असफल नारा र जेनजी आन्दोलन
जेनजी विद्रोहकै कारण बीचमा निर्वाचन गर्नुपरेको र परिणाम परिवर्तनकै पक्षमा आउनुपर्छ भन्ने नागरिकले बुझेका थिए। तर पार्टीले भने चुनावी प्रतिस्पर्धालाई ठूलो युद्धजस्तै “यो लडाइँ जलाउने र बनाउनेबीचको हो” भनेर प्रचार गर्यो। आफूलाई बनाउनेको कित्तामा उभ्याइरहँदा के–के बनाइयो र अब के–के बनाउने हो भन्ने स्पष्ट बुझाउन सकिएन। भदौ २३ को दमन र हत्याको कारण २४ को विध्वंस भएको हो भन्ने कुरा नै आम नागरिकले स्पष्ट रूपमा बुझ्न पुगे।
• निर्वाचन क्षेत्र केन्द्रित अभियानमा त्रुटि
यो पटक एमालेले चुनावी राष्ट्रिय अभियान चलाएन। उम्मेदवारहरू आफ्नो क्षेत्रमा मात्र महिनौँ खटिए। जनतालाई पुरानै तरिकाले झुक्याउने, फकाउने र लोभ्याउने विधिबाट मत झार्ने रणनीति असफल भयो। उम्मेदवारहरूले प्रचार गर्दा आफ्नो नेतृत्वको नाम लिन वा पोस्टरमा फोटो राख्नसमेत हिम्मत गरेनन्। राष्ट्रिय माहोल कस्तो छ भन्ने बुझ्न नखोजी आफ्ना पुराना चुनावका मतका तथ्यांकमा भर परी विश्वस्त भएर बसे, जुन परिणामसँग कतिपनि मेल खाएन।
• बिलखबन्दमा पर्नु
जेनजी विद्रोहले सत्याच्युत गराएपछि गठित नयाँ सरकारले घोषणा गरेको चुनावमा जान अन्तिमसम्म सुरक्षाको कारण देखाएर आफू चुनावमा नजाने वा चुनाव हुँदैनसम्म भनेर भ्रम फैलाइरह्यो। तुरुन्त हुने चुनावमा आफ्नो पक्षमा मत आउँदैन भन्ने अनुमान त थियो, तर राष्ट्रवादी नाराले केही राहत मिल्ने र मध्यम नतिजा निस्किने आँकलन थियो। सरकारकै तर्फबाट पनि चुनावका लागि तयारी गराउन हदैसम्मको उदारता र लचकता देखाइएको अवस्थामा, धेरै आनाकानी गर्दा लोकतान्त्रिक प्रक्रियामा भाग लिन नखोजेको दीर्घकालीन आरोप लाग्ने डरले पार्टीलाई बाध्यात्मक परिस्थिति सिर्जना भयो। अन्ततः चुनावमा भाग लिनुपर्यो र परिणाम लज्जास्पद व्यहोर्नुपर्यो।
अबको बाटो
यो हारलाई अन्त्य नभई पार्टी पुनरुत्थानको अवसरका रूपमा लिनु नै एमालेका लागि सबैभन्दा बुद्धिमानी कदम हुनेछ। पार्टीले सर्वप्रथम नेतृत्व शैलीमा (आवश्यक परिवर्तनसहित) खुलापन ल्याउन, आलोचनालाई स्वीकार गर्ने संस्कार विकास गर्न र कार्यकर्तासँग पुनः प्रत्यक्ष संवाद स्थापित गर्न आवश्यक छ। साथै नेतृत्वलाई वास्तविकताभन्दा फरक चित्र देखाउने घेराबाट मुक्त भएर संगठनलाई व्यापक रूपमा पुनर्गठन गर्नु जरुरी देखिन्छ।
त्यसैगरी नयाँ पुस्ताको सोच र जनताको अपेक्षालाई बुझ्दै पार्टीले आफ्नो राजनीतिक दृष्टिकोणलाई समयअनुकूल बनाउन आवश्यक छ। यदि यो समय एमालेले निर्मम आत्मसमिक्षा गर्दै पार्टीलाई शिरदेखि पाउसम्म पुनर्गठनसहित पुनर्जीवित गर्न सक्यो भने भविष्यमा फेरि जनताको भरोसा जित्ने सम्भावना अझै पनि बाँकी रहनेछ।
(लेखक गिरी वैदेशिक रोजगारीको सिलसिलामा अहिले जापानमा छन्।)
प्रकाशित: २ चैत्र २०८२ १६:०८ सोमबार