देश, काल र धरातलीय यथार्थबारे अनभिज्ञ भएर सत्ता र पदको आशक्तिमा मग्न नेतृत्वको कारण उत्पन्न विद्रोहउन्मुख चरम किचलो, एउटा पक्षको अमान्य र बहिष्कारका बिच सुरु भएको नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशन सबै पक्षको आआफ्नै चासोका साथ सम्पन्न भयो।
कांग्रेसले २०१४ सालमा गरेको पहिलो (विराटनगर) विशेष महाधिवेशनलाई ध्यान दिएर यो महाधिवेशन भएको देखिन्छ। कांग्रेसको आधिकारिक मूलप्रवाह, पार्टी सभापति शेरबहादुर देउवाको हातबाट कांग्रेस लाक्षणिक रूपमा दोस्रो पटक फुटेको जस्तो देखियो भने वास्तविक अर्थमा फुटेको होइन बहिष्कारपन्थीहरू छुटेको देखिन्छ। त्यसैले यो वैधानिक नेतृत्वको परिवर्तन भएको मात्र हो। २१ फागुनको निर्वाचनका लागि अब नयाँ दल दर्ता हुन सक्दैन भन्ने निष्कर्ष आएको वर्तमानमा अब अर्को कांग्रेस पार्टी बन्न सक्दैन।
इतिहासमा बिरलै भएको कांग्रेसको विशेष महाधिवेशन ६८ वर्षपछि हालै दोस्रोपटक भयो। २०५१ सालमा आन्तरिक किचलोलाई समाधान गर्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महाधिवेशन भेला बोलाएका थिए तर त्यसको पूर्वसन्ध्यामा नै प्रधानमन्त्री कोइराला र तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईबिच पार्टी सभापति लगायत सम्पूर्ण नेतृत्व कोइरालालाई शान्तिपूर्वक हस्तान्तरण गर्न आफ्नो सहमति रहेको भन्ने किसुनजीको प्रतिबद्धताको परिणामस्वरूप भोलिपल्टको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूको दुई दिने भेला ‘पार्टी एकता भेला’का रूपमा टुंगियो तर २०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तामा बसेर सरकारी खर्च र सरकारी हेलिकोप्टरमा प्रतिनिधिहरू राजधानीमा ओसारेर गरेको ‘महाधिवेशन भेला’ आखिर महाधिवेशनकै रूपमा गरियो, पार्टी फुटाइयो, र नेपाली कांग्रेस (प्रजातान्त्रिक) जन्माइयो। यो अर्कै कुरा हो, निर्वाचन आयोगले त्यो कांग्रेसलाई मान्यता दिएन। कांग्रेसको स्थापनाकालीन निर्वाचन चिह्न (रुख) सभापति कोइरालाले नेतृत्व गरेको कांग्रेसमै रह्यो।
यथार्थमा यो महाधिवेशन पार्टीको नीति र कार्यशैलीमा आमूल परिवर्तन, सैद्धान्तिक पुनःस्थापना, देश र पार्टीको जिम्मेवारी काँधमा लिने उदीयमान युवापुस्ता र जनताको साझा आवश्यकतालाई बोकेर गन्तव्यतिर हिँड्ने कांग्रेसको रूपमा जनताले हेर्न चाहेअनुरूप भएको हो भन्ने दाबी यथार्थ नै देखिन्छ।
६८ वर्षअघिको विशेष महाधिवेशनमा जेजस्ता प्रवृत्तिले निर्णायक भूमिका खेलेको थियो, त्यस्ता प्रवृत्ति हालैको महाधिवेशनमा पनि देखापर्यो। त्यो महाधिवेशनमा उमेरमा जेठा सभापति सुवर्ण शमशेरले आफूभन्दा दुई वर्ष कान्छा बिपी कोइरालालाई पार्टीको सभापति र प्रधानमन्त्री पनि बनाउने पृष्ठभूमिका लागि त्यागको आदर्शमय उदाहरण प्रस्तुत गरे।
बिपी सभापति भएको कार्यसमितिमा सुवर्ण सभापतिबाट झरेर कोषाध्यक्षमा बसे। हालैको महाधिवेशनमा महामन्त्री विश्वप्रपकाश शर्माले सुवर्ण शमशेरको आदर्शमय त्यागको उदाहरण बनाउँदै आफूभन्दा ६ वर्ष कान्छा र राजनीतिमा पनि आफूपछिका गगन थापालाई सभापति बनाउने भूमिका निर्वाह गरे। जुन बखत विश्वप्रकाश शर्मा नेवि संघको सभापति थिए, उनको नेतृत्वमा अरु तिनैजना नेताहरू गगन थापा, गुरु घिमिरे र प्रदीप पौडेल सक्रिय थिए। आज नेपाली कांग्रेस विधिविधानमा चलाउने जिम्मा उहाँहरूकै काँधमा आइपुगेको छ।
गुटबन्दी र भागबन्डाको अन्त्य खोजेको कांग्रेस महाधिवेशनले पार्टीमा तीनवटा धार देखायो– कांग्रेसमा संगठनात्मक तथा गुणात्मक परिवर्तनसहित समसामयिक सुधार, गतिशीलता र नयाँ पुस्ताको अधिकतम सहभागिता रहने संरचनागत व्यवस्थापनका लागि प्रयत्नरत पक्ष पहिलो धार हो। यसको नेतृत्व गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरे।
यथास्थितिवादी, मठाधीश र युवराज मार्का वंशवादी शैली, भ्रष्टाचार तथा दण्डहीनतामा बाँचेका, गठबन्धनवादी (यसअघि ‘संस्थापन पक्ष’ भनिएको) दोस्रो धार हो। अस्थिर, आफैं अनिश्चित, ढुलमुले, बढ्ता मौकापरस्त चरित्रको झुन्ड तेस्रो धार हो, जसको नेतृत्व डा. शेखर कोइरालाले गरे। पछिल्ला दुवै नीतिगत धार होइन, नेतागत धार हो। बिपीको नामलाई आफ्नो स्वार्थमा यति नराम्रोसँग भजाइयो, मानौं बिपीको विरासत भनेको उहाँका अनुयायीले बहन गर्ने विचार र व्यवहारमा होइन, पार्टीका पद हत्याउन र अनुचित लाभ लिन लगाउने विशेषाधिकार हो।
विगत २० वर्षको अवधि नेपाली कांग्रेस विकृति, अराजकता र आपराधिक क्रियाकलापको कारण व्यापक जनआक्रोश र पार्टीभित्रै नेतृत्वको विरुद्ध कुनै पनि क्षणमा विष्फोट हुने पराकाष्ठामा पुगेको थियो। कांग्रेसभित्र गणतन्त्रको नाममा अवाञ्छित प्रवृत्तिको विकास भयो। सर्वोच्च नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले अपमानका घुट्का पिएर र आँसुले हात धोएर आफूले हुर्काएको पार्टी छोड्न विवश हुनुभयो। खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता विरोधी पार्टीका नेताहरूका लागि विगतका लिखित दस्ताबेजहरूमै ‘प्रमुख दुश्मन’ घोषित कांग्रेस मित्रशक्ति र सत्ताको स्रोत बन्नपुगेको थियो। शेरबहादुर देउवाले कांग्रेसलाई दुईपटक फुटाउनु सिद्धान्तहीनताको पराकाष्ठा थियो भने कांग्रेस स्थापनाकालका आधारभूत र अपरिवर्तनीय सिद्धान्तलाई परित्याग गरेर गणतन्त्रको बाटोमा पार्टीलाई घिसार्नु गिरिजाप्रसाद कोइरालाको अर्को अतिवाद थियो। त्यसपछि कांग्रेसले गणतन्त्रको नाममा माओवादी र एमालेजस्ता पार्टीसँग पालैपालो वैशाखी सहारा माग्नुपर्ने हालतमा पुग्यो।
हामीकहाँ जस्तै सुन्दर, समृद्ध र विकसित गणतन्त्रको सपना र आश्वासन बेचेर इरानमा ‘इस्लामिक क्रान्ति’ले जनतामा समृद्धि र सुख ल्याउने वाचाका साथ राजतन्त्र फालेर गणतन्त्र घोषणा गरिको थियो तर धर्मान्ध गणतन्त्रभित्र क्रूर तानाशाही हुर्केर बर्बर अत्याचार पराकाष्ठामा पुगेपछि राजतन्त्रकालीन राज्यसंस्कारमा समृद्ध जीवन बिताइरहेका जनताले आज राजतन्त्रको आवश्यकता र महत्त्व सर्वत्र अनुभवका साथ देशव्यापी आन्दोलन गरिरहेका छन्।
आज इरानको अर्थतन्त्र तहसनहस भएको छ, महँगी चरमचुलीमा पुगेको अवस्थामा जनता राजतन्त्रकाललाई सम्झेर राजतन्त्र पुनर्वहालीको आन्दोलन लडिरहेका छन्। आन्दोलनमा क्रूरतापूर्ण दमन गरेर खामेनी शासनले तीन हजारभन्दा धेरै नागरिकको ज्यान लिइसक्यो। अन्ततोगत्वा इरानमा राजतन्त्र पुनःस्थापना भएमा आश्चर्य नहोला।
नेपालमा पनि राजसंस्था मासिएको छैन, संवैधानिक मान्यता नपाएको मात्र हो भन्ने आमबुझाइको आधारमा पार्टीहरूले बहस, विश्लेषण र सहमति बनाउनुपर्छ। राजसंस्थालाई संविधानको दायराबाट बञ्चित गरेर राख्दा गलत तत्त्वले खेल्ने नाजायज मौका लिन सक्छन्।
विगत दुई दशकको अवधिमा गणतन्त्रको परीक्षण पनि राम्रैसँग भइसकेको छ। वास्तवमा गणतन्त्र असफल मात्र होइन, जनताको ठहरमा अविश्वसनीय र कलंकित पनि भएको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीदेखि डा. शेखर कोइरालाजस्ता कांग्रेसका केन्द्रीय नेताहरूले समेत राजसंस्था पुनःस्थापनाको पक्षमा बोलिरहेका छन्। नयाँ नेतृत्वको कांग्रेसले यसबारे पुनर्विचार गर्नु जरुरी छ।
दलहरूले सबै राष्ट्रिय शक्तिहरूबिच संवादहीनताको अवस्था तोडेर संवाद र सहमतिमा ल्याउन कांग्रेसले नै पहल र प्रयास गर्नुपर्छ। वर्तमान संविधानको आत्मा समावेशिता हो र देशका कुनै पक्ष, समुदाय, जाति, वर्ग र तप्काले वञ्चितीकरण भोग्नु नपरोस् भन्ने हो भने देशव्यापी जनशक्तिका रूपमा सक्रिय राजसंस्था समर्थक पक्षलाई संविधानमा समावेश गर्नुपर्ने अनिवार्य हुन्छ। संविधान संशोधनको प्रतिबद्धता गरेर आएको नयाँ नेपाली कांग्रेसले संविधानमा यो अभावलाई पूरा गर्नैपर्छ।
कांग्रेसले आफैंभित्र सच्याउनुपर्ने धेरै कुरा छन्। गुटबन्दीको कारण तथा अर्को पार्टीसँग सिद्धान्तहीन सत्तागठबन्धन गरेर माखेसाङ्लोमा परेको कांग्रेसको पार्टी–संगठन लथालिंग अवस्थामा छ। सभापति थापाले विरासतका रूपमा पार्टीका विकृति र असंगति मात्र पाएको देखिन्छ।
पार्टीभित्र थुप्रिएको भकारो सोहोरेर शुद्धता दिने सहकर्मीमा परिक्रमा गर्नेले होइन, पराक्रम गरेर सभापतिको हात बलियो बनाउनेबाट मात्र सम्भव हुन्छ। यथास्थितिमै पन्ध्रौं महाधिवेशन आइपुग्यो भने त्यो ज्यादै खेदजनक हुनेछ। पार्टीलाई सफल र सार्थक बनाउन उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीद्वय गुरु घिमिरे तथा प्रदीप पौडेल लगायत वर्तमान परिवर्तनका संवाहक नेताहरूबाट योगदान पुर्याउनुपर्ने आवश्यकता विशेष महाधिवेशनको भावनामा देखिन्छ।
अब त्यस्तो कहिल्यै नहोस् भनेर आँटिलो कदम चलाउने जिम्मेवारी नयाँ पुस्ताका सभापति गगन थापाको काँधमा आएको छ। सर्वोच्च नेता गणेशमान सिंहले कांग्रेसलाई ‘आफ्नै परिवारको कुलंगार सदस्यले जलाइरहेको घर’ भनेर र संस्थापक नेता कृष्णप्रसाद भट्टराईले ‘नक्कली कांग्रेस’ भनेर छाडेको पार्टीमा आगो निभाएर यसको असली स्वरूपमा फर्काउने जिम्मा सभापति थापा र उहाँका सहकर्मी नेताहरूमा आएको छ। यसलाई उहाँहरूले यहाँ–त्यहाँ नभनी बहानाबाजीबिना नै सम्हाल्नुपर्छ।
प्रकाशित: ५ माघ २०८२ ०८:०६ सोमबार