मानिसको मन, वचन र कर्म जबसम्म स्पष्ट एवं भ्रमहीन रहन्छ, तबसम्म उसको नियत सफासुग्घर रहन्छ। जब नियत बिग्रन्छ, वचन र काममा भ्रमको कुहिरो लाग्न थाल्छ (सिके प्रसाईंका विचारहरूबाट)।
‘म हिन्दु हुँ ! म हिन्दु हुँ ! म हिन्दु हुँ !’ (चर्को स्वरमा) नेपाली कांग्रेसको इतरपक्षीय भेलामा (२०८३ साउन ३१) पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घोषणा हो यो। पाँचचोटि प्रधानमन्त्री भइसकेका व्यक्तिले अमुक धर्मप्रति आफ्नो पहिचान जोडे। उपस्थित ‘हिन्दुराष्ट्र’ पक्षधरका भनाइ मानेर बोलेको बताए। अचानक पहिलो पटक व्यक्तिगत उपमा दिएर सनातन राष्ट्रको पहिचानको पक्षमा किन उभिए? खुल्दै जाला।
धर्म आस्थाको विषय हो। राजनीतिक विचारमा विश्वास राख्न पाउने अधिकारसरह व्यक्तिको धार्मिक आस्था पनि हुन्छ। यसको प्रत्याभूति मानव अधिकारको विश्वव्यापी सिद्धान्त तथा नेपालको संविधानको ‘धार्मिक स्वतन्त्रताको मौलिक हक’ले गरेको छ। प्रत्येक व्यक्ति आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्न स्वतन्त्र हुन्छन्। चाहे त्यो हिन्दु, बुद्धिस्ट, इस्लाम, क्रिश्चियन, किरात, प्रकृति वा अन्य कुनै समुदायको अति अल्पसंख्यक वर्गका धर्म नै किन नहुन्।
सन् १९९५ मा देउवा नेतृत्वको सरकारले शान्तिपूर्ण धार्मिक गतिविधिमा लागेका व्यक्तिलाई पक्राउ गरेबाट ‘आस्थाका बन्दी’ बने।
इलाममा ११ जना युवा क्रिश्चियन धर्मका क्रियाकलापमा संलग्न भएबाट सरकारले पक्राउ गरी मुद्दा चलायो। एम्नेस्टी इन्टरनेसनलले यिनलाई ‘आस्थाका बन्दी’ मान्यो र बिनासर्त रिहाइको माग गर्दै विश्वव्यापी अभियान चलायो। विश्वभरका एम्नेस्टी कार्यकर्ता र शुभचिन्तकका दबाब झेल्न नसकेर तिनलाई रिहाइ गर्न सरकार बाध्य भएको थियो।
निर्दलीय पञ्चायतमा बहुदलको शान्तिपूर्ण माग राखेर राजनीतिमा लागेका राजनेता र कार्यकर्तालाई एम्नेस्टीले ‘आस्थाका बन्दी’ घोषणा गर्यो। बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका गतिविधि चलाएबाट तिनले जेल जीवन भोगे। बेलायत ‘हेडक्वाटर’ रहेको एम्नेस्टीले यी बन्दीको बिनासर्त रिहाइको माग गर्दै विश्वव्यापी पत्राचारको अभियान चलायो। कृष्णप्रसाद भट्टराई, राधाकृष्ण मैनाली (चेर्नाभिल पाउडर दुधकाण्डमा), मार्सलजुलुम शाक्य यसका उदाहरण हुन्। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा विद्यार्थी नेता गगन थापा र ठाकुर गैरे आस्थाका बन्दी बने। तर बिपी कोइरालाले लामो कारागारको जीवन बिताए पनि उनी ‘राजबन्दी’ भए तर आस्थाको बन्दीको पहिचान भने पाएनन्, सशस्त्र क्रान्तिको घोषणा गरेबाट।
खुला समाजमा हरेक व्यक्तिको धार्मिक आस्थाको रक्षा र सम्मान गर्ने राज्य तथा समाजको कर्तव्य हो। धार्मिक बहु वा अल्पसंख्यकको गणनाका आधारमा राज्यले व्यवहार गर्न मिल्दैन। समानताको हक र धार्मिक स्वतन्त्रताविरुद्ध जाने कसैलाई छुट हुँदैन। विश्वव्यापी मानव अधिकार सिद्धान्त हो यो। ‘हिन्दु राष्ट्र’ मान्ने/नमान्ने जनताको हात हुनेछ भन्ने देउवाको भनाइ मानव अधिकारको विश्वव्यापी मान्यतासँग मेल खाँदैन किनभने आस्थालाई जनमतको कसीमा राख्न मिल्दैन।
परस्पर सम्मान र सहिष्णुता लोकतान्त्रिक संस्कार हो। नेपाली इतिहासमा धार्मिक कट्टरताबाट समाज क्षेप–विक्षेप भएको इतिहास भेटिँदैन। तथापि धर्मका आडमा समाजलाई भाँड्ने र विभाजन गर्न खोज्ने तत्त्व सलबलाएका छन्। यी दण्डहीनता र राज्यका असावधानीका उपज हुन्। चाहे त्यो २०६२ सालपछि नेपालगन्जमा मधेसी–पहाडेबिचको दंगा वा कपिलवस्तुको चन्द्रौटाको हिन्दु–मुस्लिम द्वन्द्व अथवा हालै सुनसरी कप्तानगन्ज घटना किन नहोस्।
देउवाको हिन्दु भएको उद्घोष र प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहणमा दुई धर्मका भिक्षु र पण्डितबाट गुन्जेका धार्मिक पाठ र शंखध्वनिले मलाई चस्स घोच्यो। राज्य हाँकिसकेका र हाँक्ने शीर्षस्तरबाट भएका यी एकतर्फी धार्मिक सन्देश नरमाइलो थियो। राजनीतिक बहसका केन्द्रमा रहने नेता व्यक्तिगत इच्छामा अल्झिएको देखेँ। तिनका कुनै धर्मप्रतिको लगाव वा शक्ति आर्जनका कार्यलाई अन्य धर्मावलम्बीले के–कसो अनुभूति गरे होलान् ? राष्ट्र सबैको साझा भएको महसुस गरे/गरेनन् ?
यतिबेला नेपाली कांग्रेस आन्तरिक शक्ति संघर्षमा छ। विधि र व्यक्तिबिचको टक्कर उराठलाग्दो छ। लोकतन्त्रका लागि लामो संघर्ष गरेको पार्टी अप्ठेरोमा छ। नयाँ पार्टी गठनसमेत गर्न संस्थापनइतर पक्षले भेला आयोजना गर्यो। सर्वोच्च अदालतको पुनरावलोकन आदेशपछि भेला सम्मेलनमा परिणत भयो। विदेशमा उपचारपछि पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश आगमनले परिस्थिति अझ पेचिलो बन्यो। तर पार्टीभित्रको विवाद मिलाउने/नमिलाउने उनमा निहित छ। गुटगत राजनीतिभन्दा माथि उठी निर्णय लिने अठोट गरेमा समस्याको समाधान अवश्य निस्कने छ।
नेपाली कांग्रेसको विद्यमान समस्या ‘नेतृत्व पुस्तान्तरण स्वीकार नगर्नु’ हो। परिवर्तनलाई आत्मसात नगर्नु हो। भेलामा गगन–विश्वका विरुद्ध दिएका अभिव्यक्तिले पनि यसको पुष्टि गर्छ। विधानभन्दा माथि नेतालाई राखेबाट उब्जेको परिणति हो यो। संस्थागत विकासको अभावबाट विकसित परिस्थिति हो। पार्टी विधानले चालिस प्रतिशत महाधिवेशन प्रतिनिधिको ‘विशेष अधिवेशन’ बोलाउने अधिकारलाई तत्कालीन केन्द्रीय समितिले निषेध गर्न (महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, फर्मुल्लाह मंसुर र उमा रेग्मीबाहेक) खोज्दा निम्ताएको नियति हो।
विधानसम्मत डाकिएको विशेष महाधिवेशनमा चर्चित नेताहरूले बहिष्कार गर्नु महाभुल थियो। तत्कालीन कठिन राजनीतिक अवस्था आँकलन गरेर महाधिवेशन बोलाउन पार्टी कार्यालयमा निवेदन दर्ता भयो। तथापि कांग्रेसप्रति खस्किएको विश्वासको संकट हल खोज्न र नयाँ नेतृत्व चयन गर्न गरिएको मागलाई तत्कालीन नेतृत्वले आत्मसात गरेन। पार्टी र मुलुकभन्दा माथि गुटको भविष्यलाई प्राथमिकता दिए, जसको निरन्तरता आज पनि छ। यस भुलको ढाकछोपमा ‘भेला’ र ‘अदालती पुनरावलोकन’सम्म पुगे। ‘कोर्स करेक्सन’ अब पनि नगरिए ‘चुनदेवी गुट’को भविष्य अनिश्चित देखिन्छ।
आश्चर्य छ, त्यही विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको हस्ताक्षरको ‘पार्टी टिकट’ बोकेर ‘हाई प्रोफाइल नेता’ प्रक्रियालाई मानेर फागुन २१ को निर्वाचनमा होमिए। तर यतिबेला देखिएको तिनका विरोधले गम्भीर राजनीतिक तथा नैतिकताको प्रश्न उठाएको छ। अवसरवाद मानोवृत्तिको प्रतिविम्ब देखिन्छ। संगठन हुलले नभई विधि र सिद्धान्तबाट चल्नुपर्ने बुझाइमा कमजोरी पाइन्छ। राजनीतिक दूरदर्शिताको अभाव झल्कन्छ। तिनले समयको माग तथा परिवर्तनका लहर पहिचान एवं स्वीकार गर्न नसक्नु एक लोकतान्त्रिक पार्टीका लागि विडम्बना हो।
नेपाली कांग्रेसलाई लोकतन्त्रको पर्याय मानिन्छ। यो कमजोर अथवा विभाजित भएका अवस्थामा लोकतन्त्र धरापमा वा अपहरणमा परेका इतिहास छन्। निरंकुश शक्तिसँग सम्झौता नगर्ने यसको चरित्र हो। राष्ट्रियता, लोकतन्त्र र समाजवाद यसको आदर्श हो। सामाजिक न्याय तथा मानव अधिकार यसको अभिन्न अंग। विधानले सदस्यलाई पार्टीभित्र संघर्ष गर्ने छुट दिएको छ। केन्द्रीय समिति गैरजिम्मेवार भएमा पार्टीको सर्वोच्च निकाय ‘विशेष महाधिवेशन’ बोलाउने र विधानबमोजिम निर्णय लिने अधिकार चालिस प्रतिशत महाधिवेशन प्रतिनिधिलाई दिएको छ।
यसरी पार्टी चलायमान हुनुपर्ने संस्थापकले परिकल्पना गरेका हुन्। व्यक्तिले नभई विधिबाट संस्था चल्नुपर्ने अठोट लिएका हुन्।
सभापति थापाले भेलाप्रति संकेत गर्दै सम्मानपूर्वक सार्वजनिक रूपमा देउवालाई भने - आफ्नाले तपाईंलाई डुबाए दाइ! फेरि पनि तपाईंलाई डुबाउने छन् दाइ! तपाईंलाई तिनले ढाँटे दाइ!
प्रकाशित: ५ भाद्र २०८३ ०८:०७ शुक्रबार