विचार

बधाई बालेन्द्र!

नयाँ सरकार, नयाँ युग, नयाँ समाचार। एक सय ६५ सिटमा करिब एक सय २५ सिट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई आएको र संसदीय दलको नेतामा बालेन्द्र शाह ९बालेन० आउने पक्का भइसकेको छ। युवा, महिला, वृद्ध सबैमा एक अनौठो आशा जागेको छ । पैंतिस वर्षको इतिहासमा नेपालका केही क्षेत्रमा विकास त भयो तर जनता र युवाले चाहेबमोजिम भएन। त्यसैले होला, नेपाली जनताको एकलौटी चाहनाअनुसार मतान्तरमा धेरै भिन्नता आएको छ ।

आमजनताले प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई १८ सिट र नेकपा (एमाले) लाई नौ सिट दिए अनि स्थिर सरकारको अपेक्षासहित प्रत्यक्षतर्फ एक सय २५ सिट दिएर रास्वपालाई सरकारको मुखमा पुर्‍याएका छन्।

घन्टी शुभ अनि कामको सुरुवातको प्रतीक पनि हो। कुनै क्षेत्रमा मत परिवर्तन भएको देखिएन। देशको मुहार परिवर्तन हुन्छ भने सबैले आजको परिवर्तित राजनीतिक अवस्थालाई स्विकार्नु आजको आवश्यकता पनि हो।

नयाँ सरकार बनिसकेपछि सबैभन्दा ठुलो वा महत्त्वपूर्ण विषय स्थिरता, एकता र आर्थिक विकास हो। निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण अभ्यास हो। यसबाट आएको परिणामलाई हामीले स्विकार्नुपर्छ। अब राष्ट्रलाई समृद्ध बनाउने दिशामा अघि बढ्नुपर्छ।

आज देशलाई बलियो सोच, स्पष्ट दृष्टि साथै प्रतिबद्ध नेतृत्व चाहिएको छ, जसले व्यक्तिगत स्वार्थ वा दलगत राजनीतिभन्दा माथि उठेर देशको समग्र हितलाई प्राथमिकता दिन सकोस्। अबको समय आरोप–प्रत्यारोपको होइन, विभाजनको राजनीति गर्ने समय पनि होइन, बरु राष्ट्र निर्माणको साझा अभियानमा जुट्ने समय हो। चाहे जुनसुकै दल सत्तामा होस्, कसले कुन मन्त्रालय सम्हालेको होस्, आमनागरिकको अपेक्षा एउटै छ– उद्यमशीलता फस्टाओस्, युवाहरूले आफ्नै देशमा भविष्य देखून्, भ्रष्टाचार कम होस्।

हाम्रो देश नेपाल सानो छ। जनसंख्या करिब तीन करोड छ। थोरै जनसंख्या भएको देशका रूपमा हामीसँग ठुलो अवसर पनि छ, साथै चुनौती पनि छन् - सीमित स्रोत, राजनीतिक अस्थिरता, युवा जनशक्ति विदेश पलायन, भौगोलिक जटिलता, पूर्वाधारको अभाव, बढ्दो बेरोजगारी आदि। यस्ता धेरै समस्याले हामीलाई लामो समयदेखि चुनौती दिइरहेका छन्।

कुनै पनि समस्या समाधान गर्न असम्भव छैन। सही नेतृत्व, स्पष्ट नीति, दृढ इच्छाशक्ति छ भने नेपालको सम्भावनालाई उपलब्धि र विकासमा बदल्न सकिन्छ। अब बन्ने सरकार भदौ २३ र २४ मा रगतको बलिदान गरेर, धेरै कोख रित्तिएर वर्तमान र भविष्य सोच्ने वर्गले ल्याएको सरकार हो। जिम्मेवारी धेरै छन्, जनताका आशा धेरै छन्, अपेक्षा ठुलो छ।

पैंतिस वर्षयता देशले कान्छो कार्यकारी नेतृत्व पाउँदै छ, युवा नेतृत्वमा गहन जिम्मेवारी थपिँदै छ। अब केवल भाषण र योजना मात्र होइन, जनताले प्रत्यक्ष विकासको अनुभूति गर्न चाहन्छन्। ‘सुदूर अब दूर छैन, झिकैझिकै माया तिम्लाई।’ भनेजस्तै सबैतिर विकासको अनुभूति गर्न चाहन्छन्।

अब नेपालभरि विकास गर्न सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, कृषि, पर्यटन, प्रविधिलगायत सबै क्षेत्रमा सकारात्मक परिवर्तन देखिनुपर्छ। अबको पाँच वर्ष परिणाम देखिने, सकारात्मक सोच बाँड्ने, जनताले विश्वास महसुस गर्ने र नेतृत्वले आफ्नो प्रतिबद्धता प्रमाणित गर्ने समय हो।

यो असम्भव पनि होइन। हामीले थुप्रै देशमा नेतृत्व परिवर्तनसँगै देश विकास भएको पनि देखेका छौं। हाम्रो देशमा पनि आर्थिक विकासका लागि निजी क्षेत्र, सरकार, नागरिक समाज, युवाशक्ति सबैको प्रयास आवश्यक छ। राज्यलाई समय–समयमा आआफ्नो विज्ञताले सुझाव–सल्लाह पनि दिनुपर्छ। ठुलो दल कांग्रेस र एमाले गए, अब के गर्ने भन्ने होइन, जनताले चुनेको राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । एकअर्कालाई सम्मान गर्दै देश विकासको बाटोमा लाग्नुपर्छ।

आज देशको आर्थिक विकासका लागि निजी क्षेत्र र सरकार मिलेर प्राविधिक क्षेत्रलाई सशक्त बनाउँदै आकर्षित गर्नु अत्यन्त जरुरी छ। साथै महिला तथा युवाको आर्थिक सशक्तीकरण, ग्रामीण उद्यमशीलताको विकास, नवप्रवर्तन र डिजिटल अर्थतन्त्रको विस्तारले नेपाललाई दिगो विकासको मार्गमा अगाडि बढाउन सक्छ।

आज विश्व तीव्र प्रतिस्पर्धा र परिवर्तनको युगमा अघि बढिरहेको छ र नेपाल पनि यस परिवर्तनबाट अलग रहन सक्दैन। हामीले आधुनिक प्रविधि, ज्ञान र सिपलाई अंगीकार गर्दै विश्व बजारसँगै प्रतिस्पर्धा गर्न सक्ने अर्थतन्त्र निर्माण गर्न सक्नुपर्छ। हाम्रो युवा शक्ति विदेशमा श्रम बेच्ने प्रथा बन्द गरी स्वदेशमै अवसर सिर्जना गर्नु आजको सबैभन्दा ठुलो चुनौती र जिम्मेवारी हो। राजनीतिक नेतृत्वले पनि यो कुरा बुझ्नुपर्छ कि सत्ता केवल अधिकारको प्रतीक होइन, यो एउटा गहन जिम्मेवारी हो।

आज जेनजी आन्दोलनपछि जनताले दिएको मत विश्वासको सुशासन र समृद्धिको मार्गमा अघि बढाउनु प्रत्येक निर्वाचित प्रतिनिधिको कर्तव्य हो। आजको नेपाललाई निराशा होइन, आशा चाहिएको छ, भाषण होइन, ठोस काम चाहिएको छ, विभाजन होइन, एकता चाहिएको छ। पारदर्शी प्रशासन, लगानीमैत्री वातावरण, व्यवसायीमैत्री वातावरण साथै दीर्घकालीन योजना अत्यन्त आवश्यक छ।

भ्रष्टाचार, अनियमितता साथै नीतिगत अस्थिरता जस्ता समस्यालाई अन्त्य नगरी आर्थिक विकास सम्भव हुँदैन। त्यसैले अबको समय प्रणालीलाई पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउने हो। यससँगै नीति क्षेत्र र सरकारबिच विश्वासको वातावरण निर्माण गर्नु, व्यवसायी तथा उद्योगीलाई प्रोत्साहन गर्नु, महिला र युवालाई उद्यमी बन्न अवसर दिनु र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनु आवश्यक छ। कृषि, पर्यटन, जलस्रोत, सूचना प्रविधि र साना तथा मझौला उद्योग नेपालको आर्थिक विकासका मुख्य आधार हुन्। यिनलाई अगाडि बढाउनुपर्छ। यी क्षेत्रलाई नीति, लगानी र व्यवस्थापन प्राप्त भयो भने नेपालले छोटो समयमै उल्लेखनीय आर्थिक प्रगति गर्न सक्छ।

नेपालमा पूरा जनसंख्याको करिब ५२ प्रतिशत महिला छन्। उनीहरूलाई शिक्षामा प्रोत्साहन साथै छात्रवृत्ति १२ कक्षासम्म उपलब्ध गराउँदा राम्रो हुन्छ। यसका लागि केवल सरकार मात्र होइन, सम्पूर्ण नागरिक समाज, निजी क्षेत्र, शिक्षित युवा, प्रवासी नेपाली सबैको योगदान आवश्यक छ।

देश बनाउनु वा आर्थिक विकास गर्नु एउटा सामूहिक अभियान हो, जहाँ हरेक नागरिकको महत्त्वपूर्ण भूमिका हुन्छ। अब हामीले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर कुनै पनि विकासमा ‘देश पहिलो’ भन्ने भावनासाथ अघि बढ्नुपर्छ। देशको समृद्धितर्फ केन्द्रित हुनुपर्छ।

जब सरकार, निजी क्षेत्र र नागरिकहरू एउटै लक्ष्य ‘समृद्ध नेपालका लागि’मा एकजुट हुन्छन् तब कुनै पनि चुनौती ठुलो हुँदैन। नेपालले इतिहासमा धेरै कठिन परिस्थितिहरू पार गरिसकेको छ र हरेक चुनौतीलाई अवसरमा बदल्ने क्षमता पनि नेपालीमा छ।

आज फेरि त्यही मोडमा उभिएका छौं, जहाँ सही निर्णय, सही नेतृत्व र सामूहिक प्रयास आवश्यक छ। यो विवादको होइन, समाधानको समय हो, प्रतिस्पर्धाको होइन, सहकार्यको समय हो र निराशाको होइन, आशा र निर्माणको समय हो। आगामी पाँच वर्षको अवधिमा देशको हरेक कुनामा विकासको अनुभूति हुने गरी काम गर्नुपर्छ। जनताले महसुस गर्ने गरी परिवर्तन ल्याउनुपर्छ। देश विकास हुनु भनेको काठमाडौं सहर मात्र विकास हुनु होइन। देश विकास हुनु भनेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकास हुनु हो।

नेतृत्व इमानदार, प्रतिबद्ध र दूरदर्शी भयो भने नेपालजस्तो सानो देशले पनि ठुलो उपलब्धि हासिल गर्न सक्छ। तसर्थ यस्तो नेपाल निर्माण गर्नुपर्छ, जहाँ आर्थिक समृद्धि, सामाजिक न्याय, अवसरको समानता र राष्ट्रिय गौरव सुनिश्चित होस्।

यही भावना, प्रतिबद्धता र सही साझा लक्ष्यसाथ अबको यात्रा सुरु हुनुपर्छ - समृद्ध, आत्मनिर्भर र सशक्त नेपालका लागि। किनकि नेपाली नागरिक परिवर्तन, इमानदार नेतृत्व र परिणाममुखी शासन चाहन्छन्। यही विश्वासलाई सम्मान गर्दै देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनु नयाँ नेतृत्वको मुख्य जिम्मेवारी हुनेछ।

नयाँ नेपालको शुभकामना!

–अध्यक्ष, नेपाल रिपब्लिक मिडिया  

प्रकाशित: २७ फाल्गुन २०८२ ०८:४५ बुधबार