सुशीला कार्की सबैले श्रद्धापूर्वक सुनिराखेको नाम, नेपाली जनताले देखिराखेको उज्यालो अनुहार । प्रस्ट वक्ता, निडर र साहसी व्यक्तित्व। उनै सुशीला कार्कीलाई नेपाल रिपब्लिक मिडियाले हालै राजधानीमा ‘नागरिक नायक २०८३’ को उपाधि दिँदा खुसी नहुने व्यक्ति सायद बिरलै थिए ।
गुलाबी रंगको बुट्टेदार साडी र चोलो लगाएकी, उमेरले पनि लगभग ७९ वर्षमा आरूढ, हँसिलो अनुहारमा अलि पावरवाला चस्मा लगाएकी उनलाई कार्यक्रम सञ्चालक मिस नेपाल सुगारिका केसीले सिँगारिएको भव्य मञ्चमा बोलाइन्। हँसमुखी सुशीला गम्भीर चालमा मञ्चमा उक्लिइन्। नेपाल रिपब्लिक मिडियाका संस्थापक स्व. हेमराज ज्ञवालीकी नातिनी समृद्धि ज्ञवालीले शालीन भाषा र शैलीमा आसन ग्रहण गराउँदै आठ वटा प्रश्न सोधिन्। हरेक प्रश्न गहकिला थिए, अझ गत फागुन २१ गतेका दिन बिनारक्तपात, इतिहासमा नै सम्झन लायक र लोकतान्त्रिक प्रणालीमा आधारित निर्वाचनसँग सम्बन्धित प्रश्नहरूको सोधनीमा उहाँले दिएका उत्तरहरू वास्तविक र पारदर्शी लाग्थे।
समय मात्र १५ मिनेट छुट्याइएको भए तापनि धाराप्रवाह रूपमा जवाफ दिइरहँदा निमेषजस्तै लाग्यो आधा घण्टाको महत्त्वपूर्ण समय। सुशीला र समृद्धिको प्रश्नोत्तरको विशेषता आमा–छोरी, सासू–बुहारीको, पाको पुस्ता र जेनजीबिचको जस्तै देखिन्थ्यो। बिनाहिचकिचाहट समृद्धिले सोधेका प्रश्नमा बढी कौतूहल जीवनका मूल्य–मान्यता, प्रेम र सद्भावले भरिएकाले उपस्थित हरेक व्यक्तिहरू जिज्ञासु भावले सुशीलाप्रति केन्द्रित देखिन्थे। पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल, कानुनविद् चन्द्रकान्त ज्ञवाली, नेपालका लागि पाकिस्तानका राजदूतका प्रतिनिधि, पूर्वसांसद, राजनीतिक र बौद्धिक व्यक्तिहरू, रिपब्लिक मिडिया ग्रुपका परिवारजन, कलाकार, कवि र लेखकहरूको केन्द्र बन्नुभएको नागरिक आमा सुशीलाले बिनादम्भ, बिनाअफसोच जीवनमा आफूले गरेका शुभकार्यबारे प्रस्ट्याइन्।
फागुन २१ मा सम्पन्न गरिएको आमनिर्वाचन सम्भव होला भन्ने लागेको थियो? भन्ने आशयको प्रश्नको उत्तर दिँदै सुशीलाले भनिन्– ‘म ६ महिनाका लागि मात्र प्रधानमन्त्रीमा नियुक्त भएकी व्यक्ति थिएँ, मेरो प्रमुख दायित्व राष्ट्रलाई दिशा दिने, जनतालाई निर्वाचनको अधिकार प्रदान गर्ने भएकाले जसरी भए पनि सो गहन अभिभारा पूरा गर्नु थियो। यसका लागि मैले मात्र गरेर सम्भव थिएन, देशका सबै दल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विशेष गरी निर्वाचन आयोगका प्रमुख आयुक्त र अन्य पदाधिकारीसमक्ष मैले विनम्रपूर्वक हात जोड्दै महत्त्वपूर्ण कार्य सम्पन्न गर्न अपिल गरेँ। उहाँहरू सबैजनाले मेरो अनुरोध स्विकार्दै कठिन कार्य सरल ढंगबाट सम्पन्न गर्नुभयो। राष्ट्रसेवक कर्मचारी, सञ्चार जगत्, स्वतन्त्र बुद्धिजीवीले मेरो अनुरोधलाई स्विकार्नु भएकोमा उहाँहरू सबैप्रति म नतमस्तक छु।
यस अवधिमा धेरै दृश्यहरू सडकमा, सिंहदरबारमा देख्नुपर्यो। ऐतिहासिक भवनहरू सबै जलेका छन्, बस्ने कोठा छैनन्, पाल लगाएर कति दिन कुर्सीमा बस्दै राष्ट्रका लागि महत्त्वपूर्ण निर्णयहरू गर्यौं। उमेरले पाको भइसकेको मलाई त्यस अवधिमा प्रत्येक दिन १०–१२ घण्टा काम गर्नुपर्यो। कति दिन त पाउरोटी र चियाको भरमा पनि काम गर्यौं। उत्साहपूर्वक सबैले सघाएको देखेर आफैं छक्क परेँ। तत्कालीन मन्त्रिमण्डलका केही सदस्यहरू जगदीश खरेल, कुलमान घिसिङ, महावीर पुनले मन्त्रीबाट राजीनामा दिएपछि सबै मन्त्रालयको कार्यभार सम्हाल्दै कुनै कुनै दिन त १४–१५ घण्टासम्म काम गर्दा प्रधानमन्त्री निवास बालुवाटारको भर्याङ पनि चढ्न सकिनँ।
यसै बेला केही युवाले धम्कीको भाषा प्रयोग गर्दै चुनाव सम्पन्न हुन नदिने अडानमा उभिएको देखेँ । बालुवाटारमा आकाशबाट ड्रोनमार्फत ज्यान लिनेसम्मका त्रास पनि देखाए। बालुवाटारका सुरक्षाकर्मीहरू जुन बेला पनि आकाशतिर हेरिरहेको देखेर मलाई यसबारे जानकारी भयो। साथै केही सुरक्षाकर्मी त ढोकामा २४ सै घण्टा पहरा दिइराखेको देखेर सारै माया लागेर ‘विश्राम गर’सम्म भन्न पुगेँ।
आफू भगवान्मा विश्वास गर्ने नारी भएकीले मनमनै यो राष्ट्रले निकास पाओस्, मैले गर्न खोजेका कार्यहरू सफल हुन् भन्दै भगवान्लाई मनले दियो पनि जलाएँ।’
त्यसबेलाको समय नारीका लागि अग्निपरीक्षाको घडी थियो भनी सुशीलाले आफ्ना विगतका अनुभव सुनाइरहँदा सभाहलमा सन्नाटा छाएको थियो।
भ्रष्टाचारमुक्त समाज निर्माणका लागि के गर्नु पर्ला? भनी समृद्धिको जिज्ञासामा खरो रूपमा सुशीलाले भनिन्– ‘मूलको पानी सफा भए सबै धाराको पानी सफा हुन्छ। ६ महिने प्रधानमन्त्रीत्वकालमा यति भ्रष्टाचार बढेको पाएँ, शब्दमा उतार्न सकिन्नँ। प्रत्येक फाइल अगाडि बढाउँदा होस् या माथिल्लो तहका व्यक्तिले फाइलमा हस्ताक्षर गर्दा होस्, ठुलो रकमको चलखेल भएको पाएँ अनि कसरी देश आर्थिक रूपमा समृद्ध र सम्पन्न हुन्छ? गरिब दिन प्रतिदिन गरिब छन्, धनी प्रतिदिन धनी छन्। बिचको खाडलको परिणति नै हो, देश कंगाल बन्न लागेको।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही त गर्छ, कारागार पठाउँछ, धरौटी माग गर्छ। अनौठो त के छ भने भ्रष्टाचारीको धरौटी राख्ने पैसा पनि आखिरमा आफूसँग नहुँदा किन र केका लागि भ्रष्टाचार गरेको होला?’ यसो भनिरहँदा हाँसोले सभाहल गुञ्जित मात्र भएन, तालीको गडगडाहट पनि सुनियो। ‘यदि नयाँ सरकारले कडाइसाथ भ्रष्टाचारका फाइल खोतल्ने हो भने धेरै व्यक्तिको बाँकी जिन्दगी कारागारमै बित्नेछ भन्दै नेपाल दक्षिण एसियाली मुलुकमा समृद्धशाली मुलुक भएको छिट्टै देख्नेछौं,’ सुशीलाको कथन थियो।
यसैगरी अर्को एक प्रश्नको उत्तरमा उनले हालसम्मको कुनै पनि सरकार पाँच वर्षसम्म टिक्न नसकेको, यसको कारक तत्त्व दल नै भएको बताइन्। कांग्रेसले कम्युनिस्टलाई, कम्युनिस्टले सिद्धान्तको नाममा जुँगाको लडाइँ लडेकाले राजनीतिक अस्थिरता बनेको हो। यसका लागि नवपिँढीले मुक्ति चाहेर नै वर्तमान सरकार बनेको तर्क गरिन्। एकआपसमा टीकाटिप्पणी गर्ने, अरूको चियोचर्चा गर्ने बानीका कारण समाजको प्रगति हुन नसकेको हो कि? आफैंप्रति प्रश्न गरिन्।
देशमा प्रथम प्रधानन्यायाधीश र प्रधानमन्त्रीका रूपमा आफूलाई पाउँदा कस्तो अनुभूति गर्नुभयो? भनी राखेको अर्को जिज्ञासामा उनले भनिन्– नेपाली महिलाहरू हरेक कुरामा सक्षम छन्। भोलिका दिनमा पनि महिलाले देश हाक्ने आँट गर्नेछन् तर इमानदार र नैतिकवान् त हुनैपर्छ।
२०७३ वैशाखमा प्रधानन्यायाधीश बन्दा तत्कालीन दलहरूले आफूमाथि गरेको विभेदकारी नीति बिर्सनै नसकिने स्मरण गर्दै स्वर्गलोकबाट भगवान्ले आशीर्वाद दिएर नै प्रधानन्यायाधीश बन्न सकेको अनुभूति सुनाइन्।
यसैगरी प्रधानमन्त्री बन्दा पनि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले विश्वास र राष्ट्रप्रति गरिने भरोसाका कारण आफू प्रधानमन्त्री बनेको खुलासा गरिन्। यो समस्त नेपाली महिलासँग जोडिएको विषय भएकाले आफूले सचेत हुनु स्वाभाविक थियो। न्याय क्षेत्रको चर्चा गर्दै उनले वकालत पेसा झन्झटिलो भएको भन्दै आफू सुत्केरी भएको २२औं दिनमा पनि वकालत गर्न आएको अनुभव सुनाइन्।
बुहारीप्रति गरिने व्यवहारबारे पनि सुशीलाले निकै सकारात्मक सन्देश दिइन्। बुहारी र छोरीबिच कुनै विभेद नहुने भन्दै बुहारीले पकाएर दिएको कफी आफूलाई मिठो लाग्ने बताइरहँदा सभाहल पुनः गुञ्जित भएको थियो। पश्चिमी मुलुकको संस्कृति र नेपालको संस्कृति मिल्न नसक्ने बताइन् र भनिन्– ‘सन्तानको उचित स्याहार र सुत्केरी भएमा महिलालाई गर्ने स्याहारका लागि पूर्वी एसियाली मुलुक सिंगापुर माथिल्लो कोटीको छ। हरेक कोणबाट त्यहाँका महिलाले सुत्केरी हुँदा र बच्चा हुर्काउँदा गर्ने खानपिन स्याहार अन्यत्रको भन्दा उपयुक्त रहेको छ।’ कार्यक्रममा प्रधान सम्पादक गुणराज लुइँटेल र सम्पादक मण्डलको मुक्तकण्ठले प्रशंसा गरिन्।
कार्यक्रममा अध्यक्ष शोभा ज्ञवालीले ‘चण्डी’को एक संस्कृत श्लोकको उच्चारण गर्दै शक्तिदेवीको उपमा दिइन्। कार्यक्रम गत वर्षको भन्दा फरक शैलीको थियो। १९०३ असोजमा घटेको कोतपर्वदेखि १०४ वर्षसम्मको राणा शासनको क्रूर व्यवहार, १९७७ सालमा कृष्णप्रसाद अधिकारीलाई ‘मकैको खेती’ नामक पुस्तक लेखेवापत नौ वर्ष कारागारमा थुनेको र त्यहीं उनको मृत्यु भएको वेदनायुक्त दृश्य पर्दामा देखाइएको थियो। यसका अलावा योगमाया न्यौपानेले आफ्ना समर्थकसहित राणा शासनको विरोध गरेको, पछि १९९८ असार २२ गते अरुण नदीमा आफ्ना ६८ जना समर्थकसहित जलसमाधि लिएको चित्र उतारेको देख्दा जिउ नै सिरिङ्ङ भएको थियो।
२००७ सालको प्रजातन्त्र प्राप्ति, २०१५ सालमा नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको अगुवाइमा भएको निर्वाचनमा नेपाली कांग्रेसको दुईतिहाइ बहुमत, बिपीको प्रधानमन्त्रीत्वकाल, २०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेको घटना, २०३५–२०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन, २०३७ वैशाख २० गते सम्पन्न जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा तत्कालीन राजा वीरेन्द्रले पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा सरकार गठन, संविधान निर्माण, २०६२/६३ सालको दोस्रो ऐतिहासिक जनआन्दोलन, सम्मानपूर्वक राजा ज्ञानेन्द्र र उनको २४७ वर्षसम्मको राजवंशको बिदाइ, तत्कालीन विद्रोही माओवादीले शान्ति सम्झौता गर्दै संसदीय व्यवस्थामा प्रवेश, २०७२ असोज ३ गते प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा संविधान जारी गरेकोलगायत विषयवस्तुको ऐतिहासिक वृत्तचित्र प्रस्तुत गरिएको थियो।
‘हामी पत्रकारहरू समाजमा दिनानुदिन घटेका घटनाहरू उजागर गर्ने गर्छौं। कसैकसैलाई सामान्य पनि लाग्छ । तर कालान्तरमा तिनै सामान्य घटना र परिवेश भविष्यका लागि ऐतिहासिक दस्ताबेज बन्दा रहेछन्। अहिले नेपाली समाजमा यिनै कुराले प्रभाव पारिरहेका छन्,’ आफ्नो सम्बोधनका क्रममा प्रधान सम्पादक गुणराज लुइँटेलले बताउनुभयो। आफ्नो स्थापना दिवसको १८औं वर्षसम्म आइपुग्दा संस्थाले देशका मुर्धन्य एवं विशिष्टीकरण हासिल गरेका ३० जना व्यक्तिलाई नागरिक नायकको उपाधिद्वारा सम्मान गरिसकेको छ। जसमा संस्कृतिविद् सत्यमोहन जोशी, डा. गोविन्द केसी, महावीर पुन, मुस्कान खातुन, पासाङ शेर्पा, नन्दादेवी कुँवर, डा. सुन्दुक रुइतलगायत हुनुहुन्छ।
गत साल तीन जना साधकलाई नायक बनाएकोमा यसपटक भने देशको गर्विली महिला सुशीला कार्कीलाई मात्र प्रशस्तिपत्र, दुबोको माला र शान्तिका अग्रदूत भगवान् बुद्धको मूर्तिसमेत उपहार दिएर नायक बनाएको क्षण हेर्न लायक थियो।
प्रकाशित: १९ वैशाख २०८३ ०६:०२ शनिबार