विचार र आस्था जीवनका मार्गदर्शक सिद्धान्त हुन्, जसले हरेक व्यक्तिको पहिचान र स्वभाव निर्धारण गर्छ । झट्ट हेर्दा मानिसहरू आफ्नो आस्थामा आजीवन अडिग रहन्छन् जस्तो लाग्छ । कतिपय त जीवनपर्यन्त एउटै धार्मिक आस्था र संस्कारले बाँधिएका हुन्छन् । खानाको परिकारजस्तो एक सामान्य चाखको विषयमा समेत वर्षौंसम्म एउटै स्वाद रुचाइरहेका हुन्छन् । खेलजगत्मा पनि क्रिकेट या फुटबल प्रेमीहरूले आजन्म एउटै टिमको समर्थन गरेको पाइन्छ । यथार्थमा भने समय बित्दै जाँदा तिनको विचारमा केही न केही परिवर्तन भएकै हुन्छ, यद्यपि सो परिवर्तनका दायरा, कारण र परिवेश फरकफरक हुन सक्छन् । अध्ययन र अनुभवबाट अर्थात् ‘पढेर या परेर’ मानिसले निरन्तर ज्ञान आर्जन गरिरहेको हुन्छ, जसले नयाँ विचार निर्माण गर्न अभिप्रेरित गर्छ । कतिपय अवस्थामा उसले जीवनको लक्ष्य हासिल गर्न सबैभन्दा उपयोगी लागेको विचार अंगीकार गर्न सक्छ । जीवनत एक मार्ग हो भन्ने ज्ञान प्राप्त भएपछि गन्तव्यमा पुग्नका लागि मानिस आफ्नो चिन्तन र व्यवहारमा परिवर्तन र परिमार्जन गर्न सक्छ । विश्वविख्यात रुसी उपन्यासकार फ्योदर दोस्ताएभ्स्कीले भनेका थिए, ‘मानव जीवनको रहस्य फगत जिउनुमा होइन, जीवनको उद्देश्य जान्नुमा छ।’
मानिसले पहिलाको धारणा त्यागी नयाँ अवस्थाको जीवनमा आफूलाई उच्चस्तर र दूरगामी प्रभावको विचारमा प्रवर्तन गरेका कैयन् उदाहरणहरू छन् । सिद्धार्थ गौतम राजकुमार थिए । उनको विवाह र सन्तानप्राप्ति पनि भइसकेको थियो । उनीसामु राजदरबारमा बसेर सुखसयलको जीवन जिउने अवसर मौजुद थियो तर उनले त्यो विचार त्यागे र तपस्वी बनेर ज्ञानको खोजीमा लागे । भगवान् बुद्धकै मार्गमा लागेर सम्राट अशोकले पनि राजगद्दी त्यागे । युद्धले ल्याउने रक्तपात र कैयन् मानिसको दुःख–दर्द जीवनको आदर्श हुन सक्दैन भन्ने मनन गरी उनले बुद्धको अहिंसा, सहिष्णुता र शान्तिको सन्देश फैलाउँदै हिँडे । पौराणिक कथामा पनि नारदको प्रभावमा परेर रत्नाकर डाँकु वाल्मीकि ऋषिमा परिणत भएको कुरा पढ्न पाइन्छ । आधुनिक कालमा विचार परिवर्तन गरेर महापुरुष भएकामध्ये लियो टाल्सटाय (रुसी उच्चारण– लेभ तोल्सतोय) सर्वाधिक उल्लेखनीय व्यक्ति हुन् । तोल्सतोय अभिजात वर्गको परिवारमा हुर्केका थिए र उनलाई ‘ग्राफ तोल्सतोय’ (अंग्रेजीको काउन्ट समान) को दर्जासहित बोलाइन्थ्यो । सानै उमेरमा आमा, बुबा र उनको हेरविचार गरिरहेकी हजुरआमा पनि गुमेका घटनाहरूले तोल्सतोयको हृदयमा ठुलो छाप पर्यो । उनलाई सुखसयलभन्दा सादा र आध्यात्मिक जीवन, ज्ञान र अहिंसाको विचारले आकर्षित गर्यो । कालान्तरमा उनले अनिष्टको पनि हिंसात्मक प्रतिकार निषेध गरिनुपर्छ भन्ने धारणा अघि सहारे । यसै धारणाको अनुसरण गरेर आधुनिक युगमा अहिंसावादी आन्दोलनको शिखरमा पुगेका महात्मा गान्धी, मार्टिन लुथर किंग र नेल्सन मन्डेला सबैले तोल्सतोयलाई गुरु माने।
हरेकको जीवनमा राजकुमार सिद्धार्थ या ग्राफ तोल्सतोयका जस्तो निर्णायक मोड आउँदैन र आए पनि त्यसलाई विवेकपूर्ण ढंगले प्रयोग गर्ने ज्ञान र साहस हुँदैन । अधिकांशले आफू हुर्केको परिवार, समाज र वातावरणबाट प्राप्त सूचना र ज्ञानबाट विचार बनाएका हुन्छन् । उमेर बढ्दै जाँदा या जीवनयापनको परिस्थिति भिन्न हुनाका कारण मानिसका पहिलाका विश्वासहरू फेरिन सक्छन् । गाउँबाट सहर पस्दा, कुनै नौलो ठाउँ पुग्दा या विदेश भ्रमणमा जाँदा या रोजगारीको प्रकृति र स्थानमा भएको परिवर्तन आदिबाट प्राप्त गरेको अनुभवले मानिसको दृष्टिकोण बदल्न सक्छ । सो वातावरण बदलिएको र त्यसबाट उनीहरूको जीवनयापनमा प्रत्यक्ष प्रभाव पारेको अनुभूति नभई वर्षौंदेखि स्थान जमाएर बसेको विचारमा परिवर्तन आउन सक्दैन । बौद्धिक दृष्टिले सक्रिय सीमित संख्याका व्यक्तिहरू मात्र निरन्तर नयाँ सूचनाको खोजीमा रहन्छन् र तिनले समाजमा हुने परिवर्तनसँगै पहिला आर्जन गरेको ज्ञान पनि अद्यावधिक गरिरहेका हुन्छन् । बेलायतका प्रख्यात अर्थशास्त्री जोन किन्सले भनेका थिए, ‘जब नयाँ तथ्यहरू फेला पर्छन्, म आफ्ना पुराना विचार बदल्छु।’
नयाँ तथ्यको ज्ञानले मात्र मानिसको विचार या व्यवहारमा परिवर्तन ल्याउन सक्छ भन्ने कुरामा विशेषज्ञहरू विश्वस्त देखिँदैनन् । यसको मुख्य कारण उनीहरूले वर्षौंदेखि पालेर राखेको पूर्वाग्रह हो । कतिले त आफ्नो त्यही पूर्वाग्रहलाई अनुकूल हुने तथ्य मात्र खोजिरहेका हुन्छन् । त्यस्तो तथ्य सामुन्ने आए ग्रहण गर्छन् र प्रतिकूल भए अस्वीकार गर्छन् । उदाहरणका लागि मादक पदार्थमा लत भएका मानिसहरू त्यसबाट स्वास्थ्यमा हुने नोक्सानबारे अनभिज्ञ भएर होइन, त्यो ज्ञान उनीहरूको चाहनाको प्रतिकूल भएकाले आफन्त या चिकित्सकहरूको रायलाई बेवास्ता गर्छन् र सीमित परिमाणमा सेवन गर्दा दुखाइ कम गर्ने, मानसिक तनाव हटाई राम्रो निद्रा पर्ने जस्ता वैकल्पिक र आफूअनुकूलका तर्क अघि सार्छन् । यसरी नै धुम्रपान गर्ने मानिसहरू यसले मन आनन्दित गर्छ, वजन कम गर्न मद्दत गर्छ र चिन्ता हटाउँछजस्ता मनगढन्ते कुरा गर्छन् । जुवाडेहरूसँग पनि आफ्नो लतको सफाइ दिन मात्र होइन, अरूलाई पनि फकाइफुल्याइ खालसम्म पुर्याउन सक्ने पर्याप्त तर्क हुन्छ । यी सबै व्यक्तिहरूको साझा समस्या के हो भने उनीहरू आफ्नो विचार या आनीबानीमा परिवर्तन ल्याउन सक्दैनन्।
राजनीतिक आस्थाको क्षेत्रमा पूर्वाग्रह नै साबिकको धारणामा परिवर्तन या परिमार्जनमा सर्वाधिक कठिन व्यवधान बनेको हुन्छ । नेपालमा कम्युनिस्ट नामका धेरै पार्टी भएको सन्दर्भमा उनीहरूकै उदाहरण लिऊँ । प्रायः सबै त्यस्ता पार्टीहरूलाई स्टालिनको लालआतंक या माओको सांस्कृतिक क्रान्तिको समयमा लाखौंलाख मानिसहरूको निर्मम हत्या भएको तथ्यको जानकारी छ । यो कुरा तिनै देशले आधिकारिक रूपमा नै धेरै पटक पुष्टि गरिसकेका छन् । तर ती दुवै देशमा माओ र स्टालिनका समर्थकहरूको संख्या उल्लेखनीय छ । अर्को उदाहरण हिटलर हो, जसको ग्यास च्याम्बरको अस्तित्व नकार्ने र उसबाट भएको नरसंहारलाई फगत दुष्प्रचार मान्नेहरू छन् । नेपालमै पनि माओवादीहरूको हत्या र हिंसाबाट हजारौं मानिसको संहार भएको तथ्य सर्वविदितै छ तर ‘जनयुद्ध’को जयजयकार गर्नेहरूको कमी छैन । तथ्य–तथ्यांकले मात्रै विचारमा परिवर्तन ल्याउन सक्दैन भन्ने आशयलाई स्विकार्दै अमेरिकी स्वाधीनता संग्रामकालका राजनेता तथा दोस्रा राष्ट्रपति जोन आडम्सले भनेका थिए, ‘हाम्रो दिमाग तथ्यहरूभन्दा धेरै हठी हुन्छ।’
मेरो पुस्ताका धेरै नेपालीहरूको किशोरावस्था सूचनाको अभावमा बित्यो । राजाको शासनकालमा गाउँघरमा पत्रपत्रिका पुग्दैनथ्यो । समाचारको एक मात्र स्रोत रेडियो थियो, जसमा हरदम राजाको गुनगान गरिन्थ्यो । गाउँका थोरै पढेलेखेका मानिस बेलाबेलामा अचानक हराउँथे, राजाको विरोध गरेकाले पुलिसले पक्राउ गरेर लग्यो भन्ने सुनिन्थ्यो । देशमा दमनचक्र तीव्र थियो । एउटा वनपालेले पनि गाउँलेलाई तर्साउन सक्थ्यो । रेडियोबाट आउने देशबाहिरको समाचारमा भियतनाम युद्ध, प्यालेस्टिनी मुक्तिसंघर्ष, चिलीमा सैनिक सत्तापलट आदि प्रमुख हुन्थे । जताततै बलियाले निर्धोमाथि अत्याचार गरेको सुन्दा हामीलाई हिंसाको औचित्य समय र लक्ष्य सापेक्ष हुन्छ भन्ने लाग्थ्यो । जीवनको उत्तरार्धमा मैले आफ्नो प्रारम्भिक उद्देश्य पूरा गर्न हिंसा असफल भएका धेरै घटना देखेँ । नेपालमै पनि हिंसात्मक आरम्भबाट विद्रोह गरेका माओवादीहरू उनकै कारण उत्पन्न चर्को प्रतिहिंसाबाट पराजित भई आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न असफल भए । हिंसाको निरपेक्ष अस्वीकार गर्ने थप प्रेरणा मलाई तोल्सतोयको ‘हिन्दुलाई एक पत्र’ नामक पुस्तक पढेर प्राप्त भयो । सो पत्र उनले भारतीय क्रान्तिकारी तथा विद्वान् तारकनाथ दासलाई सन् १९०८ मा लेखेका थिए । तारकनाथले हिन्दुस्तानीहरूले हिंसाको पर्याप्त प्रतिकार गर्न नसकेको कारण सानो संख्यामा रहेका अंग्रेजहरूले लाखौंलाई अधीनमा राख्न सके भनी लेखेका थिए । प्रत्युत्तरमा तोल्सतोयले लेखेका थिए– अंग्रेजहरूले हिन्दुस्तानीहरूलाई आफ्नो अधीनमा राख्न सक्नुको कारण उनीहरू स्वयंले अंग्रेजले लादेको हिंसालाई स्विकार्नु, त्यसलाई आफ्नो जीवनशैलीमा ढाल्नु र त्यसैको बलमा आफैंबिच लड्नु हो । उनले प्रेमको नियममा चल्न, हिंसामा भाग नलिन र हिंसात्मक प्रतिकारलाई निषेध गर्न सल्लाह दिए । सो पत्र गान्धीले पनि पढेर त्यसैको प्रभावमा उनले हिंसाको बाटो त्यागी सत्याग्रहलाई आफ्नो आन्दोलनको मुख्य सिद्धान्त बनाएरस्वाधिनता संग्राम जिते।
विचार परिवर्तन एक व्यक्तिमा मात्र सीमित हुँदैन । यसको प्रभाव सम्पूर्ण समाजमा पनि पर्न सक्छ । प्रारम्भमा व्यक्ति विशेषको चेतना र आचरण सामाजिक विश्वास र मान्यताको आधारमा निर्माण हुन्छ । त्यो आचरण पालना नभएको घटना नगण्य भए समाजले त्यसलाई विकृति या अपवाद मान्छ । तर समय बित्दै जाँदा पुराना धारणा र विश्वासलाई चुनौती दिनेहरूको संख्या बढ्दै जान्छ र समाजले नयाँ विश्वास र आचरण धारण गर्छ । मेरा पिताजीले हलो जोतेको कारण आफू बाहुन समाजबाट वहिष्कृत हुनुपरेको घटना स्मरण गर्नुहुन्थ्यो । उसबेला जनै लगाउनेलाई हलो जोत्न वर्जित थियो । कालान्तरमा उहाँ एक सामाजिक अभियन्ताका रूपमा चिनिनुभयो भने वहिष्कार गर्नेहरू परिवर्तनको बाधकका रूपमा एक्लिए । जातीय भेदभाव र छुवाछुतमा आधारित पुराना आस्थाहरू सामाजिक चेतनाको परिवर्तनको क्रममा अन्धविश्वास मानिन थाले भने पहिला अक्षुण्ण ठानिएका मर्यादा पछि तिरष्कृत हुन थाले । आजकल जातीय तथा लैंगिक भेदभाव, पर्यावरण तथा जलवायु परिवर्तन, विज्ञान तथा प्रविधि आदिलाई हेर्ने दृष्टिकोण पहिलाभन्दा धेरै भिन्न भएको महसुस गर्न सकिन्छ । यो भिन्नता हासिल हुनुमा सामाजिक जागरण, आधुनिक शिक्षा तथा सञ्चार, नागरिक अगुवाहरूको सामूहिक प्रयासको ठुलो योगदान छ।
भरखर हामी देशको युवाजगत्मा आएको विचार परिवर्तनको साक्षी भएका छौं । २००७ सालको क्रान्तिले उपल्लो जात, सामन्ती ठालु र शासकहरूप्रति देखाउनुपर्ने बफादारीको आचरणबाट सामूहिक श्रम र अनुशासन, वैचारिक आस्था, दल या संगठनप्रति प्रतिबद्धताको धारणातर्फ संक्रमण ल्याउन मद्दत गरेको थियो । तर क्रान्तिपछिको चिन्तनमा पुरानो पुस्ताको बलियो प्रभाव रहेकाले सामूहिक श्रममा कुलीन व्यवहार देखाउने, प्रतिबद्धतामा बफादारी खोज्ने र आस्थाको आधारमा भन्दा निर्देशनअनुसार गरिएको कामको मूल्यांकन उच्च हुने प्रवृत्ति केही दशक नै हाबी भयो । तर सो सम्मिश्रित चेतना बोकेको पुस्ता जीर्ण हुँदै गएको तथ्यलाई राजनीतिक संस्थापनले ध्यान दिएन या ध्यान नदिनुमा फाइदा देख्यो । नेपालीहरूको उमेर संरचनामा भने उल्लेखनीय परिवर्तन हुँदै थियो । पछिल्लो उपलब्ध तथ्यांकअनुसार हाल देशको जनसंख्यामा २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भइसकेपछि जन्मेकाहरूको बाहुल्य छ । विभिन्न दृष्टिकोणबाट यो पूरै नयाँ पुस्ता हो, जसलाई बफादार रहेर ‘ठुला’को निर्देशनमा चल्न मञ्जुर भएन । पुस्तान्तरण फगत जनसंख्याको उमेर समूहमा आउने भिन्नता होइन । यो त सामाजिक चिन्तनमा अभिव्यक्त हुने परिवर्तन हो । नयाँ पुस्ताले पूर्ववर्ती मान्यता, आस्था र जीवनशैलीको औचित्यलाई चुनौती दिन्छ । हालैको निर्वाचनको नतिजा राजनीतिक पदका उम्मेदवारको योग्यता सम्बन्धमा मतदाताले साबिकका मापदण्डहरूको अवज्ञा गरेको रमतदान गर्दा विगत तीन दशकको दौरानमा स्थापित कांग्रेस–कम्युनिस्ट सिन्डिकेट र तिनले ‘भोट बैंक’ बनाउन उपयोग गर्ने गरेको जातीय, क्षेत्रीय र दलीय विभाजनको धारणाभन्दा बिलकुल भिन्न विचारबाट निर्देशित भएको प्रमाण हो।
व्यक्ति या समूहको विचार परिवर्तनमा श्रमको ठुलो भूमिका हुन्छ । वैज्ञानिक समाजवादका एक मूर्धन्य दार्शनिक फ्रेडरिक एंगेल्सले आफ्नो प्रख्यात कृति ‘बाँदरबाट मानिसमा संक्रमणमा श्रमको भूमिका’ मा लेखेका थिए, ‘श्रम केवल मानव अस्तित्वको स्रोत होइन, मानव नै श्रमको उपज हो ।’ श्रमले मानिसको चेतनाको विकास गर्दै वरपरको वातावरण परिमार्जन गर्न उत्प्रेरित गर्छ । श्रमकै हेतु मानिस प्रकृतिमाथि प्रभुत्व आर्जन गर्छ, आफ्ना औजारहरूसँग अन्तरक्रिया गर्छ । त्यसले उसको जिज्ञासा बढाउँछ, दृष्टि फराकिलो बनाउँछ र वैज्ञानिक अनुसन्धानका लागि आधार खडा गर्छ । आधुनिक प्रविधिले श्रमको प्रकृति, रोजगारदाता र श्रमिकहरूबिचको सम्बन्ध र श्रमका औजारहरू प्रयोग गर्न आवश्यक ज्ञान र सिपमा आधारभूत परिवर्तन ल्याएको छ । वर्गीय दृष्टिले प्रविधि निरपेक्ष छैन र नयाँ युगमा पनि डिजिटल पुँजीजीवी र डिजिटल सर्वहाराबिच वर्गीय विभाजनले निरन्तरता पाएको छ तर उनीहरूको सम्बन्धको स्वरूप फेरिएको छ । उदाहरणका लागि डिजिटल सर्वहारा वर्गमा पर्ने पठाओ, फुडमान्डौं, दराजजस्ता कम्पनीमा काम गर्ने अर्थात् आधुनिक प्रविधिको भाषामा ‘गिग’ या ‘प्लाटफोर्म कामदार’ भनिने श्रमिकहरू प्रत्यक्ष रूपमा कम्पनी मालिकबाट नभई स्वचालित डिजिटल प्रणालीबाट सञ्चालित हुन्छन् । भूमण्डलीकरणका कारणले पनि श्रमिक र रोजगारदाताबिचको दुरी बढाएको छ । सूचना क्षेत्रका प्राविधिकहरू नेपालबाटै सात समुद्रपारका कम्पनीलाई आफ्नो सेवा बिक्री गर्छन् र आय आर्जन गर्छन् । पुँजीजीवी र श्रमिकहरूबिचको अन्तरविरोध अहिले अप्रत्यक्ष र अव्यक्त हुँदै गएको छ । फलस्वरूप वर्ग विभाजन र वर्गसंघर्षको विश्लेषणका लागि साबिकका परिभाषा फितला हुँदै गएका छन्।
अस्ट्रियाका प्रख्यात मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले समाज या जीवनमा हुने विचार परिवर्तनलाई सुविधाजनक भ्रमहरू त्यागेर सप्रमाण आएका नयाँ र तर्कसंगत वास्तविकता स्विकार्नुपर्ने अत्यन्त कठिन र सुस्त प्रक्रियाका रूपमा व्याख्या गरेका थिए । यसलाई उनले बालहठबाट सुरु भएर बौद्धिक स्वायत्ततातर्फ परिपक्व हुँदै गएको प्रक्रियाका रूपमा हेरेका थिए । जीवनका अन्य साधनमा जस्तै विचारमा पनि मानिस आफ्नो सुविधा खोज्छ । अन्तरआत्मा या विवेकको आवाज मधुर भएर भन्दा पनि पुराना धारणा र सोचाइमा परेको बानी छुटाउन कठिन भएकाले मानिस परिवर्तनबाट जोगिन चाहन्छ । बाल्यकालदेखि नै पालेका कतिपय भ्रमलाई उसले आफ्नो जीवनको सपनाका रूपमा साँचेको हुन्छ र त्यसबाट छुटकारा पाउन निकै कठिन हुन्छ । यो कार्य कठिन भएकाले नै समयमै विचार परिवर्तन गर्न समर्थ व्यक्तित्वहरू बुद्ध, तोल्सतोय र गान्धीजस्तै महान् भएका हुन् । ज्ञानी हुन सरल छैन । गीतामा पनि भनिएको छ, ‘अज्ञानेनावृतं ज्ञानं तेन मुह्यन्ति जन्तवः’ अर्थात् वास्तविक ज्ञानलाई अज्ञानको आवरणले ढाकेको हुन्छ । जति छिटो ऊ त्यसबाट निवृत्त हुनसक्छ, उति नै चाँडो उसले वास्तविकता बुझ्न सक्नेछ।
प्रकाशित: २ जेष्ठ २०८३ १०:४७ शनिबार