निजामती सेवासम्बन्धी कानुनले सरकारी सेवाबाट निवृत्त हुने उमेर ५८ वर्ष तोक्यो भने त्यसैको सेरोफेरोमा बसेर गैरसरकारी तथा अर्धसरकारी निकायहरूले समेत कर्मचारीलाई बिदाइ गर्ने व्यवस्था गरे। अहिलेको सरकारले एक पटकका लागि ५५ वर्ष उमेर पुगेका राष्ट्रसेवकलाई बिदाइ गरेर कर्मचारी संयन्त्रलाई सुधार गर्ने इच्छा जाहेर गरेको देखिन्छ। बन्द व्यापार र कृषि क्षेत्रमा समेत छोरा पुस्ता नेतृत्व गर्न सबल भएपछि बाबुहरू आफ्नो कर्मबाट बिस्तारै पछि हटेको देखिन्छ।
छिटो निवृत्त हुँदा मानिस उमेर नपुगी मर्छ त भन्ने कौतूहल देखिन्छ। एक दर्जनभन्दा अधिक प्रकाशित आलेखहरूको विश्लेषण गरी नेदरल्यान्डको एम्स्टर्डम पब्लिक हेल्थ रिसर्च इन्स्टिच्युटकी प्राध्यापक सिसिली बुटको समूहले सन् २०२० मा प्रकाशित गरेको अन्वेषणले छिटो निवृत्त हुँदा व्यक्तिको मरण उमेरमा फरक नपर्ने भन्छ। बाध्यता र स्वेच्छाले ‘अर्ली रिटायरमेन्ट’ लिएकै कारणले व्यक्तिको आयु घट्दैन भन्छिन् अध्ययनकी नेतृत्वकर्ता डा. बुट। यद्यपि निवृत्त पुरुषको दाँजोमा महिला बढी बाँच्ने गरेको तथ्यांकले प्रस्ट पारेको छ।
आवधिक आँकडाले निवृत्त भएपछि मानिस सालाखाला २० वर्ष बाँचेको तथ्यांकले देखाउँछ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक अध्ययनले नेपाललगायत विश्वका नागरिकको उमेर सालिन्दा बढ्दै गएको अनि उक्त रफ्तार आउँदा वर्षहरूमा समेत कायम रहने बतायो। त्यस्तै संयुक्त राज्य अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले हालै सार्वजनिक गरेको एक फरक अध्ययनले अहिले पाँच वर्ष उमेर पुगेका दुई अमेरिकीमध्ये एक जना एक सय वर्षसम्म बाँच्ने भन्छ। जन्मदर घट्ने अनि पाका मानिसको घनत्व बढ्दा सन्तुलन बिथोलिन्छ। त्यस्तो अवस्थामा हजुर पुस्ताको हेरचाह गर्ने आयाम फेरिन्छ। पाकाको स्याहारसुसारका लागि मानवीय आकृतिका रोबोटको दरकार पर्छ।
आयुर्विज्ञानको सफलताले मानिसको आयु बढ्दो छ। उमेर लम्बिए पनि दिमागी स्वास्थ्य अनि नैराश्यले भने पाकाहरूलाई पिरोलेको देखिन्छ। प्रसन्न आत्मासहितको बुढ्यौलीका लागि भने केवल औषधिले मात्र सम्भव हुँदैन, बरु स्वयंको प्रयास अपरिहार्य हुन्छ।
उमेर र बायोलोजिकल आयु फरक फरक विषय हुन्। ६० वर्ष पुगेका केही मानिस ४५ वर्षका जस्ता देखिन्छन्। शारीरिक तन्तुको ल्याब परीक्षणले समेत उनीहरूलाई वास्तविक उमेरभन्दा भर्खरको देखाउँछ। अर्कातिर केही युवाहरू हेर्दै बुढाजस्ता लाग्छन्। जतनले चलाएको पुरानो कार भर्खरको जस्तो देखिने अनि गैरजवाफदेही चालकले हाँकेको नयाँ गाडीसमेत पुरानोजस्तो देखिएजस्तै हो मानवीय काया पनि।
पाको अवस्थामा केही रोग लाग्नु अस्वाभाविक होइन। बच्चामा म यस्तो थिएँ भन्ने बिलौना गर्नुभन्दा उमेरले ल्याएको हालत स्वीकार गर्नुपर्छ। तर, स्वस्थ खान्की अनि कसरतले धेरै रोगलाई पछि धकेल्न नसकिने होइन।
उमेर बढ्दै गएपछि शरीरको आन्तरिक रासायनिक क्रियाकलाप घट्दै जान्छ। उही दैनिकीका लागि समेत कम ऊर्जा चाहिन्छ। एक अध्ययनले २५ वसन्त कटेपछिका प्रत्येक वर्ष समान दैनिकीका लागि प्रतिदिन ५ क्यालोरीको दरले कम ऊर्जाको दरकार पर्ने भन्छ। पुरानो कारले अधिक पेट्रोल खान्छ भने मानिसमा भने उमेर ढल्कँदै जाँदा ऊर्जाको आवश्यकता घट्छ। तसर्थ, उमेर बढ्दै जाँदा खुराक घटाउनुपर्छ।
निवृत्त व्यक्तिका लागि खानाको आवश्यकता कम हुन्छ भने पोषणयुक्त भोजनले भने अहम् भूमिका खेल्छ। दालभात, तरकारी, दूध, दही, फलफूल अनि गेडागुडी तथा माछा मासु खाए पुग्छ, अन्य भोजन खासै चाहिँदैन। कस्तो खान्की भन्ने सम्बन्धमा ‘जिरो किलोमिटर फुड’लाई आत्मसात् गर्दा पुग्छ। त्यसको मतलब नजिकमा फलेको खानु भन्ने हो। स्वस्थ जीवनका लागि विदेशी खान्की आवश्यक छैन। एक अध्ययनले न्युजिल्यान्डबाट चार हप्ता लगाएर युरोप पुगेको बेमौसमी स्याउभन्दा ‘कोल्ड स्टोर’मा महिनौं राखेको स्थानीय स्याउ अधिक स्वास्थ्यकर देख्यो। तसर्थ, कश्मीरबाट स्याउ ल्याउनुभन्दा जुम्लाको स्याउ भण्डारणमा ध्यान दिनुपर्ने भयो। स्वस्थ खान्की भन्ने बित्तिकै आत्मा मारेर मन परेको मिठाइ अनि तारेको, भुटेको खाने इच्छा त्याग्नुहुँदैन। आखिर औषधिजस्तो खान्की खाएर बाँच्नुको के मजा भयो र? महिना, दुई महिनामा आफूलाई मन परेको खान्की सीमित मात्रामा सेवन गरेर आनन्द मिल्छ भने प्राणलाई किन सताउने? कहिलेकाहीं जिब्रो फेर्दैमा स्वास्थ्य बिग्रँदैन।
पाको उमेरमा जटिल कसरतको आवश्यकता पर्दैन तर मांसपेशी झोलिएर अझ बुढो नदेखियोस् भन्नका लागि सामान्य कसरत पर्याप्त हुन्छ। त्यस्तै रक्तसञ्चार अनि श्वासप्रश्वास प्रणालीलाई सबल बनाउन उमेर अनुरूपको हिँडाइ पर्याप्त हुन्छ। धान्न नसक्ने गतिमा हिँड्दा लडेर हड्डी भाँचिन सक्छ भन्ने कुरामा सजग हुनुपर्छ।
मानवीय स्वास्थ्य क्रमशः खराब हुँदै जाने होइन, बरु ४०, ६० र ८० वर्षको हाराहारीमा एक्कासि खस्कने अध्ययनहरूले देखाएका छन्। तसर्थ, अहिले ठिक छ भनेर चिकित्सकीय परीक्षण नकार्नुहुँदैन। साथै, डाक्टरसँग सबै रोगको इलाज छ भन्ने धारणा राख्नुहुँदैन।
लामो बाँच्नुको आनन्द लिनका लागि दिमाग पनि तन्दुरुस्त हुन आवश्यक छ। ‘ब्लड ब्रेन बेरियर’का कारण अधिकांश औषधिहरू दिमागमा पुग्दैनन्। त्यसैले दबाइले दिमागी समस्या हल गर्न कठिन छ। बुढेसकालमा दिमागलाई दुरुस्त राख्न केही आदतमा परिमार्जन गर्नुपर्ने हुन्छ।
मठमन्दिर अनि टोलमा हुने जमघटजस्ता सामाजिक क्रियाकलापमा सहभागी हुँदा दिमाग चंगा हुन्छ। स्ट्यानफोर्ड युनिभर्सिटीको साइकियाट्री तथा बिहेभियरल साइन्सका प्राध्यापक किथ हम्फ्रिजका अनुसार मानसिक रोगीमा दरिएका अधिकांश बिरामीलाई चिकित्सकीय हेरचाहको जरुरत हुँदैन, बरु सामान्य साथीभाइको परामर्श नै पर्याप्त हुन्छ। हालै अमेरिकामा गरिएको एक सर्वेक्षणले हप्ताको एक दुई पल्ट मात्र पनि नातिनातिनासँग खेल्ने, खाने अनि उनीहरूका लागि केही क्रियाकलाप गर्ने बूढाबूढीमा एकांकीपन घटेको अनि प्रसन्नता बढेको देखायो।
झन्डै एक सय वर्षदेखि हार्वर्ड विश्वविद्यालयमा ‘हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट’ कार्यक्रम सञ्चालनमा छ। सन् १९३८ मा सुरु भएको उक्त कार्यक्रमको प्रारम्भमा हार्वर्डकै करिब तीन सय विद्यार्थी सम्मिलित थिए। त्यसमध्येका एक सहभागी अमेरिकाका पूर्वराष्ट्रपति जेएफ केनेडी पनि हुन्। कार्यक्रमलाई थप सार्थक बनाउन पछिल्लो समय उक्त अध्ययनमा प्रारम्भिक सहभागीका सन्ततिलाई पनि सम्मिलित गराइयो। दिमागी प्रसन्नतालाई कुन ततवले निर्देशित गर्छ भन्ने कुरा यकिन गर्न सहभागीहरूको आर्थिक अवस्था, सामाजिक धरातल, विलक्षण प्रतिभा अनि आनुवंशिक बनोटसमेतलाई केन्द्रमा राखिएको थियो।
धनी, सम्भ्रान्त परिवारमा जन्मिएको, अब्बल बौद्धिक क्षमता अनि बेदाग आनुवांशिक संरचना भएको व्यक्ति निम्नस्तरीय परिवारमा जन्मिएको बोधो मानिसभन्दा दिमागी रूपले स्वस्थ र आत्मीय हिसाबले प्रसन्न हुन्छ भन्ने ठानिएकोमा अध्ययनले पृथक् परिणाम दियो। सबै दुःखसुख साट्न मिल्ने आत्मीय संगी भएको व्यक्ति धनदौलत, सामाजिक प्रतिष्ठा, आनुवंशिक बनोट अनि बौद्धिक क्षमतालगायतका सबै पक्ष अब्बल भएको मानिसभन्दा सुखी हुन्छ भन्ने हार्वर्डको शताब्दी लामो स्टडीको निचोड हो। साथीलाई प्रसन्नताको पर्याय मान्यो उक्त अध्ययनले।
अब कति साथी चाहिन्छ त? मानिसलाई मित्र धेरै भएको जस्तो लागे पनि वास्तविक साथी पाँच जनाभन्दा अधिक हुनै सक्दैन। मनमिल्ने साथी तीन जना भए पर्याप्त हुने भन्छ पृथक् अध्ययनले। तसर्थ, निवृत्त अवस्थामा धेरै साथी चाहिँदैन तर संगी भने मन मिल्ने हुनुपर्छ भन्ने देखियो। साथीको महत्त्व अत्यधिक भए पनि जिग्री दोस्त नै नभएकाले के गर्ने? रिटायर्ड भएपछि एकांकी जीवनबाट छुटकारा पाउन सामाजिक सञ्जालमार्फत आफ्ना विभिन्न कालखण्डका साथीहरूसँगको सम्पर्क बढाउन पनि सकिन्छ।
मन मिल्ने साथी पाउनै कठिन भए कृत्रिम बुद्धिमत्ताले विकास गरेको छद्म संगीसँगको मित्रताले समेत प्रसन्नता दिन्छ भन्ने कुरा बिर्सनुहुँदैन। स्मार्ट फोनमा सित्तैका ‘एप’हरूमार्फत ख्यालठट्टा अनि जोक्सहरू सुनेर बस्दासमेत दिमागी स्वास्थ्यलाई बल पुग्छ। चिकित्सा विज्ञानले मानिसको उमेर बढाएको छ तर स्तरीय जीवन व्यतीत गर्न दिमागी प्रसन्नताले भूमिका खेल्ने अनि त्यसका लागि आफूले समेत लगानी गर्नुपर्ने देखियो। निवृत्त अवस्थामा आत्मालाई सन्तुष्टि दिन मित्रताले अहम् भूमिका खेल्ने भएकाले समयमै असल साथीको जगेर्ना गरौं।
प्रकाशित: ३० भाद्र २०८३ ११:४२ मंगलबार