नेपालको राजनीति अहिले एक ऐतिहासिक मोडमा उभिएको छ, जहाँ भूमिका श्रेष्ठको संसदमा प्रवेशले एक नयाँ विमर्शको जन्म दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीबाट भूमिका श्रेष्ठलाई सांसदका रूपमा अनुमोदन गरेसँगै, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको कड़ा बहस राष्ट्रिय मञ्चमा प्रवेश गरेको छ। यो कदम सकारात्मक छ, तर यसले उठाएको पहिचानको प्रश्न गम्भीर र जटिल छ।
१. संविधानले दिएको पहिचानको आधार
नेपालको संविधानले यौनिक र लैङ्गिक अल्पसङ्ख्यक समुदायको अस्तित्वलाई स्वीकार गर्दै उनीहरूको पहिचान र अधिकारलाई मान्यता दिएको छ। संविधानको धारा १२ ले प्रत्येक नागरिकलाई आफ्नो लैङ्गिक पहिचानअनुसार नागरिकता लिन पाउने अधिकार दिएको छ। यद्यपि, यस विषयमा हालैका वर्षहरूमा एक अर्को बहस थपिएको छ, पारलिंगी (ट्रान्सजेन्डर) पहिचानको।
अर्थात, कतिपय व्यक्तिहरू बालकको रूपमा जन्मेका तर आफूलाई महिला महसुस गर्दै महिला पहिचान लिन चाहन्छन्, र कतिपय वालिकाको रुपमा जन्मेका ब्याक्तीहरुले पुरुष पहिचान लिने चाहना राख्छन्। यसैले, पारलिंगी पहिचानलाई कानूनी रूपमा स्वीकृति दिने या नदिने भन्ने कुरा अब महत्त्वपूर्ण बन्न पुगेको छ।
२. भूमिका श्रेष्ठको जीवनकथा
भूमिका श्रेष्ठको जीवनको यात्रा यस बहसको एक प्रतिक हो। जन्मदेखि नै पुरुषको नागरिकता लिएकी भूमिका, पछि तेस्रोलिंगी (अन्य) पहिचान प्राप्त गरी अन्तर्राष्ट्रिय यात्रामा पनि 'तेस्रोलिंगी' नागरिकता लिएर जाने पहिलो नेपाली बनिन्। यो एक ऐतिहासिक कदम हो। पछि उनले महिलाको पहिचान अपनाउने निर्णय गरिन् र सरकारको सहकार्यमा नागरिकता संशोधन गरी महिला पहिचान प्राप्त गरिन्। यसरी, आज उनी संसदमा महिला कोटाबाट प्रतिनिधित्व गर्दै छन्।
तर, यो परिवर्तनसँगै गम्भीर प्रश्न उठ्न थालेका छन् 'महिला को हुन्'
३. गम्भीर प्रश्नहरूको उठान
भूमिका श्रेष्ठको संसद प्रवेश एक व्यक्तिगत उपलब्धि हो, तर यसले केही महत्वपूर्ण सार्वजनिक प्रश्नहरू पनि खडा गरेको छ। महिला को हुन्रुके जन्मदेखि महिला भएका व्यक्तिहरू मात्र महिलाको पहिचान गर्न सक्छन्रु अथवा छोरा भएर जन्मेका पछि महिला पहिचान अपनाउने व्यक्ति पनि महिलाको पहिचान गर्न सक्छन्।
यदि यस्ता व्यक्तिहरू महिलाको पहिचान लिएर संसद, सरकारी सेवा, सेना, खेलकुद जस्ता क्षेत्रहरूमा महिला कोटाबाट प्रतिनिधित्व गर्न लागे भने, त्यसको दीर्घकालीन प्रभाव के हुनेछ ?
तेस्रोलिंगी पहिचान भएका व्यक्तिहरूले महिला कोटामा स्थान पाउने कि उनीहरूको आफ्नै प्रतिनिधित्वको ठाउँ बनाउने ?
४. तेस्रोलिंगी समुदायको आफ्नै प्रतिनिधित्व
यहाँ एक महत्त्वपूर्ण प्रश्न उठ्छ यदि भूमिका श्रेष्ठजस्ता व्यक्तिहरू वास्तवमा लैङ्गिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधि हुन् भने, उनीहरूले महिलाको कोटाबाट नभई, तेस्रोलिंगी समुदायको प्रतिनिधित्वबाट संसदमा जानु पर्छ। यसरी, लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दाहरू संसदमा उठ्न सक्छन्, जसले महिला पहिचानसँग अनावश्यक टकरावको संभावना घटाउँछ। यसले तेस्रोलिंगी समुदायका विशेष अधिकार र नीतिगत प्रश्नहरू स्पष्ट रूपमा उठाउने मौका दिनेछ।
५. समुदायभित्रको वैचारिक द्वन्द्व
समुदायभित्र अहिले दुई धारको मतविभाजन देखिन्छ :
पहिलो धार : हामी महिला वा पुरुषभन्दा फरक, तेस्रोलिंगी हौं, र नागरिकतामा ‘अन्य’ उल्लेख हुनु उचित छ।
दोस्रो धार : हामी वास्तवमा महिला वा पुरुष नै हौं, जन्मको शरीर गलत भएको मात्र हो, हाम्रो आत्मा र अनुभूति अनुसार नागरिकता पाउनु पर्छ।
यस द्वन्द्वले अब केवल समुदायभित्रको मात्र कुरा नभएर राष्ट्रिय बहसको रूप लिएको छ। भूमिका श्रेष्ठको संसद प्रवेशले यो बहसलाई थप व्यापक बनाएको छ।
६. स्वस्थ बहसको आवश्यकता
यस विषयमा स्वस्थ र खुला बहस अत्यन्त महत्त्वपूर्ण छ। यो बहसलाई नफर्काएर, तथ्यमा आधारित, सम्मानजनक र समझदारीका साथ गर्नु पर्छ। यसका लागि, संसद, नीति निर्माण तह, मानव अधिकार क्षेत्र, स्वास्थ्य, शिक्षा, र राज्यका सबै निकायहरूले यसमा सहभागिता जनाउन आवश्यक छ।
७. अन्तिम कुरा
भूमिका श्रेष्ठको सांसद बन्ने यात्रा स्वागतयोग्य छ, तर यसले एउटा गहिरो विचार विमर्शलाई जन्म दिएको छ। यदि भूमिका आफूलाई महिला भनेर चिन्हित गर्छिन् भने, यसले सबै लैङ्गिक पहिचानका सवालहरूलाई समेट्ने ठाउँ बनाउन सकेको छैन। यसले लैङ्गिक पहिचान र अधिकारका सवालहरूलाई पारदर्शी र व्यापक बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
अन्ततः, यो बहस केवल एक व्यक्तिको प्रश्न होइन, यसले समग्र समाजको लैङ्गिक पहिचान, प्रतिनिधित्व र अधिकारका सवालहरूलाई समेटेर एक नयाँ रूप दिने दायित्व पाएको छ। महिला को हुन्रु भन्ने प्रश्नको उत्तर केवल एक व्यक्ति वा समुदायको होइन, समग्र राज्य र समाजको साझा जिम्मेवारी बनिसकेको छ।
(लेखक २०६४ सालको संविधानसभामा एसियाकै पहिलो समलिङ्गी सभासद्का रूपमा प्रवेश पाएका व्यक्ति हुन्।)
प्रकाशित: ३० फाल्गुन २०८२ १९:५९ शनिबार