अमेरिका र इजरायलले गतवर्ष फेब्रुअरी २८ बाट थालेको इरान आक्रमण अहिले ६० दिने युद्धविराम भन्दै युद्धवार्ता, शक्ति सञ्चय र कूटनीतिक युद्ध चलिरहेको छ। यसबिच उत्तेजनाका खेल पनि हुँदै छन्। एकातर्फ बेलायतबाट स्वतन्त्र भएको २५०औं वर्षगाँठलाई ऐतिहासिक रूपमा अमेरिका मनाउँदै छ भने युद्ध सुरुमै आफ्ना सर्वोच्च नेता आयातुल्लाह खामेनीको अन्तिम संस्कार त्यसै दिन विजयोत्सव र सहिद स्मरणका रूपमा इरान मनाउँदै छ। इरानमाथिको अमेरिकी युद्ध चलिरहेकै बेला जुन २३ मा प्रकाशित न्युयोर्क टाइम्सका दुई चर्चित पत्रकार म्यागी हबरम्यान र जोनाथन स्वानले लेखेको ‘रिजिम चेन्ज ः इनसाइड द ट्रम्प ह्वाइट हाउस’ पुस्तकले राजनीतिक वृत्तमा चर्चा पाएको छ।
युद्धले केवल भौतिक विनाश मात्र गर्दैन, राष्ट्रहरूको वास्तविक आन्तरिक क्षमताको नग्न रूप प्रदर्शन गरिदिन्छ। देश कति आर्थिक रूपमा बलियो छ, उसको रणनीति कति परिपक्व छ र संकटमा उसले मानवता कायम राख्न सक्छ कि सक्दैन भन्ने कुरा युद्धको मैदानमै परीक्षण हुन्छ। इतिहास साक्षी छ– रोमन साम्राज्यदेखि बेलायती साम्राज्यसम्मको पतन र नयाँ शक्तिहरूको उदय युद्धकै जगमा भएको हो। जब कुनै महाशक्ति आफ्नो अहंकारका कारण युद्धमा होमिन्छ र सोचेजस्तो परिणाम आउँदैन, तब उसले आफ्नो गल्ती स्वीकार गर्नुको साटो ‘बलिको बोको’ खोज्न थाल्छ। जुवामा सर्वस्व हारेको जुवाडेले जसरी आफ्नो हारको दोष पासा वा परिस्थितिलाई दिन्छ, त्यसरी नै शक्ति गुमाउँदै गरेका राष्ट्रहरूले युद्धको दोष विपक्षी वा अन्य परिस्थितिलाई दिएर आफू उम्किन खोज्छन्।
शीतयुद्धको अन्त्यपछि विश्व रंगमञ्चमा अमेरिकाको एकलौटी दबदबा थिण्यो। पश्चिम एसियाका युद्धहरूमा अल्झिँदा अमेरिकाले ठुलो आर्थिक र रणनीतिक क्षति बेहोर्नुपरेको छ। इरान वा पश्चिम एसियाको चक्रव्यूहमा अमेरिका आफ्नो पुरानो साख जोगाउने अन्तिम कसरतमा छ। तर वास्तविकता के भइसकेको छ भने विश्व अब एकध्रुवीयबाट चीन, रुस र अन्य उदयमान शक्तिहरूसहितको बहुध्रुवीय दिशामा मोडिएको छ, जहाँ अमेरिकाको एकल महाशक्तिको हैसियत संकटमा परेको छ।
आधुनिक विश्व व्यवस्था यतिखेर ठुलो संक्रमणकालबाट गुज्रिरहेको छ। दशकौंदेखि स्थापित महाशक्तिहरूको अहंकार, युद्ध रणनीति र सूचनामाथिको एकाधिकार ढल्दै जाँदा कपोलकल्पित भाष्य र नग्न सत्यबिचको दुरी स्पष्ट देखिन थालेको छ। हालैका वैश्विक द्वन्द्व र युद्धहरूले स्थापित शक्ति संरचनालाई मात्र हल्लाएका छैनन्, वैश्विक चेतनालाई नै नयाँ मोड दिएका छन्। यसै पृष्ठभूमिमा वर्तमान विश्वका केही ज्वलन्त आयामलाई निम्नानुसार विश्लेषण गर्न सकिन्छ– ‘युद्धविराम र शान्ति सम्झौताका कुरा’ तथा ‘संयोग कि सन्देश’।
‘न्यारेटिभ कन्ट्रोल’ र त्यसको प्रभाव
कुनै पनि युद्ध हतियारले भन्दा पहिले भाष्यद्वारा जितिने प्रयास गरिन्छ। पश्चिमा सञ्चारमाध्यमको एकाधिकार र भारतमा दक्षिणपन्थी चिन्तनको प्रभावका कारण लामो समयसम्म इरानी क्षमता, उसको विज्ञान, प्रविधिको विकास र रणनीतिक शक्तिलाई सधैं ओझेलमा पारियो वा नकारात्मक रूपमा मात्र प्रस्तुत गरियो साथै ‘इरान एक पिछडिएको, अतिवादी र कमजोर राष्ट्र हो’ भन्ने भाष्य जबर्जस्ती बनाइयो।
हालैका इजरायल–अमेरिका–इरान युद्धले सूचना नियन्त्रणको यो पर्खाललाई भत्काएका छन्। जब युद्धको मैदानमा इरानी प्रविधि र क्षेप्यास्त्रहरूले आधुनिक प्रतिरक्षा प्रणालीलाई चुनौती दिए, तब ‘थाहा नपाउनु वा नजरअन्दाज गर्नु’ वास्तविकता नहुने रहेछ भन्ने पुष्टि भयो। युद्धले प्रोपोगान्डाको भ्रम चिरेर सत्यलाई नग्न सत्यका रूपमा विश्वसामु ल्याइदिएको छ।
एकांगी दृष्टिकोणको संकट
परम्परागत सञ्चारमाध्यम र राज्य–नियन्त्रित सूचना प्रणालीले नागरिकको सोच्ने र बुझ्ने क्षमतालाई संकुचित पारिदिन्छन्। हामी घटनाको गहिराइ, ऐतिहासिक पृष्ठभूमि र भूराजनीतिक जटिलतालाई बुझ्नुको सट्टा ‘हामी र उनीहरू’को द्विअर्थी चस्माबाट हेर्न पुग्छौं। पश्चिमा वा पूर्वाग्रही मिडियाले सिर्जना गरेको ‘भर्चुअल रियालिटी’का कारण वास्तविक शक्तिको सन्तुलन बुझ्न ढिलाइ हुनु नै आधुनिक समाजको बौद्धिक संकट हो।
बहुध्रुवीय विश्व व्यवस्थाको उदय
निस्सन्देह अब विश्व व्यवस्था एकध्रुवीय रहेन। सन् १९९१ मा सोभियत संघको पतनपछि सुरु भएको अमेरिकी एकल वर्चस्वको अन्त्य भइसकेको छ। वर्तमान परिदृश्यले स्पष्ट रूपमा बहुध्रुवीय विश्वको ढोका खोलेको छ, जहाँ वासिङ्टन एक मात्र निर्णयकर्ता होइन। अब बेइजिङ, मस्को र तेहरानजस्ता क्षेत्रीय एवं वैश्विक केन्द्रहरूले आआफ्नो प्रभाव क्षेत्र दाबी मात्रै होइन, भूमिकामै देखाइसकेका छन्।
आकलनको असफलता र चीनको रक्तहीन विजय
अमेरिका र इजरायलको असफलता, वासिङ्टन र तेल अविवका सैन्य गुप्तचर निकायहरू इरानको ‘सामरिक धैर्य’, उसको प्रोक्सी सञ्जालको अभूतपूर्व समन्वय र घरेलु हतियार प्रविधिको विकासको सही आकलन गर्न पूर्णतः असफल रहे। उनीहरू आफ्नो प्रविधि र पुराना युद्ध–भाष्यमा अति आत्मविश्वासी थिए। फेरिएको प्रविधि बुझ्न सकेनन्। प्रविधि श्रेष्ठताको अहंकारमा डुबेको वासिङ्टन र तेल अविवले त्यसको सुइँको नै पाउन सकेन।
भारतको चुक: भारतले आफ्नो उदीयमान वैश्विक महŒवाकांक्षाबिच ‘सन्तुलनको राजनीति’मा सन्तुलन गुमायो। एकातिर पश्चिम एसियाको ‘इन्डिया–मिडल इस्ट–युरोप इकोनोमिक कोरिडोर’जस्ता परियोजनामा अत्यधिक निर्भरता र अर्कातिर इरानसँगको ऐतिहासिक सम्बन्धलाई अमेरिकी दबाबका कारण कूटनीतिक रूपमा सोचेजस्तो गति दिन नसक्नु नयाँ दिल्लीको रणनीतिक कमजोरी साबित भयो। युद्ध सुरु हुनुभन्दा दुई दिन पहिले इजरायल जानु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निजी मात्रै होइन, उदयमान विश्वशक्तिलाई नै दीर्घकालीन घाटाको सौदा बन्न पुग्यो।
चीनको चातुर्य: चीनले ‘एक थोपा रगत नबगाई र ठुलो सैन्य खर्च नगरी’ अमेरिकालाई रक्षात्मक स्थितिमा धकेलिदिएको छ। बेइजिङले पश्चिम एसियामा साउदी अरब र इरानबिच ऐतिहासिक मध्यस्थता गराएर, ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मार्फत आर्थिक सञ्जाल फैलाएर र अमेरिकी प्रतिबन्धको मारमा परेका देशहरूलाई आर्थिक जीवनदान दिएर अमेरिकी एकल महाशक्तिलाई छायामा पारिदियो।
इरानको उदय: इरान एकाएक शक्तिमा फेरिएको होइन, यो दशकौंदेखिको कडा प्रतिबन्ध, अलगाव र संघर्षबाट जन्मिएको ‘प्रतिरोधी आत्मनिर्भरताको’ परिणाम हो। पश्चिमा नाकाबन्दीले इरानलाई आफ्नै विज्ञान र प्रविधि विकास गर्न बाध्य पा¥यो। उसले आणविक विज्ञान, ड्रोन प्रविधि र हाइपरसोनिक क्षेप्यास्त्र प्रणालीमा कसैको मुख ताक्नुपरेन। आफ्नो भौगोलिक अवस्थितिमाथिको नियन्त्रण र वैचारिक दृढताका कारण इरान आज पश्चिम एसियाको भूराजनीतिको मियो बनेको छ।
‘न्यु वार’ भाष्य: सानो प्रविधि, ठुलो युद्ध
परम्परागत युद्ध नीति, महँगा हतियार अब आधुनिक युद्धमा अपूर्ण साबित हुँदै छन्। वर्तमान युद्ध नीति डिजिटल टेक्नोलोजी, सपिङ कार्ट ड्रोन र साइबर वारफेयरमा रूपान्तरण भएको छ। लाखौं डलर पर्ने आधुनिक प्रतिरक्षा प्रणालीलाई केही हजार डलरका सस्ता ड्रोनहरूले छक्याइरहेका छन्।
अमेरिकी अहंकार र संकटको व्यवस्थापन
इरान र अन्य क्षेत्रीय शक्तिहरूबाट निरन्तर चुनौती पाइरहँदा अमेरिकाको ‘ग्रेटनेस’ र स्थापित प्रतिष्ठामा गम्भीर धक्का लागेको छ। नाटो र जी–सेभेनभित्रै पनि अमेरिकी नेतृत्वमाथि आन्तरिक संशयहरू पैदा भएका छन्। यो अमेरिकी अहंकारका लागि गम्भीर संकट हो। यसको व्यवस्थापन गर्न अमेरिका कि त अझ बढी आक्रामक भएर आत्मघाती युद्धमा होमिनुपर्ने हुन्छ, कि त उसले वास्तविकतालाई स्वीकार गर्दै पहिलोबाट ‘समानहरूबिच एक’को भूमिकामा झर्नुपर्ने हुन्छ। वर्तमान अमेरिकी घरेलु राजनीति र आर्थिक संकटले उसलाई ढिलो–चाँडो सम्झौताको टेबलमा आउन बाध्य पार्ने देखिन्छ।
नेपालजस्ता भूसंवेदनशील देशमा यसको असर
नेपालजस्तो सानो, कमजोर अर्थतन्त्र र दुई ठुला आणविक शक्ति राष्ट्रहरूबिचमा रहेको भूसंवेदनशील देशका लागि यो बदलिँदो विश्व व्यवस्था अवसर र चुनौती दुवै हो।
आर्थिक संकटको जोखिम: विश्वव्यापी आपूर्ति शृंखलामा आउने अवरोध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र डलरको उतारचढावले नेपालजस्तो आयातमुखी अर्थतन्त्रलाई सोझै महँगी र मुद्रास्फीतिको चपेटामा पार्छ।
भूराजनीतिक दबाब: बहुध्रुवीय विश्वमा शक्ति राष्ट्रहरूबिच नेपाललाई आफ्नो कित्तामा उभ्याउने होडबाजी तीव्र हुनेछ। कूटनीतिक सन्तुलन अलिकति मात्र डगमगाए नेपाल शक्ति राष्ट्रहरूको ‘प्रोक्सी खेलमैदान’ बन्ने खतरा रहन्छ।
बौद्धिक चेतनाको आवश्यकता: यो समय नेपालले कसैको पनि ‘न्यारेटिभ’को दास नभई आफ्नै बौद्धिक प्रतिरोधात्मक क्षमता विकास गर्नुपर्ने समय हो। महाशक्तिहरूको प्रोपोगान्डा बुझ्न आफ्नै मौलिक र तटस्थ दृष्टिकोण राख्नु नै नेपालको हितमा हुनेछ।
प्रकाशित: १५ असार २०८३ ११:५६ सोमबार